समाचार

नाकाबन्दी पुस मसान्तसम्म : मोर्चा


पुस १४, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो ।

असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए । ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो ।

तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे । सोमबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आयोजित पार्टीको वार्षिकोत्सव कार्यक्रमपछि कान्तिपुरसँग कुरा गर्दै ठाकुरले पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि  खुलाउन सकिनेबारे छलफल भइरहेको बताएका हुन् । ‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’

मोर्चा स्रोतका अनुसार सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको छिट्टै निर्णय लिइनेछ । बैठकमा आन्दोलनको स्वरुप बदल्दै नाकाबन्दी फिर्ता लिनेबारे छलफल भएको तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि बताए । ‘सीमा नाकाको धर्ना खुलाउने प्रस्ताव बैठकमा चर्चाको रुपमा आएको छ,’ त्रिपाठीले भने, ‘यो महिनाभरि यही स्वरुपमा जारी राखौं, अर्को महिनाका लागि सोचौंला भन्ने कुरा भएको छ । औपचारिक निर्णय हुन बाँकी छ ।’

साढे चार महिनायता मधेसमा मोर्चाको नेतृत्वमा आन्दोलन जारी छ । असोज ३ गते संविधान जारी भएको भोलिपल्टदेखि नेपाल–भारत सीमा नाका बन्द छ । मोर्चाले भने असोज ६ गतेमात्रै सीमा नाका धर्नाको औपचारिक घोषणा गरेको थियो । अर्को संघीय समावेशी मधेसी मोर्चा (हाल समावेशी गठबन्धन) ले असोज ४ देखि नै नाका धर्ना घोषणा गरेको थियो ।

मोर्चा सोतका अनुसार आन्दोलन क्रममा नाकाबन्दी गर्ने कुनै योजना थिएन । तत्काल विकसित राजनीतिक घटनाक्रमका आधारमा निर्णय लिँदै जाँदा नाकाबन्दी हुन पुगेको मोर्चा सूत्र स्वयं बताउछ । संविधान मस्यौदाको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारी दमन चर्केपछि बाध्य भएर नाका धर्ना बस्न जानु परेको तमलोपा अध्यक्ष ठाकुरले खुलाए । ‘साँच्चै भनौं भने, हामीले कुनै योजना बनाएर नाका धर्ना दिएका थिएनौं, मोर्चाको कुनै निर्णय थिएन,’ उनले भने, ‘सदरमुकाम र राजमार्गमा यति दमन भयो कि, हामीसग अरु कुनै विकल्प भएन । सुरक्षाका लागि नाकामा बस्दा बस्दै आफैं धर्ना हुन गयो ।’

अहिले मोर्चाको तर्फबाट नाकाबन्दी जारी रहे पनि सुरक्षाकर्मीले जबर्जस्ती गरिरहेको ठाकुरको आरोप थियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र परराष्ट्रमन्त्री कमल थापाबीच नयाँ दिल्लीमा कुराकानी भएपछि काठमाडौं संस्थापन मोर्चामाथि हाबी हुन थालेको मोर्चा स्रोतको दुखेसो छ । मोर्चाका अर्का नेताले भने, ‘अहिले पनि जबर्जस्ती नाकाबाट धर्नाकारी हटाइ नै रहेका छन्, कहा रोकेका छन् र ? राजेन्द्र महतोजीलाई कुटेपछि विराटनगर नाका पनि उही दुई तीन घण्टा बन्द भयो, त्यसपछि त खुलाइहाले नि ।’

सद्भावना अध्यक्ष राजेन्द्र महतो ‘मोर्चा निर्णयविपरीत’ शनिबार विराटनगर–जोगवनी नाका बन्द गर्न गएको भन्दै बैठकमा केही नेताहरुले आलोचना समेत गरेकोसमेत खुलेको छ । मोर्चा आबद्ध एक दलका अध्यक्षले जोगवनी नाका बन्द गर्ने कुनै निर्णय नभए पनि महतोले बढ्ता जोसिएर धर्नामा बसेको आरोप लगाए । ‘विराटनगरको सभामा उहालाई मानिसहरु पर्खिरहे । तर उहा त धर्नामा बसिदिनुभयो,’ ती अध्यक्षले बैठकमा भनेको उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मोर्चाका नेताले नै नियम पालाना गर्दैनन्, आफूखुसी गर्छन् ।’

ती अध्यक्षको प्रतिवाद गर्दै सद्भावना महासचिव मनिषकुमार सुमनले सबै सीमा नाका बन्द गर्ने मोर्चाको निर्णय यथावत् रहेको अवस्थामा महतो धर्नामा जानु कुन अनौठो भयो भनी प्रश्न गरेका थिए । महतो घाइते भएकामा मोर्चाकै अरु दलका अध्यक्षले ढिलोगरी चासो राखेकोमा उनले क्षोभसमेत प्रकट गरे । त्यसपछि बैठकमा सीमा नाका बन्द गर्ने निर्णय नै बदल्नुपर्ने प्रस्तावले प्रवेश पाएको थियो ।

मोर्चाले पुस १७ र १९ गते धरान र बुटवलमा प्रदर्शन गर्दैछ । ती दुई प्रदर्शन सकेपछि १९ गते आयोजना हुने मोर्चा बैठकले आन्दोलनको स्वरुपबारे निर्णय लिन सक्ने मोर्चाले जानकारी दिएको छ । मोर्चा र ठूला तीन दलबीच मंसिर २७ यता कुनै वार्ता नभएको विषयले समेत बैठकमा चर्चा पाएको थियो । परराष्ट्रमन्त्री थापाको दिल्ली भ्रमणपछि सरकार वार्ताबाट अकस्मात् पछि हट्नु ‘रहस्यमय भएको’ बैठकका सहभागीले छलफल गरेका थिए ।

तमलोपाले मनाएन वार्षिकोत्सव

तमलोपाको आठौं वार्षिकोत्सव सोमबार परे पनि आन्दोलनमा मारिएका ‘सहिदको सम्मानमा’ भन्दै कुनै औपचारिक समारोह आयोजना गरेन ।

अध्यक्ष महन्थ ठाकुरले बिजुलीबजारस्थित मुख्यालयमा ‘संकल्प–पत्र’ पढै आन्दोलन सफल नहुन्जेल लड्न आग्रह गरे । तमलोपा कार्यकर्ताहरुले ठाकुरको संकल्प हिन्दी भाषामा दोहोर्‍याएका थिए ।

जिल्लाका कार्यकर्ताले सोमबार संकल्प सभा गर्दै आ–आफ्नो मातृभाषामा संकल्प लिएको तमलोपा कार्यालयले जानकारी दिएको छ । २०६४ सालमा स्थापित तमलोपाले यसअघि विभिन्न समारोह गरी औपचारिक  वार्षिकोत्सव मनाउने गरेको थियो । वार्षिकोत्सवकै अवसरमा तमलोपाले राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

 

मङ्ल, पुस १४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र...

सरकारी गाडीको सदुपयोग हो यो?

    सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न गुडेको मन्त्रीको यो गाडीले नियम मिचेको हो की धर्म निभाएको ?   ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटवल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।...

बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइए

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...