अन्तर्वार्ता

‘केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्’– राधाकृष्ण मैनाली


माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको  मीठो अनुभव । अनि दोस्रो -०५६ को आम चुनावपछि वामदेव गौतम नेतृत्वको माले र एमालेवीच पार्टी एकता गर्दाकाे टर्रो अनुभव ।

 

मदन भण्डारीको नेतृत्वमा भएको पहिलो वाम एकताबारे मैनालीसँग सुखद अनुभव छ । तर, माधव नेपालको नेतृत्वमा सम्पन्न माले-एमालेवीचको एकतामा चाहिँ मैनालीसँग निकै तीतो अनुभूति छ । अहिले फेरि एमालेले तेस्रो एकता गर्न लागेको छ, नेकपा माओवादी केन्द्रसँग । 

केपी ओलीको नेतृत्वमा हुन लागेको भनिएको यो एकतालाई मैनालीले कसरी हेरिरहेका होलान् ? हामीले यसबारे चासो राख्दा उनले केपी ओलीलाई उधारो कारोबारीको संज्ञा दिए ।  केपी अोलीलार्इ नजिकबाट चिनेका झापाली नेता मैनालीले अनलाइनखबरसँगको कुराकानीमा भने- ‘केपी ओली उधारो भाका राख्ने, पछि वचन पूरा नगर्ने व्यक्ति हुन् ।’

०४७ सालमा मदन भण्डारी नेतृत्वको नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादीवीच पार्टी एकता भई नेकपा एमाले जन्म्यो । सानो पार्टीका मनमोहन अध्यक्ष भए, ठूलो पार्टीका मदनले महासचिवमै चित्त बुझाए । त्यतिबेला मनमोहनलाई पार्टी अध्यक्ष बनाउनुहुँदैन भन्नेहरु पनि थिए ?

ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, वामदेव गौतम र प्रदीप नेपालहरुले मनमोहनलाई अध्यक्ष बनाउने कुराको विरोध गरेका थिए । पार्टी एकता हुँदा उनीहरुले मुखै फोरेर मनमोहनलाई अध्यक्ष बनाउनुहुँदैन भनेका हुन्

त्यसबेला मनमोहन अधिकारीलाई अध्यक्ष बनाउनुहुँदैन भन्ने नेताहरु मालेभित्र थिए । मलाई अहिले पनि थाहा छ, त्यसको नेतृत्व गर्नेमा ईश्वर पोखरेल, प्रदीप नेपालहरु नै हुन् । तल अरु-अरु कोको थिए, जम्मै त मलाई पनि याद भएन ।
खासगरी ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, वामदेव गौतम र प्रदीप नेपालहरुले मनमोहनलाई अध्यक्ष बनाउने कुराको विरोध गरेका थिए । पार्टी एकता हुँदा उनीहरुले मुखै फोरेर मनमोहनलाई अध्यक्ष बनाउनुहुँदैन भनेका हुन् ।

त्यतिमात्रै होइन, पार्टी एकता भइसकेपछि पाँचौं महाधिवेशनमा पनि मनमोहनलाई अध्यक्ष बनाउनुहुँदैन भनेर उनीहरुले लबिङ्ग नै गरे । एमालेको पाँचौं महाधिवेशनमा मनमोहनलाई अध्यक्ष बनाउनुहुँदैन भनेर ठूलै रस्साकस्सी भयो ।

त्यसबेला वामदेव गौतमको चाहिँ भूमिका कस्तो थियो ?

वामदेव पनि त्यतिखेर पार्टी एकताको पक्षमा होइन । सीपी मैनाली त्यसबेला न्युट्रल बसे । सीपीको बानी के थियो भने जो नेतृत्वमा अगाडि आउँछ, त्योसँग टस्सल गरिहाल्ने । पार्टीमा मदन भण्डारी अगाडि आएको अवस्था थियो, त्यसैले मदनभन्दा माथि मनमोहन आएपछि ठीकै हुन्छ भन्नेमा सीपी थिए । त्यही कारणले सीपी एकताको विरोधमा थिएनन् ।

सीपी मैनालीले त्यसबेला पार्टी एकताको धेरै परसम्मको कुरा बुझेर भन्दा पनि आफूसँग टस्सल भएको मदन भण्डारीको खिलाफमा अर्को आए हुन्छ भन्ने आशय पनि हुन सक्छ । जस्तो- अहिले माधव नेपालको जे भूमिका छ, त्यस्तै भूमिका सीपीको थियो ।

तर, मदन भण्डारी वास्तवमै कन्भिन्स नभएको भए नेकपा माले र नेकपा मार्क्सवादीवीचमा त्यो एकता हुँदैनथ्यो । भैहाले पनि मनमोहनलाई पार्टी अध्यक्ष बनाएर जाने कुरा आउँदैनथ्यो ।

उसोभए, केही नेताको विरोधका बावजुद मदन भण्डारी र मनमोहन अधिकारीको हस्तक्षेपले मात्रै एमाले जन्मेको हो ?

त्यसखेर पार्टी एकताका मुख्य पात्रहरु मदन भण्डारी र मनमोहन अधिकारी हुन् । दुईवटै नेताहरु वचनप्रति प्रतिवद्ध र सत्ताको आशक्ति नभएका व्यक्तित्वहरु परे ।

पार्टी एकीकरणको कुरो चल्दाखेरि नै मदन भण्डारी नेकपा मार्क्सवादीका ५/७ जना नेताहरुको व्यक्तित्वप्रति आकर्षित हुनुहुन्थ्यो । जस्तै- मनमोहन अधिकारीजी, साहना प्रधानजी, भरतमोहन अधिकारीजी, सिद्धिलाल सिंह, बलराम उपाध्यायको जुन खारिएको व्यक्तित्व थियो, मालेसँग यी व्यक्तित्वहरुलाई जोड्न सक्ने हो भने देशमा ठूलो शक्ति बनाउन सकिन्छ भन्नेमा मदन भण्डारी आफैंमा विश्वस्त र आश्वस्त हुनुहुन्थ्यो ।

यही कारणले गर्दा मार्क्सवादी समूहमा रहेका नेताहरुको जे भित्री चाहना थियो, एकताका लागि त्योभन्दा बढी चाहना चाहिँ मदन भण्डारीकै हो ।

दुबै पार्टीले पञ्चायतविरुद्ध वाममोर्चामा सँगै रहेर काम गरेपछि ०४८ सालको चुनावलाई लक्षित गरी त्यो पार्टी एकता गरिएको हो कि ? तपाईहरुमा त्यसबेला पार्टी एकताको महसुस कसरी भयो ?

बाहिरबाट हेर्दा मनमोहनजीहरुको संगठन अलिकति कमजोर थियो । तर, मालेको संगठन र शक्तिबारे उहाँहरुलाई पनि थाहा थिएन । मालेका धेरै नेताहरुसँग मनमोहनजीहरुको खासै चिनजानसमेत थिएन । उहाँहरुले मालेका नेता धेरै चिनेको त म र सीपी मैनाली नै हो । अरु नेताहरुसँग मनमोहनजीहरुको चिनजानै थिएन ।

त्यो पार्टी एकताको ३/४ महिनाको छलफल र त्यसअघि ०४६ जनआन्दोलनका बेला वाममोर्चा बनाउँदा मात्रै उहाँहरुले मालेका नेता कार्यकर्तालाई चिन्दै आउनुभएको हो ।

मदन भण्डारी चिन्तन शैली र दृष्टिकोणमा साह्रै प्रष्ट मान्छे हुनुहुन्थ्यो । संगठनले मात्रै चुनाव जितिँदैन र व्यक्तित्व पनि चाहिन्छ भन्ने उहाँले राम्रोसँग महसुस गरेको हुनाले उहाँले नै पार्टी एकताको पहल गर्नुभयो ।

मार्क्सवादी समूहका नेता मनमोहन अधिकारीले आफैं एमालेको अध्यक्ष दाबी गर्नुभएको थियो कि मदन भण्डारीको प्रस्ताव हो ?

एकताको प्रक्रिया सुरु गर्दै जाँदा मनमोहनजीले मलाई अध्यक्ष चाहिन्छ भनेर कहिल्यै भन्दै भन्नुभएन । साहनाजीबाट एकदुईचोटि मनमोहनजीलाई सम्मानजनक ठाउँमा राख्नुपर्छ भन्ने कुरो आएको थियो । मदन भण्डारीले बरिष्ठ नेता बनाउने भनेको भए मनमोहनजीले सजिलै मान्नुहुन्थ्यो ।

मनमोहनजीले मलाई अध्यक्ष चाहिन्छ भनेर कहिल्यै भन्दै भन्नुभएन । बरिष्ठ नेता बनाउने भनेको भए मनमोहनजीले सजिलै मान्नुहुन्थ्यो । तर, मदन भण्डारीले भन्नुभयो – बरिष्ठ नेतामात्रै बनाउँदा मनमोहनजीको व्यक्तित्वको सदुपयोग हुँदैन

तर, मदन भण्डारीले आफैं के भन्नुभयो भने- बरिष्ठ नेतामात्रै बनाउँदा मनमोहनजीको व्यक्तित्वको सदुपयोग हुँदैन ।
यो कुरामा मदन आफैं कन्भिन्स हुनुभयो । भण्डारीजीले यति सजिलै भनिदिनुभयो कि पार्टीमा सेकेण्ड म्यान हुन मलाई कुनै आपत्ति छैन, पार्टीको पहिलो व्यक्तित्व मनमोहनलाई नै बनाउनुपर्छ ।

नेकपा एमाले अहिले शक्तिशाली एवं मुलुककै पहिलो पार्टी बनेको छ, त्यतिबेला मदन भण्डारी र मनमोहनले दुरदर्शी काम गरेका रहेछन् हैन त ?  अहिले ईश्वर पोखरेलहरु पनि यही ठूलो पार्टीको महासचिव र सांसद बन्न पाएका छन्, मनमोहनको नाम लिँदा सबैले गर्व गर्छन्….

मनमोहनलाई पार्टी अध्यक्ष बनाइसकेपछि मदन भण्डारीले जे सोच्नुभएको थियो, उहाँले सोचेकै परिणाम आयो र मनमोहनजीको व्यक्तित्वले एमालेलाई फाइदा गर्‍यो । त्यसबेला मनमोहनको पार्टीमा कति मान्छे थिए भन्ने भन्दा पनि उहाँको व्यक्तित्वले काम गर्‍यो ।

संगठनको हिसाबले त हाम्रो माले समूह नै बलियो थियो । झापामा जिल्ला कमिटीमा राख्ने मार्क्सवादीका मान्छे नै थिएनन् । इलाममा, ताप्लेजुङमा काहिँ थिएनन् । सर्लाही, रौतहट र लुम्बिनीतिर अलिअलि थिए ।

तर, यस्तो दुर्लभ अवस्थामा पनि मनमोहनलाई पार्टी अध्यक्ष बनाउन मदन भण्डारी तयार हुनुभयो । मदनकै प्लानले मनमाहेनलाई अध्यक्ष बनाएको हो ।

पार्टी एकता भइसकेपछि चाहिँ एमालेभित्र पूर्वगुटहरुको स्थिति कस्तो रह्यो ? दुःखद कि सुखद ?

पार्टी एकता गर्दा १४/१४ जना गरेर दुबैतर्फबाट २८ जनाको केन्द्रीय कमिटी बनाइयो । मनमोहनजीको पार्टीबाट आएका मध्ये ५/६ जना केन्द्रीय सदस्यमात्रै सक्रिय थिए, अरु विभिन्न पेशा व्यवसायमा थिए । मनमोहन, भरतमोहन, साहना, सिद्धिलाल, बलरामजीहरु भन्दा बाहेकका साथीहरु सामान्य पेशा गर्ने मान्छे थिए । उनीहरु सक्रिय राजनीतिक जीवन नभएका मानिस थिए । चुनावमा उम्मदेवार बनाउने हो भने जमानत पनि नजोगाउने साथीहरु पनि थिए ।

पछि ०४८ सालको आम चुनावमा पार्टीले उम्मेद्वार नबनाएपछि ८/९ जनाको झुण्ड पार्टी नै छाडेर हिँड्यो ।

कतिपय मान्छेहरु पार्टी एकतापछि मालेले छाँस्यो पनि भन्छन्, तर त्यस्तो भएको होइन । केन्द्रीय सदस्यले सांसदको टिकट पाउनैपर्छ भनेर आए, नपाएपछि गए । यसमा अलिअलि पूर्वमार्क्सवादी भएको गन्धले काम गरेको भए पनि ठूलो परिणाममा त्यस्तो समस्या भएन ।

यता मालेका केही साथीहरुसँग पञ्चायतकालमा भूमिगत नभएका मान्छेलाई नेता नै नमान्ने संस्कार थियो । त्यही भएर पछि पाँचौं महाधिवेशनसम्म आइपुग्दा पनि मनमोहनजीलाई अध्यक्ष राख्नुहुन्न भन्ने झुण्ड निकै क्रियाशील भयो । त्यो झुण्डको नेतृत्व त्यतिबेर प्रदीप नेपाल अष्टलक्ष्मी शाक्यहरुले गरेका थिए । पाँचौं महाधिवेशनमा केन्द्रीय समितिमै बस्दिनँ भनेर बुरुक्क गरेपछि उनीहरुलाई मदन भण्डारीले हटाइदिनुभयो । र, मनमोहनलाई महाधिवेशनबाट फेरि अध्यक्ष बनाइयो ।

पछि उहाँहरु (अष्टलक्ष्मी र प्रदीप नेपाल) ले आफूलाई हटाएकोमा आपत्ति गरेपछि मदन भण्डारीले उनीहरुलाई पहिलो बैठकबाट केन्द्रीय समितिमा ल्याएको हो । उनीहरुको विरोधको गुह्य कुरो भनेको मनमोहनलाई पार्टी अध्यक्ष बनाउनुहुँदैन भन्ने नै थियो ।

मदन भण्डारीले नेतृत्वको भागवण्डा पनि ६०/ ४० वा ७०/३० नगरिकन केन्द्रीय कमिटीमा १४/१४ जनालाई राखेर आधा- गरेका रहेछन् होइन त ?

पार्टी एकताका बेला केन्द्रीय कमिटीमा ५०/५० गरिएको भए पनि महाधिवेशनका बेला मार्क्सवादीबाट धेरै परेनन्, केन्द्रमा मालेबाटै बढी आए ।

केन्द्रीय कमिटीमा ५०/५० भन्दा पनि योग्य मान्छेहरु छानिए । यसो गर्दा माले पृष्ठभूमिकै साथीहरु केन्द्रीय कमिटीमा धेरै परे । मार्क्सवादीका क्रियाशील मान्छेहरु धेरै छँदै थिएनन् । केशरमणिजी पोलिटब्यूरो नपाउँदा पार्टी नै छाडेर कांग्रेसमा प्रवेश गर्नुभयो ।

मदन भण्डारीको एउटा विशेषता के थियो भने राम्रो छाप भएको मान्छेलाई उहाँ सजिलै स्वीकार्ने । सीपी मैनालीसँग त्यत्रो विवाद हुँदा पनि उहाँले सीपीलाई कहिल्यै उपेक्षा गर्नुभएन । त्यस्तो व्यक्तित्व वामपन्थी आन्दोलनमा पाइँदैन । अहिले ओलीलाई त सपनामा केही भयो भने पनि उनले विपनामा फाल्दिन्छन् । मदन भण्डारी त्यस्ता थिएनन् । आफूसँग ठाडै झगडा गरेको मान्छेलाई उनी माया गर्थे । त्यसो भएको हुनाले पार्टी एकतापछि पनि समस्या आएन ।

०४७ सालमा एकीकृत बनेको एमाले एक दशकपछि फुट्यो र वामदेव-सीपीको नेतृत्वमा नेकपा मालेको जन्म भयो । केही समयपछि फेरि माले र एमालेवीच एकीकरण भयो । तपाईसमेत सहभागी भएको त्यो पार्टी एकताको पनि अनुभव सुनौं न….

मालेलाई भित्र ल्याइसकेपछि पनि त्यसलाई एमाले मानेनन् माधव नेपालले । छानीछानी जिम्मेवारीबाट बाहिर हटाइयो, जसको परिणामले त्यतिखेरको माओवादी बलियो भयो

एमाले फुटेर माले भयो । माधव नेपालकै जोडबलमा हामी सबै एकीकरण गरेर एमालेमा फर्कियौं । तर, एक वर्ष, दुई वर्षमात्रै अलग भएको मालेलाई भित्र ल्याइसकेपछि पनि त्यसलाई एमाले मानेनन् माधव नेपालले । अर्को पार्टी विघटन गरेर एमालेमा आएपछि त सबै एमाले नै भए नि । तर, सबै एमाले भए भन्ने कुरो उहाँले नमानेर छानीछानी जिम्मेवारीबाट बाहिर हटाउनुभयो, जसको परिणामले त्यतिखेरको माओवादी बलियो भयो । कोही एमालेबाट माओवादीमा गए, कोही न्युट्रल बसे । अहिले पनि त्यसरी न्युट्रल बस्ने कार्यकर्ताहरु जीवित छन् । यस खालको पूर्वाग्रही सोच एमालेमा हुर्किएकै हो ।

अहिले एमाले र माओवादीवीच हुन लागेको भनिएको पार्टी एकतालाई चाहिँ तपाई कसरी हेर्नुहुन्छ ?

मैले धेरैचोटि भनिसकें । कि त पहिले नै पार्टी एकताको कुरो नगर्नुपर्थ्यो। पार्टी एकताको कुरो गरिसकेपछि इमान्दारितापूर्वक एकता गर्नुपर्छ ।

किन र ? अहिलेको एमाले नेतृत्वमा पनि माधव नेपालका पालाकैजस्तो सोच छ र ? अन्यथा यो एकतामा शंका गर्नुपर्ने के छ ?

अहिले म के देख्छु भने एमाले र माओवादी पार्टी ठूलो र सानो भन्ने भन्दा पनि कम्युनिष्ट आन्दोलनका दुई धारवीच एकता हुन लागेको हो । यसमा प्रचण्डको पनि आफ्नो ठाउँमा भूमिका छ ।

पुष्पलालको नेतृत्व पछाडि छुटि्टएका दुईवटा धारहरु अहिले एकै ठाउँमा आउन लागेका छन् । यसमा राम्रा पक्ष र नराम्रा पक्ष दुईटैमा छन् । तर, हिम्मतका साथ दुई पार्टीलाई जोड्नुपर्छ भन्ने कुरा मलाई राम्रो लागेको छ । यो उत्तम कुरो हो ।
तर, यो एकता इमान्दारितापूर्वक गरिनुपर्छ । यसमा पनि दाउपेच गर्न थालिनुहुँदैन । मैले त एक ठाउँमा भनें- मिल्ने कि निल्ने ? एमालेले माओवादी निल्ने, माओवादीले एमाले निल्ने कुरा गरे भने त पार्टी एकता हुँदैन ।

पार्टी एकताको प्रक्रियामा एमालेको वर्तमान नेतृत्वप्रति तपाईले आशंका गर्न खोज्नुभएको हो ?

ओलीजीको म कस्तो देखिरहेको छु भने उहाँले उधारोमा गरेको कुरा कहिल्यै लागू गर्नुहुन्न । उधारोमा दिएको वचन लागू नगरेको कुरामा त स्वयं प्रचण्ड पनि पीडित भएको उहाँलाई महसुस छ । यसबारे माधव नेपाल र वामदेव गौतमलाई सोध्यो भने केपीले उधारोमा केके भने र केके गरे, उहाँहरुले कथा नै बताउन सक्नुहुन्छ । यसमा म धेरै भन्न चाहन्न ।

उधारोमा कुरा गर्ने अनि त्यसलाई लागू नगर्ने । केपी ओलीमा यस्तो प्रवृत्ति छ । यो सबैभन्दा बेइमानी प्रवृत्ति हो ।

प्रचण्डको भूमिका नि ?

प्रचण्डले पछिल्लो समयमा आफूलाई सुधारेको देखिन्छ । उनले शेरबहादुरलाई भनेको बेलामा प्रधानमन्त्री छाडे । प्रचण्ड केही सुध्रिन खोजेको जस्तो देखिएको छ । केपी ओलीले त प्रचण्डलाई पहिलो सरकारमा पनि प्रधानमन्त्री दिन्छु भनेकै हो नि । पहिले भन्नुहुँदैन, भनेपछि दिनुपर्‍यो नि । सहकार्यमा जान सक्नुपर्‍यो ।

यसको मतलब, पार्टी एकता गर्दा ओलीले प्रचण्डलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा दिनुपर्छ भन्ने हो ?

पार्टी एकता गर्ने भनिसकेपछि सबैले बुझेको के हो भने दुईवटा पद दुईटा पार्टीले बाँड्ने भन्या हो । तब न एकता हुन्छ । पृष्ठभूमि त सबै आआफ्नो छँदैछ नि ।

मलाई के लाग्छ भने यसरी उधारोमा जानुहुँदैन । उधारोमा जाँदा संकट पर्छ । उधारोमा जाँदा भोलि अध्यक्ष दिउँला भनेर नदिइसकेपछि ६ महिना पछाडि एकतामा धाँजो भयो र फुट्यो भने अहिलेको भन्दा ठूलो नोक्सान हुन्छ । त्यो नोक्सान एमालेलाई मात्रै होइन कि राष्ट्रलाई नै हुन्छ ।

त्यसैले, यो कुरालाई बुझेर आफ्नो व्यक्तिगत फाइदाभन्दा राष्ट्रको फाइदालाई हेर्ने हो भने उधारोमा गर्नुहुँदैन । प्रधानमन्त्री एउटाले लिने र अध्यक्ष एउटाले लिएर पार्टी एकता गर्नुपर्छ ।

र, पार्टी एकतापछि पनि त्यहाँ गएर पूर्वाग्रह राख्ने भन्दा पनि सबैलाई समेटेर लानुपर्‍यो नि ।

केपी ओलीलेे सबैलाई समेटेर लान्छन् भन्ने तपाईलाई विश्वास छैन र ?

अहिले पनि मेरा मान्छे र तेरा मान्छे भइरहेको छ । शेरबहादुरले ७ जना प्रदेश प्रमुखहरु नियुक्त गर्ने बेलामा सरकारसँग बसेर ७ जान मान्छे छान्न किन सकेनन् ? छानेको भए त विवादै टुंगिन्थ्यो । अहिले पनि मलाई के लागिरहेको छ भने नयाँ सरकार बनेपछि यी ७ जनालाई फाल्दिन्छन् र सरकारमा जो छ, त्यसले आफ्ना मान्छे लाने हो । आफ्ना मान्छे नियुक्ति गर्ने भन्दा नयाँ दृष्टिकोण अहिले पनि आएकै छैन ।

भोलि पार्टी एकीकृत भइसकेपछि पनि जसले जहाँ हालिमुहाली गर्ने र आ-आफ्ना मान्छे भर्ती गर्ने हो भने पार्टी एकताको सुमधुर स्वाद र सुमधुर प्रभाव बाहिर जाँदैन ।

उसोभए के गर्ने त ? एमाले र माओवादीवीच पार्टी एकतै नगर्ने ?

पार्टी एकता गर्नैपर्छ । एकतामा बाँडफाँट गरेर जानुभन्दा अर्को विकल्प छैन । उधारोमा गए भने त्यो पार्टी एकता टिक्दैन । पार्टी एकता गरिसकेपछि पनि पार्टीको नाम एक पक्षीय, पार्टीको मुख्य मुख्य पद र सरकार पनि एउटैले लिएर एउटालाई अर्कोमा विलय हुने स्थितिमा लाने हो भने पार्टी एकता हुँदैन ।

जबजमात्रै जपिरहने हो भने किन एकता चाहियो भन्या ? त्यसो गर्ने हो भने मलाई लाग्छ, एकता हुँदैन

हिजो जसरी माले र एमालेवीच एकता भयो, एकतापछि माधव नेपालले जसरी लखेटे, त्यसबाट शक्तिजति बाहिर गयो । अहिले पनि स्थिति त्यस्तै हुन सक्छ । प्रचण्डलाई धेरै निचोर्‍यो भने माओवादीका मान्छे वैद्य र विप्लवतिर जान्छन् । धेरै निचोर्‍यो भने ती मान्छेहरु यता आउँदैनन् ।

त्यसैले सहजरुपले दुईवटै पक्षलाई सजिलो बनाएर दुबै पार्टीको साझा नाम, साझा उद्देश्य र साझा कार्यक्रम बनाएर जानुपर्छ । हिजो मेरो यो पोजिसन थियो भन्ने हो भने एकता हुँदैन ।

जबजमात्रै जपिरहने हो भने किन एकता चाहियो भन्या ? त्यसो गर्ने हो भने मलाई लाग्छ, एकता हुँदैन । मैले बुझ्या के हो भने जबजलाई पनि इज्जत गर्नुपर्छ र माओवादीको जनयुद्धलाई पनि इज्जत दिएर जानुपर्छ । यसो नगरी एकता हुँदैन । मैले भनेको ठाउँमा लतारिएर आइज भन्यो भने एकता हुँदैन । भैहाल्यो भने पनि त्यो टिक्दैन ।

तपाईले एमाले अध्यक्ष केपी ओली उधारो कुरा गर्छन् र त्यो वचन कहिल्यै पूरा गर्दैनन् भन्ने गम्भीर आरोप लगाउनुभयो । तर, केपी ओली वचनका पक्का नेता हुन्, उनी आफ्नो अडानमा टिकिरहने नेता हुन् भन्छन् नि एमालेजनहरु ? तपाईले के आधारमा ओलीलाई ‘उधारो कारोबारी’ को त्यस्तो गम्भीर आरोप लगाउनुभएको हो ?

मैले ओलीजी वचनको पक्का मान्छे हो भन्ने देखेकै छैन । ओलीजी वचनको पक्का हो कि हैन भन्ने त माधव नेपाललाई, वामदेवलाई र प्रचण्डलाई नै सोधे पनि हुन्छ । मलाई भन्दा पनि उहाँहरुलाई थाहा छ ।

ओलीजीले वामदेवजीलाई कतिचोटि केके कुरो भनेका थिए । कार्यवाहक कतिचोटि बनाउँछु भने । पार्टी अध्यक्ष कतिचोटि दिन्छु भने । संसदीय दलको नेता कतिचोटि दिन्छु भने र कति दिए ?

उहाँहरुलाई के थाहा छ भने ओलीजीले वामदेवजीलाई कतिचोटि केके कुरो भनेका थिए । कार्यवाहक कतिचोटि बनाउँछु भने । पार्टी अध्यक्ष कतिचोटि दिन्छु भने । संसदीय दलको नेता कतिचोटि दिन्छु भने र कति दिए ?

वामदेवजी हिजोदेखि त्यहाँ लथालिङ्ग भएर, हण्डर खाँदाखाँदा हार्दिक भएर त्यो विवादको कुरो नउठाउने ठाउँमा पुगेका छन् । अलिकति परिपक्वताले पनि होला, फेरि केही गर्ने हो भने झन् त्यहाँ टिकिँदैन । त्यसैले एमालेमा टिक्नकै लागि पनि सबैकुरो पचाएर, नबोलेर जाने स्थिति मा छन् वामदेवजी ।

माधव नेपाल, हिजो आफूले जे गरेका थिए, त्योभन्दा पनि बेसीं दनक अहिले ओलीबाट खाइराखेको हुनाले उनी पनि चाउरिएर त्यहाँ बसेका छन् ।

ओलीजीको स्वाभाव भाका राख्ने, यसो गर्छु र उसो गर्छु भनेर भन्ने अनि पछि नगर्ने हो । तीन/चारजनाको वीचमा बैखाश कति गते प्रचण्डलाई सरकार छाडिदिन्छु भन्दाभन्दै ओलीले हुँदै हुँदैन भने । प्रचण्डलाई अरुले फकाएर लिएर गए, इण्डियाले फकाएर लिएर गयो भनेर अहिले पनि भन्छन् । तर, मलाई लाग्छ, मान्छेलाई इज्जत नदिएपछि त उ हिँड्छ नि । इज्जत दिएर राख्यो भने मान्छे बस्ने हो । जम्मै विदेशीलाई दोष लगाएर आफ्नो कमीकमजोरीतिर नहेर्ने हो भने समस्या हुन्छ ।

तपाईले विदेशीको प्रशंग कोट्याउनुभयो, पहिले प्रचण्डले इण्डियाको कुरा सुने र उनी लम्पसारवादी भए भन्ने ओलीपक्षको आरोप थियो । अहिले फेरि सुष्मा स्वराज आएपछि एकता बिथोलिन आँट्यो भन्ने माओवादी पक्षको आशंका छ । यो सबै आफ्नो कमजोरीलाई ढाक्नकै लागि हो त ?

अहिले पार्टी एकता गर्न छाडेर विदेशीलाई किन बोलाउनुपर्थ्यो ? वास्तवमा सुष्मा स्वराजलाई ओलीजीकै पहलमा बोलाइएको हो

अहिले पार्टी एकता गर्न छाडेर विदेशीलाई किन बोलाउनुपर्थ्यो ? वास्तवमा सुष्मा स्वराजलाई ओलीजीकै पहलमा बोलाइएको हो । यो भनेको मधेसीलाई सरकारमा बोलाएर प्रचण्डको बार्गेनिङ कमजोर पार्न खोज्या हो । माओवादीलाई कमजोर पार्ने दाउ हो यो । यसो गर्नु भनेको त पार्टी एकताको पक्षको कुरो भएन ।

छिमेकी दूत सुष्मा स्वराजलाई एमालेले बोलाएर वाम एकतामा के फरक पर्छ र ?

यो स्वाभाविक कुरो होइन । जति राष्ट्रवादको नारा लगाए पनि के गर्नु ? राष्ट्रवाद भनेको त मुखले बोलेर त हुँदैन नि, व्यवहारमा गर्नुपर्‍यो नि । मलाई लाग्छ, योबेलामा भारतीय विदेशमन्त्रीलाई बोलाउनुपर्ने जरुरत नै थिएन । पहिले पार्टी एकता गर्नोस्, जेजे भएर हुन्छ, नयाँ विचारमा जानोस् । सरकार बनाउनोस् । अनि सरकार बनाएपछि जजसलाई बोलाए पनि हुन्थ्यो ।

सुष्मालाई बोलाउनुको मतलव पार्टीको हालीमुहाली सबै आफ्नो हातबाट नखुस्कोस् भन्नका लागि मधेसीहरुलाई सरकारका सम्मिलित गराउने र त्यो गराउनका लागि इण्डियाको सहयोग नभई नहुने भयो ।

इण्डियालाई केके दिनुपर्ने हो, उनीहरुलाई दिने कुरा दिएर मधेसी दलहरुलाई सरकारमा ल्याएपछि माओवादीलाई जेजति दिनुपर्ने हो, त्यति दिनुनपर्ने भो । यस हिसाबले पार्टी एकता गर्न खोजेको हो भने एकता हुँदैन ।

माओवादीलाई केही पनि निदइकन, पार्टीको नाम पनि नफेरिकन अनि जबज पनि यथावतै राखेर पार्टी एकता गर्ने दाउ हो भने यस्तो एकता भैहाल्यो भने पनि टिक्दैन । हेर्नुहोला, यस्तो भैहाल्यो भने पनि माओवादीका कार्यकर्ताहरु कम आउँछन्, आइहालेका क्याडर पनि ५/७ महिना पनि टिक्दैनन् । अनि विखण्डन सुरु हुन्छ ।

फेरि विखण्डन नहुने गरी एकता गर्ने हो भने इमान्दारितापूर्वक, उदारतापूर्वक, हैसियत मिलाएर एकता गर्नोस् । विदेशी गुहार्न जरुरी छैन ।

जहाँ सुष्मा स्वराजलाई बोलाए, यसमा पार्टी एकतालाई सहज बनाउनका लागि होइन कि आफ्नो प्रभुत्वलाई हावी बनाउने ओलीजीको मनसाय नै हो भन्ने मलाई लाग्छ ।

शनि, माघ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्,...

कवि विनोद खत्री अाकाशसँग हेमन्तको साहित्यिक भलाकुसारी।

 १ साहित्य भनेको के रहेछ अाकाश जी ? > साहित्य भनेको मेरो बुझाइमा जीवनको भोगाइ ठान्दछु।यसमा यथार्थ कुरा र काल्पनिक कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ। २ अाकाश कविता सङ्ग्रहले अहिले समकालीन साहित्यमा खुब चर्चा कमाएको छ यसको राज के हुनसक्छ त ? यस कविता सङ्ग्रहमा मैले संसार,मेरो...

अब धेरै भाषण नगर्ने, काम गर्ने । परिणाम दिने — मन्त्री गोकुल बास्कोटा

असार, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् । ‘छिमेकीसँगको सरकारको सम्बन्ध एकदमै सन्तुलित भयो । दुबैतिरको सम्बन्ध राम्रो भयो’ मन्त्री बास्कोटाले मंगलबार अनलाइनखबरसँग भने,...

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइनः प्रधानमन्त्री

असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि...

कार्ल मार्क्सको दुर्लभ अन्तर्वार्ता, भने – “आजसम्म कुनै पनि महान् आन्दोलन विनारक्तपान भएको छैन”

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र हरेक रचनाले मार्क्सलाई विश्व षडयन्त्रको मास्टरमाइन्डको रुपमा स्थिर रुपले चरितार्थ गर्यो ।)...