अन्तर्वार्ता

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

-प्रोल्लास सिन्धुलीय


कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्, उल्झन अझ जटिल बन्छ ।

मेरो दैनिकीमा अक्सर यस्तो भइरहन्छ ।

 

झिनामसिना उल्झनमै थिएँ, अकस्मात् यौटा बडेमानको काम मेरो अगाडि आएर अड्कियो । मेरो आसपासमै थियो त्यो । तर, त्यो मसम्म आइपुग्दैन भन्नेमा म ढुक्क थिएँ ।

श्रीहरि फुयाँल— एक गम्भीर मान्छे । किशोरराज वन्त— एक भद्र विद्वान् । उहाँहरू दुवै लागिपर्नुभएको थियो त्यसमा । ‘शाल्मलि’ सम्पादक लक्ष्मी भट्टराई ‘परिधि’ स्वयम् खटिएकी थिइन् कम्प्युटरमा । श्रीहरि दाइको लगनशीलताको पारखी म । यसअघि पनि उहाँका केही किताबको काम हामीले गरेका थियौँ । लेटरप्रेसको जमानादेखिकै अनुभवले होला, टाइप गर्नुपर्ने सामग्री उहाँ कापीमा पूरै सेटिङ मिलाएरै ल्याउनुहुन्थ्यो । अर्थात्, बोल्ड, इटालिक, ठूलो अक्षर, सानु अक्षर, सबै चित्रजस्तै बनाइएको हुन्थ्यो । माउस चलाउन नजाने पनि माउस चलाउनेलाई मज्जाले अह्राइसिकाइ गर्न सरिदिनुहुन्थ्यो । डिजाइनर हुन कम्प्युटर चलाउन किन जान्नुपर्‍याे र !

सम्पादक किशोरराजसँगै र एक्लै पनि श्रीहरि दाइ बेलाबेलामा आइरहनुहुन्थ्यो र कुत्रुक–कुत्रुक कुन्नि के–के जाति काम गरिरहनुहुन्थ्यो ।

हामीले ‘सोझो’ जस्तो गरिमामय शब्दलाई ‘सोझो छ, बेलामा बुद्धि पुर्‍याउँदैन’ भन्ने उल्टो अर्थमा प्रयोग गरिरहेका त छैनौँ ? त्यति धेरै क्रान्तिचेत भएका श्रीहरि दाइ हामीले बुझेजस्तो ‘सोझो’ चाहिँ कसरी हुनुभयो कुन्नि !

“नमस्कार दाइ, सन्चै हुनुहुन्छ ?”

“के सन्चो हुनु भाइ ! दसोटा रोग छ, साठी लागिसकेँ, तै ठिकै छ भनुँ !” उहाँ त्यो कोठा, म यो कोठा ! कहिलेकाहीँ त यत्ति संवादमै दिन टथ्र्यो । एक दिन आउने–जाने कसैले श्रीहरि दाइलाई प्याच्च भन्दिएछ, “आफ्नै अभिनन्दन ग्रन्थ, आफैँ काम गरिरहनुभा’को छ त !”

उहाँले कालो अनुहार लगाउनुभयो । कालो अनुहार लगाएरै त्यहाँबाट जानुभयो । केही बोल्नुभएन ।

भोलिपल्ट आउनु त छँदै थियो । तर, उहाँलाई काम गर्ने मूड थिएन । अनुहार उस्तै अँध्यारो ! कस्तो उत्साहित हुनुहुन्थ्यो, खिस्रिक्क पर्नुभएछ । पल्लोमै बस्नुहुन्थ्यो सदा, वल्लो कोठामा पस्नुभयो ।

“के भो दाइ ?” मलाई ‘कतै काम ढिला भएको चिन्ता पो हो कि !’ ले गाँज्यो ।

“भाइले सुनिहाल्नुभो । मान्छेहरू त्यस्तो भन्छन् !”

“ह्या दाइ ! छुद्रहरूले के–के भन्छन्, पछि लागेर साध्यै हुन्न नि ! तपैँ स्वयं विज्ञ मान्छे । यत्तिका मान्छेले तपैँबारे लेखेका छन् । अरूले मात्र हेर्दा कताकता चिप्लिएला, व्यक्तिगत विवरण उल्टोपाल्टो होला । तपाईंले निगरानी त गर्नु परिहाल्यो नि !”

“तपाईं भन्नुहुन्छ नि ! अहिले त मान्छेहरू यस्तो भन्न थालिसके ! पछि झन् के–के भन्ने हुन् !”

“शब्दघरमा आ’को काम हो, सबै प्रोल्लासले गर्‍या भन्दिनू न ! सक्किहाल्यो नि !”

उहाँ खुसी हुनुभयो । उमेर र रोगले गाँजे पनि रसिलै, पोटिलै रहेको उहाँको मुहारमा नसोचेको मुस्कान आयो । अनि, उहाँ उस्तै फूर्तिका साथ काममा जुट्नुभयो ।

आकाश धुम्म थियो, उघ्रेजस्तो भयो ।

उहाँसँगको चिनाजानको मेरो पनि लामै इतिहास छ । थुप्रै वर्ष भयो उहाँसँग साक्षात्कार हुन थालेको त । तर, हाम्रो सम्बन्ध एकाध अङ्क निकालेर वर्षौं बन्द हुने अनि बीसौँ वर्षपछि ‘वर्ष २१, अङ्क २’ हालेर निस्कने पत्रिकाको हालतभन्दा रत्तिभर फरक रहेन । भेट भइरहे, तर एकअर्काका सुखदुःख, आनीबानी, स्वभावसँग घुलमेल हुने मौका खासै मिलेन । रचना मन परे मान्छे राम्रो लाग्ने, मन नपरे अनुहारै हेर्दा रिस उठ्ने त हुन्छ नै । काठमाडौँको खाल्डोमै दुवै रहे, भए पनि रचना पढेकै भरमा हामीबीचको सम्बन्ध सीमित भइरह्यो । त्यसबीचमा केही कार्यक्रमहरूमा सँगै बसियो, केही यात्राहरूमा कुम जोडेरै हिँडियो । तथापि, तिनले हामीबीचको औपचारिकताको बाँधलाई भनेजत्ति भत्काउन सकेनन् ।

केही दिनपछि उहाँले अर्को समस्या तेस्र्याउनुभयो, “अहिले त म तपैँको नाम लिँदै हिँडूँला, पछि किताबमा तपाईंको नाम हुन्न । झन् फटाहा पो भइने हो कि !”

काम बेग्लै, तनाव बेग्लै ! म सकेसम्म काम र तनावलाई सँगै मुछ्दिनँ । उहाँको गम्भीर सवालको बडो हलुको उत्तर दिएँ, “यसो ‘सहयोगी’तिर खुसुक्क नाम हाल्दिनू न !”

उहाँ फेरि प्रसन्न हुनुभयो । बाहिर फेरि घाम लागेजस्तो भयो ।

केही दिनपछि उहाँको फोन आयो । सायद प्रकाशक संस्था गोर्खा जनकल्याण सङ्घमै हुनुहुन्थ्यो क्यार । “संस्थाका साथीहरूले तपाईंलाई सहयोगी राख्न मानेनन् । तपाईंजत्तिको मान्छेलाई सहयोगी राखेर आफूहरू सम्पादक बस्न अप्ठेरो हुन्छ रे ! कार्यकारी सम्पादककै जिम्मेवारी दिने कुरा आयो, के गर्ने भाइ ? भाइले यत्ति मान्दिए मलाई पनि खुसी लाग्ने थियो ।”

म कुनचैँ नाम खोज्ने मान्छे हुँ र ! सवाल मेरो हुन्थ्यो भने मलाई त्यसो नगर्नमै शान्ति मिल्थ्यो । सवाल श्रीहरि फुयाँलको थियो । मेरो अग्रजको थियो, मैले असाध्यै आदर गर्ने स्रष्टाको थियो । मसिनो स्वरमा भनिदिएँ, “हुन्छ दाइ, के गर्दा तपाईंहरूलाई सजिलो हुन्छ, त्यही गर्नुहोला ।”

‘सुद्धासुद्धी ः …फलानो’ (शुद्धाशुद्धि होइन) लेखेर ल्याइएका अनेकन् पुस्तक मैले शुद्ध बनाएको छु । ‘सम्पादकः….. फलानो’ लेखेका सैयौँ पुस्तक सम्पादन गरिदिएको छु । आफूले मरीमरी सम्पादन गरेका तर ‘सम्पादक’ त के, धन्यवादसमेत नपाइएका ठूलै चाङ किताब मेरो अघिल्तिर छन् । ठीक उल्टो, आफूले एक पानासमेत राम्रोगरी नपल्टाएको पुस्तकको अग्रभागमा मेरो नाम लेखिने भयो — कार्यकारी सम्पादक !

यस्तो कुरा दिमागमा आउनु के थियो, म आत्तिएँ । भएजत्ति म्याटर सोरसार पारेँ र आफ्नो कम्प्युटरमा सारेँ । काम लगभग फाइनल भइसकेको रहेछ । ‘आफ्नो नाम जाँदै छ…… ’ भन्ठानेर हो कि कुन्नि, के–के चित्त बुझेन, बुझेन ! तलमाथि पारेँ, छोट्याएँ, टुक्र्याएँ, काटकुट गरेँ ! यताको उता, उताको यता सारेको सार्‍यै गरेँ । सम्पादक किशोरराजलाई सोधिनँ, उहाँलाई सोधिनँ, प्रकाशक संस्थालाई सोधिनँ, जे मन लाग्यो, त्यो गरिरहेँ । बाह्र सय चानचुन पेज थियो होला, नौ सयमा झरेछ !

अनि, बल्ल झल्याँस्स भएँ— बढो श्रद्धासाथ गोरखा जनकल्याण सङ्घजस्तो चल्तापूर्जा सामाजिक संस्थाले खाका बनाएको, किशोरराज वन्तजस्ता विद्वान् सम्पादकको टिमले महिनौँ पसिना बगाएर तयार गरेको, श्रीहरि फुयाँलजस्तो प्रखर सम्पादकको समेत दृष्टि परिसकेको पुस्तकमाथि म मनपरी पो गरिरहेको छु कि ! अनि, आफैँ आत्तिएँ । ‘नौ सय’ भन्न आँट आएन, डराई–डराई उहाँलाई भनेँ, “दाइ, हजार पेज त नपुग्लाजस्तो छ ।”

“ओहो ! त्यत्तिका घट्यो ?” उहाँ साँच्चै आत्तिनुभयो । कसकसले, केके पो लेखेर दिएका थिएँ उहाँको बारेमा, मैले निर्दयी बनेर काटिदिएँ ! केके पो काटेँ ! उहाँ पनि डराउनुभयो सायद ।

त्यसपछि गरिरहेको काम ट्वाक्कै रोकेर हामी हिँड्यौँ त्रिशूलीतिर, उहाँ अध्यक्ष रहेको त्रिशूली वाङ्मय प्रतिष्ठानको ‘साहित्यिक जलयात्रा’का लागि । उहाँकै नेतृत्वमा राफ्टिङ गरियो । त्रिशूलीको तेजिलो जलप्रवाहको बीचमा झ्वाम्म हाम फालेर घन्टाँै पौडी खेलियो । त्रिशूली किनारमा मध्यरातबाट सुरु गरेर कविगोष्ठी गरियो । दुई दिन केके गरियो, केके ! जे गरियो, त्यसभन्दा धेरै ठूलो कुरा, उहाँसँग पहिलोचोटि त्यति धेरै आत्मीयता अनुभूति गरियो । निकटता अनुभव गरियो । लाग्यो, अहिलेसम्म श्रीहरि फुयाँलको हुलियासँग मात्रै परिचय रहेछ, उहाँभित्रको कविहृदयको मान्छेलाई त चिन्नै कहाँ सकिएको रहेछ र !

त्यो पुस्तकमा श्रीहरि फुयाँललाई भद्र, भलादमी, सोझोसीधा भनेर धेरैले भनेका छन् । भद्रभलादमी त उहाँ हो नै, ‘सोझो’ शब्दको सोझो अर्थभन्दा पनि लाक्षणिक अर्थले भने सम्पादनको क्रममा मलाई घरीघरी घोचिरह्यो । लाक्षणिक भनेको ‘कान्छा’, ‘बहादुर’ जस्ता शब्द, जसको शाब्दिक अर्थ राम्रै हुन्छ । ‘कान्छा’ कम्ता मायालु शब्द हो र ! ‘बहादुर’को अर्थ कति ओजस्वी छ ! तर, त्यही शब्द छिमेकी राष्ट्रतिर ‘कान्छा’ भन्दा भाँडा माझ्ने, ‘बहादुर’ भन्दा गेटमा बूट बजार्ने बुझिन्छ ।

उहाँ छलकपट नगर्ने, इमानदार, सरल स्वभावको हुनुको अर्थसम्म त सोझो शब्द पनि ठिकै होला । तर, मेरो दृष्टिमा सोझो हुन चानचुने चातुर्यले सम्भव हुँदैन । सोझो हुनु भनेको भविष्यसम्म पनि मान्छेहरूले मलाई राम्रै मानून्, सबैसँग मेरो मित्रवत् व्यवहार रहिरहोस्, कसैसामु पनि घमण्डी व्यवहार नदेखियोस्, मान्छेहरू मसँग अनाहकमा नचिढियून्, सबैको भलो होस्, राम्रो होस् भनेर सोच्नु हो । सोझो अर्थात् सूधो अर्थात् बुद्धिमान । सोझोपन मान्छेको विशिष्ट स्वभाव हो । हामी ‘सोझो’ जस्तो गरिमामय शब्द ‘सोझो छ, बेलामा बुद्धि पुर्‍याउँदैन’ भन्ने उल्टो अर्थमा प्रयोग गरिरहेका त छैनौँ ? दस वर्षको उमेरदेखि त्यस्ता घगडान, घगडान पुस्तक लेख्ने बुद्धि, त्यति मिठामिठा कविता लेख्ने दिमाग भएका, त्यति धेरै क्रान्तिचेत भएका श्रीहरि दाइ हामीले बुझेजस्तो ‘सोझो’चाहिँ कसरी हुनुभयो कुन्नि !

खैर ! राफ्टिङबाट फर्किएपछि उहाँको हातमा किताबको डमी राखिदिएँ । किताबैजस्तो लाग्ने त्यसलाई उहाँले बडो स्नेहले सुमसुम्याउनुभयो, पहिलो सन्तानलाई बाबुले सुमसुम्याएझैँ । अनि, जतनका साथ झोलामा राख्नुभयो ।

घर पुगेर जब किताब पल्टाउनुहुनेछ, मैले ‘जान्ने पल्टेर’ गरेका यावत् कुराहरूले उहाँलाई निराश बनाउनेछन् । मैले गरेका के–के पो उल्टाउनुहुनेछ, के–केमा पो चित्त बुझाउनुहुनेछैन ! उहाँको प्रसन्न मुहारमा नियाल्दै म यस्तैयस्तै सोच्दै थिएँ । यौटा चुरोट छिट्छिटो तानेर उहाँ हिँड्नुभयो ।

साँझ उहाँको फोन आयो । डराई–डराई उठाएँ ।

“भाइ, तपाईंले साँच्चै राम्रो बनाइदिनुभएछ । बल्ल पो किताब पढ्नलायक बन्यो । लौ धन्यवाद है !”

उहाँ खुसी हुनुभयो । सिर्फ लेखक हुनुहुन्थ्यो भने उहाँ खुसी हुनुले खासै ठूलो अर्थ राख्दैनथ्यो होला । सम्पादनमा हामीले आँकलन गर्न नसकिने योगदान छ उहाँको । सम्पादन दक्षताको यौटा दुर्लङ्घ्य पहाड छिचोलिसक्नुभएको छ उहाँले । श्रीहरि फुयाँल भारेभुरे सम्पादक होइन । सम्पादकको नाममा सङ्कलन त झन् हुँदै होइन । मेरो जति उमेर छ, करिब त्यति समय त उहाँले सम्पादन गरेरै बिताइसक्नुभएको छ । उहाँ खुसी हुनु भनेको हामीले मानक मानेका यौटा सम्पादक खुसी हुनु हो । यस्ता ठेलीका ठेली किताब सम्पादन गरेर पोख्त भएको मान्छे खुसी हुनु, पारखीहरूले मुग्ध कण्ठले प्रशंसा गर्नलायक सम्पादक खुसी हुनु चानचुने सफलता होइन ।

अनि, म पनि मख्खै भएँ ।

त्यसो त श्रीहरि फुयाँलले गर्दै आउनुभएका कामकुरा— सानै उमेरदेखि कविता लेख्नु, लेखिरहनु, कथा, उपन्यास, मुक्तक, हाइकु, समालोचना आदिका पुस्तक निकाल्नु, जनताको क्रान्तिमा एक साहित्यकारको नाताले सचेततापूर्वक लागिपर्नु, साहित्यिक सङ्घसंस्थाको नेतृत्व गर्नुजस्ता यावत् कार्य यौटा कुशल स्रष्टाले गर्ने, गर्नुपर्ने कामकै परिभाषाभित्र बाँधिदिँदा ठूलो फरक नपर्ला ।

तर, ‘जीवितै छँदा त सम्मान गर्न जानेनौ भने मरेपछि स्रष्टाको के सम्मान गर्छौं !’ भनेर उहाँले जुन तर्क समाजका सामुन्ने राख्नुभएको छ, त्यो अपवाद नै हो । अभिनन्दन, सम्मान त भए होलान्, अभिनन्दनग्रन्थ पनि निस्किए होलान्, तर उहाँले जस्तो वैचारिक बहसै चलाएर त्यसअघि कसैले त्यसो गरेका थिएनन् ।

सोही सोचलाई मूर्त रूप दिँदै उहाँले गर्नुभएको भरतराज पन्त (२०४२), केदारमान व्यथित (२०४४), कृष्णप्रसाद पराजुली (२०४६) का विशेषाङ्क निकालेर अभिनन्दन गर्ने कार्यलाई ‘…..लगायत, …..इत्यादि, ……आदिआदि’ मै टारिदियौँ भने श्रीहरि फुयाँलको समग्र दक्षता र फरक सोचमाथि नै अन्याय गरेको ठहर्छ ।

श्रीहरि फुयाँलको त्यो अभिनन्दन ग्रन्थ श्रीहरि फुयाँलकै सोही अभियानको निरन्तरता मात्रै हो । यस अर्थमा यो उहाँले गरेको अतिरिक्त र पृथक् योगदानका लागि उहाँप्रति समाजको तर्फबाट व्यक्त गरिएको आभार पनि हो ।

त्यो पुस्तकमा श्रीहरि फुयाँललाई भद्र, भलादमी, सोझोसीधा भनेर धेरैले भनेका छन् । भद्रभलादमी त उहाँ हो नै, ‘सोझो’ शब्दको सोझो अर्थभन्दा पनि लाक्षणिक अर्थले भने सम्पादनको क्रममा मलाई घरीघरी घोचिरह्यो

त्यो किताब जस्तो अवस्थामा निस्किएको छ, म आफैँ त्यसमाथि बग्रेल्ती ‘रातो’ लगाउन सक्छु । मैले नै ‘यो भएन, त्यो भएन’ भन्न सक्ने प्रशस्तै कमजोरीहरू त्यसमा अझै छन् । त्यसो हुन जानुका थुप्रै कारणहरू म दिन सकुँला, स्पष्टीकरण दिउँला र आफू पानीमाथिको ओभानो बनिटोपलौँला । म आफू चोखिएर त्यो पुस्तक अवश्य शुद्ध हुँदैन । विविध कारणले त्यसमा हामीले आफूले जानेजतिको कुशलतासमेत प्रदर्शन गर्न सकेनौँ । म कार्यकारी सम्पादकको नाताले त्यसमा रहे–भएका सम्पूर्ण त्रुटि, कमजोरीहरूप्रति क्षमायाचना गर्छु । यौटा असल कार्य गर्दैगर्दा भएका भूलचुक ठानिदिनुहुनसमेत आग्रह गर्छु ।

त्यसो त त्यो पुस्तकले श्रीहरि फुयाँलको सम्पूर्ण र यथार्थ परिचय दिन्छ भन्ने दाबा म गर्दिनँ । दृष्टिविहीनहरूले हात्ती छामेर निकालेको निष्कर्षजस्तै हो त्यो पुस्तक । कसैले नाङ्लोजस्तो, कसैले डोरीजस्तो, कसैले भित्तोजस्तो त कसैले थामजस्तो भनेका होलान् । तर, हात्ती त्यस्तो कहाँ हुन्थ्यो र ! तथापि, जसले जे भनेका छन्, बडो इमानदारीपूर्वक भनेका छन् । आफूले श्रीहरि फुयाँललाई जे–जस्तो देखेका छन्, त्यस्तै भनेका छन् । यस मानेमा श्रीहरि फुयाँलको योगदानको यौटा रेखाचित्र त्यस पुस्तकले अवश्य कोरेको हुनुपर्छ । पर्नेको नजर पर्‍याे भने र श्रीहरि फुयाँलजस्ता विलक्षण प्रतिभाको योगदानलाई राज्य र समाजले बेवास्ता गरिरहेको वर्तमान अवस्थाको आभाषसम्म ‘बहुआयामिक व्यक्तित्व श्रीहरि फुयाँल’ पुस्तकले दिन सक्यो भने हाम्रा लागि त्यो काफी हुनेछ ।

यतिबेला श्रीहरि दाइ यो भूगोलबाट निकै टाढा अर्थात् अमेरिकातिर हुनुहुन्छ । सायद जिन्दगीमा कहिल्यै नभोगेका रमाइला अनेकन् क्षणसँग साक्षात्कार गर्दै हुनुहोला ।

त्रिशूलीको राफ्टिङमा जाने कि नजाने निकै ठूलो दुविधाका बीचमा उहाँले “जे परे परोस्, जाने हो,” भनेर आयोजकको मनसायविरुद्ध कठोर निर्णय लिनुभएको थियो । दुर्भाग्य ! राफ्टिङकै क्रममा उहाँ अकस्मात् डुङ्गाबाट खस्नुभयो । लागेको थियो— आत्तिनुभयो होला । अब उहाँले त्यो निर्णयउपर पछुताउ गर्नुहुनेछ र कहिल्यै राफ्टिङ नगर्ने सपथ खानुहुनेछ । काठमाडौँ फर्किएपछि भन्नुभयो, “भोटेकोसीमा यो भन्दा खतरा हुन्छ रे ! अब त्यहाँ जाने हो बुझ्नुभो !”

म जिल्ल परेर उहाँको मुखाकृति हेरिरहेको थिएँ । उहाँले लामो सास तान्नुभयो र भन्नुभयो, “जिन्दगीमा त्यति धेरै रमाइलो कहिल्यै अनुभूति गरेको थिइनँ । मैले घरमा बूढीलाई पनि त्यही भनिदिएँ ! अहिलेसम्म खुसी नै दिन सकेको रहेनछ भनेर चित्त पो दुखाई कि ! आफूलाई जे लाग्यो, त्यही भन्देको हुँ क्यार ! रिसाए रिसाओस् !”

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति —-जगदीशनरसिंह केसी

नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला...

बंगलादेशका अधिकांश कलेज पैसाको पछाडि दौडिरहेका छन् : उपकुलपति डा अली

प्रा डा ल्याकत अली बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेसका उपकुलपति हुन्। मेडिकल डाक्टर समेत रहेका अली अनुसन्धानमा विशेष रुची राख्छन्। मेडिकल शिक्षाका विषयमा स्थलगत अध्ययनका लागि बंगलादेश पुगेका स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाल र सीताराम कोइरालाले उपकुलपति डा अलिसँग गरेको कुराकानी : बंगलादेश युनिभर्सिटि अफ हेल्थ साइन्सका बारेमा बताइदिनुस् न? अुसन्धान र...

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

कवि विनोद खत्री अाकाशसँग हेमन्तको साहित्यिक भलाकुसारी।

 १ साहित्य भनेको के रहेछ अाकाश जी ? > साहित्य भनेको मेरो बुझाइमा जीवनको भोगाइ ठान्दछु।यसमा यथार्थ कुरा र काल्पनिक कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ। २ अाकाश कविता सङ्ग्रहले अहिले समकालीन साहित्यमा खुब चर्चा कमाएको छ यसको राज के हुनसक्छ त ? यस कविता सङ्ग्रहमा मैले संसार,मेरो...

अब धेरै भाषण नगर्ने, काम गर्ने । परिणाम दिने — मन्त्री गोकुल बास्कोटा

असार, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् । ‘छिमेकीसँगको सरकारको सम्बन्ध एकदमै सन्तुलित भयो । दुबैतिरको सम्बन्ध राम्रो भयो’ मन्त्री बास्कोटाले मंगलबार अनलाइनखबरसँग भने,...

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइनः प्रधानमन्त्री

असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि...