अन्तर्वार्ता अर्थ उर्जा

उद्योगपति भन्छन्: बिजुली नभएपछि उद्योग कसरी चलाउने ?


१५ पुस, काठमाडौं । पत्रपत्रिकामा मन्त्री, नेता र राजनीतिका कुराहरु धेरै आउँछन्, तर उद्योगी-व्यवसायीहरु के गर्दैछन् भन्ने त्यति धेरै आउँदैनन् । भारतीय नाकाबन्दी र मधेसवादी दलको बन्द-हडतालले मुलुकको उद्योग व्यवसाय ठप्प भएका बेला हाम्रा उद्योगपतिहरु के गरेर बसिरहेका होलान् ?

राजनीतिक अस्थिरताको असर नेपालका उद्योगधन्दामा कस्तो परिरहेको छ र उद्योगपतिहरु के सोचिरहेका छन् भन्ने विषयमा जानकारी लिन हामीले शंकर ग्रुपका प्रबन्धक निर्देशक शाहिल अग्रवाललाई भेट्यौं । र, उनलाई सोध्यौं, तपाईहरु अहिले के गर्दै हुनुहुन्छ, अब मुलुकमा उद्योगधन्दाको हालत कहिले, कसरी सुध्रिएला ?

sahil aagrawal

शाहिल अग्रवाल, प्रबन्द निर्देशक, शंकर ग्रुप

बन्द, हडताल र नाकाबन्दीले शंकर ग्रुपको उद्योग र व्यापारमा कति घाटा पुगेको छ ?

हामीले सञ्चालन गरेका सबै उद्योगहरु लगभग बन्द अवस्थामै छन् । ट्रेडिङ पनि ठप्पजस्तै छ । हाम्रा कुनै उद्योग ५ प्रतिशत चले होलान्, कतिपय १० प्रतिशत । स्वदेशी कच्चा पदार्थबाट चल्ने उद्योगहरु २०/३० प्रतिशत पनि चले होलान् । तर, समग्रमा भन्नुपर्दा अधिकांश उद्योगहरु बन्द नै छन् ।

उद्योग नचले पनि कर्मचारीलाई तलव दिनुपर्‍यो, बिजुलीको न्यूनतम डिमाण्ड शुल्क बुझाउनुपर्‍यो । भन्सार नाकाहरुमा धेरै ट्रकहरु अडि्कएका छन् । त्यसको विलम्ब शुल्क तिर्नु परिरहेको छ । वीरगञ्जमा अडि्कएका कन्टेनर रि-रुट गरेर ल्याउँदा लागत बढिरहेको छ ।

कच्चा पदार्थ भए पनि उद्योग चलाउन डिजेल पाइँदैन । कच्चा पदार्थ भएर मात्रै पनि उद्योग चल्दैनन् । ब्ल्याकमा तेल किनेर उद्योग चलाउँदा लागत उच्च हुन्छ । ढुवानीका लागि ट्रक पाइँदैनन् । ट्रकले पनि महंगो भाडा लिन्छन् । यसले वस्तुको भाउ बढाउँछ ।

यद्यपि अहिले खाने कुराहरुको बिक्री भने राम्रै छ । जे जस्तो भए पनि सबैलाई खानु त परिहाल्छ । आजको दिनमा चाउचाउको माग राम्रै छ । पीठो, चामल दाललगायतका खाद्य वस्तुहरुको माग उच्च नै छ ।

बन्द हडताल र नाकाबन्दीको असर उद्योग व्यवसायमा लामो समयसम्म देखिन्छ । ७/८ महिना डिष्टर्व भएपछि नाकाबन्दी र तराई आन्दोलन रोकिएर भोलिदेखि नै उद्योग, व्यवसाय खुलिहाले भने पनि पुनः नियमित अवस्थामा आउन ४/५ महिना लागिहाल्छ । आज उद्योग व्यवसाय खुल्यो भने भोलिदेखि नै राम्रोसँग चल्छ भन्ने हुँदैन । तत्कालै बन्द खुले पनि यो आर्थिक वर्षमा ९५ प्रतिशत व्यवसायीहरु घाटामै चल्नुपर्छ ।

शंकर ग्रुपले वाषिर्क रुपमा करिब ६० अर्बको कारोबार गर्छ । बन्द, हडताल र नाकाबन्दीले त्यसमा कति प्रतिशत घाटा लाग्दैछ ?

यो वर्ष हाम्रो कारोबारमा ७० प्रतिशतले गिरावट आउने निश्चित छ । चाउचाउ लगायतका केही उद्योग सामान्य चलेपछि सिमेन्ट, स्टिल, ट्रेडिङ व्यवसाय ठप्प छ ।

विभिन्न उद्योगमा लगानी विस्तारसमेत गर्दै हुनुहुन्थ्यो । हस्पिटालिटी उद्योगमा पहिलो पटक प्रवेश गर्दै हुनुहुन्थ्यो । लगानी विस्तारको काम पनि प्रभावित भएको हो ?

हाम्रो सबैजसो उद्योगहरुमा क्षमता विस्तार भइरहेको थियो । कतिपय उद्योगमा नयाँ लगानी गर्ने योजना थियो । स्टिल उद्योगमा
हाम्रो मुख्य विस्तारको काम भइरहेको थियो, माइनिङमा काम गरिरहेका थियौं । जोइन्ट भेइञ्चरमा हेटौंडामा नयाँ उद्योग स्थापनाको काम भइरहेको थियो । जलविद्युत परियोजना, प्रविधि, कृषि, अटो, हस्पिटालिटी, दैनिक उपभोग्य खाद्यवस्तु, हेभी इक्वीपमेन्ट लगायतमा लगानी विस्तारको काम भइरहेको थियो ।

भूकम्प, बन्द हडताल र नाकाबन्दीले सबै काम प्रभावित भएको छ । क्षमता विस्तार र नयाँ लगानीको काम रोकिएको छ । होटल निर्माण कार्य रोकिएको छ । होटलको डिजाइनको काम भइसके पनि साइटमा काम सुरु गर्न सकेका छैनौं । बन्द खुलेर सहज वातावरण बनेपछि मात्र होटल निर्माण कार्य सुरु गर्छौं ।

लगभग सबैजसो उद्योगमा लगानी थपिरहेको बताउनुभयो । त्यसलाई थप खुलाइदिनुस् न, कुन उद्योगमा कुन स्तरको लगानी थप्ने योजनामा हुनुहुन्छ ?

हामीले करिव ३ अर्ब रुपैयाँ लगानीमा स्टिल उद्योगको क्षमता विस्तार गरिरहेका छौं । काम अन्तिम चरणमा पुगेको छ । सिमेन्टमा अम्बे ग्रुपसँगको साझेदारीमा १० अर्ब रुपैयाँ लगानी गर्दै छौं ।

हामीले गएको वर्ष चाउचाउ उद्योगको क्षमता विस्तार गरिसक्यौं । यसमा ७० करोडको हाराहारीमा लगानी थपेका हौं । अझै चाउचाउ उद्योगको क्षमता विस्तार गर्ने हाम्रो योजना छ ।

जलविद्युतमा हामी १० अर्ब लगानी गरिरहेका छौं । जोइन्ट भेइञ्चरमा हामीले एउटा २० मेगावाटको मोदी, ३६ मेगावाटको बलेफी र ३६ मेगावाटकै आँखुखोला जलविद्युत परियोजना निर्माण गरिरहेका छौं । मोदीको काम एक/डेढ वर्षमै सकिन्छ । अरु दुई आयोजना पनि निर्माणमा गइसकेका छन् ।

अटोमोबाइल्समा हामी १ अर्ब रुपैयाँ लगानी गर्ने योजनामा थियौं । टीभीएस मोटरसाइकल नेपालमै एसेम्बल गर्ने हाम्रो योजना छ । पाँचतारे होटलमा हामी ३ अर्ब रुपैयाँ लगानी गर्दैछौं । दुःखपूर्वक भन्नुपर्छ, यी सबै परियोजना बन्द हडताल र नाकाबन्दीका कारण रोकिएका छन् ।

यो असहज परिस्थितिका कारण व्यवसाय बन्द गरेर ब्याक हुनुपर्ने, लगानी नै फिर्ता गर्नुपर्ने अवस्था आएको छ कि छैन ?

अहिलेसम्म यस्तो स्थिति आइसकेको छैन । तर, यही अवस्था भोलिका दिनमा पनि निरन्तर रहृयो भने केही भन्न सकिने अवस्था छैन । अहिलेसम्म हामी घोषणा गरिसकेको लगानी विस्तारको काम रोक्ने पक्षमा छैनौं । म अझै आशावादी छु, समस्या चाँडै सुधार हुनेछ र लगानीको वतावरण तयार हुनेछ ।

बरु बन्द हडताल र नाकाबन्दीले काममा ढिलाइ भएको छ । होटल प्रोजेक्ट निर्माणको काम पर धकेलिएको छ । तर, ब्याक हुने विषयमा सोचेका छैनौं । अरु प्रकृया अगाडि बढिरहेको छ, खाली साइटमा मात्र काम सुरु गरेका छैनौं ।

पर्यटन नेपालमा सबैभन्दा धेरै सम्भावना भएको क्षेत्र हो । नेपाल ‘कोर स्ट्रेन्थ’ बन्न सक्ने पर्यटन र उर्जामा मात्र हो । अघिल्लो वर्ष करिव-करिव एक मिलियन पर्यटक आएका थिए । भोलि तीनवटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पर्यटकको संख्या हृवात्तै बढ्ने छ ।

अझै बन्द हडताल र नाकाबन्दी लम्बियो भने होटलमात्र होइन, अरु प्रोजेक्टको काम पनि रोकिन सक्छ । यस्तो अवस्थामा नयाँ उद्योग सञ्चालन गरेर, क्षमता विस्तार गरेर सञ्चालन गर्न गाह्रो हुन्छ । हामीसँग भएको लगानीयोग्य पैसा पनि घाटा पूर्तिमै सकिन्छ ।

उत्पादनशील उद्योग र व्यापारमा जमेको शंकर ग्रुप एकाएक किन पर्यटन उद्योगमा आकषिर्त भयो ?

पर्यटन नेपालमा सबैभन्दा धेरै सम्भावना भएको क्षेत्र हो । नेपाल ‘कोर स्ट्रेन्थ’ बन्न सक्ने पर्यटन र उर्जामा मात्र हो । अघिल्लो वर्ष करिव-करिव एक मिलियन पर्यटक आएका थिए । भोलि तीनवटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पर्यटकको संख्या हृवात्तै बढ्ने छ ।

हामीसँग पूर्वाधार भएमा २० लाख पर्यटक पुर्‍याउन केही गाह्रो छैन । पर्यटकका लागि नेपालजस्तो सुन्दर ठाउँ कहीँ छैन । त्यसो हुँदा पनि नेपालमा हस्पिटालिटी बिजनेश निकै लाभदायक छ ।

काठमाडौंमा स्टार होटलमा जम्मा १७ सय रुम छन् । यो संख्या निकै कम हो । त्यही भएर पनि हामीले होटल खोल्न खोजेका हौं । ग्रुपले ब्यापार विविधीकरण गरिरहेका बेला पर्यटन उत्कृष्ट गन्तव्य हो । यो दीर्घकालमा सबैभन्दा लाभदायक उद्योग हो ।

पछिल्लो समयमा उद्योग सञ्चालनमा धेरै व्यवधान आइरहेको र नाफा पनि घट्दै गएका कारण धेरै ठूला घरानाहरु ब्यापारतिर लागिरहेको भनिन्छ । तपाइहरुको पनि त्यही बुझाइ हो ?

हामी उद्योगबाट व्यापारमा सिफ्ट हुन खोजेका छैनौं । बरु बिजनेशमा विविधीकरण गर्न खोजेका हौं । नेपालमा उद्योग चलाउन आवश्यक कुनै पनि कुराको ‘कोर स्ट्रेन्थ’ नहुँदा उद्योग चलाउन गाह्रो हुन्छ । बिजुली र जनशक्ति हाम्रो कोर स्ट्रेन्थ हो । यसको विकास गर्न सक्यौं भने ठूला-ठूला उद्योगहरु चलाउन सकिन्छ ।

बिजुली नभएपछि उद्योग कसरी चलाउने ? त्यही भएर ब्यापार विविधीकरण गरिरहेका छौं । हामी अहिले पनि उद्योगमा अगाडि नै छौं, ट्रेडिङ व्यवसायलाई पनि त्यसैगरी सँगसँगै अगाडि बढाइरहेका छौं ।

लामो समयदेखि आन्दोलन र भारतीय नाकाबन्दीले समग्र उद्योग व्यवसायमा कस्तो असर पुर्‍याएको छ ? यसको क्षतिपूर्ति कसरी होला ?

भूकम्प, बन्द हडताल र नाकाबन्दीले मुलुकको उद्योग व्यवसाय गम्भीर संकटमा परेको छ । अहिले करिव ९५ प्रतिशत उद्योग व्यवसाय बन्द छन् । भूकम्प, तराई आन्दोलन र नाकाबन्दी भएको ८ महिना बितिसक्यो । यति लामो समय बन्द भइदिँदा उद्योग र व्यापार दुबैको हालत खराब भइसकेको छ । बजारमा नगद प्रवाह हुन नसकेपछि मुलुकको अर्थतन्त्र प्रभावित भएको छ ।

बन्द हडतालले निजी क्षेत्रमा दुई खर्ब बढी क्षति भएको अनुमान छ, अहिलेको क्षतिबाट बौरिन कति समय लाग्ला ?

यसमा सरकारले अंगीकार गर्ने नीति मुख्य हुन आउँछ । सरकारले समस्यामा परेका उद्योग व्यवसायलाई गति दिनेखालको नीति बनायो भने चाँडै नै अहिलेको क्षतिबाट एक/दुई वर्षमा ‘रि-बाउण्ड’ हुन सकिएला । सरकारले केही गरेन भने अहिलेको क्षतिबाट सामान्य अवस्थामा फर्किन ४/५ वर्ष नै लाग्छ ।

यो पूरै वर्ष उद्योग व्यवसाय घाटामा चलाउनु परेपछि त्यसको असर ठूलो पर्न जान्छ । अहिले त हामीलाई बाँच्नै गाह्रो छ । सरकारले सुविधाहरु दिन थाल्यो, विकास निर्माणमा लाग्यो, बजारमा ‘डिमाण्ड’ सिर्जना गरायो भने हामी चाँडै नै तंगि्रन थाल्छौं ।

यसका लागि सरकारले के-के सुविधा दिनुपर्छ ?

उद्योग व्यवसायको प्रकार हेरेर सरकारले सेवा सुविधा दिनुपर्छ । आज उद्योग व्यवसाय अप्ठ्यारो अवस्थाबाट गुजि्ररहेका छन् । उद्योग व्यवसायलाई अनुदानहरु उपलब्ध गराउनुपर्छ । बैंकको ब्याज तथा साँबा भुक्तानी अवधि बढाइदिन सरकारले पहल गर्नुपर्छ । समस्यामा परेका उद्योग व्यवसायलाई चल्ने अबस्था सिर्जना गर्न सरकाले सहुलियत ऋणको पनि व्यवस्था गर्नुपर्छ ।

प्रधानमन्त्रीज्यूले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्नुभएको छ । मलाई थाहा छैन, उहाँले कसरी, कहाँबाट ल्याएर बिजुली दिनुहुन्छ । सरकारले एक वर्षमा दिन नसके पनि २/३ वर्षमा लोडसेडिङ अन्त्य गर्नुपर्छ । प्रशस्त बिजुली उत्पादन गरेर ‘सब्सिडी’मा उपलब्ध गराउने हो भने हामीलाई धेरै सजिलो हुने थियो ।

यसैगरी, प्रमुख १० परियोजनाहरु पहिचान गरी तत्कालै निर्माण सुरु गर्नुपर्छ । भैरहवा एयरपोर्ट, पोखरा एयरपोर्ट, निजगढ एयरपोर्ट, फाष्ट ट्रयाक, सुरुङ मार्ग, बुढीगण्डकी जस्ता २/४ वटा हाइड्रो परियोजनाको काम तत्कालै अगाडि बढाएमा निर्माणजन्य सामाग्रीको माग बढ्छ, जसले निर्माणजन्य उद्योगमा धेरै सकारात्मक तरङ्ग ल्याइदिन्छ र बिजनेश साइकल घुम्न थाल्छ ।

सरकार आफै अप्ठ्यारो अवस्थामा छ, धेरै सहयोगको अपेक्षा गर्नु पनि बेकार होला नि ?

अहिले सरकार अप्ठ्यारो अवस्थामा छ, यो कुरा म मान्छु । तर, सरकार समस्यामा छ भनेर यत्तिकै बस्न त भएन । मलाई लाग्छ, सरकारसँग आजको दिनमा दुनियाँभरको पहुँच छ । हामीजस्ता व्यवसायीसँग त कति धेरै पहुँच हुन्छ । सरकारसँग यसको सीमा नै हुँदैन ।

सरकारले चाहने हो भने पैसाको कारणले काम रोकिँदैन । मात्र सकारात्मक सोँचाइ हुनुपर्‍यो । सरकारसँग इच्छाशक्ति भएमा अहिले दुनियाँमा असम्भव केही पनि छैन ।

सरकारले चाहेमा निजगढ एयरपोर्ट आफै बनाउन सक्छ । फास्ट ट्रयाक र दुई/चारवटा ठूला हाइड्रोपावर आफै बनाउन सक्छ । यस्ता आयोजना निर्माण गरेपछि सरकारले कमाइ पनि गर्न सक्छ । सरकारले अरुसँग निर्भर हुनैपर्छ भन्ने छैन । यहाँ लगानी गर्ने मान्छे पनि धेरै छन् ।

बन्द हड्ताल, मजदुरको समस्या र नेपालमा उद्योग सञ्चालनका लागि प्रतिस्पर्धी क्षमता नभएका कारण धेरै उद्योगहरु बन्द भइरहेका छन् । तपाईको बुझाइचाहिँ अझै पनि नेपालमा उद्योग राम्रैसँग चलाउन सकिन्छ र प्रतिस्पर्धी क्षमता छ भन्ने हो ?

नेपालमा पूर्णतया स्वदेशी कच्चा पदार्थमा चलेका उद्योगहरु धेरै कम छन् । हामी विदेशबाट कच्चा पदार्थ आयात गरेर ‘भ्यालु एड’ मात्र गरिरहेका छौं । कतिपय वस्तुहरु नेपालमा बनाउनभन्दा विदेशबाट आयात गर्दा सस्तो हुन्छ । त्यस्ता वस्तुहरु यहाँ उत्पादन गर्नुको अर्थ छैन ।

उर्जामा हाम्रो भूटानमा जस्तै ‘कोर कम्पिटेन्सी’ भयो भने ठूला-ठूला उद्योगहरु चलाउन सकिन्छ । भूटानमा बिजुलीको मूल्य १ रुपैयाँ प्रतियुनिट छ । हाम्रोमा ७ रुपैयाँ छ । त्यो पनि १२ घण्टामात्र आउँछ ।

उद्योग चलाउन उर्जा, दक्ष कामदार र कच्चा पदार्थ हामीसँग छैन । बाहिरको कच्चा पदार्थबाट बन्ने वस्तुहरु बिक्री गर्न पनि गाह्रो हुन्छ । तर, यहीँको कच्चा पदार्थबाट चल्ने सिमेन्ट उद्योगहरु राम्रोसँग चलिरहेका छन् । पछिल्लो समय सिमेन्ट उद्योगमा ठूलो लगानीसमेत आइरहेको छ ।

तर, सिमेन्ट उद्योग चलाउन पनि बिजुली नै चाहिने हुँदा हामी समस्यामा परेका छौं । उद्योगमात्र चलाएर जम्न नसकिने हुँदा लगानीकर्ताले ट्रेडिङ व्यवसायलाई सँगसँगै लैजान खोजेका हुन् । कुनै पनि व्यवसायिक घराना उद्योगबाट सिफ्ट भएर व्यापारमा मात्र केन्दि्रत भएजस्तो मलाई लाग्दैन ।

उर्जामा हाम्रो भूटानमा जस्तै ‘कोर कम्पिटेन्सी’ भयो भने ठूला-ठूला उद्योगहरु चलाउन सकिन्छ । भूटानमा बिजुलीको मूल्य १ रुपैयाँ प्रतियुनिट छ । हाम्रोमा ७ रुपैयाँ छ । त्यो पनि १२ घण्टामात्र आउँछ । डिजेलबाट चलाउँदा प्रतियुनिट ३० रुपैयाँ पर्न जान्छ ।

नेपालमा १०/२० हजार मेगावाट विद्युत उत्पादन गर्ने, उद्योगीलाई सस्तोमा बिजुली दिएमा सबैको आकर्षण उद्योगमा हुने थियो । औषत प्रतियुनिट १५ रुपैयाँमा बिजुली किनेर उद्योग चलाउन निकै समस्या पर्छ । त्यसमाथि अहिले त डिजेल समेत पाइँदैन ।

सबैभन्दा पहिला हामीले ‘कोर स्ट्रेन्थ’को विकास गरौं । यहाँ त बिजुली उत्पादन गर्नुभन्दा पहिला निर्यात गर्ने भनेर बहस चल्छ । १०/२० हजार मेगावाट बिजुली यहीँ खपत गर्न सकिन्छ । मलाई २०० मेगावाट विजुली दिने हो भने ठूला उद्योग लगाउन सक्छु, खै त बिजुली ?

यही कारण हामीले बिजनेश सिफ्ट गरेको नभई विविधीकरण मात्र गरेका हौं । जबसम्म कुनै क्षेत्रमा लगानी गर्ने वातावरण हुँदैन, तपाईं किन त्यसमात्र हाम्फाल्नुहुन्छ र ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा जग्गा दिन्छु, धेरै सेवा सुविधाहरु दिन्छु भनेर घोषणा गरेर लगानीकर्ता आकषिर्त गरे । एकैचोटि उद्योगमा ठूलो लगानी भयो, त्यहाँबाट अहिले वस्तुहरु निर्यात हुन्छ । हाम्रोमा त्यो वातावरण छैन । कसैले पनि तिमीहरुलाई कत्तिको गाह्रो भइरहेको भनेर सोध्न आउँदैन । यस्तो बेलामा कसरी उद्योग चलाउने ? बरु विदेशबाट सामान ल्यायो बेच्यो, त्यही नै सजिलो हुने रहेछ ।

तपाईहरुको लगानीको मुख्य क्षेत्र सिमेन्ट र स्टिल हो । यी दुई क्षेत्रमा नेपाल अब आत्मनिर्भर बन्ने दिशातिर गइरहेको हो ?

सिमेन्टमा हामी करिव आत्मनिर्भर भइसकेका छौं । सिमेन्ट बनाउन चाहिले कोइला र केही परिमाणमा कंक्रिटबाहेक सबै यहीँ उत्पादन भइरहेको छ । स्टिल पनि यहीँ उत्पादन भइरहेको छ । तर, स्टिल उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । दीर्घकालमा अलिकति राम्रो नीति बनायौं भने दुवै वस्तुमा आत्मनिर्भर बन्न सक्छौं ।

यस्तो बेलामा स्वदेशी तथा विदेशी लगानीकर्ताले सिमेन्टमा ठूलो लगानी गर्ने घोषणा गरेका छन्, भोलि ओभर फ्लो त हुँदैन ?

नेपालमा अझै ठूलो परिमाणमा सिमेन्ट खपत हुन बाँकी छ । बल्ल हामी पूर्वाधार विकासको चरणमा पुगेका छौं । एयरपोर्ट, सडक, ठूला-ठूला हाइड्रो पावर बनाउनै बाँकी छन् । त्यहाँ ठूलो परिमाणमा सिमेन्ट खपत हुन्छ ।

हाम्रोमा काठमाडौंबाहेक अरु शहरको विकास भएको छैन । काठमाडौंमा पनि कन्स्ट्रक्सनको ठूलो काम बाँकी छ । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्नुपर्ने हुँदा सिमेन्टको खपत उच्च हुन्छ । सिमेन्ट उत्पादन बढ्दै जाँदा माग पनि थपिँदै जान्छ ।

सिमेन्ट निर्यातको कत्तिको सम्भावना छ ?

नेपालबाट सिमेन्ट निर्यातको सम्भावना धेरै छ । नेपालसँग जोडिएका भारतीय शहरमा हामीले सिमेन्ट निर्यात गर्न सक्छौं । यसका लागि सबैभन्दा पहिला उर्जा उत्पादनमा जोड दिनुपर्छ । सस्तो मूल्यमा बिजुली पाइयो भने कम लागतमा सिमेन्ट उत्पादन गर्न सकिन्छ । भारतमा भन्दा सस्तोमा यहाँ सिमेन्ट उत्पादन गर्न सकियो भने सीमावर्ती शहरमा निर्यात गर्न सकिन्छ ।

जुन दिन नेपालमा १०/२० हजार मेगावाट विद्युत उत्पादन भएर स्वदेशमै खपत गरिन्छ । त्योबेलामा कसैलाई पनि फुर्सद हुँदैन । बिजुली र मेनपावर भयो भने टेक्नोलोजी जहाँबाट पनि ल्याउन सकिन्छ ।

तपाईहरु चाउचाउमा त्यति जम्न नसक्नुभएको हो ?

नेपालमा दुईथरि मूल्यको चाउचाउ उत्पादन भइरहेको छ । एउटा १५ रुपैयाँ र अर्को १० रुपैयाँको । १५ रुपैयाँको चाउचाउ काठमाडौं लगायतका ठूला शहरमा मात्र खपत भइरहेको छ । १० रुपैयाँको चाउचाउ ग्रामिण भेगसम्म पुगेको छ । काठमाडौं उपत्यकामा वाईवाई चाउचाउ नै बढी खोज्छन् । तराई र पहाडी भेगमा हामी एक/दुई नम्बरमा छौं ।

आजको दिनमा नेपालमा हामी नम्बर ३ पोजिसनमा छौं । हाम्रो चाउचाउमा मार्केट शेयर १५ देखि १७ प्रतिशत छ । हाम्रो महिनामा ६० लाख कार्टुन चाउचाउ उत्पादन भइरहेको छ । हामी विस्तारै काठमाडौंमा प्रवेश गरिरहेका छौं । बन्द हडताल र नाकाबन्दीपछि हाम्रो चाउचाउ काठमाडौंमा ६० हजार कार्टुन बिक्री भयो ।

आगामी दिनमा तपाईहरुको प्राथमिकता क्रमिकरुपमा कुन-कुन क्षेत्रमा हुनेछ ?

आगामी १/२ वर्ष हामी अरु क्षेत्रमा छिर्दैनौं होला । किनभने हाम्रो पहिले नै धेरै बिजनेश छ । यसैलाई विस्तार गर्ने काम तिब्ररुपमा भइरहेको छ । यसैलाई राम्रोसँग अगाडि बढाउने हाम्रो लक्ष्य हो ।

भोलिका दिनमा हाम्रो इच्छा शिक्षा र हस्पिटल क्षेत्रमा लगानी गर्ने रहेको छ । यस क्षेत्रमा कहीँ न कहीँबाट प्रवेश गरौं कि भन्ने सोच छ । तर, तत्कालै हात भने हाल्दैनौं । २/३ वर्षपछि स्थिरता आएपछि यो क्षेत्रमा लगानी गर्छौं । यो सामाजिक क्षेत्र पनि हो ।

बुध, पुस १५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने

चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ ।  कम्पनीको  सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा...

मंसिरको पहिलो हप्ताबाट विराटनगर जुट मिल संचालनमा आउने

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल बन्द अवस्थामा छ।  विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि सरकारले ३ पटक चलाउने प्रयास गर्‍यो । ती सबै प्रयास असफल भए । आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो ।  मजदुर आन्दोलनको...

गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम

कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।   गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो । ‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि...

हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो लाए पनि हुन्छ, जसरी गाए पनि हुन्छ । पूर्ण स्वच्छन्द ।’

कात्तिक, काठमाडौं । टाउकोमा सेतो स्कार्फ, त्यसमाथि रातो क्याप । गलामा लामो सिक्री । कालो चस्मा । कालो लुज टिसर्ट । कम्मरभन्दा अलि तल झरेको भाङ्ग्रो पाइन्ट । पाइन्ट पछाडिको खल्तिमा झुण्ड्याइएको सेतो स्कार्फ । एकातिर नाडीमा सेतो बेन्ड अनि गोडामा ठूलो जुत्ता ।   ठ्याक्कै यही हुलियामा...

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

कुलमानको एक वर्षे कार्यकालः लोडसेडिङ अन्त्यदेखि विवादको भुमरीसम्म !

भदौ, काठमाडौं । गत सालको वर्षात याममा दैनिक ६ देखि ७ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । हिउँद लागेसँगै त्यो बढेर झनै १८ घण्टासम्म पुग्ने त्रासदीमा थिए जनता । लोडसेडिङको अन्त्य कल्पनासमेत गरिएको थिएन । यही त्राशदीका बेलामा कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका थिए । प्रचण्डको नेतृत्वमा...