कृषि

ऐंसेलुबाट ७० लाख आम्दानी

-चन्द्र कार्की


वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् ।

पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ ऐंसेलु उद्योग आसपासका बासिन्दाका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐंसेलु बिक्री केन्द्र बनेको छ ।

यस वर्ष वैशाखको दोस्रो साताबाट जंगलमा फलेको ऐंसेलु टिपेर उद्योगलाई बिक्री गरेर लालीगुराँस नगरपालिकाका वसन्तपुर, सोल्मा, सुङनाम, फुलेक, दाँगपा र धर्मदेवी नगरपालिकाका तामाफोक, महालक्ष्मी नगरपालिकाका मारेककटहरे, छथरजोरपाटी गाउँपालिकाका परेवादिन, छथर गाउँपालिकाका आङदिम, हमरजुङ, सुदाप लगायतका दर्जनबढी गाउँवासीले ७० लाख रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याएको उद्योगका नेपाल वाइन उत्पादक संघका अध्यक्षसमेत रहेका मकालु वाइन उद्योगका सञ्चालक आश्रय श्रेष्ठले बताए ।

ऐंसेलुबाट उद्योगले ‘हिंवा’ र ‘सावा’ ब्रान्डको वाइन उत्पादन गर्दै आएको छ । यो वर्षको सिजनमा संकलकबाट उद्योगले १ करोड रुपैयाँभन्दा बढीको ऐंसेलु खरिद गर्ने बताए । जंगलमा नि:शुल्क टिप्न पाइने ऐंसेलु प्रतिकेजी ६० रुपैयाँसम्ममा बिक्री भएपछि गाउँगाउँमा ऐंसेलुको व्यावसायिक खेतीसमेत किसानले सुरु गर्न थालेका छन् । गाउँलेले जंगलमा टिपेको ऐंसेलु उनीबाट खरिद गरेर उद्योगलाई बिक्री गर्ने बिचौलियाहरूले समेत लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् ।

छथर जोरपाटी गाउँपालिका परेवादिन धनकुटाकी रीता भटराईले गाउँ नजिकको जंगलमा टिपेको ऐंसेलु बिक्री गरेर यो सिजनमा ३० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । पछिल्ला वर्षहरूमा सामुदायिक वनमा समेत ऐंसेलुको व्यावसायिक खेती हुन थालेको छ । सामुदायिक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐंसेलु टिप्न पाइने गरेको परेवादिन धनकुटाका ऐंसेलु संकलनकर्ता धनबहादुर कार्कीले बताए ।

ऐंसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐंसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

गाउँलेले जंगलमा गएर टिपेको ऐंसेलु खरिद गरेर उद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन् । गाउँलेले टिपेर ल्याएको ऐंसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा ६० भन्दा बढी युवायुवतीले रोजगारी पाएका छन् ।

ऐंसेलुबाट ‘ह्वाइट’ वाइन उत्पादन हुन्छ । नेपाली समाजमा वाइन पिउने कल्चर बिस्तारै विकास हुँदै गएकाले जंगलमा खेर जाने फल ऐंसेलुको समेत खपत बढेको सञ्चालक श्रेष्ठले बताए । जंगली वनपाखामा फलेर त्यसै खेर गइरहेको ऐंसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपीय मुलुकबाट समेत माग आइरहेको उद्योगले जनाएको छ ।

तर जंगली फल ऐंसेलु मौसममा आधारित हुने भएकाले सधैं एकनाशले उत्पादन हुँदैन । कच्चा पदार्थ ऐंसेलुको उत्पादनमै उतारचढाव भइरहने हुनाले मागेजति उत्पादन बजारमा पठाउन नसकिएको सञ्चालक श्रेष्ठले बताए । केही वर्षअघिसम्म विदेशी वाइनले ओगटेको स्थानीय बजार अहिले पहाडी चिसो हावापानीमा फलेको ऐंसेलुबाट तयार गरिएको वाइनले लिँदै गएको छ ।

वनपाखामा फलेको ऐंसेलु नि:शुल्क टिप्न पाइने भएकाले ऐंसेलु फल्ने क्षेत्रका विद्यालयका विद्यार्थीसमेत पढाइ छोडेर जंगल जाने गरेका छन् । दुई महिना ऐंसेलु खोजेर बिक्री गरेको पैसाले विद्यार्थीहरूले विद्यालय पोशाक, कापी कलम, जुत्तालगायत सामग्री जुटाउने गरेका छन् ।

शाभर :कान्तिपुर

मङ्ल, जेष्ठ २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन

असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।   विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा...

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

फागुन, चितवन । चितवनको कालिका नगरपालिका ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउँछन् । पहिल साइकलमा च्याउ डुलाउँथे, अहिले गाडीमा हिँड्छन्  च्याउ बेचेरै जग्गा समेत जोडेका छन्...

पौरखी चिनियाँः भाडामा बारी, नेपालीलाई तरकारी !

पोखरा । नेपालका गाउँठाउँ घुम्दा देखे, सबै खेतबारी बाँझो छन् । मान्छेहरु सबैकुरा किनेरै खाइरहेका छन् ।’ यो देखेपछि उनलाई जुक्ति फुर्‍यो, अब यसैको फाइदा उठाउने र यहीँ खेतीकिसानी गर्ने । चीनको सुछाङ सहरका ३० वर्षे तन्नेरी स्याङ साओहुवा हुन्, उनी । काम नगरी किनेरै खाने...

आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिए

  पुस, काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गरेर आयात न्यूनीकरण गर्ने आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिएको गुनासो सरोकारवालाको छ । संघीय संरचनामा कृषिलाई थप महत्व दिएर अघि बढाउनुपर्ने भए पनि उक्त शीर्षकमा बजेट विनियोजनमा गरिएको कञ्जुस्याइँ र कार्यान्वयनको फितलोपनले कृषि...

गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फले

काठमाडौं – यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १...