साहित्य गतिबिधि

कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैन


वर्षौं साधना गरेका र दर्जनौं कृति निकालेका कविहरु बजारमा छ्याप्छ्याप्ती छन् । तर, उनीहरुको खासै चर्चा हुँदैन । जम्मा एउटा कृति निकालेका नवराज पराजुली भने यतिबेला ‘स्टार कवि’ भएका छन् । जम्माजम्मी ३४ कविता लेखेका उनलाई साहित्य पढ्ने नेपालीले चिन्दिनँ भन्यो भने आश्चर्य हुन्छ ।

 

त्यसो त लोकपि्रय भए पनि पराजुलीका कविताका बारेमा समीक्षकहरुले उति राम्रो नम्बरिङ गरेका छैनन् । त्यतिमात्र होइन, चर्चित कविहरु पनि नवराज पराजुलीलाई ‘युट्युव कवि’ भनेर खिसीट्युरी गर्छन् । हजारौं फ्यान कमाएका नवराजलाई यसपटक अनलाइनखबरले उनका बारेमा लाग्ने गरेका यस्ता आरोपहरुको खोजी गरेको छ र उनीसँग त्यसको जवाफ माग्ने प्रयास गरेको छ ।

पहिलोपटक तीता प्रश्न सामना गरेका नवराज पराजुली भन्दै थिए, ‘मेरा बारेमा यति धरै नकारात्मक चर्चा छ भन्ने मलाई नै थाहा रहेनछ !’

प्रस्तुत छ अनलाइनखबरका लागि अश्विनी कोइरालाले कवि  नवराज पराजुलीसँग गरेको कुराकानी

तपाईंको कविताका प्रशंसा गर्नेहरु कति होलान् भन्ने ठान्नुहुन्छ ?

जहाँ जान्छु, ठूलो फ्यान फलोइङ् पाउँछु । यी कुरा मेरा थिए, तपाईंले लेखिदिनुभयो भन्नेहरु नै सयौं भेटेहुँला । हजारौंलाई प्रत्यक्ष र लाखौंलाई अप्रत्यक्ष रुपमा कविता सुनाएँ । तपाईंका कविता सुनेर रोएँ भन्नेहरु कति हुनुहुन्छ गनीसाध्यै छैन । धेरै साथीहरुले विदेशबाट तपाईंका कविता युट्युवमा नसुनी सुत्न सक्तिनँ । तपाईंको कविताले निद्राको औषधिको काम गरेको छ भन्नुहुन्छ । अहिलेसम्म कविता साहित्यप्रेमीसम्म पुगेको थियो । मेरा कविता साहित्य नपढेका र यो साहित्य हो भन्ने नुबुझ्नेसम्म पुग्यो भन्ने लाग्छ ।

तपाईंका कविता पढ्ने होइन, सुन्न मात्र योग्य छन् भन्छन् नि ?

सुरुमा पढिएको कवि होइन, म सुनिएको कवि हुँ । मैले आफ्नो कवितायात्रा दर्शकलाई सुनाएर सुरु गरेँ । दर्शकका आँखा हेरेर मेरो कविताको प्रभाव नाप्दै ऊ डुब्दैछ कि उत्रँदैछ भनेर हेर्दै मैले कविता यात्रा सुरु गरेको हुँ । कसैले म पढिनेभन्दा सुनिने कवि हुँ भन्छ भने त्यसलाई अस्वीकार गर्नुपर्ने कारण म देख्दिनँ ।

र, आरोप लगाउनेहरु भन्छन्, यसरी सुनिने कविता साहित्य विधाको कविताभित्र पर्दैन रे…

पहिले कविता लेखियो कि यो कविता हो भनेर निर्क्याैल गर्ने मान्छे जन्मिए ? पक्कै पनि कविता पहिले जन्मियो । अथवा यसो भनौं कुनै एउटा कला जन्मियो, जसलाई पछि गएर कविता भन्ने नाम दिइयो ।

त्यो सिर्जना ठूलो कि यो कविता हो कि होइन भन्ने बहस ठूलो हो ? बसह एकातिर हुँदै जाला । तर सत्य के हो भने ब्रम्हाण्डको उर्जा र मेरो उर्जा मिसिएर जतिबेला यी कुराहरु लेखिए, त्यो बेला ती कविता बनेको मलाई लाग्यो । त्यति मात्र होइन, जव मञ्चमा उभिएर म त्यो उर्जाबाट निश्रति कला वाचन गर्छु, मलाई कविता बगेझैं लाग्छ ।

ती कविता होइनन्, कुनै निवन्ध, कुनै कथा वा बुढापाकाहरुका मीठा गफजस्तै लाग्छन् रे ?

मेरा लागि कविता ती हुन्, जो मेरा पीजातीलाई उहाँले हलो जोतेको कथा सुनाउँदा आफ्नै कथालाई गीत बनाएझैं लागोस् । मेरा लागि कविता ती हुन्, वर्षौं लोकसेवा आयोगको तयारी गरिरहेको विद्यार्थीले उसलाई सोधिने प्रश्नोत्तर पार गर्न नसक्दा मेरा कविताले उसलाई आफ्ना पीडा सर्लक्क उतारेझैं लागोस् । ती कुरा उनीहरुकै भाषामा सर्लक्क उतारौं, जहाँ उनीहरुका कुरा कविताजस्तै भएर मन छोओस् । यस्तो कुरा कसैलाई निबन्ध जस्तो लाग्छ वा कथा जस्तो लाग्छ भने म के गर्न सक्छु र ? मलाई ती कविता जस्तै लाग्छन् । धेरैलाई कविता जस्तै लागेका छन् ।

मेरा कविता सबैलाई कविता जस्तै लाग्नुपर्छ भन्ने आग्रह मैले पालेको छैन । र, यी कविताले देश र समाज परिवर्तन गर्नुपर्छ भन्ने कामना पनि गरेको छैन ।

थोरै कविता लेखेर पनि युट्युवका कारण नवराज चर्चित भएको हो, उसले कति नै कृति लेखेको छ र ? भन्नेहरु पनि छन्…

युट्युवले नेपालका कविहरुमध्ये नवराज पराजुली भन्ने केटालाई मात्रै कविता राख्ने सुविधा दिएको हो ? वा यसअघि अरुले पनि त्यो सुविधा सदुपयोग गरिसक्नुभएको छ ? अरुले यो सुविधा मसँगै सदुपयोग गरिरहनुभएको छ कि छैन ? थोरै कविता लेखेको छु, यो सत्य हो । तर, युट्युवमा लोकप्रिय हुनुमा मेरो कुनै योगदान छैन । र, यसमा म धेरै दुखी हुनु वा कोही दुःखी हुनुपर्ने कारण पनि देख्दिनँ ।

यीमाथिका आरोप तपाईंलाई सुन्नेहरु मध्येकै हुन् । यी आरोेपमा इर्ष्याजस्तो केही कुरा पाउनुहुन्छ ?

यदि यी आरोप श्रष्टाबाट आएका हुन् भने पक्कै पनि केही मात्रामा इर्ष्या हुन् भन्ने लाग्छ । मेरा पाठकबाट-श्रोताबाट, जसको कवितासँग ठूलो नाता छैन, उहाँहरुबाट आएको हो भने सुझाव, सल्लाह हुनसक्छ ।

तपाईंका कविता साह्रै सरल, सामान्य र हलुका शब्दबाट बनेका छन् भन्ने आरोप समीक्षकहरुको पनि छ । यसमा कति प्रतिशत सत्य देख्नुहुन्छ ?

कुनै पनि शब्द सरल, सामान्य र हलुका हुँदैनन् भन्ने मेरो अभिमत छ । ती कुन रुपमा कसरी अभिव्यक्त भएर आएका छन्, त्यसले ती शब्दहरुको वजन मापन हुन्छ । हो, सरल शब्दभित्र मैले केही पोको पारेर मेरा मान्छेसम्म आफ्ना कुरा पुर्‍याउने प्रयास गरेको छु ।

एकजना कुनै साहित्यकारले भनेको सम्झन्छु, ‘सिमलको भुवा हलुको हुन्छ । प्रकृतिले त्यो भुवाभित्र सिमलको बिऊ लुकाएर राखेको हुन्छ । सिमलको भुवा परपरसम्म उडेर जान्छ । त्यसो नहुँदो हो त अग्लो सिमलको सेपमा त्यो बिऊ उम्रन सम्भव हुन्नथियो । प्रकृति अनौठो छ । पाकेको आँप सिधै रुख मुन्तिर र्झछ किनभने मानिसले त्यो फल खान्छ र पर कतै त्यसको कोया फ्याँक्छ । सिमलले आफैं त्यो काम गर्नुपर्छ । यही कारण उ आफैंले हलुका भुवाभित्र आफ्नो बिऊलाई राखेर परपरसम्म उड्नुपर्छ ।

यसको अर्थ हो, जति हलुका शब्द भयो, त्यति परपरसम्म छरिएर त्यसले उम्रने अवसर पाउँछ । सायद मेरा सरल शब्द त्यहि सिमलको भूवा नै हो कि जसभित्र पर परसम्म छरिएर रहनु भएका नेपालीको मन छुने बिऊ राखिएका छन् ।

युट्युवमा तपाईंका कविता राखिँदा त्यसले तपाईंको कवित्वलाई कस्तो प्रभाव पार्‍यो ? ती कविताहरुले आफ्नो धर्म निभाए ?

साहित्य जुन माध्यमबाट गए पनि आफ्नो धर्म निभाउँछ । युटुव र फेसबुक लाइभबाट करिब ५० लाख पटक ‘सगरमाथाको गहिराइ’ र ‘ह्याप्पी बड्डे छोरा’ कविता हेरिएको अनुमान गर्छु । एउटा कविताको लम्बाइ करिब १५ मिनेट राख्दा म हिसाव निकाल्छु करिब ७५ करोड मिनेट आमाको मायामा हामी रङ्गियौं । यो समयमा हामीले आफ्नो देश सम्झियौं । यसको अर्थ हो, १२ लाख ५० हजार घण्टा मनमा दुषित भावना आएन । कसैप्रति दुर्भावना पलाएन । म हिसाव निकाल्छु, ५२ हजार दिन बरावरको समय हामीले आमा र देशलाई सम्झियौं । योबीचमा ब्रम्हाण्डको सकारात्मक उर्जा हामीले ब्रम्हान्डमै फिर्ता पठायौं । यो कुरा गर्दा अलि ठूलो कुरा गरेजस्तो होला, तर सत्य हो ।

युट्युव र फेसबुक लाइभमा हेरिएका ५० लाख भ्युअरको कुल समय १ सय ४२ वर्ष हुन्छ । अर्थात ती कविताले १ सय ४२ वर्षको समय बाँचे । म यसलाई सानो प्रभाव मान्दिनँ ।

तपाईंमाथि अर्को आरोप पनि छ, भनाैं ?

ओहो, ममाथि यति धेरै आरोप छन् भन्ने कल्पना गरेको थिइनँ । तपाईंलाई धन्यवाद, कम्तिमा ममाथि पनि आरोप छन् र त्यसलाई स्पष्टीकरण दिने अवसर पनि जुराइदिनुभयो ।

आरोप के छ भने तपाईंले कवितालाई कुनैबेलाको पप गीतजस्तो सस्तो बनाउनुभयो ?

पप गीतलाई किन सस्तो भनियो, यसमा म आश्चर्यचकित हुन्छु । संसारमा जुन गीत लोकप्रिय हुन्छन्, ती गीतलाई पप गीत भनिन्छ । जति धेरैको मनमा बस्न सक्यो, गीत त्यति नै लोकप्रिय हुन्छ ।

नेपालमा पप गीत भन्नाले युवा पुस्ताले गाउने गीतलाई भन्ने गरिएको छ र त्यसलाई केही संगीत मर्मज्ञहरुले अस्वीकार गर्नुहुन्छ ।

मेरो कविता यदि पप गीत जस्तो लोकपि्रय अर्थमा भनिएको हो भने यो आरोप होइन, प्रशंशा हो । होइन, गलत अर्थमा युवा पुस्ताले मात्रै मनपराउने अर्थमा कसैले भन्नुभएको हो भने पनि म खुसी नै हुन्छु, किनभने युवा पुस्तामा पनि साहित्य छिर्‍यो ।

अहिले साहित्यमा जसरी युवा पुस्ताका लागि लेखिएका पुस्तक चर्चामा छन् । जसरी युट्युवमा कविता चर्चामा छन्, त्यसले के जनाउँछ भने अब साहित्य केही सीमित व्यक्तिमा मात्रै निहीत रहेन । यो सिमलको भुवाले बिऊ बोकेजस्तै पर परसम्म पुग्न थाल्यो ।

केही दिनअघि म नेपालगञ्जमा गएको थिएँ । त्यहाँ कहिल्यै कविता नसुन्ने युवा विद्यार्थीहरु डेढ घण्टासम्म मेरा कविता सुनिरहनुभएको थियो । अब अन्तिम कविता भन्छु भन्दा अर्को कविता वाचन गर्ने आग्रह आउँथ्यो ।

तर, मेरा कविता हजुरआमाले पनि सुन्नुभएको छ । बुवाहरुले मनपराउनु भएको छ । युवाहरुमा मात्रै यो सीमित रहेन । यस अर्थमा यसलाई पप कविता भन्दा खुसी नै लाग्छ ।

तपाईंले एउटा कविता वाचन गरेको १० हजारसम्म लिने गर्नुभएको छ । एउटै कविता हरेक दुई दिनमा ठाउँ-ठाउँ पुगेर ती कविताको दोहन गरिरहनुभएको छ । यस्तो आरोप लगाउने लाई के भन्नुुहुन्छ ?

के कवि भन्ने प्राणी निरीह हो ? आफ्नो भाडा पिटाएर, आफ्नो गोजीको पैसाले खाजा खाँदै एउटा कवि कुनै साहित्य सम्मेलन वा कवि गोष्ठीमा पुगोस्, त्यहाँ पुगेर उसले दश काम बिताएर पनि लेखेको कविता वाचन गरेर ताली पाओस् । अनि परिवारलाई पैसाको अभावमा समस्यामा पारेको भनेर घर आउनेवित्तिकै गाली खाओस् भन्ने चाहान्छ, यो समाज ?

हामीले देखेका छौं, राम्रा राम्रा लेखक-कवि-कलाकार जीवनभरि दुःख गरेर काम गर्छन् । तर उनीहरु आफू बिरामी हुँदा उपचारसम्म गर्न नसक्ने भएर मर्छन् । यस्तो बेलामा कुनै सहयोगी दाताले चन्दा उठाएर उसको नाममा चर्चा कमाउँछ र भिख मागेझैं कवि-लेखक-कलाकारलाई पैसा दिन्छ । कवि-कलाकार भनेको यस्तै दुःखी प्राणी हो र यसले सधैं यसैमा गर्व गर्नुपर्ने हो ?

भारतमा एकजना कवि छन्, कुमार विश्वास । उनी आज होइन, दसौं वर्षअघि नै एउटा मञ्चबाट एउटा कविता भनेको एक लाख रुपैंया लिन्थे । उनी राजनीतिमा आए । तर, पनि उनले कविता भनेको पैसा लिन छाडेनन् । राजनीतिमा आएको मान्छे, पैसा माग्दा मेरा भोटर घट्लान् भन्ने चिन्ता उनले गरेनन् । राजनीति गर्दागर्दै पनि उनले कविता कन्सर्ट गरिरहे, अहिले पनि गर्छन् । किनभने कविता उनको करियर हो । राजनीति उनका लागि समाजसेवा ।

जबसम्म कवि-कलाकारले आफ्नो कर्मलाई करियर बनाउँदैन, ऊ माथि भनिएझैं भिख मागेर आफ्नो उपचार गर्न बाध्य हुन्छ । म कवितालाई करियर बनाउन चाहन्छु । र, अबको साहित्य र साहित्यकारको परिचय परिवर्तन भएको हेर्न चाहन्छु ।

कविता भनेर पैसा लिनु जायज हो ?

कविता लेख्नका लागि पैसा माग्नु जायज होइन । तर, लेखिएको कविता सुनाउन पैसा लिनु जायज हो । मैले पैसा पाउँछु भनेर कविता लेखेको होइन, तर लेखिएका कविताले तपाईंको मनको भोक मार्छ भने, तपाईंको केही समय सकारात्मक उर्जाले भरिन्छ भने त्यसको कुनै न कुनै मूल्य हुन्छ र त्यो तपाईंले तिर्नुपर्छ । पुस्तक बिक्री हुनुपर्छ, सिनेमा हेरिनुपर्छ र कविता पनि पैसा तिरेर सुनिनुपर्छ ।

तपाईं स्कुल पनि पढाउनु हुन्छ क्यारे । देश-विदेश घुमिरहनु भएको हुन्छ, कुन बेला जागिर खानुहुन्छ ?

यो देशमा कवि-कलाकारलाई चिन्ने मानिसहरु प्रशस्त छन् । भोलि कुनै बेला काठमाडौंको बबरमहलमा रहेको ओलम्पिया स्कुल नरहन पनि सक्छ । भोलि निश्चित छ, यो नवराज पराजुली पनि हुँदैन । तर, ओलम्पियाका सहृदयी लगानीकर्ता र शिक्षकहरुले एकजना शिक्षक, जो कवि पनि हो, उसलाई सजिलै गरी काम गर्ने वातावरण दिए र केही सुन्दर कविता सिर्जना गर्ने वातावरण बनाइदिए । र, ती कविता लामो समय बाँच्नेछन् । यो कुरा उहाँहरुले बुझ्नुभएको छ । जबसम्म यो देशमा यस्ता संस्था र यस्ता मान्छे हुन्छन्, ‘ह्याप्पी बर्थ डे छोरा’ जस्ता सिर्जना जन्मिरहनेछन् ।

मेरा आरोप सकिए, तपाईंलाई केही भन्नुछ ?

मेरो विद्यालय र तपाईंका बारेमा एउटा कुरा भन्नुछ, लेख्नु हुन्छ, हुन्न थाहा छैन । तर, तपाईंले नै अन्तरवार्ता लिँदा मैले यो कुरा भन्नैपर्छ ।

त्यो के भने, गएको वर्ष रसियन कल्चर सेन्टरमा एउटा महत्वपूर्ण पुस्तकको विमोचन हुँदै थियो । त्यो विमोचनमा मलाई आउन मन थियो । तर, विद्यालय लागेको थियो । मलाई विद्यालयले म जुनबेला जहाँ पनि जान छुट नदिएको भए त्यो दिन एउटा महत्वपूर्ण कुरा गुमाउने थिएँ ।

तपाईंले बिर्सनुभयो होला, तर मलाई त्यो ताजा छ । त्यो दिन तपाईंले भन्नुभएको थियो- ‘मैले राम्रा कुरा पाउँछु भनेर सधैं ठूला मान्छेको संगत गरेँ । आज पत्रकारिता गरेको बर्षौंपछि भन्न सक्छु, ‘ठूला मानिसहरु’ले ठूलो हुञ्जेलसम्म सबै राम्रा कुराहरु गुमाइसक्दा रहेछन् । राम्रा कुराहरु त हामीले साना भनेका मानिसहरुसँग पो हुँदोरहेछ !’

बुध, पुस १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भानु साहित्यिक दौड सम्पन्न

काठमाडौँ, असार २८ गते । भानु साहित्य प्रतिष्ठानको मूल आयोजना र साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा ‘भानु साहित्यिक दौड’ को आयोजना गरियो । साझा प्रकाशन पुलचोक, ललितपुरबाट सुरु भएको ‘भानु साहित्यिक दौड’ सहरको विभिन्न भागको परिक्रमा गर्दै प्रज्ञा–प्रतिष्ठानमा आएर समापन गरिएको थियो । दौडको शुभारम्भ गर्दै साझा...

अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीमा कविता सुनाए

२९असार काठमाडौं -अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीको सु अवसरमा हेमन्त खड्काको संयोजकत्वमा, दामोदर ढकालको उद्घोषण,कलानिधि दाहालको प्रमुख अातिथ्य,तिलक लुइँटेलको विशेष अातिथ्य,मुरलीप्रसाद ढकालको सभापतित्वमा १२जना सर्जकले एकदेखि छ वटासम्म गजल/मुक्तक/कविता सुनाएका थिए।सबै कविताको समीक्षा विशेष अतिथि-तिलकप्रसाद लुइँटेलले मार्मिक ढङ्गमा गरे।सबैको मुटु झड्कने वाँणहरु अाफ्नो अाशनबाट कलानिधि...

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो । आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण...

संसाक सम्मान तथा पुरस्कार–२०७५ को घोषणा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रही आआफ्नो स्थानबाट यिनका विविध पक्ष र विधाहरूलाई समृद्ध पार्न पु¥याउनुभएको उल्लेखनीय योगदानको लागि संसाक वाङ्मय प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई विभिन्न विधाको संसाक सम्मान तथा पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको स्रष्टा...

दुवाललाई फेडोल साहित्य पुरस्कार

काठमाडौँ, असार २२ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ । साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा...

‘हिमवत् खण्ड कला, साहित्य सम्मिलन’ हुने

काठमाडौँ । २०५ औँ भानुजयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति ः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ भन्ने मूल उद्घोषका साथ यही असार २९,३० र ३१ गते तीन दिन यस क्षेत्रमा स्थापित कला, साहित्य र संस्कृतिकोे परिचय तथा गरिमा, विचार...