अन्तर्वार्ता

हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो लाए पनि हुन्छ, जसरी गाए पनि हुन्छ । पूर्ण स्वच्छन्द ।’


कात्तिक, काठमाडौं । टाउकोमा सेतो स्कार्फ, त्यसमाथि रातो क्याप । गलामा लामो सिक्री । कालो चस्मा । कालो लुज टिसर्ट ।

कम्मरभन्दा अलि तल झरेको भाङ्ग्रो पाइन्ट । पाइन्ट पछाडिको खल्तिमा झुण्ड्याइएको सेतो स्कार्फ । एकातिर नाडीमा सेतो बेन्ड अनि गोडामा ठूलो जुत्ता ।

 

ठ्याक्कै यही हुलियामा भेटिन्छन्, गायक निर्णय श्रेष्ठ अर्थात् एनएसके । उनलाई कहिल्यै कोट, पाइन्ट र पार्टी सुजमा देखिँदैन । फिटिङ जिन्स र स्पोर्टस् सुज या ट्राउजर र ज्याकेटमा पनि उनलाइ भेटिँदैन ।

यो एनएसकेको आफ्नै स्टाइल हो । फेसन स्टाइल । यो शैलीलाई उनले किशोरवयको पूर्वार्द्धबाटै अँगालेका हुन्, जतिबेला उनी अमेरिकामा थिए । बुवा पीएचडीका लागि सपरिवार अमेरिका पुगेका थिए । निर्णय उतै हुर्किए । त्यही बेलादेखि हो, उनी हिपहप देखिन थालेको ।

झट्ट हेर्दा लाग्छ, कस्तो भाङ्ग्रा लुगा । चाहिनेभन्दा लामो टिसर्ट, चाहिनेभन्दा लुज पाइन्ट, चाहिनेभन्दा ठूलो जुत्ता । कस्तो बेढंगको मानिस । तर, जसलाई हिपहपको इतिहास थाहा छैन, उसलाई मात्र यस्तो लाग्नसक्छ ।

हिपहप इतिहास

 

आदिमकालका मानिस रुखको पात/बोक्रा, जीवजन्तुको छाला/प्वाँख लगाउँथे । लाज छोप्न र राम्रो देखिन होइन, गर्मी/जाडो छल्न । प्रतीकुल मौसमबाट ज्यान बचाउन । सभ्यताको विकास हुँदै जाँदा पोशाक लाज ढाक्ने माध्यम बन्यो ।

कृषि युगपछि औद्यागिक युग सुरु भयो । र, टेक्सटाइल कम्पनीहरुले विभिन्न रुप र रंगका कपडा उत्पादन गर्न थाले । पोशाक अब अरुभन्दा भिन्न र आकर्षक देखिने माध्यम बन्यो । विभिन्न धर्म, जाति र समुदायको पहिचानको आधार मात्र होइन, अब पोशाक फेसन नै बन्न पुग्यो ।

फेसन भन्नासाथ विभिन्न बान्कीका लत्ताकपडा या थरिथरिका शैली अपनाएर लगाइने पहिरन भन्ने हामी ठान्छौं । तर, यति मात्र पनि होइन । पहिरन शैलीले अनेक अर्थ र भाव बोकेका हुन्छन् । इतिहास र कथा बोकेका हुन्छन् । यसको गुह्य कुरा बुझ्न अन्त जानुपर्दैन । र्‍यापर एवं हिपहप गायक निर्णय श्रेष्ठलाई नै भेटे पुग्छ ।

‘हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो लाए पनि हुन्छ, जसरी गाए पनि हुन्छ । पूर्ण स्वच्छन्द ।’

एनएसकेले लगाउने हिपहप पहिरनलाई खासमा ‘क्रान्तिकारी स्टाइल’ भन्दा पनि फरक नपर्ला । ‘टोटल फ्रिडम’ अर्थात् स्वच्छन्दताको चाहना अभिव्यक्त गर्ने जागरणकालीन आवाजसँग यसको साइनो जोडिएको छ ।

सन् १९८० को दशकबाटै हिपहप संस्कृति सुरु भएको थियो । त्यो स्वच्छन्दता र विद्रोहको प्रतीक थियो, केवल तन्नेरी-लहड मात्र थिएन । पार्कमा भेला भएका बेरोजगार युवालाई अपि|mकी मूलका अमेरिकी अर्थात् काला जातिहरुले फास्ट बिटमा कविता सुनाउँथे । जुन ‘स्ट्रिट पोइम कल्चर’का रुपमा विकास भयो । यसैलाइ ‘रिदम एन्ड पोइम’ अर्थात् र्‍याप भनियो । जमैकाका बासिन्दा गीतबाट विद्रोहको आवाज ओकल्थे । आफ्ना दुःख, पीडा, अपहेलना र कुण्ठा पोख्थे ।

गीतसँगै नृत्यमार्फत् पनि उनीहरुले आफ्नो भँडास निकाले, त्यसपछि फेसनबाट । उनीहरुको पहिरन स्वच्छन्द हुन्थ्यो, कुनै सूत्र नभएजस्तो । अर्थात् जे, जसरी लगाए पनि हुने । बस्, आफूलाई सहज भए पुग्ने । त्यही पहिरन शैली हिपहप फेसनमा बदलियो । जमैकाका आप्रवासी कुल हर्क नै विश्वका पहिलो र्‍यापर र हिपहपको संस्थापक मानिन्छन् ।
हिपहप फेसन कतिसम्म लोकप्रिय भयो भने यसलाई काला जातिले मात्र होइन, सारा विश्वका युवाले पच्छ्याए । त्यहीमध्येका एक हुन्, निर्णय ।

अमेरिका हुँदा निर्णय संगीतमा रुचि राख्थे । गाउँथे, गितार बजाउँथे । उनमा हिपहप संगीतकै बढी प्रभाव पर्‍यो ।

‘सानैदेखि मन परेको,’ उनले भने, ‘पछि बानी नै पर्‍यो ।’

अर्थपूर्ण गेटअप

निर्णय रातो क्याप लगाउँछन् । यस्ता दुई दर्जनभन्दा बढी क्याप उनको कलेक्सनमा छन् । रातो नै किन त ?

‘यो रगतको प्रतीक हो । यसले गरिब, धनी, कथित तल्लो र माथिल्लो वर्ग सबैको रगत एउटै हुन्छ भन्ने सन्देश दिन्छ,’ निर्णयले भने ।

रातो क्याप पहिरिनुअघि उनी टाउकोमा सेतो स्कार्फ बाँध्छन् । नाडीमा सेतो बेन्ड बाँध्छन् । सेतो अर्थात् शान्तिको प्रतीक ।

गलामा झुन्ड्याइएको लकेट नियाल्ने हो भने त्यसमा चिल र चितुवाको ‘कम्बिनेसन’ छ । चिल जतिसुकै माथि पुगे पनि उसले आफ्नो धरातल बिर्सिंदैन । चितुवाको गति न धेरै तीव्र हुन्छ, न सुस्त, एक समान ।

‘यसबाट चाहिँ म के रिप्रेजेन्ट गर्न चाहन्छु भने हामी जतिसुकै माथि पुगे पनि आफ्नो धरातल भुल्नु हुँदैन,’ निर्णयले भने, ‘साथै हाम्रो गति सधैं एकसमान हुनुपर्छ ।’

उनले लगाउने टिसर्ट र पाइन्टचाहिँ प्रायः कालो हुन्छ, किन नि ?

‘योचाहिँ यत्तिकै,’ उनी हाँसे, ‘मेरो फेवरेट कलर ।’

लुगा लुज अनि ज्यानभन्दा ठूलो लगाउनुको पनि कारण रहेछ ।

‘ठूलो होइन, कम्र्फटेबल,’ उनको तर्क थियो, ‘हिपहपको विशेषता के हो भने यसमा कुनै बाउन्ड्री छैन । जस्तो आफूलाई सहज लाग्छ, त्यस्तै लगाउने हो । लुज पहिरन सजिलो हुन्छ ।’

कम्मरभन्दा मुनि पाइन्ट लगाउनुको अर्थ पनि हामीले खोज्यौं । निर्णय एकछिन मज्जाले हाँसे । र, हाँसो मत्थर भएपछि भने, ‘हिपहप कल्चर नै हो यो । त्यसबेला जेलमा बस्दा काला जातिहरु दुब्लाउँदै जान्थे । त्यसकारण उनीहरुको शरीरभन्दा लुगाको आकार ठूलो हुन्थ्यो, पाइन्ट, कम्मरभन्दा तल हुन्थ्यो । पछि त्यही फेसन बन्यो ।’

गाडीभित्रै दराज

हामीले निर्णयलाई अर्का पप गायक प्रशान्त ‘मिस्ट’को निवासमा भेटेका थियौं ।

‘गाडीमा हेर्नुहोस् त, उसको लुगा, जुत्ता, टोपी, स्कार्फ सबै त्यही हुन्छ । हिँड्दा अर्कै, गाडीमा अर्कै प्रयोग गर्छ,’ प्रशान्तले यसो भन्दा निर्णय अलि लजाएझैं गरेर हाँसे ।

हामी पार्किङ लटमा पुग्यौं । र, निर्णयको निख्खर रातो कार, सेभरलेट एभिआको खानतलासी गर्न थाल्यौं । नभन्दै त्यहाँ २/४ जोर जुत्ता, २/४ जोर जिन्स र टिसर्ट भेटिए । २/४ थान स्कार्फ, बेन्ड र आधा दर्जन क्याप र केही थान सनग्लास पनि फेला परे ।

 

पछाडि डिक्कीमा केही पहिरन प्याकिङ गरिएका थिए, एक पटक पनि नलगाएका । यस्तो लाग्थ्यो, उनको गाडी नै लत्ताकपडाको दोकान हो ।

‘उसलाई मनपर्ने लुगा देख्नै हुन्न, गाडी रोकेर किनिहाल्छ,’ प्रशान्तले भने ।

सपिङका लागि निर्णय दरबारमार्गका ब्रान्डेड पसल चाहर्दैनन् । न कुनै निश्चित सपिङ डेस्टिनेसन नै छ । फुटपाथमा होस् वा सपिङ मल, आफूलाई सुहाउँदो र मनपर्ने लुगा जहाँ भेट्यो, उठाइहाल्छन् ।

निर्णय गाडी कुदाउँदा स्पोर्टस् सुज लगाउँदा रहेछन् । जब गाडीबाट ओर्लिन्छन्, उनको गोडाको जुत्ता फेरिन्छ । क्याप फेरिन्छ । सनग्लास पनि फेरिन्छ । मौका मिल्यो भने टिसर्ट पनि फेरिन्छ । गज्जब रहेछ, उनको बानी ।

‘म नेपाली’

‘म नेपाली, हामी नेपाली’

निर्णयले करिअरको पूर्वार्द्धमै यो गीतबाट वाहवाही बटुले । त्यसबेला उनको हुलिया धेरैलाई ‘बिचित्र’को लाग्थ्यो । हेर्दा अर्कै लोकको मान्छेजस्तो तर गीत ‘म नेपाली ।’ शब्द मात्र होइन, गीतको भाका र पृष्ठभूमिको वाद्ययन्त्र पनि ‘टिपिकल नेपाली’ ।

हिपहप संगीत नै हो उनले गाएको । तर, मौलिक नेपाली स्वाद मिसाइएको । हिपहपको विशेषता के रहेछ भने यसलाई जसले, जसरी ‘मोडिफाइ’ गरेपनि हुने । निर्णयले हिपहप संगीतलाई नेपाली सुर र धुनमा ढाले । गीत चल्यो । सुपरहिट भयो ।

हिपहप डान्स पनि अहिले मोडिफाइ भएको छ । यसमा जिम्न्यास्टिक पनि मिसिएर ‘बी-बोइङ’ बनेको छ । म्युजिकमा पनि र्‍याप, पप घुसेको छ ।

‘हिपहप पपुलर हुनुको कारण यही हो,’ उनले थपे, ‘जसले, जसरी लगाए पनि भयो, जसरी गाए पनि भयो, जसरी नाचे पनि भयो । यसमा कुनै बाउन्ड्री छैन ।’

निर्णयलाई कहिल्यै कोट, पाइन्ट र पार्टी सुजमा देखिँदैन । यो एनएसकेको आफ्नै स्टाइल हो ।

दौरा सुरुवालमा फिट

‘निर्णय दी एनएसके’ भन्नासाथ हिपहप गेटअपमा एउटा तन्नेरी गायक हाम्रो स्मृतिमा आउँछ । उनले फिटिङ जिन्स र टिसर्ट लगाए भने कस्तो देखिएला ? कोट, पाइन्ट र टाईमा उनी कस्ता देखिलान् ?

हाम्रो जिज्ञासाको जवाफअघि नै निर्णयको हाँसो फुत्कियो ।

‘त्यस्तो लुगा मैले खासमा लगाएकै छैन । लगाउन कम्र्फटेबल पनि लाग्दैन । सुट त छ तर एकाध पटक मात्र प्रयोग गरियो होला,’ उनले भने ।

बरु, उनी दौरा सुरुवालमा ठाँटिएका छन् । दौरा सुरुवाल उनलाई सुहाउँदो लाग्छ र पि्रय पनि ।

मङ्ल, कार्तिक ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘शेरबहादुरले विश्राम नलिए म हस्तक्षेप गर्छु’

मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले शेरबहादुर देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्यमात्रै भएर बस्न आग्रह गरेका छन् । स्वेच्छाले जिम्मेवारी त्याग नगरे साथीहरुसँग मिलेर पार्टीभित्र हस्तक्षेप गरिने थापाले चुनौतीसमेत दिएका छन् । अनलाइनखबरसँगको विशेष अन्तरवार्तामा सांसद थापाले...

यौनिक अल्पसंख्य समुदायकी एकमात्र उम्मेदवार पिंकी

मंसिर, काठमाडौं । गुन्युचोलीमा सजिएकी युवतीको तस्वीर डा. बाबुराम भट्टराईकै ब्यानरको एक छेउमा देखिन्छ ।सडकमा यी युवती पनि अन्य उम्मेदवारहरुजस्तै माला र खादा लगाएर भोट माग्न व्यस्त भइन् । तर, यिनी महिला उम्मेदवार होइनन् र पुरुष उम्मेदवार पनि होइनन् ।   चुनावमा उनको एजेण्डा नै यस्तो रहेछ...

मंसिरको पहिलो हप्ताबाट विराटनगर जुट मिल संचालनमा आउने

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल बन्द अवस्थामा छ।  विस १९९३ सालमा स्थापना भएको उद्योग धरासायी भएपछि सरकारले ३ पटक चलाउने प्रयास गर्‍यो । ती सबै प्रयास असफल भए । आजभन्दा १५ वर्षअघि नीजि क्षेत्रको गोल्छा अर्गनाइजेसनलाई सरकारले उद्योग संचालन गर्ने जिम्मा दियो ।  मजदुर आन्दोलनको...

यो भ्रम नै भ्रमको देश हो : महेशराज पन्त

नेपालका एक यस्ता पुराविद् हुन्, जो नेपाल अध्ययनका लागि सबैभन्दा विश्वसनीय स्रोतसंस्था हुन्। पिता नयराज पन्तले २००९ देखि सुरु गरेको संशोधन मण्डल पाठशालाका विद्यार्थी महेशराजले पाठशालाकै अध्ययनका आधारमा विद्यावारिधि गरे, जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट। ६५ वर्षको उमेरसम्म त्यहीँ जागिरे भइरहन पाउने ‘हाइफाई’ अवसर बीचमै छोडेर ५९...

‘सरकार स्थानीय तहको अधिकार कटौती गर्दैछ’

कृष्णप्रसाद सापकोटा संघीयता, स्थानीय स्वायत्त शासन र विकेन्द्रीकरण विज्ञ हुन्। २०५३ सालमा उच्चस्तरीय विकेन्द्रीकरण समन्वय समितिका सदस्य थिए। दुई कार्यकाल काभ्रे जिविस सभापति रहेका उनी २०५६ देखि २०६४ सम्म जिविस महासंघको अध्यक्षमा कार्यरत रहे। स्थानीय निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘युनाइटेड सिटिज एन्ड लोकल गभनर्मेन्ट’ मा दक्षिण...

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बिकाश गर्न प्रतिबद्ध भएर लाग्छु ,उपाध्यक्ष, मखमली श्रेष्ठ

बिक्रम सम्बत २०४५ असोज २२ गते रामेछाप जिल्लाको भीरपानी गा.बि.स. मा बुबा दिल बहादुर श्रेष्ठ र आमा रुचामाया श्रेष्ठ कि छोरी मखमली श्रेष्ठ सानैदेखि समाज परिवर्तनको लागि काम गर्नुपर्छ भन्ने दृढ अठोट बोकेकी मखमली श्रेष्ठ स्थानीय तहको निर्वाचनन मार्फत खाँडादेवी गाउँपालिकाको उपाध्यक्ष भएकी छिन् ।...