शिक्षा

पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिने


काठमाडौं- पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्‍याउन  मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

एसएलसी (हालको नयाँ एसइई) सुरुदेखि छोरीभन्दा छोराको सहभागिता बढी रहेकोमा २०७१ देखि छोरीले छोरालाई उछिन्न थालेका हुन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार  २०७० सालसम्म कक्षा १० को परीक्षामा नियमिततर्फ कुल तीन लाख ९४ हजार नौ सय ३३ सहभागी रहेकोमा छोराको संख्या एक लाख  ९९ हजार आठ सय ४६ थियो।

२०७१ सालको एसएलसी परीक्षामा कुल सहभागी परीक्षार्थीमध्ये छोरीको संख्या छोराको भन्दा एक हजार १२ ले बढी रह्यो। त्यस वर्ष एसएलसीमा कुल चार लाख पाँच हजार तीन सय ३८ परीक्षार्थी सहभागी भएकामा छोराको संख्या दुई लाख दुई हजार एक सय ६३ र छोरीको संख्या दुई लाख तीन हजार एक सय ७५ थियो।

यसैगरी २०७२ को एसएलसीमा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ विद्यार्थी सहभागी थिए। तीमध्ये दुई लाख २७ हजार पाँच सय ३५ छोरी थिए भने दुई लाख २५ हजार तीन सय ४६ छोरा थिए। छोरीको संख्या छोराको भन्दा दुई हजार एक सय ८९ बढी थियो।

यो वृद्धि संख्या २०७३ सालको एसइई परीक्षामा समेत कायम रह्यो। यस वर्ष कुल चार लाख ६८ हजार चार सय परीक्षार्थी  सहभागी छन्। तीमध्ये दुई लाख  ३५ हजार तीन सय दुई छोरी छन् भने छोराको संख्या दुई लाख ३३ हजार ९८ छ। यस वर्ष पनि दुई हजार दुई सय ४ छोरी छोराभन्दा बढी छन्। छोरीलाई पढाउनुपर्ने सामाजिक सचेतना बढेका कारण स्कुलमा छोरीको संख्या बढेको तर्क विज्ञहरूको छ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार गुणस्तरीय जीवन जिउने आधार शिक्षा भएको सामाजिक सचेतना वृद्धि भएकाले छोरीहरूको पहुँच माध्यमिक शिक्षासम्म पुग्न सकेको हो।

उनले विगत एक दशकभित्र गाउँगाउँमा स्कुलको संख्या थपिँदै गएको र त्यसले समेत छोरीहरूको विद्यालयमा पहुँच बढाएको बताए। विगत एक दशकभित्र विद्यालय संख्या ३७ हजार पुगिसक्यो। घरदैलोमै विद्यालय खुलिसके। ‘यसले छोरीहरूलाई आफ्नै घरनजिकै पठनपाठन हुने सुरक्षित व्यवस्था मिल्यो’, शिक्षाविद् कोइरालाले भने, ‘आमाबुवाले पनि ढुक्कसँग छोरीहरूलाई स्कुल पठाउन थाले।’

सरकारले सञ्चालन गरेको साक्षरता कार्यक्रममले समेत आमाहरूलाई साक्षर बनाएका कारण पनि उनीहरूमा छोरीहरूलाई स्कुल पठाउनुपर्ने सोच पलाएको उनको ठहर छ ।

‘छोरीहरूलाई पढाए आफंै कमाएर खान सक्ने सक्षम हुने सामाजिक सोच अभिभावकमा जाग्दै गयो’, कोइरालाले नागरिकसँग भने, ‘तराईमा समेत छोरीलाई दाइजो दिनु भन्दा पढाइदिए सक्षम हुने सोच पलाएको छ।’

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीको अनुभवमा स्कुल जाने उमेर समूहको जनसंख्यामा छोराभन्दा छोरीहरू नै बढी भएकाले कक्षा १० मा त्यसको सकारात्मक असर देखिएको हो। विद्यालय शिक्षामा भर्ना दरसमेत वृद्धि गरिएको र विद्यालयसमेत छात्रामैत्री बन्दै गएकाले पनि विद्यालय शिक्षामा छोरीको संख्या बढेको दाबी उनको छ।

‘विद्यालय शिक्षाको भर्ना दर यस वर्ष ९७ प्रतिशत छ’, परीक्षा नियन्त्रक रेग्मीले भने, ‘सबै छोरीहरूलाई छात्रवृत्तिको व्यवस्था र विद्यालयमा छात्रा शौचालयले छोरीको संख्या विद्यालयमा वृद्धि भइरहेको हाम्रो तथ्यांक छ।’

अर्का शिक्षाविद् विष्णु कार्कीले राज्यका प्रमुख तहमा छोरीको पहुँच बढ्दै गएको र आमाबुवामा छोरीलाई पढाए उनीहरू पनि सक्षम हुने विश्वास बढेका कारण विद्यालय शिक्षामा छोरीको पहुँच वृद्धि भएको जनाए।

‘कक्षा ८ पास गर्दा छोराहरूलाई कमाउने माध्यम मानेर देशबाहिर विशेष गरी भारततिर पढ्न पठाउने चलन बढी छ’, कार्कीले भने, ‘मैले युनिसेफका लागि गरेको एक अध्ययनमा समेत सुदूरपश्चिम क्षेत्रका धेरै जिल्लामा कक्षा ८ पास छोराहरू पैसा कमाउन भारत गएको देखायो।’ उनका अनुसार घर नजिकै विद्यालय भएकाले अभिभावकले छोरीहरूलाई स्कुल पठाउने गरेका छन्। उनले भने, ‘राज्यका जिम्मेवार निकायमा छोरीहरू पुग्न थालेका छन्। अवसर पाए छोरी पनि सक्षम बन्न सक्छन्।’

सरकारले साक्षरता कार्यक्रम र शिक्षाका लागि मात्र शिक्षा दिने कार्यक्रम बन्द गरी सीपसँग जोडिने, आर्थिक आय हुने, व्यक्तित्व विकास हुने शिक्षा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। ‘अबको शिक्षा निश्चित उद्देश्यसँग जोडिएर उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘अनि मात्र छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउनुको लक्ष्य पूरा हुन्छ।’

आइत, चैत्र १३, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

इक्यानको बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक

काठमाडौं । अस्ति बेलुका ६ बजेबाट शुरु भएको इक्यानको १२औं महाधिवेशनको तयारीमा बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक गरेको छ । २४ बुँदे घोषणापत्रमा “२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान” भन्ने उद्घोष सहित कार्यक्रम शुरु भएको थियो । शैक्षिक परामर्श संघमा आबद्ध सदस्य...

माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु

८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८...

बुध्द प्रकाश सेकेन्डरि स्कुल त्यस क्षेत्रकै नमूना स्कुल

हरेक बच्चा हरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ संचालित स्कुल बुद्ध प्रकाश सेकेन्डरी गोकर्नेश्वोर ६  नारायणटारमा पर्दछ । करिब ७00 बिध्यार्थी पठन पाठन गरिरहेको यो स्कुलमा किताबको ज्ञानको अलावा अतिरिक्त क्रियाकलापलाई पनि विशेष ध्यान दिइने गरिन्छ । बाल बालिकाभित्र लुकेर बसेका प्रतिभालाइ पहिचान गरि उजागर गर्न प्रोत्साहन...

रानिपौवा स्रोत केन्द्रका प्रधानाध्यापकहरुको बैठक धमाधम

ककनी गाउपालिका अन्तर्गत रानिपौवा स्रोत केन्द्र स्तरीय प्रअहरुको बैठक आज नुवाकोटको ककनीमा धमाधम संचालन भइरहेको छ ।बैठकमा स्रोत ब्याक्ति तुलध्वोज खतिवडाको बिशेष उपस्थितिमा स्रोत केन्द्र भित्रका ४४ वटा बिध्यालयका प्रअहरुको उपस्थिति रहेको छ। ककनी ४  का अध्यक्ष दिपेश लामा ५  का अध्यक्ष राम थिङ ,गाउपालिका कार्यकारी...

शैक्षिक संस्थाहरू कै शिर —शिध्दार्थ बनस्थली

माटोको घरमा टायलले छाएर २००८ सालमा काठमाडौंको बनस्थलीमा बनस्थली विद्याश्रम नामक एक बिद्यालयको स्थापना भएको थियो / गोगनलाल जोशी र बिजयानन्द जोशीद्वारा संचालित यो बिद्यालयमा शुरुमा ४-५ जना मात्र बिद्यार्थीहरु पठन पाठन गर्ने गर्दथे / पढ्नु पर्ने रहेछ भन्ने भावनाको बिस्तारै बिस्तारै बिकास हुदै गए...

चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा

काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।   यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस...