पर्यटन

रानीकोटदेखि नालासम्म

-लिला श्रेष्ठ


कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड, धूलो र अस्तव्यस्त सहरी वातावरणलाई केही क्षण वा दिनका लागि भए पनि चटक्कै छाड्ने योजनाका लागि राम्रो विकल्पका रुपमा रहेका भक्तपुरका चार स्थानबारे लीला श्रेष्ठ लेख्छिन् :

रानीकोट गढी
पानी परे हिलो । घाम लागे धूलो । मास्क नलगाई काठमाडौं उपत्यकामा हिँड्न मुस्किल छ । राजधानीमा थकाई मार्ने शान्त ठाउँ खोज्ने हो भने रमणीय गन्तव्यका रूपमा रानीकोट गढी रोज्न सकिन्छ । सूर्यविनायक नगरपालिका–७ मा अवस्थित रानीकोट गढीमा आन्तरिक पर्यटक बढ्दो छ । भक्तपुरको सूर्यविनायकबाट दक्षिणी पहाडमा अवस्थित रानीकोट गढीको मुख्य विशेषता भनेकै उच्च क्षेत्रमा रहनु हो । भक्तपुर, ललितपुर र काभ्रेको संगममा रहेको यस स्थानबाट काठमाडौं उपत्यकालाई नियाल्न पाइन्छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट दक्षिण पाइलट बाबा, घ्याम्पेडाँडा हुँदै रानीकोट गढी पुग्न सकिन्छ । सूर्यविनायकबाट झन्डै सात किलोमिटरमा पर्छ रानीकोट । पाइलट बाबा र घ्याम्पेडाँडा पर्यटकीय आकर्षण बनेपछि मानिसको ध्यान त्योभन्दा माथिको रानीकोटतिर मोडिएको हो । रानीकोटमा मोटर बाटो विस्तार भइसकेको छ । सूर्यविनायक चोकबाट सूर्यविनायक गणेश मन्दिर हुँदै पाइलट बाबा, घ्याम्पेडाँडासम्म सडक कालोपत्रे भइसकेको छ । घ्याम्पेडाँडादेखि भने कच्ची बाटो पार गर्नुपर्छ । उपत्यकाभित्रै शान्त जंगल छिचोल्दै काठमाडौंको दृश्य हेर्दै रानीकोट पुग्नुको मज्जा नै अर्कै हुन्छ ।

अग्र्यानिक खानेकुराको स्वाद पनि लिन पाइन्छ । रानीकोट गढी दरबारसम्म पुग्न करिब १४ सय सिँढी निर्माण गरिएको छ । रानीकोट गढीमा बाइकमा धाउने र पैदल यात्रुको संख्या दैनिक बढिरहेको छ । यस क्षेत्रको अर्काे आकर्षण बाघभैरव हो । रानीकोट चोकबाट दुई सय मिटर पश्चिममा ठूलो ढुंगामा रहेको बाघभैरव रानीकोट घुम्न आउनेहरूको आकर्षणको केन्द्र बनेको छ । बाघको आकारमा रहेको ढुंगालाई स्थानीयले साक्षात् प्रकृतिरूपी श्री बाघभैरव मन्दिर नामकरण गरेका छन् । चोकबाट केही क्षणमै रानीकोट गढी भ्यु प्वाइन्ट पुग्न सकिन्छ । हाइकिङका लागि समेत मुख्य रोजाइमा पर्छ रानीकोट गढी ।

पर्यटक बढेपछि रानीकोट आसपासमा होटलहरू बनिरहेका छन् ।

आशापुरी, नैचाल
रानीकोट गढीको पूर्वमा आशापुरी महादेव मन्दिर रहेको छ । काभ्रे र भक्तपुरको संगम स्थल आशापुरी, नैचाल, काँक्राबारी क्षेत्र धार्मिक रूपले मात्र नभई रमणीय क्षेत्र पनि हो । अरनिको राजमार्गअन्तर्गत जगातीबाट १० किलोमिटरमा पर्ने आशापुरी नैचाल विशेषत: स्थानीय खानाको स्वाद लिनेहरूको गन्तव्य बनेको छ ।

तामाङ समुदायको बाहुल्य भएको यस क्षेत्रमा लोकल कुखुरा, ढिँडो, सिस्नु, निगुरोसँग भात खान पाइन्छ । काभ्रेको साँगा, भक्तपुरको जगाती र सूर्यविनायक घ्याम्पेडाँडा हुँदै नैचाल पुग्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने सिलसिलामा भक्तपुर आक्रमण गर्नका लागि निर्माण गरिएको बोकाचो गढी र रानीकोट गढीको बीचमा अवस्थित नैचाल पैदल मार्गका लागि उपयुक्त छ । ठूला होटलहरू नभए पनि धूलो/धूवाँबाट टाढा रहेर टहल्ने गन्तव्य नैचाललाई बनाउन सकिन्छ ।

नैचाल पुग्न सूर्यविनायकबाट पैदल दुई घण्टा लाग्छ भने सवारीसाधनमा आधा घण्टामै पुग्न सकिने स्थानीयवासी बताउँछन् । पहाडले घेरिएको यो स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

नाला
उपत्यकाको पूर्वमा अवस्थित प्राचीन ऐतिहासिक सहर नाला आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । ऐतिहासिक प्रमाणहरूका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरूमध्ये नाला प्रमुख हो । समुद्री सतहबाट १४ सय मिटर उचाइमा अवस्थित नालाको सिमानामा नन्यमाता र पुन्यमाता खोलाहरू रहेका छन् । चारैतिर हरिया पहाडहरूले घेरिएको नालामा परम्परागत नेवारी संस्कृति अनुभव गर्न सकिन्छ ।

नेपालका प्रख्यात चार भगवतीमध्ये एक उग्रचण्डी भगवती तथा प्रमुख चार करुणामयमध्ये सृष्टिकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा अवस्थित छ । भक्तपुरको च्याम्हासिंह एवं काभ्रेको बनेपाबाट पुग्न सकिने नाला प्राचीन सभ्यता अध्ययन गर्न चाहनेहरूका लागि समेत प्रिय क्षेत्र हो । गढ, पर्खाल, ढुंगाको मूल ढोकाहरू, प्रशस्तै ढुंगेधाराहरू, इनारहरू, मनोरञ्जनका लागि डबलीहरू, सडक चोकमा पाको इँटाले बिछ्याएको बाटो, लायकु (दरबार) रहेको अवशेषहरू पाइन्छन् । हालै निर्मित गुम्बाले पनि नालामा पर्यटकको आकर्षण बढाएको छ । फुर्सद मिलाएर घुम्नेका लागि मात्र होइन, पिकनिक खाने गन्तव्यको रूपमा समेत नाला परिचित स्थान हो ।

त्रिशूल डाँडा
युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश चाँगुनारायण मन्दिरबाट करिब १ किलोमिटरमै रहेको त्रिशूल डाँडा पछिल्लोपल्ट आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । यहाँबाट सुन्दरीजल, साँखुलगायत उपत्यकाको अधिकांश भाग अवलोकन गर्न सकिन्छ ।

पिकनिक गन्तव्यका रूपमा पनि चर्चित रहेको त्रिशूल डाँँडा भक्तपुर नगरको देकोचाबाट करिब ७ किलोमिटर दूरीमा पर्छ । हाइकिङका लागि समेत यो डाँडा मुख्य रोजाइमा पर्छ । चाँगुनारायण पौवासम्म पक्की सडक छ भने त्यसपछि कच्ची सडक तेलकोटसम्म रहेको छ । चाँगुनारायण, त्रिशूल डाँडा हुँदै नगरकोटसम्मको १५ किलोमिटर दूरीलाई पैदल मार्गका रूपमा विस्तार गरिसकिएको छ । तेलकोट भन्ज्याङ–त्रिशूल डाँडा–चाँगुनारायणको पैदल रुट उपत्यकाकै सुन्दर हाइकिङ वा ट्रेकिङ रुट हो ।

कान्तिपुर दैनिक /शुक्रबारबाट शाभार

शुक्र, भदौ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको...

काभ्रेको उग्रचण्डी नालामा यसकारण चाहिन्छ ग्रामीण होमस्टे पर्यटन

कृषि तथा प्राकृतिक पर्यटन ,धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनमा उग्रचण्डी नालालाइ  काभ्रेको केन्द्र  नै बनाउनु पर्दछ। उग्रचण्डी नाला यसको आसपासको क्षेत्र पनि उत्तिकै आकर्षक र मनोरम छ । यहाँको रहनसहन, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वमा हामीले त्यसको अवधारणा विकसित गर्न सक्नुपर्छ । नाला आफैँमा एउटा सुन्दर सानो शहर...

नाला तन्चोकमा आकर्षक भ्यु टावर

विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब...

पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र !

साउन, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।   चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै...

फस्टाउँदै पर्यटन

फस्टाउँदै पर्यटन याेगेश ढकाल नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी...

चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।   अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो । यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो...