विचार

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

-मिलन मनुवा दाहाल


सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले पठाएको टुकटुक गाडी मलाई पर्खिबसेको मैले फेला पारेँ । त्यसले मलाई चढाएर सुनसान सडक हुँदै दौडायो । कम्बोडियाको रोमान्चक यात्रा शुरु भएकोले म दङ्ग थिएँ ।

स्कूले जीवनको हाजिरजवाफ प्रतियोगितामा सोधिन्थ्यो– संसारको सबभन्दा ठूलो मन्दिर कुन हो ? त्यो अंकोरवाट मन्दिर सियाम रिप भन्दा ४ किलोमिटर बाहिर अवस्थित छ । कम्बोडियाका खमेर जातिको मुलुक हो । सियाम रिप खमेर सभ्यताको केन्द्र हो । यो शहर झण्डै विराटनगर जत्रै छ । बैंककबाट एक घण्टाको हवाईयात्रा अथवा आठ/दश घण्टाको बसयात्राबाट सियाम रिप पुग्न सकिन्छ । बस यात्रा नेपालको तुलनामा आरामदायी र सस्तो पनि छ ।

 

कम्बोडियामा वार्षिक ५० लाख हाराहारीमा विदेशी पर्यटक आउँछन् । जसमध्ये आधाजसो पर्यटक सियाम रिप हुँदै कम्बोडिया प्रवेश गर्छन । पर्यटक आगमनको अत्याधिक वृद्धिले छोटो समयमा यो शहरको विकाश भएको रहेछ । आधा शहरबासीले पर्यटन क्षेत्रमा रोजगार पाएका छन् । यो शहर अझै विस्तार र बुलन्दीतर्फ अघि बढिरहेकोछ । तर यहाँ चाइनिज र उनीहरुको जताततै ठूलो लगानी छ भन्ने थाहा पाइयो । चाइनिज हालीमुहालीको ठाडै विरोध गर्न नसके पनि सियाम रिपका स्थानीयबासीहरु चिन्तित रहेको त्यहाँ बस्दा सुनियो ।

हिन्दू धर्म त्यागेर बौद्ध धर्मलाई राजकीय स्थान दिएकै कारण अहिलेको क्याम्बोडिया अर्थात खमेर साम्राज्य पतन भएको मान्यता रहेछ । भियतनाम युद्धमा कम्युनिस्ट गुरिल्लाले कम्बोडियालाई पनि आधार इलाका बनाए । राजधानी नोम पेन्ह पनि अछुतो रहेन

अन्तर्राष्ट्रिय विमानस्थलको अभावले नेपालमा पर्यटक आगमन धेरै बढन सकेको छैन । गौतमबुद्ध विमानस्थल संचालनमा आएपछि बुद्धस्थलहरु रहेको बुटवल–भैरहवा क्षेत्रले सियाम रिप जस्तै फड्को मार्ने निश्चित छ । तर आर्थिक अवसरलाई छोप्न सकिएन भने नेपालीले होइन, अरुले फाइदा उठाउने पनि निश्चित छ । बुद्धको जन्मस्थलजस्तै अंकोरवाट घना जंगलभित्र छोपिएर मानव समाजको विस्मृतिमा पुगेको थियो । फ्रेन्च अन्वेषकले अंकोरवाट पुनः पत्ता लगाएको ठाउँ हो । आज यही अंकोरवाटले सियाम रिपमा सिधै वार्षिक २५ लाख पर्यटक आकर्षित गरिरहेको छ । त्यसैले सियाम रिपबाट हामीले सिक्नुपर्ने रहेछ ।

सियाम रिप टेकेको रात अबेर सुतेको र यात्राको थकानले भोलिपल्ट म ढिलो उठेँ । टुर गाइड लेङ्ग रथाले मलाई उसकै घरमा पाहुनाको रुपमा राखेको थियोे । म उठ्दा ऊ काममा गैसकेको थियो । त्यहाँको घरआँगनको परिवेश नियाल्दा आसाम (भारत) को कुनै गाउँमा छु कि जस्तो लाग्यो । म बिस्मयकारी नजर घुमाउँदै बाटोमा निक्लिएँ । सानो नहरको दुबैपट्टि कच्ची सडक थियो । वरपरको परिवेश हेर्दा शहरको अलिक बाहिरी ईलाका रहेछ भन्ने छर्लङ्ग हुन्थ्यो । त्यो दिन स्थानीय जनजीवन बुझ्न टोलछिमेकमा वरपर घुमेर बिताएँ । साथै, इमेल चेक गर्ने, केही जरुरी जवाफ लेख्ने र गुगलमा कम्बोडियाको विविध पक्षबारे जानकारी खोज्न समय खर्च गरेँ ।

साँझ लेङ्ग रथाले घरमा स्थानीय खाना खुवाउन केही पर्यटकहरुलाई बोलाएको रहेछ । म लगायत विभिन्न देशका ८/९ जना थियौँ । लेङ्ग रथाले अंकोरवाट र खमेर सभ्यताको गौरवगाथा बारे प्रवचन दिदैँ भोज शुरु भयो । हामीबीच विभिन्न विषयहरुमा पनि छलफल भयो । त्यो खानपिनको जमघट सानो अन्तर्राष्ट्रिय कन्फरेन्स जस्तो बन्यो । साथसाथै, लेङ्ग रथाको श्रीमती र भाईले बनाएको परिकारहरु हामीले थपीथपी खायौं । अन्य पाहुनाहरु बिदाबारी भएर गए । म चाँहि त्यो रात पनि लेङ्ग रथाको पाहुना भएर बसेँ ।

आश्चर्यजनक अंकोरवाट

म अंकोरवाट हेर्न अधैर्य भैसकेको थिएँ । त्यसैले, बिहानै लेङ्ग रथाको घरबाट म एउटा साइकल टिपेर अंकोरवाट हानिएँ । अंकोरवाट क्षेत्र प्रवेश गर्न पर्यटकले टिकट लिनु पर्ने रहेछ । प्रवेशविन्दुमा टिकट नपाइने, टिकट लिन निकै टाडा जानु पर्ने । एउटा टुकटुकले मलाई टिकट काउन्टर पुर्‍याएर ल्याउने भयो, अलिक चर्को भाडा असुलेर । जेहोस, परम्परागत शैलीमा बनाइएको नवनिर्मित भब्य भवनबाट टिकट बेचिने रहेछ । त्यहाँ टिकट काउन्टर मात्र होइन, पर्यटकका लागि कोशेली सामग्री, रेष्टुरेन्ट, सूचना केन्द्र लगायत विविध कुरा पनि थिए । अंकोरवाट क्षेत्र प्रवेशको लागि दैनिक निश्चित सँख्यामा मात्र टिकट बेचिने रहेछ ।

संसारको मानवनिर्मित आश्चर्यहरुमा पर्ने अंकोरवाटको सामुन्ने पुग्दा म अवाक भएँ । कुनै ज्यादै विशाल, भव्य, सुन्दर वस्तु देख्दा सुखद तर अनौठो अनुभूति हुने रहेछ । त्यसको बारेमा लेख्नु वा बयान गर्नु पर्‍याे भने झनै अप्ठयारो हुँदो रहेछ । अंकोरवाट मलाई त्यस्तै लाग्यो ।

सर्वप्रथम अंकोरवाट शब्दको अर्थबाट शुरु गरौं । संस्कृतको नगर शब्दबाट अपभ्रंश भएर अंकोर भएको रहेछ । वाटको अर्थ चाँहि मन्दिर हो । अर्थात, अंकोरवाटको अर्थ हुन्छ– मन्दिरको नगर । वास्तवमा म जुन अंकोरवाट मन्दिर हेर्न गएको थिएँ, त्यो त मुख्य मन्दिर मात्र रहेछ । त्यस क्षेत्रमा अनेकौं मन्दिर र स्मारकहरु रहेका छन् । ती धेरैजसो भग्नावशेष छन् भने कुनै अझै सग्लो अवस्थामा छन् ।


अंकोरवाट मन्दिर एउटैले १६२ हेक्टर अर्थात करिब ३२ सय रोपनी ओगटेको छ । मन्दिर परिसरलाई वरिपरि चौडा नहरले घेरेको छ । नहरमाथि नागहरुको कलात्मक आकृति कुदिँएको पुल छ, जुन पार गरेर मन्दिरको प्रवेशद्वार पुगिन्छ । मन्दिरको परिसरलाई चारैतिर पर्खालले घेरिएको छ । मन्दिरभित्र अर्को परिसर, त्यसभित्र अर्को परिसर अनेकौं तहमा मन्दिर बनेको छ । सम्पूर्ण संरचना ढुङ्गाले बनेको छ ।

मन्दिरको केन्द्रीय भागमा जहाँ भर्‍याङ्ग चढेर जान सकिन्छ । यो अग्लो स्थानलाई हिन्दू पौराणिक मान्यता अनुसार सुमेरु पर्वतको रुपमा बनाइएको जानकारी पाइयो

ढुङ्गाहरु ठूलाठूला ब्लक आकारमा काटेर मिलाइएका छन् । झ्यालहरुमा कुदेँर बनाएका ढुङ्गा कै बार हालिएको छ । कलात्मक चित्र, आकृति र मूर्तिहरु अनगिन्ती देख्न सकिन्छ । मन्दिरको केन्द्रीय भाग अग्लो स्थानमा छ, जहाँ भर्‍याङ्ग चढेर जान सकिन्छ । यो अग्लो स्थानलाई हिन्दू पौराणिक मान्यता अनुसार सुमेरु पर्वतको रुपमा बनाइएको जानकारी पाइयो । हिन्दू पौराणिक ग्रन्थमा पृथ्वीको केन्द्रलाई सुमेरु पर्वत भनिन्छ ।

वास्तवमा अंकोरवाट मन्दिर हिन्दू देवता विष्णु भगवानको मन्दिर हो । दक्षिणपूर्व एशियामा बुद्ध धर्म फैलिनु भन्दा पहिले हिन्दू धर्मको प्रभाव थियो । अंकोरवाट मन्दिरभित्र अहिले चाँहि बुद्ध प्रतिमाहरु राखिएका छन् । सन ८०२ मा स्थापित भएर सन १४३१ मा पत्तन भएको खमेर साम्राज्यको राजधानी अंकोर थियो । जयबर्मन, सूर्यबर्मन, हर्षबर्मन, इन्द्रबर्मन आदि नाम गरेका प्रतापी राजाहरुले शासन गरेको इतिहास रहेछ । खमेर राजाहरु आफूलाई विष्णुका अवतार मान्थे । तिनै प्रतापी राजाहरुले अंकोरवाट लगायत अन्य भब्य संरचनाहरु निर्माण गराएका थिए ।

पुरात्वविदहरुले अंकोर योजनाबद्ध शहर भएको निश्कर्ष निकालेका छन् । मध्यकालमा अंकोर संसारकै सबभन्दा ठूलो शहर थियो, जहाँ करिब दश लाख जनसँख्याको बसोबास हुनसक्ने अनुसन्धाताहरुको अनुमान रहेछ ।

अंकोरवाटको नजीकै अर्को विशाल बायोन मन्दिर छ । प्रवेशद्वार बाहिर नहरको पूलको रेलिङ्गमा समुन्द्रमन्थनको दृश्य झल्काउने एकापटि देवताहरु, अर्कोतर्फ असुरहरुले नाग समातेको मूर्तिहरु छन् । ढुङ्गैढुङ्गाको कलाकृतिबाट बनेका विशाल प्रवेशद्वारबाट अहिले पनि मोटरगाडी ओहोरदोहोर गर्छन् । बायोन मन्दिरको चारकुनामा मानव शिरको विशाल आकृतिहरु छ । ढुङ्गे भित्तामा तत्कालिन जनजीवन, युद्धका दृश्य, अप्सरा नृत्यका लगायत विभिन्न चित्र कुदिँएको छ । कतिपय ती कलाकृति अहिले पनि दुरुस्तै छन् ।

म अंकोरवाट दिनभरि साइकलमा घुमेर साँझ बासमा फर्किएँ । वास्तवमा अंकोर क्षेत्र घुम्नलाई तीन दिन र पूरै पुरात्विक क्षेत्र अवलोकन गर्र्न पन्ध्र दिनसम्म लाग्छ अरे । तर जति घुमे पनि अंकोरलाई राम्ररी जान्न सकिदैंन । मैले यहाँ अंकोरको बारेमा दुईचार हरफ लेख्ने प्रयास गरेँ । तपाईं सक्नुहुन्छ भने आफैं अंकोर गएर हेर्नुहोला ।

वैभवशाली खमेर इतिहास

 

‘थाइलैण्ड, लाओस, भियतनाम र कम्बोडियाको भूभागमा दुई हजार वर्ष अगाडि एउटा साम्राज्य जस्तो राजारजौटाको शासन संजाल थियो । त्यही बेला भारतीय प्रभाव, खासगरी दक्षिण भारतको प्रभाव त्यहाँ पुग्यो । छैटौं शताब्दीमा चेनला साम्राज्यको उदय भयो । जसबाट टुक्राएर जयबर्मन दितियले खमेर साम्राज्यको स्थापना गरे । मेकङ्गको उर्वर मैदान र सामुद्रिक ब्यापारको लागि जलयातायातले खमेर साम्राज्य शक्तिशाली र समृद्ध बन्यो । शक्ति र समृद्धि हासिल भएपछि मानवजातिले भौतिक धरोहर निर्माण गर्छ । त्यसैको परिणामस्वरुप अंकोरवाटको निर्माण भएको थियो । काठमाडौं उपत्यकाको मन्दिर, चैत्यहरु पनि मल्ल राजाहरु शक्तिशाली र समृद्ध भएर बनेको हो ।

हिन्दू ग्रन्थमा उल्लेख भएको इन्द्रलोक साँच्चै अस्तित्वमा थियो कि ? पौराणिक ग्रन्थमा वर्णित स्वर्गको इन्द्रलोकबाट प्रभावित भएर त्यस्तै शहर धरतीमा खमेर राजाहरुले बसालेका थिए

अंकोरको वैभवता र त्यहाँका मन्दिर, स्मारकमा कुँदिएका चित्रहरु हेर्दा यस्तो लाग्छ– हिन्दू ग्रन्थमा उल्लेख भएको इन्द्रलोक साँच्चै अस्तित्वमा थियो कि ? पौराणिक ग्रन्थमा वर्णित स्वर्गको इन्द्रलोकबाट प्रभावित भएर त्यस्तै शहर धरतीमा खमेर राजाहरुले बसालेका थिए । सियाम रिपको अंकोर मात्र होइन, अन्य ठाउँहरुमा पनि खमेर साम्राज्यको राजधानी सारिएको थियो । ती ठाउँहरुमा पनि अंकोरजस्तै भव्य संरचनाहरु बनाएका थिए । अझ चाखलाग्दो कुरा त भर्खरै सन २०१२ मा नयाँ ठाउँमा पहाडी जंगलभित्र महेन्द्रपर्वत भनिने पूरै अर्को शहर भेटिएको छ ।

तर, समय सँधै एकनाश रहन्न । वैभव हासिल गर्न जति गाहे छ, त्यसलाई जोगाई राख्न पनि त्यतिकै मुश्किल छ । हाल थाइलैण्डमा पर्ने अयुथ्या राज्यले आक्रमण गरेपछि खमेर साम्राज्य छिन्नभिन्न भयो । पन्ध्रौं शताब्दीबाट अंकोर मानवविहीन भयो । कालान्तरमा अंकोर जंगलभित्र विलिन भयो । खमेर जातिलाई भियतनाम तर्फबाट पनि दख्खल हुनथाल्यो । थाइलैण्ड र भियतनामले खमेर भूमि हत्याउन प्रतिस्पर्धा गर्न थाले । त्यो महान साम्राज्यमा अंधकार युग छायो । अंकोरवाटको खोजी गरेर बाहिरी दुनियाँलाई जानकारी दिने फ्रेन्च अन्वेषक हेनरी मौहटले लेखेका रहेछन्– ग्रीस वा रोमको हाम्रा धरोहर भन्दा अंकोरवाट अझ भव्य छ, तर दुखको कुरा यो निर्माण गर्ने मुलुक आज जंगली अवस्थामा पुगेको छ ।

खमेर साम्राज्य पत्तनको कारण हिन्दू धर्म त्यागेर बुद्ध धर्मलाई राजकीय स्थान दिनुलाई मान्ने गरिएको रहेछ । धार्मिक परिवर्तनले सामजिक व्यवस्था खल्बलिँदा राज्यभित्र आन्तरिक कलह बढेको र त्यही मौका छोपी बाह्य आक्रमण भएकोे भन्ने विद्धानहरुको मत रहेछ । सुख्खा, बाढी र प्लेगको महामारी जस्ता प्राकृतिक प्रकोप खमेर साम्राज्य पत्तनका कारणहरु हुनसक्छन् भन्ने पनि तर्कहरु रहेछन् । मेरो व्यक्तिगत धारणामा चाँहि अंकोर निर्माणकर्ताहरुको पछिल्लो पुस्ता गत्तिलो नभएर मोजमस्तीमा रमाई पूर्खाको वैभव जोगाउन सकेनन् होला । पत्तनको कारण जेहोस्– अंकोर भ्रमण गर्दा खमेरको वैभवशाली इतिहासले जोसुकैलाई विश्मित तुल्याउँछ ।

नाइट मार्केटमा नेपाली

अंकोर घुमेर बेलुकी लेङ्ग रथाको घरमा आइपुग्दा अर्की पर्यटक पाहुना पनि थिई । आर्मी कमाण्डो जस्तो जीउज्यान र हिसी परेको अनुहार भएकी अन्ना पोल्याण्डकी रहिछे । मैले परिचय दिएपछि उसले नेपालबारे चासो लिएर सोध्न थाली । म नाइट मार्केट घुम्न जाने लागेको भन्दा, उसले सँगै जाऔं भनेर प्रस्ताव राखी । तर, अन्नालाई छक्याएर छिमेकमा बस्ने स्थानीय युवतीसँग म नाइट मार्केट घुम्न गएँ ।

थाइलैण्डको विभिन्न पर्यटकीय शहरहरुमा पर्यटक लक्षित रात्रीबजार लाग्छ । त्यसकै सिको सियाम रिपमा गरिएको रहेछ । केही वर्षअघि काठमाडौंको बसन्तपुरमा यस्तै रात्रीबजार सञ्चालन गरिएको थियो । तर, सुरक्षाको कारण देखाएर बन्द गरियो । अहिले परिस्थिति फेरिएको छ । नेपालको पर्यटन क्षेत्रमा आशलाग्दा कुराहरु सुनिन थालेको छ । त्यसैले वसन्तपुरलगायत अन्य पर्यटकीय ठाउँमा रात्रीबजार शुरु गर्न सकिन्छ । पर्यटकको बसाई लम्ब्याउन र खर्च गराउन रात्रीबजार राम्रो तरिका हो ।

सियाम रिपको नाइट मार्केटमा मैले उही कुरा पाएँ– लुगाफाटा, कोसेली सामग्री, हस्तकलाका सामान, खानेकुराका स्टल, सानातिना खेलचटक आदि र मानिसहरुको भीडभाड । त्यही भीडभाडमा एकजना नेपाली भेटिए । उनको त्यहाँ पसल रहेछ । तिनै पसलेले नाइट मार्केटमा अन्य नेपाली दाजुभाइसँग भेट गराए । एकजना गुरुङ चेलीको पर्यटकलाई मेहन्दी लगाउने व्यवसाय पनि रहेछ । नेपाली रेष्टुरेन्ट पनि भेटियो । अनि, नेपाली पाराले टन्न मासुभात खाइयो ।

सियाम रिपमा ५० जना जति नेपाली रहेछन् । राजधानी नोम पेन्ह डेड सय जति छन अरे । विदेशमा नेपालीहरुको प्रगति देख्दा खुशी लाग्छ, कसैले दुख पाएको छ भने मलाई नरमाइलो लाग्छ । यहाँ प्रायः सबै नेपालीहरु पर्यटन क्षेत्रमा काम गरिरहेका र उनीहरुको राम्रै कमाई हुने बुझियो । नाइट मार्केटमा भेट्दा नेपालीहरु काममा ब्यस्त भएकोले धेरै बातचीत गर्न पाइएन । मैले विदेशमा नेपाली भेट्दा उनीहरुको स्वाभाविक प्रश्न हुन्छ– दाई, तपाईं के गर्न आउनु भएको ? तर मैले घुम्न भनेर उत्तर दिँदा सजिलै पत्याउँदैनन् । त्यसको कारण पहिल्याउँदा मैले यस्तो नेपाली मनोविज्ञान पाएँ–

हामी नेपालीहरु काम नपरी हत्तपत्त घरबाट टाढा घुम्न निस्कदैनौं । घुमघाम खर्चिलो शोख हो भन्ने बुझाई छ । कतिपयले घुमघामलाई फजूल खर्च ठान्छन् । औसत नेपालीको आयस्तरले विदेशको घुमघाममा गर्न सकिन्छ र भन्ने सोचाइ छ

हामी नेपालीहरु काम नपरी हत्तपत्त घरबाट टाढा घुम्न निस्कदैनौं । घुमघाम खर्चिलो शोख हो भन्ने बुझाई छ । कतिपयले घुमघामलाई फजूल खर्च ठान्छन् । औसत नेपालीको आयस्तरले विदेशको घुमघाममा गर्न सकिन्छ र भन्ने सोचाइ छ । घुमघाम गर्ने प्रवृत्ति मानिसको संस्कारसँग जोडिएको छ । हामी नेपालीले पैसै नभएर घुमघाम नगरेको होइन । हाम्रो सँस्कार नभएर हो । नेपालीहरुको बुढेसकालमा तीर्थधाम जाने चलन छ । उमेर हुँदै शोखले चाँहि कमैले मात्रै घुम्छन ।

हामीले नेपाल घुम्न आउने गोरा विदेशी पर्यटक देखेका छौं । तिनीहरुसँग प्रशस्त पैसा भएर घुम्न आएका होला भन्ने ठान्छौं । धनीका कुरा अर्कै भए । तर, अधिकांश ती पर्यटक काम गरेर अलिअलि गर्दै बचत गरेको पैसा लिएर घुम्न निस्केका हुन्छन् । कतिपय छँदाखाँदाको जागिर, व्यवसाय छाडेर, भएको सम्पत्ति पनि बेचेर ढुक्कले संसार घुम्न निस्किएका हुन्छन् ।

आफ्नै खर्चमा घुम्न हिँडेको भन्दा कतिपय नेपालीले म निकै धनी मान्छे भन्ने ठान्दा रहेछन् । म औसत नेपाली हुँ, जब्बर घुमक्कड स्वभाव भएकाले देशविदेश घुमिरहन्छु भन्दा तिनीहरु टवाँ पर्छन् ।

राजधानी नोम पेन्ह

सियाम रिपबाट राजधानी नोम पेन्ह जान दुइटा विकल्प छ । सडक मार्गबाट जाने वा टोन्ले सेप नदीमा डुङ्गाबाट जाने । हिउँदको सुख्खामा नदीको जलस्तर निकै घटदा डुङ्गा नचल्ने सुनेको थिएँ । जेहोस्, टोनले सेप ताल त हेर्नुपर्‍याे भनेर गएँ । पानीमा तैरिने गाउँ त्यहाँको आकर्षण रहेछ । ठूलो डुङ्गालाई घरको आकार दिएर त्यसैमा पूरै परिवारले जीवन निर्वाह गर्दो रहेछ ।

त्यस्ता डुङ्गाका घरहरु पानी घट्दा तल तल जाने, नदीमा पानी बढ्दा माथि माथि आउने तैरिने गाउँको विशेषता रहेछ । आखिर जलयात्रा नहुने भए पछि फर्केर सियाम रिपबाट नोम पेन्हको लागि बस समातेँ । बसभित्र स्थानीय यात्रुहरुको गतिविधी र घरीघरी झयालबाट बाहिरको दृश्य हेर्दै यात्रा अगाडि बढ्यो । बसमै अमेरिकी ठिटो अलबर्टसँग पनि चिनजान भयो ।

साँझमा बसबाट नोम पेन्ह ओर्लुन्जेलसम्म अलबर्ट र मेरो दोस्ती भैसकेको थियो । हामीले नोम पेन्हमा सँगै मिलेर होटलमा कोठा लियौं । मैले गुगलबाट मोबाइल सेटमा डाउनलोड गरेको नक्शामा मेकङ्ग नदी होटलबाट नजिकै देखाइरहेको थियो ।

हामी मेकङ्ग किनारतिर लाग्यौं । मेकङ्गको किनारलाई निकै व्यवस्थित गरी विकास गरिएको रहेछ । हिउँदे यामको मेकङ्ग नदी शान्त भएर बगेको थियो । यता किनारमा चाँहि मानिसहरुको बाक्लो चहल–पहल थियो । अल्बर्ट र म रमिता हेर्दै बेञ्चमा निकैबेर बस्यौं । घरिघरि चाँहि खानेकुरा र अन्य सामाग्री बेच्ने हकरहरु हामीलाई बिथोल्न आउँथे ।

सियाम रिपको जस्तो नोम पेन्हको धेरै पुरानो इतिहास छैन । मध्यकालमा छिमेकी राज्यको आक्रमणबाट जोगिन केही समय खमेर राजाहरुले नोम पेन्हलाई राजधानी बनाए थिए । राजा नरोदमले सन १८६६ मा नोम पेन्हलाई पुनः राजधानीको दर्जा दिए । लगत्तै फ्रेन्च उपनिवेश शुरु भयो ।

त्यसपछि टोनले सेप र मेकङ्ग नदीहरुको किनारमा अवस्थित गाउँलाई फ्रेन्चहरुले शहरको रुपमा विकास गरे । सन १९२० को दशकदेखि फ्रेन्च शासकहरुले नोम पेन्हलाई यत्ति राम्रो बनाएछन् कि नोम पेन्ह शहरलाई एशियाको प्यारिस भन्न थालिएछ ।

तर, भियतनाम युद्धकालमा कम्युनिस्ट गुरिल्ला फौजले कम्बोडियालाई आधार ईलाका बनाए । वाह्य र आन्तरिक युद्धमा फसेपछि राजधानी नोम पेन्ह पनि अछुतो रहेन । नोम पेन्हको पनि शाख हरायो । अहिले नोम पेन्ह शहरले काँचुली फेरेको छ । नोम पेन्ह शहरले पहिलाको गुमेको शाख फकाउँदैछ ।

रगत र आँशुले भिजेको भूमि

नोम पेन्हमा तिम्रो के प्लान छ त ? – हिजो नै मैले अल्बर्टलाई सोधेको थिएँ । किलिङ्ग फिल्ड, जेनोसाइड म्यूजियम, नेशनल म्यूजियम, रोयल प्यालेस –उसले लिस्ट बतायोे । मेरो लिस्टमा पनि नोम पेन्हका तिनै प्रमुख पर्यटकीय केन्द्रहरु थिए । किलिङ्ग फिल्ड पोलपोटले मानव नरसंहार गरेको स्थल हो । त्यसैगरी स्कूललाई जेलमा परिणत गरेर बन्दीलाई चरम यातना दिई मारिएको ठाउँलाई हाल जेनोसाइड म्यूजियम बनाइएको छ ।

म र अलबर्ट ती ठाउँहरु सँगसँगै घुम्यौं । किलिङ्ग फिल्ड र जेनोसाइड म्यूजियम घुम्दा जो कोही द्रवित हुन्छ । नोम पेन्हमा पर्यटकले हेर्नलाई छुटाउन नहुने अर्को कुरा हो– अप्सरा नृत्य । अंकोरको अप्सरा नृत्य हाल कम्बोडियाको साँस्कृतिक पहिचान मानिन्छ । ती सबैको वर्णन यस लेखमा अटाउन सम्भव छैन ।

सन १९७५ देखि १९७९ सम्म पोलपोटको खमेर रुज शासनमा कम्बोडियाको एक चौथाई जनसँख्या मारिए । वास्तवमा खमेर रुज शासनमा कति मानिस मारिए भन्ने यकिन तथ्यांक छैन । संयुक्त राष्ट्र संघको अनुमानमा यो संख्या २० देखि ३० लाख हुनसक्ने अनुमान रहेछ । खमेर रुज शासनभन्दा अघिपछि पनि गृहयुद्ध र बाह्य आक्रमणमा परेर धेरैले ज्यान गुमाए ।

त्यसैले कम्बोडियाको भूमि रगत र आँशुले भिजेको छ भन्दा फरक नपर्ला । सन् १९९३ मा राजतन्त्र पुनस्थापनासँगै नयाँ संविधान बन्यो । त्यसपछि मात्र मर्ने मारिने क्रम रोकियो । हाल कम्बोडियामा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय व्यवस्था छ ।

विकास र समृद्धिको यात्रा

कम्बोडियाको राजनीतिक आँधीबेहरीबाट सन १९८५ मा हुन सेनको उदय भयो । गत तीन दशकदेखि प्रधानमन्त्री हुन सेन कम्बोडियाको निरन्तर कार्यकारी प्रमुख रहिआएका छन् । हुन सेनको नेतृत्वमा कम्बोडियाले राजनीतिक स्थिरता पाएको छ । छिमेकी थाइलैण्डले लोभलाग्दो प्रगति गरिरहँदा कम्बोडिया गृहयुद्ध र राजनीतिक अशान्तिको भुँवरीमा रुमलिरहेको थियो । राजनीतिक स्थिरतापछि कम्बोडियाले बिस्तारै विकास र समृद्धिको यात्रा शुरु गरेको रहेछ ।

खासगरी गत एक दशकमा कम्बोडिया निकै परिवर्तन भएको कम्बोडियाका सर्वसाधारण नागरिकहरुले पनि बताए । सन २०१६ मा कम्बोडिया विश्व बैंकको अति गरिब देशको सूचीबाट तल्लो मध्यम आय भएको देशमा उक्लिएको रहेछ । मैले पर्यटकको रुपमा कम्बोडिया सरसर्ती घुम्दा पनि विकास र समृद्धिको अभियानले तिब्रता पाएको महशूस गरेँ ।

यद्यपि सञ्चार माध्यममाथि सरकारी नियन्त्रणचाँहि निकै कडा रहेछ । बहुदलीय व्यवस्था र आवधिक निर्वाचन प्रणाली भएता पनि, हुन सेनको राजनीतिक दबदबामा विपक्षी दलहरु निकै खुम्चिएका छन् । हालै जुलाई महिनामा कम्बोडियामा आमनिर्वाचन निर्वाचन भएको छ ।

गुगलेश्वर महादेव अर्थात गुगल सर्च गर्दा भेटिए अनुसार प्रधानमन्त्री हुन सेनले नै निरन्तरता पाउने पक्कापक्की जस्तै छ ।

एशियाली युगको पुनरागमन

वास्तवमा मध्यकालसम्म चीन, भारत, दक्षिणपूर्वी एशिया लगायत भूभागले आफ्नै सभ्यता हुर्काएको थियो र पश्चिमा संसारभन्दा निकै समृद्ध थियो । खमेर भूमि त्यस्तै वैभवशाली इतिहास भएको मुलुक हो । समयचक्र घुम्दै अहिले एशियाली सभ्यता र समृद्धिको पुनरागमन हुने संकेत देखिएको छ । वर्तमानमा कम्बोडियाको पनि दिन फिर्दैछ ।

सोह्राैं शताब्दीदेखि एशियामा यूरोपियनहरुको आगमन पश्चात बिस्तारै बिस्तारै हामी पश्चिमतर्फ फर्केका रहेछौं र हाम्रो पूर्वीय सभ्यता हराउँदै गएको रहेछ । अझै पनि हामी पश्चिमा सभ्यता/संस्कृतिलाई अनुशरण गरिरहेका छौं

उन्नाइसौं शताब्दी बेलायती बोलवालाको शताब्दी थियो भने बीसौं शताब्दी अमेरिकन शताब्दी रहयो । तर, एक्काइसौं शताब्दीलाई एशियाली शताब्दी हुने अनुमान थियो, जुन वास्तविकतामा परिणत हुँदैछ । गौरवशाली इतिहास भएको नेपाल र हामी वीर नेपालीहरुले पनि एशियाली युगको पुनरागमनमा लय मिलाउन ढिलो गर्नुहुन्न ।

सोह्राैं शताब्दीदेखि एशियामा यूरोपियनहरुको आगमन पश्चात बिस्तारै बिस्तारै हामी पश्चिमतर्फ फर्केका रहेछौं र हाम्रो पूर्वीय सभ्यता हराउँदै गएको रहेछ । अझै पनि हामी पश्चिमा सभ्यता/संस्कृतिलाई अनुशरण गरिरहेका छौं । रामचन्द्र गुहाद्वारा सम्पादित मेकर्स अफ मोडर्न एशिया भन्ने पुस्तक पढदै जाँदा भेटाएँ– साम्राज्यवाद र नवसाम्राज्यवादको विरुद्ध सन १९५५ मा एशियाली–अफ्रिकी सम्मेलन आयोजना गर्ने इन्डोनेशियाका राष्ट्रपति सुकार्नोले एशियाली शताब्दीको परिकल्पना गरेका रहेछन् ।

राजधानी नोम पेन्ह घुमघामपछि बसयात्रा गर्दै कम्बोडियाको अर्को शहर बटमबाङ्ग बास बस्न पुगेँ । भोलिपल्ट मिनी बसमा अर्को २ घण्टाको यात्रापछि कम्बोडिया र थाइलैण्डको बोर्डर अरण्यप्रथेट पुगियो । खमेर भूमिमा अंकोर युगको वैभव पुनः फर्कियोस् भन्ने कामना गर्दै सन् २०१७ मार्च ४ तारिखका दिन म कम्बोडियाबाट बाहिरिएँ ।

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

हो म महावीर नाम को प्रशंसक हु

एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई...

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श । कहिले झुपडीमा बसेर...

लेख्दा लेख्दै रुन्छु :साबित्रा उमरा

म लेख्दा लेख्दै रुन्छु भने दादा समाज सेवा गर्दा गर्दै पनि रुनुहुँन्छ” गाउँले चेली साबित्राको बुबा पछिको दादा सिन्धुली बासिको मात्र नभएर राष्ट्रीय स्तरमै समाजसेबिको रुपमा परिचित समाजसेबी उज्जवल थापा जस्लाई तपाई चिन्नूहुन्छ समाजसेबिको रुपमा। जस्को मनमा नौनी घिउ मिसिएको छ। देखे भोगेको सुनेको कुरालाई...

नेताहरु सुखभोगमा लागे । जनताको अवस्था पहिले जहाँ थियो, त्यसमा अहिले पनि खासै सुधार आउन सकेको छैन ।

 फागुन, काठमाडौं । ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने आदर्शसहित ०५२ साल फागुन १ गते माओवादीले तत्कालीन सरकारविरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो । रुकुमको राडिज्यूला प्रहरीचौकी, रोल्पाको होलेरी प्रहरीचौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकको कार्यालयमा एकसाथ आक्रमण गरेर ‘जनयुद्ध’ सुरु भएको...

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको...