विचार

जलपन्छी गणनाः संरक्षणको पहिलो कदम


-कृष्णप्रसाद भुसाल

यतिबेला तपाई हाम्रो वरपरका सिमसार क्षेत्रहरुमा चराहरु, खासगरी पानीहाँस प्रजातिहरुको चहलपहल र झुन्डहरु देख्न सकिन्छ । बढ्दो चिसोको साम्राज्यले मानवीय दैनिकी प्रभावित भइरहँदा सिमसारमा आश्रित चराहरु भने त्यही चिसो पानीमा रमाइरहेका हुन्छन् ।

Seto Sawari (pani Chara) in Koshi River-Jyotendra Thakuri

कोशी नदीमा सेतो सवारी (पानी चरा) । तस्वीर : ज्योतेन्द्र ठकुरी

नेपालमा ८ सय ७६ प्रजातीका चराहरु पाइन्छन् । यो संख्या विश्वभर पाइने चराका कूल प्रजातिको करीव १० प्रतिशत हुन आउँछ । तीमध्ये करीव १ सय ३९ प्रजातीका चराहरु पूर्णतया सिमसारमा आश्रित हुन्छन् जसलाई पानीचरा अथवा जलपन्छी भनिन्छ । अधिकांस जलपन्छीहरु हिउँद यामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा बसाई सरी आउने गर्दछन् । जसलाई पाहुना चरा अथवा आगन्तुक चरा पनि भनिन्छ ।

खासगरी उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनी यि जलपन्छीहरु उत्तरी मुलुकहरु रुस, किर्गिस्तान, तुर्कमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गर्दछन् । कतिपय चराहरु त बटुवाको रुपमा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर पनि जाने गर्दछन् ।

जाडो छल्न हिँउदे आगन्तुक चराहरुको रुपमा नेपालमा आउने अधिकांस हाँस प्रजातिका चराहरुले प्रमुख सिमसार क्षेत्रहरु कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, विसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरुमा नै मूलरुपमा आफ्नो समय व्यतित गर्दछन् । यि चराहरु नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्म प्रायजसो आफ्नो स्थायी बसोबासमा फर्किसकेका हुन्छन् ।

Hariyo Tauke Hans(Pani Chara) in Tal-Jyotendra Thakuri

पोखरीमा हरियो टाउके हाँस । तस्वीर : ज्योतेन्द्र ठकुरी

यसका साथै नेपालका रैथाने चराहरु पनि सिमसार र त्यस आसपासका क्षेत्रहरुमा पाहुना चराहरुसँग रमाइरहेका भेटिन्छन् । आगन्तुक पानीचराहरु केही बीच-बीचमा बास बस्दै र केही सिधै उडेर हजारौं माइलको यात्रामा अनेकौं जोखिमहरु पार गर्दै नेपाल आउने गर्दछन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराहरु सूर्य तथा अन्य ताराहरु, नदी, भौगोलिक श्रृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन् । यसरी बसाई सरी आउने चराहरुमध्ये खोया हाँस त विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा माथि ९ हजार ३ सय ७५ मिटरबाट उडी नेपाल आउने गर्दछ ।

नेपालमा विभिन्न सिमसार क्षेत्रहरुमा आश्रित पानीचराहरु पछिल्ला दशकहरुमा खासगरी बासस्थान सङ्कुचन तथा विनास, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चोरी शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले संकटमा पर्दै गइरहेका छन् ।

नेपालमा पाइने विश्वका दुर्लभ चराहरुमध्ये १३ प्रजाति त जलपन्छी नै छन् । नेपाल पन्छी संरक्षण संघको एक अध्ययनअनुसार संकटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातीका चरामध्ये चालीस प्रजाती सिमसारमा आश्रित छन् । शहरीकरण, ओद्योगीकरण, आणविक प्रयोग, अम्लीय वर्षा र जलवायु परिवर्तन जस्ता समग्र पर्यावरणीय चुनौतिहरुले पनि बसाईसराई गर्ने कतिपय प्रजातीहरुको विचरण र जीवन प्रक्रियालाई अप्ठ्यारो पारिरहेको छ । पछिल्ला वर्षहरुमा सिमसारमा आश्रित पानीचराहरुको संख्यामा कमी आएको विभिन्न अध्ययन प्रतिवेदन र चरा अवलोकनकर्ताहरुको अनुभूतिले बताउँछ । जसको प्रमुख कारण बासस्थान सिमसारको विनाशलाई नै ठानिएको छ ।

Krishna-Prasad-Bhusal

कृष्णप्रसाद भुसाल

सिमसार क्षेत्रहरु प्रायः अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछापोखरीमा सीमित छन् । वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादी बगी सिमसारमा मिसिनाले र ढल तथा धार्मिक पर्वहरुमा पुजाका सामान विसर्जन गर्नाले पनि सिमसारहरु प्रदूषित भइरहेका छन् । बाह्य तथा मिचाह प्रजातिहरु जलकुम्भी, कुम्भीका, जलजम्भु, कबेशरम, करौते, लहरे वनमारा आदि वनस्पतिहरुको संक्रमणले सिमसारहरु ढाकिएका छन् ।

भूक्षय र वरपरबाट बगेर आउने भलसँगै ढुंगा, बालुवा, पांगो माटो थुप्रिनुका साथै बाढी-पहिरो र हिमतालहरु फुट्ने खतराले पनि सिमसारहरु नष्ट हुने अवस्थामा छन् जसले पानी चरा र समग्र जैविक विविधतालाई ठूलो चुनौती दिइरहेको छ । विभिन्न सिमसार क्षेत्र र पर्यावरणको सूचक रुपमा हेरीने यि पानी चराहरुको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ ।

यिनै संकट झेलिरहेका पानीचराहरुको वितरण र अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउन र जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष जलपन्छीहरुको अनुगमन र गणना गर्ने गरीन्छ । ई.स. १९८७ देखि वर्षेनी नियमित रुपमा गरीदै आइएको सिमसारमा आश्रित पानीचराहरुको गणना यस वर्ष पनि गरीदै छ ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीमा गरीने उक्त गणना कार्यक्रममा स्वयमसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ-सस्थाको सहभागिता हुने गर्दछ । यस वर्ष पनि जनवरी ९ देखि २४ अथवा पुस २५ देखि माघ १० सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागहरुमा जल पन्छीहरुको गणना गरीँदै छ । देशभरको जलपन्छी गणना कार्यक्रमको संयोजन तथा संकलित तथ्यांकको वैज्ञानिकीकरण नेपालका वरीष्ठ पन्छीविद डा. हेमसागर बरालले गर्नुहुन्छ ।

Water Bird (Pani Chara) Count in Jagdishpur reservoir, Kapilvastu-Krishna Bhusal

कपिलवस्तुको जगदीशपुर तालमा चरा गणना गरिँदै । तस्वीर : कृष्णप्रसाद भुसाल

चरा संरक्षण विशुद्ध एकल अभियानले सम्भव हुन सक्दैन यसलाई सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दीगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँग सँगै लैजानु पर्दछ । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ । साथै दीर्घकालिन संरक्षण स्थानीय समुदाय, परम्परागत जाती, संरक्षण समूहहरु, राजनैतिक शक्ति, सरकारी-गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशिलता, एकीकृत सोच, अवधारणा र कार्यक्रमहरुबाट नै सम्भव छ ।

नेपालमा चरा अवलोकनलागि पनि थुप्रै बाह्य पर्यटकहरुको आगमन हुने हुनाले यी सिमसारमा आश्रित चराहरुको संरक्षण तथा बासस्थान व्यवस्थापन गरीयो भने निश्चय नै हाम्रो देशलाई चरा-अवलोकनका लागि उत्कृष्ट आकर्षक गन्तव्यको रुपमा परीचित बनाउन सकिन्छ ।

मुलुकभरी रहेका सिमसार क्षेत्रहरुको पूर्णविवरण राखी प्राथमिकता र सम्भाव्यताअनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगमा ध्यान दिनुपर्दछ । यसका साथै कतिपय आगन्तुक पानीचराहरु एक देशबाट अर्को देशमा पनि जाने-आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य पनि अपरीहार्य छ । आउनुहोस् आफ्नो वरपरको सिमसार क्षेत्रमा हुनगइरहेको आगामी जलपन्छी गणना कार्यक्रममा सहभागि बनी चरा संरक्षणमा टेवा पुर्‍याऔं ।

(लेखक नेपाल पन्छी संरक्षण संघका परीयोजना अधिकृत हुन्)

 

बिहि, पुस २३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको...

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ?

असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।   ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमालेले ०७०...

२५ वर्षको तथ्यांकः मधेसमा कम्युनिष्ट बढ्दै, कांग्रेस घट्दै

दुई नम्बर प्रदेशको भूभागअन्तरगत रहेको नेपालको मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो कि कम्युनिष्टहरुको ? वा यो प्रदेश क्षेत्रीय-जातीय पार्टीहरुको आधार क्षेत्र हो ? आउनुहोस् यस विषयमा ०४८ साल यताको करिब २६ वर्षको इतिहास खोतलौं- हुन त मधेसमा कांग्रेस र कम्युनिष्टहरुको जनाधारको चर्चा गर्दा ०४८ सालभन्दा...

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

 साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग...

गोर्खाल्याण्ड: नकोरिएको इतिहास

प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्-  ‘इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट  अर्थात् , यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो...

नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरे

जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने...