संस्कृति/धर्म

काठमाडौंमा चैत्यको पहिलो वैज्ञानिक उत्खननः यसरी भयो पुनर्निर्माण


काठमाडौं । ३ फागुन ०७३ मा केही स्थानीय बासिन्दाका साथ पुरातत्व विभाग र राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोका प्रतिनिधि स्वयम्भूनाथ स्तुपा परिसरमा जम्मा भए ।

त्यतिबेला १२ वैशाख ०७२ को विनासकारी भूकम्पको दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो । यो जमघटको खास उद्देश्य थियो, मंगल बहुद्वार चैत्यको उत्खनन क्रममा भेटिएका सामग्रीलाई सांकेतिक रुपमा पुनःस्थापना गर्ने कार्यक्रमको अवलोकन गर्नु ।

 

त्यो नेपालमा पहिलो वैज्ञानिक तवरको उत्खनन थियो । उक्त स्थानमा ढुंगा र इँटामा कुँदिएका आकृति तथा हजारौँ किलो स-साना माटाका सामग्री भेटिएका थिए ।

प्रतिस्थापन कार्यक्रम चल्दै गर्दा शायद सबैको दिमागमा एउटै कुरा थियो, स्थानीय बासिन्दाले युद्धका देवता मानेका भैरव र अजिमाले सबै क्रियाकलाप हेरिरहेका छन् किनकि चैत्यलाई आजसम्म बचाएर राख्ने उनीहरु नै हुन् ।

त्यहाँ भेटिएको एउटा लेखोटमा स्तुपालाई बदल्न खोज्ने जोकोहीले पनि भगवान्बाट दुःख पाउने लेखिएको थियो । त्यसैले भगवान्लाई खुशी पार्न क्षमापूजा गरे मात्र उन्नाइसौँ शताब्दीको उक्त चैत्यको पुनर्निर्माण गर्न सकिने उनीहरुको मत थियो ।

पुनर्निर्माणका क्रममा स्थानीय बासिन्दाले आफ्नातर्फबाट विभिन्न सिक्का र गहना भगवानका नाममा समर्पण गरेका थिए । क्षमापूजापछि स्थानीय समुदाय, पुरातत्व विभाग र युनेस्कोका प्रतिनिधिहरुले उक्त सम्पदाको विस्तृत पुनर्निर्माण थाले । पक्कै पनि यो सजिलो काम थिएन ।

प्रथमतः उत्खनन शुरु भएको महिनौँ बितिसकेको थियो र समय बढ्दै जाँदा स्थानीयवासीको धैर्य कमजोर हुँदै थियो । अर्कातिर, चैत्यमा भएका ‘संरचनागत गल्तीहरु’ सच्याउने कि नसच्याउने भनेर पुरातत्वविदहरुबीच पनि विवाद थियो ।

‘हरेक संरचना छिट्टै पुनर्निर्माण होस् भन्ने स्थानीयवासीको चाहना थियो,’ परियोजनामा संलग्न पुरातत्वविद् देवेन्द्र भट्टराई भन्छन् ।

मंगल बहुद्वार चैत्यको पुनर्निर्माण सकियो, प्राणप्रतिष्ठाको साइत कुर्दै समुदायका ज्येष्ठ सदस्यहरु

स्वयम्भू महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरका अनुसार त्यहाँ घुम्न आउने विदेशी पर्यटकले पनि पुनर्निर्माण कहिले सकिन्छ भनेर सोध्थे । ‘भत्किएका भवनका इँटा र ढुंगा यत्रतत्र थिए । स्थानीय बासिन्दा तिनलाई छिट्टै पन्छाइयोस् भन्ने चाहन्थे,’ भट्टराई भन्छन् ।

पुरातत्वविदहरु भने चैत्यको राम्रोसँग वैज्ञानिक उत्खनन गर्ने आफ्नो योजनामा दृढ थिए । र, काम पनि थालिसकेका थिए ।

तर, निर्माणकै क्रममा पुरातत्वविद्हरु बीच फेरि विवादले समस्या निम्त्यायो । ‘यो मंगल बहुद्वार चैत्यको केन्द्रमा एउटा काठको खम्बा (योशी) छ । स्वयम्भू महाचैत्यमा पनि त्यस्तै खम्बा छ,’ पुनर्निर्माणमा संलग्न अर्का पुरातत्वविद् डेबिड एन्डोल्फाटो भन्छन् ।

पुरातत्वविदहरुको एक समूहले चैत्यको पुनर्निर्माण पहिलेजस्तो थियो, त्यस्तै हुनुपर्ने बताए । अर्को समूहले उक्त योशी गलत तरिकाले राखिएको र त्यो गल्ती सुधार्नुपर्ने बताए ।

‘सामान्यतया यस्तो योशी चैत्यको आधारतिर फैलिएको हुन्छ । तर, यहाँको योशी त्यस्तो छैन,’ भट्टराई प्रस्ट्याउँछन् ।

अन्त्यमा स्थानीय समुदायले भनेअनुसार नै हुने भयो । योशीलाई बदल्न खोज्नु भनेको समग्र संरचना बदल्नु हो र चैत्यको रक्षा गरिरहेका भगवान्का लागि यो पि्रय हुँदैन भन्ने उनीहरुको निष्कर्ष रह्यो ।

‘त्यसपछि योजना तयार भयो र पुनर्निर्माण शुरु हुने बेला महासमितिले नेतृत्व गर्‍यो,’ तुलाधर भन्छन्, ‘हामीले सकेसम्म पुरानै सीप, प्रविधि र सामग्री प्रयोग गर्नेतर्फ विशेष ध्यान दियौँ ।’

तुलाधरका अनुसार महासमितिले यसका लागि विशेष तरिकाले बनाइएका इँटा (माह्पा) मगायो । विशेष किसिमकै चुन र माटो पनि तयार गरियो । ‘सकेसम्म सबै कुरा सर्वोत्कृष्ट होस् भन्ने हाम्रो चाहना थियो । दक्ष जनशक्ति तथा उत्कृष्ट सामग्रीका लागि हामीले धेरै दुःख गर्‍यौँ,’ तुलाधर दाबी गर्छन् ।

यसरी चैत्यको पुनर्निर्माण त सकियो । फेरि अर्को समस्या आइपर्‍यो । चैत्यका बाहिरतिर धेरै खोपा थिए र हरेक खोपामा १/१ मूर्ति थिए । पुनर्निर्माणमा संलग्न सबै पुरातत्वविदको चाहना तान्त्रिक महत्वसहित स्थापित ती मूर्तिहरु जुन-जुन खोपामा थिए, त्यहीँ राख्ने थियो ।

तर, कहाँ कुन मूर्ति थियो भन्ने कसैलाई थाहा थिएन । संयोगवस, जर्मनीको हेडेलबर्ग विश्वविद्यालयका अतिथि प्राध्यापक माणिक बज्राचार्यसँग ती खोपासहितको चैत्यको तस्बिर रहेछ र ती मूर्तिलाई पहिलाकै ठाउँमा राख्न सम्भव भयो ।

चैत्यको पुनर्निर्माण सकिएको महिनौँ बितिसकेको छ । समुदायका ज्येष्ठ सदस्यहरु प्राणप्रतिष्ठाको साइत कुरेर बसेका छन् । उनीहरुलाई थाहा छ, उनीहरुले मानिआएका युद्धका देवताले प्राणप्रतिष्ठापछि पनि सबै कुरा हजारौँ वर्षदेखि चलिआएको परम्पराअनुसार नै चलून् भन्ने चाहेका छन् ।

सोम, माघ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम

कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले...

संस्कृत भाषा देवभाषा वा देववाणी

  संस्कृत भाषा नेपाली देवनागरिक लगायत समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे / विश्वकाे सबभन्दा प्राचीन भाषा हाे। ‘संस्कृत’शब्दकाे शाब्दिक अर्थ परिपूर्ण भाषा हाे । संस्कृत भाषा  पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका...

सिएनएनको संसारका ५० मीठो पेयपदार्थको सूची ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...

चोथा (चथाः) गणेश चतुर्थी र नाला तुपिचा टोलको पाषणकालको गणेश

नेवार समुदाय   कुनै पनि शुभ कार्य गर्नको लागि अथवा प्रत्येक दिन सवैभन्दा पहिले टोल गणेशको पूजा गर्दछन् । तर चथाः अर्थात् गणेश चतुर्थीका दिन नेवार समुदायले विशेषरुपमा गणेश भगवानलाई पूजा गर्दछन् । गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र...