इतिहास

‘बोधी छाया: लाइफ अफ बुद्ध’ शीर्षकको नाटक काठमाडौंमा एक हजार आठ सय २६ दिन चल्ने


असोज, काठमाडौं । राजधानीको नाटक बजारलाई अलिकति मात्रै नियाल्नुभएको छ भने पनि तपाईंलाई पक्कै थाहा होला, एउटा नाटक कति लामो समयसम्म चल्न सक्छ । यहाँका थोरै नाटकघरले एउटा नाटक बढीमा दुई महिना चलाउँछन् ।

 

अनि, आफ्ना दुई प्रस्तुतिबीच धेरै साता र महिनाको अन्तराल राख्छन् । तर, गत सातादेखि मञ्चन सुरु भएको एउटा नाटकको कुरा बेग्लै छ । निर्माताहरुले त्यसलाई आगामी पाँच वर्षसम्म निरन्तर चलाउने योजना बनाएका छन् । त्यो पनि हरेक दिन ।

‘बोधी छाया: लाइफ अफ बुद्ध’ शीर्षकको नाटक काठमाडौंमा एक हजार आठ सय २६ दिन चल्नेछ । गत १ असोजदेखि दिनगन्ती सुरु भएको छ ।

‘नेपालकै सर्वाधिक ठूलो नाट्य कार्यक्रम’

‘नेपालका लागि यो नितान्त नयाँ प्रयोग होला तर संसारका धेरै देशमा यस्ता लामा सोहरू हुने गरेका छन्,’ नाटककी लेखक तथा निर्देशक कविता श्रीनिवासन भन्छिन् ।

एक घण्टा ४५ मिनट लामो उक्त नाटक तयार गर्न आफूले महिनौं अध्ययन, अनुसन्धान गरेको यी भारतीय मुलकी कलाकार बताउँछिन् । थप्छिन्, ‘बुद्ध नेपालमा जन्मिएका हुन् र नेपालको राष्ट्रिय पहिचानको प्रवर्द्धनका लागि सबैभन्दा महत्वपूर्ण र टिकाउ नाम पनि उनी नै हुन् । त्यसैले मैले पनि बुद्धको सम्पूर्ण जीवनलाई नाटकमा उतार्ने प्रयास गरेकी छु ।’

दशैं र तिहारको टीकाजस्ता ठूला चाडबाडका दिन पनि उक्त नाटक बिसाइने छैन । ०७९ भदौ मसान्तमा मात्र प्रस्तुती बिसाउने योजना छ, श्रीनिवासनको । सोही कारण कलाकार र प्राविधिकका दुई समूह तयार पारिनेछ । एकसाथ सय जनाभन्दा बढी मानिस यसमा प्रत्यक्ष संलग्न रहने छन् ।

नाटकमा नेपालका परम्परागत १७ वटा नाच देखाइनेछ । मञ्चमा दर्शकले देख्ने भनेकै नाच र मौन अभिनय मात्र हो । नेपथ्यबाट कथा र संवाद सुनिन्छ, जुन अंग्रेजी भाषामा छ ।

जमलस्थित राष्ट्रिय नाचघरको आठ सय जना अट्ने प्रेक्षालय पाँच वर्षका लागि भाडामा लिइएको छ । नाटकमा प्रकाश र ध्वनि व्यवस्थापनका लागि उच्चस्तरीय प्राविधिक उपकरणको चाँजो मिलाइएको छ । आगन्तुकलाई आवश्यक सूचना प्रदान र समग्र कार्यक्रम व्यवस्थापनका लागि हल अगाडि एउटा कोठामा कार्यालय नै स्थापना गरिएको छ । कार्यालय हेर्न कोही न कोही त दिउँसोभरि बस्नु पर्ला ।

अर्थात्, खर्च धेरै गरिएको छ । लाग्छ, यो नेपालको सबैभन्दा लामो नाटक मात्र हुने छैन, सबभन्दा खर्चिलो सांस्कृतिक कार्यक्रम पनि बन्नेछ ।

जिज्ञासा स्वाभाविक छ: खास खर्च कति हो त ?

‘खर्च ठ्याक्कै यति नै हो भन्ने बताउन सक्दैनौं,” नाटककी कार्यकारी निर्माता युलिया कोइराला भन्छिन्, ‘हाम्रा प्राविधिक उपकरणहरू काठमाडौंमा उपलब्धमध्ये सबैभन्दा उच्च कोटीका हुन् । पाँच वर्षसम्म नाचघर भाडामा लिएका छौं । कलाकार र प्राविधिकलाई नियमित पारिश्रमिक तिर्नुपर्छ ।’

उनका अनुसार खर्चका दुई पाटा छन्, निर्माण र सञ्चालन । निर्माण सकिएर भर्खरै सञ्चालनको चरण सुरु भएको छ र दोस्रो काम पहिलोभन्दा धेरै गुणा खर्चिलो छ ।

अर्थात्, खास खर्च कति हुनेछ भन्ने कुरामा निर्माण समूह पनि अस्पष्ट छ ।

लगानी कसको ?

