परको कुरा राजनिति

‘कांग्रेसलाई शेरबहादुर देउवाबाट जोगाऔं’ वृद्धभत्ता सम्बन्धी निर्णय देउवाको अल्पवुद्धि हो

-पुरञ्जन आचार्य


प्रधानमन्त्री र नेपाली कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाप्रति दया गर्ने कि माया ? सवै कांग्रेसजनलाई जस्तै मलाई पनि दोधार भैरहेको छ । देउवालाई कांग्रेस र लोकतन्त्रको शत्रु ठान्ने कि मित्र ? छुट्याउन गाहृो छ ।

कांग्रेसभित्र देउवाका जब्बर समर्थक र आलोचक छन् । समर्थकहरु स्वार्थवश मात्र बनेका छैनन् होला, न त विरोधीहरु नै पनि आधारहीन आलोचना मात्रै गर्छन् ।

देउवाले पार्टी फुटाए, प्रजातन्त्र राजालाई वुझाए । तर, पनि देउवाले शंकाको लाभ पाए र जोगिए । कांग्रेस कार्यकर्ताहरुले उनलाई पार्टी सभापति र प्रधानमन्त्री बनाए ।

अहिले निर्वाचनको माध्यमवाट देश देउवाले वामपन्थीहरुलाई सुम्पिँदै छन् । किन यो भयो ? देउवाले जवाफदेही लिने छैनन् र उनको नेतृत्वको समीक्षा पनि सबै कांग्रेसजनझै म पनि गर्न चाहन्नँ ।

देउवाको समीक्षा इतिहासले गर्छ

म यहाँ देउवा कति ठीक र कति बेठीकमा जान्न । प्रम र कांग्रेस सभापति देउवाले आफ्नो सात दशक लामो जीवनमा जे गरे, त्यसको समीक्षा इतिहासले गर्दै गर्ला । जब जब कांग्रेसको इतिहास अगाडि आउनेछ, तब तब देउवा एउटा पात्र हुनेछन् कांग्रेसको । कस्तो पात्र ? अहिले नजाउँ ।

म कांग्रेस कस्तो पार्टी थियो विगतमा र यसका कार्यकर्ताहरु कस्ता थिए त्यसमा पनि जान चाहन्न । यो कथा पनि धेरै नै भयो । कांग्रेस सत्तामा हुँदा कसरी सरवादी, सुकिला मुकिला र पैसावालाहरुले पार्टीलाई घेर्छन् र फेरि पार्टीभित्रै कार्यकर्ताहरुले अर्को संघर्ष गर्नुपर्छ भनी वीपी कोइरालाले किन भने ? यो विषयमा पनि प्रवेश गर्दिनँ । किनकि पार्टीभित्र अवसरवादीसँग संघर्ष गर्ने शक्ति र सामथ्र्य राख्ने कार्यकर्ताहरु धेरै पहिलेदेखि नै खेदिए ।

मलाई निर्वाचनपछि देउवाको नेतृत्वमा भैरहेका काम कारवाहीले नेपालको संविधान र लोकतान्त्रिक धर्म जोगिन्छ कि जोगिँदैन यति मात्र बहस अगाडि बढाउने पिरलो भयो ।
प्रम र पार्टी सभापति ‘देउवा एण्ड कम्पनी’ जे गर्दैछन्, त्यो लोकतन्त्रसम्मत छ कि छैन ? कांग्रेसको मूल्यपद्दतिअनुरुप हो कि होइन ? यस विषयमा मात्रै अगाडिका विचार केन्दि्रत गर्नुछ ।

म कांग्रेस थिएँ, कांग्रेस रहन्छु । तर, कांग्रेस रहे न म पनि कांग्रेस हुने हो भन्ने चिन्ताले नचाहिँदो पिर ममा छ । कांग्रेस लोकतान्त्रिक संस्कार, पद्दति, प्रणाली र व्यवहारको नाम हो । तर, यही नरहँदा म कसरी कांग्रेस रहुँला ? मैले बुझेको कांग्रेस र देउवाले बुझेको कांग्रेस फरक भए । देउवा कांग्रेस कि म कांग्रेस ? मलाई समस्या भयो ।

लोकतान्त्रिक संस्कारहीन देउवा

देशमा आम निर्वाचन भएको झण्डै ६ महिनापछि सम्भवत निर्वाचित सरकार बन्ने छाँट देखिँदैछ । यस्तो किन भयो भने राष्ट्रियसभाको निर्वाचन नभई सरकार बन्नै सक्तैन भनी पंण्डित वकिलहरुले भने, देउवाले माने । राष्ट्रियसभाको निर्वाचनका लागि स्थानीय र प्रदेशसभाको निर्वाचन परिणाम आउनुपर्ने संवैधानिक व्यवस्था छ भनेर भनियो ।

वृद्धभत्ताको उमेर पाँच वर्ष कान्छो गरेर देउवाले कांग्रेसको समर्थन समूह वृद्धि गरे भनी सोच्दछन् भने यो उनको अल्पवुद्धि हो

एकछिनलाई सोचौं – अहिले त देशको सबै ठाउँमा प्रदेशसभाको चुनाव भएको छ र त्यसकारण पनि राष्ट्रियसभाको निर्वाचन सम्भव छ । अनि ६ महिनापछि पनि प्रतिनिधिसभाले सरकार बनाउला । यदि दुई नम्बरमा प्रदेशसभाको चुनाव नभएको भए के सरकार नै बन्ने थिएन त कहिल्यै पनि ?

यतिमात्र होइन, भोलिका दिनमा कुनै एउटा निर्वाचन क्षेत्रमा मात्रै प्रदेससभाको निर्वाचन हुन सकेन भने सरकार कहिल्यै नआउने भयो त ? अहिले यही मान्यता स्थापित भएको छ । र, भावी नेपालमा सरकार नछाड्न निरन्तर कुनै प्रदेशको एक ठाउँमा गडबडी चलेर वा चलाएर सरकार ६ महिना मात्रै होइन, ६ वर्ष पनि बन्न नसक्ने भएमा दोष कसलाई ? अहिले यस्तै मान्यता स्थापित भयो ।

अहिले देउवा सरकारले सबै निर्वाचन परिणाम नआएको बहानामा आफ्नो सत्ता लम्ब्याए पाँच महिनासम्म । कांग्रेस नेतृत्वको सरकार केही समय लम्बिँदा कांग्रेसजन खुशी नै भए होलान् । भावी दिनमा वामपंथीहरुको सरकार हुन्छ । अनि अनुमान गरौं पाँच वर्षपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने भो, प्रतिनिधिसभाको चुनाववाट । त्यतिखेर प्रदेशसभाको निर्वाचन नगराएर, गराएको पनि कुनै एक वा दुई ठाउँमा निरन्तर गडबडी गरेर नयाँ सरकार चयनलाई महिनौं वा वर्षौं रोक्न सकिन्छ कि सकिँदैन ?

हो, अहिले लोकतान्त्रिक धर्म पालन नगर्दा अधिनायकवाद आउँछ । अनि त्यस्तो बाटो खन्ने काम कांग्रेसले गर्न सुहाँउथ्यो ? देउवाले गरे ।

सबैभन्दा दुर्भाग्य त नेपाल अलोकतान्त्रिक प्रकृयावाट अगाडि बढिरहँदा कुनै पनि संवैधानिक निकायले यसलाई सहज पार्ने पहलकदमी गरेनन् । बरु उल्टै निर्वाचन आयोगले त भावी नेपाल अधिनायकवादतर्फ जाने मार्ग पो प्रशस्त गर्‍यो । दुःखका साथ भन्नुपर्छ, सर्वोच्च अदालतले पनि यसमा प्रष्ट्याउन जरुरी ठानेन ।

कांग्रेसको लोकतान्त्रिक धर्म र नेपालको संविधान हारिरहँदा कांग्रेस कार्यकर्ताहरुको मौनता पनि आश्चर्यलाग्दो छ । के देउवासँगै सबै कांग्रेसको लोकतान्त्रिक धर्म मलामी जाँदैछ ? र, पराजयको निराशामा ‘कांग्रेस पार्टी मुक्त नेपाल’ हुँदै गर्दा अर्को वैकल्पिक पार्टीले लोकतन्त्रको विगुल फुक्छ कि भनी आश गर्ने ?

वैकल्पिक राजनीति पनि रहेन

एक मनले लाग्छ, कांग्रेस पार्टी कति चाँडो देशवाट विदा लिन्छ र युवापुस्ताले यो पार्टीवाट त्राण पाउँछन् । सम्पूर्ण देशको विकास र सम्भावनाहरु यही पार्टीले दशकौंदेखि अवरुद्ध गरिरहेको शंका लाग्छ । अर्को मनले सोच्छ, के कांग्रेसको विकल्पमा अर्को लोकतान्त्रिक पार्टी आउला, जसले व्यक्तिको स्वतन्त्रता जोगाउन सक्छ वा जोगाउनु पर्दा संघर्षमा उत्रिन सक्छ ? नेपालका वामपन्थीहरुको विकल्प कसले दिन सक्ला ? तीन दशक अगाडि निरंकुश पञ्चायती व्यवस्थाको स्वाभाविक विकल्प नेपाली कांग्रेस थियो । अब वामपन्थीको विकल्प कांग्रेस हुन सक्ला र ? चिन्ता गर्नपरेको छ ।

मलाई विवेकशील साझा पार्टीको कांग्रेससँगको सत्संग राम्रो लाग्यो । किनकि शहरिया मध्यमवर्गमा एकपटक फेरि कांग्रेसले आफूलाई पुनःस्थापित गर्ने अवसर पाएको छ । विवेकशील खरानी भएको छ

अराजनीतिक युवाहरुको ‘स्पनटेनियश’ आकर्षण थियो विवेकशील साझा पार्टी । तर, शहरिया मध्यमवर्गलाई निराश पार्न उद्धेलित छ यो पार्टी भने अरु विकल्पहरु कस्ता होलान् भविष्यमा ?

इतिहास थिएन विवेकशील साझा पार्टीको । उत्सर्ग पनि थिएन । तर, उर्जा थियो केही दिन अगाडिसम्म । देश विदेशमा बस्ने युवाहरुले आफ्नो अविभावकलाई ‘हाम्रोमा होइन, राम्रो पार्टीमा’ भोट हाल्नु भनी दबाव दिए । दबाव प्रभावकारी भयो र विवेकशील सझाले सामान्य प्रयासबाट वैकल्पिक राजनीतिको बाटो पनि खोलेको थियो, सम्भावना देखाएको थियो । तर, यतिखेर यो पार्टी खरानी भएको छ । न विवेक रहृयो, न अब यो साझा हुने लक्षण छ ।

मलाई विवेकशील साझा पार्टीको कांग्रेससँगको सत्संग राम्रो लाग्यो । किनकि शहरिया मध्यमवर्गमा एकपटक फेरि कांग्रेसले आफूलाई पुनःस्थापित गर्ने अवसर पाएको छ । विवेकशील खरानी भएको छ ।

धेरै दिन भैसकेको थियो, देउवालाई जनताले विपक्षको भूमिकामा हेर्न खोजेको । तर, निरंकुशताको जग बसाउन उद्धेलित उनको घेराले उनलाई निर्वाचनमा पराजय भएर पनि तत्कालै काम चलाउ हुँदै विपक्षमा बस्न सघाएन । यसवीच उनले वामपन्थी सरकारलाई भविष्यमा खुला छुट दिने अनेकन काम गरेका छन् ।

निराशामा अस्वस्थ प्रतिस्पर्धा

निर्वाचनमा पराजयपछि प्रम देउवाले गरेका निर्णयहरुले झण्डै ‘एक खरबको’ दायित्व राज्यले व्यहोर्नुपर्नेछ । म यहाँ देशमा आर्थिक संकट आउँदैछ र त्यसलाई वाम सरकारले सम्हाल्न सक्तैन भन्ने सोचवाट देउवाले यस्तो दुस्शाहशी काम गरे होलान् भनी विश्वास गर्दिनँ । तर, वृद्धभत्ताको उमेर पाँच वर्ष कान्छो गरेर देउवाले कांग्रेसको समर्थन समूह वृद्धि गरे भनी सोच्दछन् भने यो उनको अल्पवुद्धि हो ।

नेपालमा वृद्धभत्तामा “एमालेको पेटेन्ट राइट” भैसक्यो, मनमोहन अधिकारीको इमेज यसमा जोडिएको छ । पैसाको आकारले होइन ‘कार्यक्रमले’ नै यो एमालेकरण भैसकेको छ । बरु कांग्रेसको ‘गरीवसँग विश्वेश्वर’लाई जनतावीच स्थापित गराउन सकेको भए पाँचवर्ष पछि हुने निर्वाचनमा त्यसले महत्व राख्थ्यो । वृद्धको उमेर कम गर्नेजस्तो प्रतिगामी कदम चाल्नु पर्दैनथ्यो होला ।

सत्तावादी चरित्र भएको पार्टीमा लडाकूपन र जुझारुपन ल्याएर कम्युनिष्टसँग राजनीतिमा जुझ्ने काम सजिलो पक्कै छैन । यसमा नैतिक, वैचारिक र सांगठनिक तिनै तहबाट तयारी गर्नुपर्छ , देउवा यसमा फेल छन्

देशको भविष्य कसरी निर्माण गर्ने ? पार्टीलाई कसरी जनतासँग जोड्ने भन्ने सामान्य ज्ञान पनि प्रम देउवामा देखिएन । वृद्धमाथिको लगानीले देश निर्माण हुन्छ कि वालवालिका र केटाकेटीमाथिको लगानीले ? केटाकेटीहरु, जो भविष्यका कणर्ाधार हुन् देशका भनी ओठे प्रशंशा गरिन्छ, तिनका लागि न समुचित शिक्षा छ, न विद्यालय छ, न शिक्षक गुणस्तरीय छन्, न पार्क र खेलमैदान छन् । केही पनि त छैन । अनि देशका युवाहरुलाई रोजगारीको फिटिक्कै कुनै व्यवस्था र प्रवन्ध छैन । एक खरबले वालवालिका र युवाहरुलाई धेरै गर्न सकिन्थ्यो । तर, युवालाई नै वृद्ध पारेर कसरी देश बन्छ प्रमज्यू ?

को छन् नेपालमा वृद्ध उमेरसम्म बाँच्ने ? अपवादवाहेक अधिकांश वृद्धहरु हुनेखाने र राम्रो परिवारका छन् । ती मध्यम वर्ग छन्, ती उच्च वर्ग छन्, ती राज्यवाट सबै सुख सुविधा प्राप्त स्पेशल नागरिक छन् ।

प्रमज्यू, एकपटक तपाई आफ्नो गाउँ डडेलधुराको रुवाखोला जानुस् । तपाईको उमेरका कति साथीहरु बाँचेका छन् ? आफैं हेर्नुहोस् । म तपाईभन्दा झण्डै डेढ दशक युवा छु, म मेरो गाउँमा आफुसँगको राजवंशी, मुसहर, चमार, सतार विरलै भेट्छु । अनि बालुबाटारमा दिनरात मडारिने तपाईका साथी सहयोगीहरुको उमेर सोध्नुहोस् । रुवाखोलामा तपाईको क्लास मेट बिरलै बाँचेका होलान् । तर, वालुवाटारमा सुट र कोटमा सजिने सबै ६५ वर्षका त होलान नि तपाई जस्तै । अपिन तपाई कसको हितमा काम गर्दै हुनुहुन्छ ?

नेपालमा वृद्धभत्ता हुनेखानेहरुलाई राज्यले थप पोस्ने मात्र व्यवस्था हो । यो प्रतिगामी छ । हो, वृद्धहरुको सामाजिक सुरक्षा राज्यको जिम्मेवारी हो, त्यसमा संवेदनशील हुनैपर्छ । वृद्धको मात्र होइन, सबै नागरिकको सामाजिक सुरक्षा राज्यको जिम्मेवारीभित्र पर्छ । तर, त्यो गर्ने कसरी ? वृद्ध आवाश भवन सबै प्रदेशमा, विरामीको निशुल्क उपचार, वृद्धपार्क, पुस्तकालय अनेकन् उपाय छन् वृद्धहरुलाई ।

यी सबै गर्ने पनि समय र वैधानिक पद हुनुपर्छ । जनतावाट तिरस्कृत नेताले राज्यको ढुकुटीबाट एक खरब खर्च गर्छ भने जनसमर्थनप्राप्त भावी प्रम खड्ग ओलीका लागि भावी दिनमा के के मात्र गर्ने छुट होला ? यस्तो छुट गर्ने मान्यता स्थापित गरेर भोलिका दिनमा कांग्रेसले विपक्षीको भूमिकामा सरकारलाई नियन्त्रण र जवाफदेही के गरी बनाउला ? कुन नैतिक धरातलवाट यो कार्य सम्भव छ । यो चूक भएको छ कामचलाउ प्रमबाट । यसलाई सच्याउ देउवा ।

कार्यक्रम छाडी पैसा वितरण

प्रम देउवा आफूलाई वीपी र गिरिजाप्रसादको चेला भन्न रुचाउँछन् । वीपी कोइरालाले देउवालाई के सिकाए कुन्नि थाहा भएन । तर, म स्मरण गराउँछु । ०३६ सालको जनमत संग्रहको समय काठमाण्डौं टुँडिखेलमा आमसभा थियो ।

हामी विद्यार्थीहरु बिराटनगरबाट वीपीको आमसभा हेर्न र सुन्न काठमाडौं आएका थियौं । वीपीले टुँडिखेलमा औंलो ठड्याएर ‘भावी सरकार हाम्रो हो तसर्थ यो सरकारले कुनै पनि सेवा सुविधा बढाउन सक्तैन’ भनी तत्कालीन पञ्चायती शासनलाई थर्काउनुभएको थियो ।

तिखेर शिक्षक र पाइलटहरु तलव वृद्धिलाई लिएर हडतालमा थिए । वीपीले भावी सरकार हाम्रो हो, मेरो हो, तसर्थ अहिले संक्रमणकालमा कुनै किसिमको सेवा सुविधा वृद्धि म स्वीकार्दिनँ भनेर वीपीले थर्काएका थिए । लोकतान्त्रिक धर्म भनेको वीपीबाट कांग्रेसजनले यही सिकेको हुनुपर्छ, मैले यही सिकेको छु ।

के पैसा नभएर भूकम्प पीडितहरुको घर अहिलेसम्म निर्माण नभएको हो ? होइन । इच्छाशक्ति र राजनीतिक खिचातानीमा भूकम्प पीडितहरु पीडा भोगिरहेका छन् । देउवा यसमा दोषी छन् । उनले एकजना सीईओ त यो काम गर्न स्थिर दिन सकेनन्, अनि कसरी हुन्छ भूकम्पपीडितलाई राहत र घर ?

कांग्रेस राजनीतिक पार्टी भएन

कामचलाउ प्रम देउवाले जुन ढंगले अहिले कार्य गर्दैछन् भोलिका दिनमा कांग्रेसले वामपन्थी सरकारलाई उत्तरदायी र जवाफदेही बनाउने सबै अवसरहरु गुमाउँदैछन् । किन देउवा यसो गर्दैछन् भन्ने कुराको जवाफ वीपीवाट नै सुनौं ।

वीपीले ‘नेपाली कांग्रेस र सरकार’ लेखमार्फत भनेका थिए- ‘हाम्रा धेरैजसो साथीहरु सरकारको मुखापेक्षी हुने बानी बसेको छ र हामीमा लडाकूपनको अभाव हुँदै गएको छ । त्यसको फलस्वरुप विरोधी पार्टीहरुलाई संगठन गर्ने मौका मिलेको छ, तिनीहरुले देशमा रहेको लडाकूपनको नेतृत्व गर्न लागिपरेका छन् । हामी भने सरकारले सबैथोक गरिदेला भन्ने आश लिएर सिंहदरबारपट्ट िमुख फर्काएर बसेका छौं ।’

सिंहदरबारले सबैथोक हिजो पनि गर्न सकेको थिएन, आज पनि सक्तैन । झन राजनीति त फिल्डमा जित्ने र हार्ने हुन्छ, देउवाले यो बुझेनन् ।

निश्चय नै कम्युनिष्टसँग जित्न वीपीले भनेझैं लडाकूपन र जुझारुपन चाहिन्छ नै । अब कांग्रेसमा लडाकूपन र जुझारुपन कसरी ल्याउने ? त्यो भनेको के हो ? देउवासँग बुझ्ने क्षमता नै छैन । सत्तावादी चरित्र भएको पार्टीमा लडाकूपन र जुझारुपन ल्याएर कम्युनिष्टसँग राजनीतिमा जुझ्ने काम सजिलो पक्कै छैन । यसमा नैतिक, वैचारिक र सांगठनिक तिनै तहबाट तयारी गर्नुपर्छ, देउवा यसमा फेल छन् ।

लडाकूपन र जुझारुपनलाई कांग्रेसले तिलाञ्जली दिएर टिकट वितरण गर्‍यो विगतमा । राष्ट्रियसभाको निर्वाचनमा दिएको उम्मेदवारीले त कांग्रेसको श्रद्धाञ्जली नै लेख्न ‘देउवा एण्ड कम्पनी’ लागिपरेको देखिन्छ । तीन तहको निर्वाचनपछि कांग्रेस नेतृत्वमा चेत आयो होला भनी कामना गर्नेहरुलाई देउवाले ‘म सुधि्रन तयार छैन’ भनी सन्देस दिए ।

माथि नै भनियो, देउवालाई अलोकतान्त्रिक धर्म गर्न कांग्रेसले रोक्न सकेन । थुप्रै मान्यताहरु अलोकतान्त्रिक भए, निर्वाचनमा पराजयपछि । देउवाका यी सबै कुकर्मले प्रतिपक्षको रचनात्मक भूमिकामा कांग्रेसलाई अहिले नै पराजित बनाएको छ ।

अब उत्तरदायी शासन र जनताप्रति जवाफदेही सरकारका रुपमा कांग्रेसले प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ला ? कांग्रेसजन टाउको निहुराएर बस्नुपर्ने छ देउवासहितको कांग्रेसमा, प्रतिपक्षको भूमिकामा ।

कांग्रेस र लोकतन्त्र जोगाउनु छ भने अब देउवालाई कांग्रेसबाट फेरि निकाल्नुको विकल्प छ ?

आइत, माघ १४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हरेक बर्ष श्रावण शुक्ल पक्षको पंचमी तिथिमा नाग पंचामिको रुपमा मान्दै आएको छ / यो दिनमा हिन्दुहरुले नाग लाइ बिशेष प्रकारले घर घरमा पुजा गर्ने चलन छ / यो चलन परापुर्व काल देखि चल्दै आएको हो / हिन्दुहरु आफु र आफुलाई सहयोग तथा उपयोग हुने...

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक

साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको...

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिए

साउन, काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने...

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद्को यस्तो छ निर्णय

हेटौंडा, २३ साउन । प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ । हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’...

स्विमिङ्, कविता र खीर कार्यक्रम सम्पन्न

काठमाडौँ, साउन १५ गते । ‘साहित्यमा सिर्जनाको खोजी’ भन्ने मूल नाराको साथ संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको आयोजना र टोखा केब फन पार्क, टोखाको व्यवस्थापनमा भएको ‘स्विमिङ्, कविता र खीर’ कार्यक्रम टोखा केब, टोखामा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । खेलकुद समाजका...

नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

 कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन...