विचार

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

-मिलन तिमल्सिना ,व्यंग्य


हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श ।

कहिले झुपडीमा बसेर रात कटाए । कहिले नुन र ढिंडो मात्रै खाएर छाक टारे । जेलनेल, जंगल बुट्यान, भीर पखेरा, काँडा झाडी, खेतबारी, उकालीओराली गरेर जिन्दगीमा धेरै दुःख झेले । ज्यानलाई हत्केलामा राखेर धेरैपटक दौडिए । प्रहरीसँग झेल गरेर भागे । झेल गर्दागर्दै जेल परेपछि जेल तोडेर पनि भागे । खाली खुट्टै हिँडे । ठेस लागेर लडे ।  धेरैपटक मर्नै आँटेर पनि बल्लतल्ल बाँचे । आफ्नो विगत सम्झँदा उनी आफैंलाई पनि अहिले अचम्म लाग्छ ।

हेर्दाहेर्दै समय फेरियो । समयसँगै उनको जिन्दगीले पनि कोल्टो फेर्यो । सजिलै के पुग्न र पाउन सकिएला र भनेर पहिले नपत्याएको ठाउँमा अहिले पुगेर र पाएरै छाडे । जहाँ पुग्छु भन्ने लक्ष्य थियो, त्यहीँ पुगे । ठाउँमा पुगेपछि पुराना दुःखपीर बिर्सने रैछ । त्यसमाथि सबै पुराना कुरा सम्झेर पनि साध्ये लाग्दैन । समयअनुसार चल्न जान्नुपर्छ । समयअनुसार फेरिन सक्नुपर्छ । नत्र पछि परिन्छ । यो ध्रुवसत्य कुरा उनको जीवनमा पनि लागू नहुने कुरै भएन ।

उनी समाज बदल्न भनेरै राजनीतिमा लागेका हुन् । तर आफू नबदलिंदासम्म समाज बदल्न नसकिने रैछ । माक्र्स, लेनिन, माओसँगै अरु धुरन्धर दार्शनिक र विद्वानहरु पनि यो कुरामा सहमत छन् कि समाजलाई परिवर्तन गर्नुअघि पहिले आफू परिवर्तन हुनुपर्छ । सबैभन्दा पहिले आफू बदलिनुपर्छ ।

समाजमा उन्नति गर्नुअघि आफ्नो प्रगति हुनुपर्छ । समाजका मान्छे सुखी हुनुअघि पहिले आफू सुखी हुनुपर्छ । समाजलाई समृद्ध गर्नुअघि आफू र आफ्नो परिवार, आफन्तलाई समृद्ध बनाउनुपर्छ । परिवर्तन आफूबाट गर्नुपर्छ । यही मान्यतालाई आत्मसात गर्दै उनी अघि बढे ।

परिवर्तन आफूबाटै गर्नुपर्छ भन्ने संकल्प बोकेर हिँड्दा सफल पनि होइने रैछ । पहिले तिउनमा नुन पुर्याउन धौधौ थियो, अहिले घरमा सुन थन्क्याउन धौधौ हुन थाल्यो । पहिले गाउँमा समेत घर नभएर चिन्ता थियो, अहिले शहरमै घर थपिएर चिन्ता छ । पहिले पैसा नहुँदा दुःख थियो, अहिले पैसा धेरै हुँदा दुःख छ । पहिले जंगलमा खाली खुट्टा हिँड्दा गाह्रो हुन्थ्यो, अहिले चिल्लो कारमा झण्डा हल्लाउँदै हिँड्दा पो गाह्रो छ । पहिले डन्डावालासँग लुकामारी खेल्दै भाग्दा झण्झट हुन्थ्यो, अहिले डन्डावालालाई सुटकेश बोकाएर हिँड्दा झण्झट हुन्छ ।

नहुँदा त छैन भनेर छाती फुलाएर हिँड्दा शीर ठाडो हुन्थ्यो नि । अहिले मसँग यति छ भनेर फूर्ति गरेर धनसम्पत्ति देखाउँदा शीर गिर्ने रहेछ । पहिले उनको शीर ठाडो थियो । अहिले गिर्न थालेको छ । तर निहुरिएको शीर अझै ठाडै छ भन्ने उनलाई लागेको छ । किनकी उनको भित्री मनले नमानेपनि देखाउने बाहिरी मुखले भन्छ–उनीसँग भएका कुनैपनि धनसम्पत्ति उनका होइनन् । श्रीमती वा श्रीमान्का हुन् । ठेट शब्दमा दम्पतीका सम्पत्ति !

हेर्दाहैर्दै आफ्नो हुन आइपुगेका उनका यी सबै धनसम्पत्ति अर्कैका हुन् । टाउकोमा लगाएको टोपी अर्कैको । कालो कोट, दौरा सुरुवाल, जुत्तामोजा सबै अर्कैको । ज्यान नै अर्कैको ।

राजनीति गरेको आफ्नो लागि होइन नि ! देश र नागरिकको लागि हो । देश र नागरिकको लागि काम गरेपछि ज्यान आफ्नो मात्र भन्न कहाँ पाइयो र ! विवाह अघिसम्म ज्यान सबैको साझा थियो । तर बिहेपछिज्यान थोरै निजी पनि हुन थाल्यो ।

पहिले देश र नागरिकको लागि मात्र भएको ज्यान अब श्रीमती, छोराछोरी र आफन्तका पनि भयो । ज्यानसँगै जोडिएका धनसम्पत्ति उनीहरुकै हुन् । त्यसमा पनि पहिलो हक श्रीमतीको लाग्छ । त्यसैले उनको आफ्नो भनिएका सबै धनसम्पत्ति श्रीमतीका हुन् । श्रीमतीलाई पुगेपछि छोराछोरी, परिवार, आफन्त, नातेदार अनि देश र नागरिकको लागि पालो आउँछ । देश र नागरिकका लागि त मरिमेटेर काम गर्दैछन् नि उनले !

हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

कम्युनिष्ट पार्टीको नीतिमा सबै बराबर । धनसम्पत्ति र सुन दिने अरुका बाआमा पनि आफ्नो र श्रीमतीका बाआमा जस्तै हुन् । त्यसैले उनको नाममा भैपरी थुप्रिएका सुनचाँदी, हिरामोती श्रीमतीका दाइजो र पेवा हुन् ।

त्यसमाथि कम्युनिष्ट नीतिमा श्रीमतीलाई आफ्नो हैसियतभन्दा माथि राख्नु त झन् बढी प्रगतिशील कदम । आफूभन्दा श्रीमती धनी हुनु गर्वको कुरा । श्रीमती धनी भएपछि छोराछोरी, परिवारका अरु सदस्य, आफन्त धनी हुन्छन् । त्यसपछि अरुको पालो आउँछ । यति जाबो कुरा बुझ्न नसक्नेहरुले मात्र उनको आलोचना गरेका हुन् ।

अर्को कुरा कम्युनिष्ट भनेर कन्नुभन्दा कमाउनिष्ट, कमनिष्ट या कमनिष्ठा भन्नु कता कता सजिलो हुन्छ । कमाउनिष्टमा कमाउ जोडिएको छ । कमनिष्टमा मनि या पैसा झुण्डिएको छ । कमनिष्ठाले निष्ठा कम भएको अर्थ बोकेको छ । तर मनि कहि छुट्दैन । त्यसैले पैसाले पनि साथ छाड्ने कुरा भएन ।

त्यसैले महान तथा गौरवशाली पार्टीका उनी कार्यकर्ता आफूलाई शुद्ध कम्युनिष्ट भन्दा कमाउनिष्ट, कमनिष्ट र कमनिष्ठाकै सजिलो व्यवहार देखाउन मन पराउँछन् । दुनियाँले नपत्याएपनि नाम कम्युनिष्ट ! काम कमाउनिष्ट !

त्यसमाथि कम्युनिष्टका पछिल्तिर झुण्डिएको पुच्छर फ्याँकेर भर्खरभर्खर विकसित हुन लागेको स्वरुप । देशभर कम्युनिष्ट लहर ल्याएर देशलाई कायापलट पार्छौं भन्दै चुनाव जितेर सरकार चलाएको बेला छ । देश र समाज बदल्ने अठोट छ । पहिले आफू र आफ्ना परिवार बदलिए पो देश र समाज बदलिन्छ ! उनी यही बाटोमा हिँड्दैछन् ।

जुन बाटोमा आफू हिँडेको हो, त्यही भन्दैछन् । धनसम्पत्ति जसको हो, त्यही सुनाउँदैछन् । सबैलाई सुखी बनाउने लक्ष्यमा अघि बढेको उनको पाइला सही छ ।
धनसम्पत्तिको विवरण सुनेर मान्छेले जिब्रो त टोके । सुनचाँदीका खजना, बंगाला, मोटरगाडीको कुरा सुन्दा कोही कोही त झण्डै बेहोस भएर पनि ढले होलान् !

तर यी सबै त उनका हैन पो रैछन् ! श्रीमान मन्त्रीका धनसम्पत्ति श्रीमतीका, श्रीमती मन्त्रीका धनसम्पत्ति श्रीमानका । सम्पत्तिको सट्टा दम्पती विवरण पो रैछ । कुरो बुझेपछि बल्ल कुरा काट्नेले चित्त बुझाउँदै होलान् ।

आइत, जेष्ठ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले...

हो म महावीर नाम को प्रशंसक हु

एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई...

लेख्दा लेख्दै रुन्छु :साबित्रा उमरा

म लेख्दा लेख्दै रुन्छु भने दादा समाज सेवा गर्दा गर्दै पनि रुनुहुँन्छ” गाउँले चेली साबित्राको बुबा पछिको दादा सिन्धुली बासिको मात्र नभएर राष्ट्रीय स्तरमै समाजसेबिको रुपमा परिचित समाजसेबी उज्जवल थापा जस्लाई तपाई चिन्नूहुन्छ समाजसेबिको रुपमा। जस्को मनमा नौनी घिउ मिसिएको छ। देखे भोगेको सुनेको कुरालाई...