झट्ट हेर्दा नाटक निर्माणमा श्रीनिवासनको मुख्य भूमिका देखिन्छ । तर, अवधारणा उनको होइन । नेपाल र चीनमा ट्राभल एजेन्सी चलाउने चिनियाँ व्यापारी स्याम्बा थिलेन यो अनौठो परियोजनाका जन्मदाता हुन् ।

‘पाँच वर्षसम्म लगातार देखाउन मिल्ने नाटक बनाइदिनका लागि गत वर्ष स्याम्बाले मलाई प्रस्ताव गरे,’ श्रीनिवासन भन्छिन् । कला क्षेत्रमा नयाँ प्रयोग गर्न रुचाउने उनले त्यो प्रस्ताव नमान्ने कुरै थिएन । त्यसपछि पाँच वर्षसम्म टिकाउ हुने कथा खोज्ने क्रममा उनी बुद्धबारे अध्ययन गर्न थालिन् ।

व्यापारका सिलसिलामा संसारका धेरै देश घुम्दा, पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाएका थाइल्यान्ड र इन्डोनेसियाजस्ता एसियाली देशमा यस्ता लामा सोहरू अभ्यासमा रहेको कुरा यी व्यापारीले थाहा पाएछन् । अनि, उनलाई नेपालमा पनि यस्तै कार्यक्रम सुरु गर्न मन लागेछ ।

‘हो, काठमाडौंमा लामो समयसम्म एउटै नाटक देखाउने मेरो विगत १० वर्षदेखिको सपना थियो,’ स्याम्बा भन्छन् ।

काठमाडौं घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको उनी बताउँछन् । ‘पर्यटकहरू त हरेक साता र महिना बदलिने हुनाले पाँच वर्षसम्म हामीलाई दर्शकको कमी हुँदैन भन्ने आशा छ,’ स्याम्बाको कुरामा श्रीनिवासन सही थप्छिन् ।

नाटकको निर्माण समूहका सबैभन्दा महत्वपूर्ण सदस्य स्याम्बा, कोइराला र श्रीनिवासन नै हुन् । तर, कार्यक्रममा आजसम्म स्याम्बाको मात्र लगानी छ । कार्यकारी निर्माताका रूपमा कोइरालाको भूमिका प्राविधिक समन्वय र नाटक सञ्चालनको हो ।

श्रीनिवासन त एक पेसेवर कलाकार हुन् । लेखक र निर्देशकका रूपमा उनी अर्थ व्यवस्थामा जिम्मेवार रहने कुरै भएन, उनको सम्पूर्ण ध्यान नाटकको कलात्मक पक्षमा छ ।

बारम्बार सोध्दा पनि स्याम्बा आफूले गरिसकेको र अब गर्ने योजनामा रहेको लगानीको आकार बताउन मान्दैनन् । ‘यो परियोजनामा पैसा महत्वपूर्ण कुरा होइन,’ न नेपाली न अंग्रेजी बोल्न जान्ने यी व्यापारी बोलिरहँदा उनका अनुवादक उल्था गर्छन्, ‘सबभन्दा ठूलो कुरा भनेको हामी के चाहन्छौं भन्ने हो ।’

त्यसो भए खासै नाफा नहुने यस क्षेत्रमा लगानी गरेर उनी के चाहन्छन् त ?

‘हामी विश्व पर्यटन बजारमा नेपाललाई एक मुख्य गन्तव्यका रूपमा स्थापित गर्न चाहन्छौं,’ स्याम्बा भन्छन्, ‘हामी नेपाली कला र संस्कृतिलाई विश्वभर फैलाउन चाहन्छौं । र, घुम्न आउने पर्यटक यहाँको समाज र संस्कृतिसँग जोडिऊन् भन्ने चाहन्छौँ । बुद्धको शिक्षा संसारले थाहा पाओस् भन्ने चाहन्छौं ।’ आफ्ना उद्देश्यहरूको सूची प्रस्तुत गर्दा उनी आक्रामक भएजस्तो सुनिन्छ ।

आजसम्म आफैंले मात्र लगानी गरे पनि आगामी दिनमा नेपालका ठूला ट्राभल एजेन्सीहरूसँग सहकार्य गर्ने स्याम्बाको योजना छ । ‘काठमाडौंका सबैभन्दा ठूला १० कम्पनीहरूसँग त मैले कुरा पनि गरिसकें,’ उनी भन्छन्, ‘मेरो कुरा सुन्दा उनीहरू खुशी भएका छन् र सहयोग गर्न तयार छन् ।’

तर, ती कम्पनीले सीधै नाटकमा लगानी गर्ने छैनन् । ‘उनीहरूले आफ्ना ग्राहकलाई हाम्रो नाटकबारे जानकारी दिनेछन् र इच्छुक पर्यटकबाट पैसा उठाउनेछन् । अनि, त्यो पैसा हामीलाई दिनेछन् ।’

काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीहरुसँग पनि यस्तै ढाँचाको साझेदारी गर्ने स्याम्बाको चाहना छ । उनले त्यसका लागि सम्भाव्य साझेदारको सूची बनाइसकेका छन् भने सकेसम्म छिटो कुराकानी सुरु गर्ने तरखरमा छन् ।

‘यदि उनीहरूले आफ्ना यात्रुलाई हाम्रो कार्यक्रम हेर्न जान प्रेरित गरे भने हामी पनि त्यसैअनुसार हाम्रा दर्शक र हामीसँग साझेदारी गर्ने ट्राभल कम्पनीमार्फत् उनीहरूको व्यापार प्रवर्द्धन गरिदिनेछौं,’ कोइराला भन्छिन्, ‘हामीले विभिन्न मन्त्रालयलगायत सरकारी निकायसँग पनि सहकार्यको हात बढायौं । आर्थिक सहयोग त दिएनन् तर हामीलाई प्राप्त नैतिक समर्थन पनि मूल्यवान् छ ।’

विषयवस्तु र प्रस्तुतिमा सामञ्जस्य

बुद्धको जीवनमा आधारित नाटकले दर्शकहरूलाई प्रेम, करुणा, मेलमिलाप, एकता र शान्तिको पाठ पढाउनु कुनै नौलो कुरा भएन । चाखलाग्दो कुरा के छ भने नाटकको प्रस्तुतिमा पनि यी सन्देशहरू प्रतिबिम्बित भएका छन् ।

घाटु, झुम्रा, चलिया, आर्यतारा, अष्टमातृका, मञ्जुश्री, मारुनी, थकाली, स्याब्रु, सेलो, लाखे, साकेला, भैरव, वसुन्धरा, सतार, पञ्चबुद्ध र ल्याकु भैला गरी १७ प्रकारका परम्परागत नाचमार्फत् मञ्चमा नेपाली समाजका विभिन्न समुदायको प्रतिनिधित्व भएको छ । कथा र संवाद अंग्रेजीमा भए पनि मुख्य कथानक नृत्य र मौन अभिनयमार्फत् प्रस्तुत भएकाले जुन भाषाका दर्शकका लागि पनि नाटक सजिलै बुझिने छ ।

नाटक निर्माण समूह आफैंमा बहुसाँस्कृतिक छ । स्याम्बा चीनको चेङ्दुका व्यापारी हुन्, उनी न नेपाली न अंग्रेजी जान्दछन् । युलिया किर्जिगिस्तानमा जन्मिएकी हुन् र नेपालको कोइराला परिवारसँग वैवाहिक बन्धनमा बाँधिएपछि उनी नेपाली बुहारी बनेकी छन् ।

उनी नेपाली बुझि्छन् तर धाराप्रवाह बोल्न सक्दिनन् । श्रीनिवासन पनि भारतको चेन्नईमा नाम चलिसकेकी कलाकार हुन् । तर, करिब १० वर्षअघि नेपालीसँग बिहे गरेपछि उनले नेपाललाई नै आफ्नो घर बनाएकी छन् । उनलाई नेपाली बोल्न र बुझ्न कुनै समस्या छैन ।

‘हाम्रो समूहमा इजरायल, क्यानाडा र ताइवानका मानिस पनि छन्,’ श्रीनिवासन भन्छिन्, ‘हाम्रो एउटा मुख्य सन्देश नै विविधताको सम्मान हो र हामीले आफ्नै समूहमा यसलाई गज्जबसँग देखाएका छौं ।’

आगामी पाँच वर्षसम्म काठमाडौंबाट संसारलाई बुद्ध को हुन् र उनको सन्देश के थियो भन्ने बुझाउने उनीहरुको योजना छ ।

सोम, अशोज १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ

देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको...

पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन

 माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् ।   सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए । कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ ।...

लिच्छविकालीन कैलाशकुट भवन काभ्रेको नालामा हुन सक्ने बलियो सम्भावना

नेपालको  ऐतिहासिक कालदेखि नै  विभिन्न जातिले नेपाल उपत्यका वा खण्डित नेपालको थुम, कोट, गढ,उपत्यका आदिमा राज्य शासन गर्दै आएको पाइन्छ / लिच्छवी कालका प्रतापी राजा अंशुवर्माले ठकुरी सम्वत चलाएका थिए र कैलाश कुट भवन ठकुरी सम्वत (३०) ५९१ इ. मा बनाइएका थिए /नेपालको इतिहास हेर्दा...

सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन थाले

माघ, वीरगञ्ज । दुई देशबीच भएको सहमति अनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिगि्रएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर राख्दैछ ।   तर, त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन...

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत

काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ। समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता पाइँदैन। समानुपातिक तर्फको मतगणना अन्तिम...

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा

मुस्ताङ : मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका...