समिक्षा

पुस्तक समीक्षा ‘लाज हराएका मन्छेहरु भित्र’

-रामप्रसाद चापागाईं फिदिम, पाँचथर । हाल– कपन, काठमाडौं।


पुस्तक परिचय ः लाज हराएका मन्छेहरु – (कविता संग्रह)
लेखकः रत्नप्रसाद अनामणि श्रेष्ठ ।
प्रकाशक ः गौरि पब्लिक रिलेसन एन पबिलकेशन, काठमाडौं नेपाल ।
प्रकाशन बर्ष ः २०७३ मंसिर ।
मूल्य ः रु १०१ ।

यस पुस्तमा जम्मा १९कविताहरु छन् । पुस्तकको मुख पृष्टमा एउटा अमूर्त चित्र छ भने पछिल्लो भागमा लेखकको तस्वीर र संक्षिप्त परिचय राखिएको छ ।

संरचना– यस कविता संग्रहको शीर्षक लाज हराएका मान्छेहरु, जुराइएको छ । यो शीर्षक उपयुक्त पनि छ । किन भने यस संग्रहका अरु पनि थुप्रै कविताहरुमा लाज हराएका मान्छेहरु भेटिन्छन् । पुस्तकको तेश्रो पृष्टमा बहुआयामिक ब्यक्तित्व शीर्षकमा डा. माधवप्रसाद सापकोटाको छोटो भूमिका रहेको छ । त्यसपछि लेखकको आफ्नो भनाइ रहेको छ । प्रकाशकीयमा गौरि पब्लिक रिलेशन एन पब्लिकेशनका अध्यक्ष दामोदर ढकाल दीपकको तर्फबाट छोटो टीप्पणी राखिएको छ जसमा यस पुस्तका अन्तर्वस्तुका सम्बन्धमा लेखाजोख गर्ने जिम्मा पाठकवर्गलाई नै सुम्पेको छ ।
विषयसूचीमा क्रमसंख्या विनाको कविताक्रम राखिएको छ जसमा छोरालाई चिठी, म बुढो कवि, मुसाले खेत जोत्तैन, भूकम्प र राहत, साँझमा ठोक्किएका काँचका गिलासहरु, शान्तिको अखण्डदीप प्रज्वलित गरौ, मेहनती कमिला, म मेरै माटोमा जमरा छर्न चाहन्छु, जनताको लेखाइमा सम्बिधान, हाम्रो निर्णय, अलछिनी फ्याउरो, लाज हराएका मान्छेहरु, पासा मेरो नाममा राज्य नमाग, मेरो टोलका बुढा बालाई, बनभरि एक्लै सल्ला सुसाइरहेछ, देशप्रतिबिम्बित कविको कोट शीर्षकका १९ ओटा कविताहरुले यस संग्रहको बिटो कस्ने काम भएको छ । पुस्तकको मोटाइ ८० पृष्टको छ भने कविताहरु चै ७१ पृष्टमा अटाइएका छन् ।
यस संग्रहमा लेखकका २०४९ सालदेखि प्रकाशनकालसम्मका रचनाहरु समावेश भएका छन् । यसमा प्रकाशित कविताहरु समय सान्दर्भिक भएका कारण पाठकलाई सहज होस भन्ने मनसायले लेखकले रचनाकाल र फुटकर रुपमा प्रकाशित पत्रिकाको नाम समेत उल्लेख गरेका छन् ।
वर्तमान सन्दर्भमा समाजमा भएका विक्रिति र विसंगतिहरुलाई उजागर गर्ने क्रममा यस संग्रहमा प्रकाशित कविताहरु ज्यूँदा छन् । चाहे प्रकृतिको चित्रण गर्ने क्रममा होस् वा नितान्त व्यक्तिगत धारणा राख्ने क्रम, देश दुनियाँ दुखेको अनुभव लेखकलाई भइहाल्छ ।
कविताको थालनी छोरालाई चिठी, कविताबाट सुरु हुन्छ । बर्षाैंदेखि अन्धकारमा छटपटिएको काठमाडौं लोडसेङ्मुक्त भएर उज्यालो भएकोमा लेखकले खुसी व्यक्त गरेका छन् तर राजधानी मात्र उज्यालो भएर पुग्दैन ।

गाउँघर पनि उज्यालो हुनुपर्छ भन्ने आशय कविताको रहेको छ । कृत्रिम अभाव सिर्जना गरी लोडसेडिङ्को बहाना बनाई सर्वसाधारण जनतालाई अँध्यारोमा बस्न बाध्य पार्ने विद्यूत प्राधिरणप्रति लेखकको यो व्यंग्य साहित्यको परिभाषाभित्र पर्ने अब्बल उदाहरण हो ।
जस्तै……
काठमाडौ.मा लुकाएको विजुलीले
झिलीमिली पारो रे ।
कहिल्यै पनि लोडसेडिङ् हुदैन रे ।
सक्छौ भने छोरा तिमी पनि
अलिकती विजुली लुकाएर गाउँमा लिएर हाउनु है ।
रतन्धो रोग लागेकी तेरी आमालाई भए पनि केही राहत हुन्थ्यो ।,,
यति मात्र होइन रोग, भोक,अभाव र अशिक्षाले पीडित जनतालाई देखाएर राजनीति गर्ने नेताहरुप्रति तीखो व्यग्य प्रहार गर्दै जनताको नाम बेचेर डलरको खेती गरी तारे होटलहरुमा महँगो भोजमा रमाउने सँस्कृतिप्रति खबर्दारी गर्न समेत लेखक पछि परेका छैनन् यो कवितामा ।
“म बुढो कवि,, कविता जति सरल र सहज रुपमा बगेको छ त्यति नै गम्भीर पनि छ । सुनौ यो अंश ….
“एम्बुलेन्सको एकाहोरो साइरनसँगै उत्तानू परेर म आइपुगें
त्यही लथालिंग र भताभुंगको बुढो वीर अस्पतालमा …..,,
देशको स्वास्थ्यसेवाको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने कुराको राम्रो उदाहरण यो कविताले दिएको छ ।उपचार गर्ने डाक्टर नै रोगले ग्रस्त भएपछि उसले रोगीको के उपचार गर्न सक्ला र ? यहाँ लेखकले गहिरो चिन्ता ब्यक्त गरेका छन् ।
कलमको काम लेख्ने र गैतीको काम माटो खन्ने हो । कलमले कहिल्यै पनि माटो खन्दैन र गैतीले लेख्ने काम गर्दैन । कलमलाई जमिन खन्ने काममा लाउनु वा कलमले जमिन खन्छु भन्नु आँफैमा यो भन्दा ठूलो मूर्खता अरु केही पनि हुन सक्तैन । “मुसाले खेत जोत्तैन,, कविताले यही कुराको पुष्टी गरेको छ । यस कवितामा बाह्रवर्षे जनयुद्ध र त्यस पछिको विसम परिस्थितिको आँकलन लेखकले राम्रोसँग गरेका छन् ।
लेखककै शब्दमा–
“दशबाह्रवर्ष जंगलमा बस्तैमा खेत जोत्ने भए
वनका सवै जन्तुहरुले खेतीपाती गर्थे ।
त्यसैले मुसाले खेत जोत्तै जोत्तैन।
मुसाले ठाउँठाउँमा दुलो बनाउँछ ।
उल्टै भएको वाली विगार्दै हिड्छ
आफ्नै लागि संकलन गर्छ ……।,,
कविता छोटो भए पनि यस विताले एउटा लामू कालखण्डो चित्रण गर्न सफल भएको छ ।
“भूकम्प र राहत,, कविता पड्दा मैले २०७२ साल जेठ १२ को माहाभूकम्पलाई सम्झें । लेखकले काभ्रेको नालामा बसेर माहाभूकम्पको चित्रण गरिरहँदा म पनि पाँचथरको फिदिममा बसेर यही भूकम्पले निम्त्याएका विपदहरुलाई नियालिरहेको थिएं । मैलै त्यतिवेला भूकम्पवारेको एउटा गजल गाएको थिएं ।

आज रत्न श्रेष्ठजीको यो कविता पढिरहँदा उहाँको र मेरो विचार र दृष्टिमा एकरुपता भेएको मैले पाएं ।
त्यतिवेला मैले गाएको गजल यस्तो थियो –
“नदेखाइद्यौन यस्तो समचार देशरोएका वेला
आँशु पुछ्ने पनि फर हुँदारहेछन् देश रोएका वेला ।

राहतको एकमाना चामल एकआपसमा बाँडेर खादै
प्वाल परेको पालमनि बाँचेको जिन्दगि देश रोएका वेला ।

मानवीय समवेदनाहरु त्र्दारहेछन् विशाल समुद्र पनि
सहयोगी हातहरुको पहिचान हुन्छ देश रोएका वेला ।

अर्कैले ओडाएको पीडितको झुपडीको छनू उक्काएर
महल ठड्याउनेहरुको पनि समचार बन्दोरहेछ देश रोएका वेला ।,,
कवि रत्नप्रसाद अनामणीको भूकम्प र राहत, मविताको यो अंश पनि हेरौं—
“वेदका ऋचब कण्ठ पार्नेहरु
हिन्दु राष्ट्र चाहिएको दहाना गर्न थाल
विदेशी मुकिलाहरु
ख्रीश्चियनको भजन गाउन थाले
गाउँका माइला,हर्के र लुरेहरु
पालमनि पसेर आफ्नै पुर्पुरोमा
धारे हात लाउँदै बसे ।,,

 

भूकम्पपीडितहरुका लागि दाताहरुले दिएको राहतको सट्टा भूकम्पपीडितहरुले भाषणको भरमा बाच्नु परेको अवस्थालाई यो कविताले छर्लङ्ग पारेको छ । भूकम्पपीडितहरुको वरिपरि घुम्दैगर्दा लेखकलाई लिपुलेकको चिन्ता पनि उत्तिकै छ । कुम हल्लाएर ठूल ठूला भाषण गर्ने नेताहरुले लिपुलेकका वारेमा एक शब्द पनि बोल्न नसक्ने नेताले देशको अश्मिता जोगाउँछन् भन्ने कुरामा लेखकलाई विश्वास छैन ।
यस संग्रहको “साँझमा ठोक्किएका काँचका गिलासहरु,, कविता निकै शक्तिशाली छ । (पेज२३) कुनै पनि सिर्जनाको श्रोत हुन्छ नै । त्यस्ता श्रोतहरु खोज्न एउटा कुसल लेखकलाई टाडा गइरहनु पर्दैन । आफ्नै वरिपरि भएका, आफूले देखेका, भोगेका घटना परिघटनाहरुलाई टपक्क टिपेर आफ्ना सिर्जनाहरुमा सजाउने कला मैले कवि रत्नप्रसाद श्रेष्ठमा देखें । यो कविता पनि त्यस्तै एउटा परिवेशबाट सिर्जित भएको जस्तो लाग्यो मलाई ।
२०६४ सालमा “आज कान्छो मातेको छ,, शीर्षकको मेरो एउटा कविता एउटा स्थानीय पत्रिकामा छापिएको थियो । रत्नप्रसाद श्रेष्ठज्यूको लाज हराएका मन्छेहरु कविता संग्रहभित्रको “साँझमा ठोक्किएका काँचका गिलासहरु,, पढिरहँदा र येसंग्रहको समीक्षा गरिरहँदा मलाई याहाँ पनि मेरो त्यो कविताको याद आयो ।
“ठुल्दाइ, माल्दाइ अनि सान्दाइहरुको जस्तो
उसलाई व्हिस्की, ब्राण्डी र स्कचको मात लागेको छैन

तारे होटलमा हुने रात्रीभोजको निम्तो पनि उसले पाएको छैन
परको साहूको पसलबाट एक बोरा चामल बोकोर
माइलीको हातबाट उसले रु. पाँच थापेको छ ।
आज कान्छो मातेको छ ।
कान्छो मातेको छ
आफ्नै पसिनाले.. ।
उसको ग्लासमा कमिशनको एकथोपा थपिएको छैन
उसको आँगमा विदेशी एडको भेष मिसिएको छैन….,,
कवि रत्नप्रसाद श्रेष्ठको “साँझमा ठोक्किएका काँचका गिलासहरु,, कविताका यी अंशहरु पनि हेरौं–
“हम्रा काँचका गिलासहरुको ठोक्काइ
माननीयहरुले पाँचतारे होटलमा ठौक्काइएको,
महँगा रिसोर्टहरुमा ठोक्काइएको भन्दा नितान्त फरक छन्।
उनीहरुको ठोक्काइमा राष्ट्रिय ढुुकुटी रित्याउने गन्ध छ ।
प्रत्येक नेपालीको परिश्रम र पसिनाको मूल्य छ ।,,
यो कविताका सम्बन्धमा अरु केही भन्नै पर्दैन ।

शान्तिको दीप प्रज्वलित गरौं र मेहनती कमिला जस्ता कविताहरुमा शान्तिको कामना र एकताको प्रतिफलका सम्बन्धमा राम्रो उदाहरण प्रस्तुत गरिएको छ । म मेरै माटोमा जमरा छर्न चाहन्छु कविता राष्ट्रिय भावनाले ओतप्रोत छ ।
“मेरो मुटुका कुनाकुनामा कहिले
सुस्ता दुख्छकहिले कालापानी दुख्छ …. ।,,
यही पीडा र यही दुखाइले
कतै मेरो नागरिकता फेरिने हो कि….।,,
यी पंक्तिहरुले गहकिलो भाव बोकेका छन् । आजको तरल राजनीतिक अवस्थाले कतै हाम्रो सार्वभौमिता पो गुम्ने हो कि भन्ने चिन्ताले लेखकलाई सताएको छ ।
जनताको लेखाइमा सम्बिधान र हाम्रो निर्णयले विदेशी हस्तक्षेपको भत्र्सना गर्नुका साथै नेपालको

जस्तै.
“खोल्नु पर्ने ढोकाहरु खुलेका छैनन्
बोल्नु पर्ने मुखहरु बेलेका छैनन्
कसैलाई गाँसको डर छ
कसैलाई स्वासको डर छ
कतै लाटाहरु बाठाको अभिनय गर्छन्
कतै बाठाहरु लाटाको अभिनय गर्छन् ।
यहाँ सवैछन्,
कहिले स्याल बन्ने गर्छन्
कहिले बाघ पनि बन्छन्
ढूंगा पूजिने देश न हो
यहाँ मानव पूज्ने चलन छैन ।,,

यात्रा अझै बाकी छ, कविताका यी अंशहरुले मलाई एक छिन स्तब्ध बनायो । यो मुलुकमा मानवलाई पूज्ने चलन कहिले आउला भनेर सोच्न मलाई बाध्य बनायो यो कविता पढ्दा । कविता सहज, सरल छ कर्णप्रिय पनि छ ।
“लाज हराएका मान्छेहरु,, यस संग्रहको प्रमुख कविता हो । भूकम्प र राहत र यस कविताको अन्तर्वस्तु एउटै जस्तो देखिए पनि प्रस्तुती फरक छ । यस कविताले सिंगो संग्रहको प्रतिनीधित्व गरेको हुनाले अन्तर्वस्तु एउटै हुनु नौलो कुरा पनि होइन । यस कवितामा शहरिया सँस्कृतिले निम्त्याइएका विकृतिहरुको संकेत त छदैछ यसका अतिरिक्त २०७२ को माहाँभूम्प र राहत वितरणमा भएको ढिलासुस्ति र अनियमितता प्रति लेखक निकै चिन्ति छन् । राहतको नाममा अखाद्य वस्तु र म्याद नाघेका औषधी बाड्दै हिड्नेदेखि सतर्क रहन समेत लेखकले सचेत गराएका छन् । के गर्ने मित्र श्रेष्टज्यू,
धोती खुस्किएको थाहा हँुदैन नागालाई
दिन र रात थाहा हुदैन जागालाई ,,
लाज छोप्नेहरुलाई पो लाज हुन्छ । सँधै नाङ्गो बस्नेलाई लाजको के डर ?
यस कवितामा लाज हराएका मान्छेहरुको परिचय लेखकले यसरी गराएका छन् –
“सहुलियत ऋण दिने भन्दै
हजुरलाई सहिछाप गर्न लगाएर
पैसा सवै उनीहरुले नै लेलान्
जावो बाँसको अस्थायी टहरो हालेर
घर बनाएको भनेर
श्हरमा टिवी र रेडियोेमा
ठूलो स्वरले फुक्छन् बुबा…।
यिनीहरुले हामीलाई दुख वाहेक
केही दिन सक्तैनन् रे
यिनीहरु लाज हर्राका हुन् है बुबा ।,,

पासा मेरो नाममा राज्य नमाग, कविता विगत केही समयदेखि देशको तराइमा भइरहेको आन्दोलनप्रति केन्द्रित छ । देशको सीमानामा बसेर विदेशकै दानापानी खाएर आफ्नै देशमा ढुंगा हान्नेहरुलाई म सकरी नेपाली भनूँ ? मुलुक भूकम्पको चपेटामा परी छटपटाइरहेका वेला नाकाबन्दी गरी खुसियाली मनाउनेहरु सच्चा नेपाली हुनै सक्तैनन् भन्ने ठोकुवा गर्नु भएको छ लेखकले याहाँ…….
“धेरै जसो राज्य माग्नेहरुको
सालनाल यस देशमा गाडेको छैन पासा,
त्यस्तालाई कसो गरी नागरिता दिन
राज्यसंग माग गरुँ पासा ।,,
मेरो टोलका बुढाबालाई निराशाले छाएको छ भने वनभरी एक्लै सल्ला सुसाइरहेछ, कविताले फरक शैली र फरक विषय अँगालेको छ । जीवनलाई प्रकृतिसँग तुलना गरेर लेखकले पाठकलाई धर्तीको सुन्दर बगैंचामा घुमाउनु भएको छ । मान्छेका पीडा र व्यथाका वारेमा सवैले लेख्छन् तर प्रकृति र त्यसको सुगन्धमा रमाउने कवि विरलै भेटिन्छन् । ती मध्येका एक जना लेखक रत्नप्रसाद श्रेष्ठलाई मैले पाएं ।

यो धर्तीको पोल्टामा असंख्य बनस्पती र जडीबुटीहरु अटाएका छन् । दुर्लभ र बहूमूल्य जडीबुटीहरु यहीं छन् । के गर्ने माल पाएर चाल नपाए पछि ? यस्ता बहूमूल्य वनस्पतीप्रति हामी उदासीन रहेकोमा लेखक निकै चिन्तित छन् । त्यसैले उनी भन्छन्–
वनभरी कसैलाई नराखी
एक्लै सल्लो आज आफ्नै विरहमा
सुसाइरहनु परेको यो सल्लोलाई ।,,
देश प्रतिम्बिीत कविको कोट, कविताले लाज हराएका मान्छेहरुको बिट मार्ने काम भएको छ । कविको कोटलाई बिम्ब बनाएर देशको वर्तमान अवस्थालाई चित्रण गर्ने लेखकको प्रयास रहेको छ यस कवितामा । आफ्नो कोट प्वालै प्वाल बनेर च्यतियोस्, मैलो होस्, च्यतिएर धुजाधुजा बनोस् तर मेरो देशलाई धुजाधुजा बनाएर च्यात्ने काम कसैबाट पनि नहोस । उनी भन्छन् –
“कविजीको कोटको गर्धनमा भएको मैलो भन्दा
सगरमाथाको फोहारको बढी चिन्ता छ ।
चिया र चुरोटको दागहरु भन्दा
देशका महान् नेताहरुमा लागेको दागप्रति दुखी छ ।
कोटको खल्ती च्यतिएको भन्दा
युवाहरु विदेश गएर राष्ट्रको ढुकुटी
च्यातेको वारे चिन्ता छ ।,,
लाज हराएका मान्छेहरुभित्र कवि रत्नप्रसाद श्रेष्ठलाई मैले यति नै पढें र भने पनि । क्रिया भए पछि प्रतिक्रिया हुन्छ । त्यसैले यो संग्रहभित्र मैले केही कमजोरीहरु पनि भेटें । भेटेपछि देखाउन मन लागिहाल्यो । एउटा समीक्षकको जिम्मेबारी पाएको नाताले यसभित्र भएका कमी कमजोरीहरुलाई देखाउनु मेरो कर्तव्य पनि हुन आउन्छ । यस संग्रहमा मैले देखेको ठूलो कमजोरी जनताको लेखाइमा सम्बिधान, कविताको धेरै अंश दोहारिएको छ । पृष्ट ३८ मा “तिम्रो बुढ्यौली …….. ,, देखि “आऊ तिमी र म सँगै मिलेर …..,, सम्मको भाग पुरै दोहारिएको छ । अर्थलाई नै अनर्थ गर्ने गरी भएका भाषागत त्रुटीहरु मैले त्यति देखिन । वर्ण र मात्राहरु छुट्नु साधारण कुरा हो । “साँझमा ठोक्किएका काँचका गिलासहरु,, कवितामा …..
मानीयहरुले पाँचतारे होटलमा भन्दा
महंगा रिसोर्टहरुमा ठोक्काइएको भन्दा …(पृष्ठ २६) याहाँ भन्दा शब्द पनि दोहोरिएको छ । यहीं नेर राष्ट्रिय शब्द पनि दोहोरिएको छ ।
“.त्यसैले त हाम्रा काँचका गिलासहरु
साँझ सँधै ठाक्क्रिहोस् ठौक्किरहोस् ।,,
याहाँ क्रियापद बहुबचन हुनु पर्नेमा एकबचन भएको छ । “ठोक्किरहुन्, ठोक्किरहुन् ,, हनु पथ्र्यो । यसैमा वीराङ्गना, हुनु पर्नेमा वीरङ्गना, भएको छ । यस कविताको अन्त्यमा पनि यस्तै त्रुटी भएको छ
“साँझमा हाम्रा काँचका गिलासहरु
ठोक्किरहुन्, ठोक्किरहुन्, ठोक्किरहुन् ।,, हुनु पथ्र्यो । (पृष्ट२८)
अन्त्यमा कवि रत्नप्रसाद श्रेष्ठको “लाज हराएका मान्छेहरु,, कविता संग्रहले लेपाली साहित्यको कविता विधामा प्रमुख स्थान ओगट्न सफल भएको छ । आगामी दिनहरुमा लखेकको कलमले अझै गहकिला कृतिहरु जन्माउन सकोस । यही शुभकामना ब्यक्त गर्दछु ।

शुक्र, पुस २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङका तीन कृति बिमोचन

सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि रचित “लँय् लुगु किपा”नेपाल भाषा हाइकु सङ्ग्रह तथा “भो तस्बिर नखिच”मुक्तक...

बजारमा छिट्टै आउंदैछ

कृति : अनामणिका भूमिकाहरू भाग १ लेखक : रत्नप्रसाद अनामणि श्रेष्ठ प्रकाशक : गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँ, नेपाल संस्करण :२०७४ ,अशोज मुल्य : रु.  १००/- आवरण : महेश कोइराला प्रति : ५०१ ...

पुस्तक परिचय

विचारसिन्धु  ——————————- प्रकाशक :अनामणि प्रकाशन नाला ,काभ्रे संकलन /सम्पादन : उमेश पाण्डे  संस्करण : प्रथम,२०६७ छपाई संख्या : १००१ प्रति मुल्य : रु.१५०/- ...

फुलबारी (बालकविता संग्रह )

पुस्तकको नाम : फुलबारी कवयित्री : तारा के.सी. विधा : बालकविता आवरण कला : सलोना रंजित कला : बिनोद प्राकाशन मिति : २०७० श्रावण संख्या : ५०० प्रति मूल्य: रु. ५०/- प्रकाशक : अक्षर मार्ग फुलबारी बालकविता संग्रह एउटा हाम्रा भाइबहिनीहरुका लागि  संग्रहनीय पुस्तक हो /यस पुस्तकका  लेखिका  काभ्रे पनौती १ निवासी तारा...

बजारमा आउंदै छ है

ह्रदयको पाखाभरि अम्लान फूल फूलाउँदै छु सृजनाको फूलबारीमा यिनै नजर डुलाउँदै छु थुप्रै देखेँ दिउँसै यहाँ जून खोज्दै हिड्नेहरु हिउँ फूल्ने आँगनीमा एक्लै जून भुलाउँदै छु  जन्मेपछि मर्नै पर्ने फूले ओइली झर्नै पर्ने नओइलिने फूलको यस्तो रहस्य म खुलाउँदै छु बाटैभभरि काँढा होलान् खालि खुट्टा नाच्दै आउँछु उकाली र ओरालीमा प्रीति फूल...

आँसुका फूल

(कविता संग्रह ) लेखक : सीता बिष्ट कार्की (सिबिका ) प्रकाशक : भक्त बहादुर कार्की सम्पादन : एम. राधाकृष्ण प्राकाशन मिति : २०६७ पहिलो संस्करण प्रकाशित संख्या : ५०० प्रति आवरण सज्जा : सुश्री राधिका बिष्ट मूल्य : व्यक्तिगत रु. १००/- संस्थागत रु .१५०/- मुद्राक : कल्पतरु प्राकाशन प्रा.ली. डिल्लीबजार , काठमाडौँ कबिता संख्या :...