समिक्षा

डाडुपुन्युँ हातमा हुनेको परिवर्तन उचाइतिर आयो

-—तिलकप्रसाद लुइटेल


अघिल्लो आवरण आकर्षक अमूर्त चित्र भएको, यति बेला मैले हातमा लिएको पुस्तक देख्ता आकारमा सानै छ । आकार सानो भए पनि अन्तर्वस्तु दह्रो छ भने त्यसको महत्त्व कम हुने कुरै भएन । पुस्तकको विवरण यस प्रकार छ—
कृति ः शहरको समाचार
रचनाकार ः सुनील पुरी
प्रकाशक ः डा. महेश्वर भारती
समर्पण ः कवि गोपालप्रसाद रिमाल, आमा तुलसी पुरी र मातृभूमिप्रति
शुभकामना ः सत्यमोहन जोशी, कृष्णचन्द्रसिंह प्रधान, तुलसी दिवस, मञ्जुलबाट
सङ्कलित कविता ः छत्तीसवटा
जम्मा पृष्ठ सङ्ख्या ः ७२
मूल्य ः रु १३०
आवरण ः सुमनकिशोर राई
यस सङ्ग्रहमा कविताहरु सबै छोटा र प्रायः पहिले नै पत्रिकामा प्रकाशित भइसकेका छन् । त्यसैले कविता कस्ता छन् भन्नेतर्फ लाग्नै परेन । धेरै समय लगाएर प्रत्येक कविताका एक एक अक्षर, एक एक शब्द र एक एक कथन हेरेर भाव खोज्ने जिज्ञासुले धेरै कुरा पाठक सामु दिन सक्छ । त्यसो गर्न समयको अनुकूलता नभएकाले सहज रुपमा ध्यानाकृष्ट भएको ठाउँमा अति सङ्क्षिप्त भाव नै यस छोटो लेखमा अघि सार्ने प्रयास गरेको छु ।
पहिलो कविता १३ औँ पृष्ठमा छ । त्यसको शीर्षक भोकको गृहप्रवेश भन्ने छ । शीर्षकले नै कविताको भाव स्पष्ट गरेको छ । नेपालको गरिबी र विपन्न जनताको व्यथासँग त्यसको अर्थ लाग्नु स्वाभाविक हो । अभाव र भोक एउटै कुरो होइन । अभावलाई पूर्ति गर्न सकिन्छ तर भोकलाई सकिँदैन । जति पूरा ग¥यो उति बढ्दै जान्छ । छाकैपिच्छे गाँस बढाउँदै जाऊँ खानकी बढ्दै जान्छ । विलासका साधन बढाउँदै जाऊँ रहर थपिँदै जान्छ । पूर्ति गर्न नसक्नेका मनमा पनि देखासिकीको भोक उसरी नै उर्लिन्छ भन्ने भावना यस कवितामा कवि सुनीलले अघि सार्नुभएको देखिन्छ । घर छोड्न नसक्दा शीर्षकमा अर्को कविता देखिएको छ । यसमा पनि अभाव र गरिबीकै चर्चा छ । आरा चिर्न, गोठ पाल्न, भारी बोक्न, पाले बस्न घर छोड्ने नेपालीको जीवन अझै पनि उस्तै छ । कोही उस्तै काममा उनै छिमेकीकहाँ जाँदै छन् भने कुनैले छिमेकी साटेका छन् । कुनै गुडेर जाँदै छन् भने कुनै उडेर जाँदै छन् । गएका कसैले जीवनको आर्थिक दुर्दशा बदल्न सके, कसैले बसोवास नै बदल्न भ्याए, कसैको हविगत अझ कल्पना गरिनसक्नु भयो र कसैको त ज्यानै गयो । घर छोड्न नसक्नेले आफ्नै घरभित्रै परिवर्तनको कामना गरे । परिवर्तन त आयो, बारम्बार आयो तर डाडुपुन्युँ हातमा हुनेको परिवर्तन उचाइतिर आयो, थापेर खानेको परिवर्तन रसातलतिर भयो । शास्त्रले— ‘‘हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्’’ भने पनि भुईंमा घोप्टिएर काम गर्नेको दशा भुईंमै मेटिएला भन्ने व्यथालाई कलात्मक प्रस्तुति दिइएको छ ।
पुस्तकमा अलिकति अघि बढेपछि शहरको समाचार शीर्षकको कविता छ । यो सुपरिचित विषय हो । आँत मिलेको मानिस पाउनै गारो, दाँत देखाएरै जीवन चलाउने चटारो । मेरो अहितमा बोल्ने र हितमा काम गर्ने मानिस यहाँ छैन । प्रचार र विज्ञापन कालोलाई सेतो र दिनलाई रात बनाउन तैनाथ रहेको ठाउँ यही नै हो भन्ने भाव कविताका वाक्यभित्र पाइन्छ । यसभन्दा एक कविता पछि कविताको तन्ना शीर्षकको अर्को कविता भेटिन्छ । शब्दचयन, कथनको गुम्फन र भाव विस्तारका दृष्टिले अरु सबै कविता जस्तै यो पनि खँदिलो छ । विशेषतः यस कवितामा सहरमा कवित बन्ने र कवि भन्नेको प्रतिस्पर्धा छ । कवित्वको मर्म र धर्मका विषयमा मनन कति भयो त्यसो भन्दा पनि कविका पङ्क्तिमा उभिन रहर गर्नेहरुको कमी नभएको र यसबाट समाजले के पाउँदै छ वा के गुमाउँदै छ भन्नेमा कवि सुनील पुरी विशेष सोचमग्न देखिनुहुन्छ । शब्दले मानवीय शक्तिको स्थान नैसर्गिक रुपमा पायो । त्यसैबाट भाव सम्प्रेषण हुँदै कविता कृतिको सृजना भयो । पुस्ता अघि बढ्दै गयो । उखुको फेद जति गुलियो टुप्पो हुँदैन । सृष्टिकालको जति प्रभावकारिता जीवनको हुँदैन र कविता पनि जीवन नै हो । आज भौतिक वस्तु जति महँगो मान्छे छैन । सायद कविताको हालत पनि यस्तै हो ।
मानवीय पुस्ता अघि बढ्दै जाँदा सौन्दर्यप्रति चाख बढ्दै गयो । जीवनको सौन्दर्य खोज्दै गयो । शब्दले सबल रुपमा फक्रिने र अघि बढ्ने अवसर पाएपछि नै सौन्दर्यको भाव प्रकट हुन्छ । वाक्यमा संयोजित शब्दबाट विचित्र अर्थ प्रकट होस्, सुन्दा प्रभाव परोस् भन्ने जस्तो भावना बोकेर शब्दपुष्प शीर्षकको कविता आएको छ । एउटा अत्यन्त छोटो कविताको शीर्षक स्वप्नको बाटो हो । सानो होस् वा ठुलो तर प्रभाव कति पार्छ महत्त्व त्यसले राख्छ । नथाकीकन सुतेर निदाउने र स्वप्न देख्ने अल्छी हो । जागरुक भएर भावी जीवनलाई ससमृद्ध बनाउने योजना बनाउनुलाई पनि सपना देख्नु नै भनिन्छ । हामीसँग उपर्युक्त दुवै थरी सपना देख्नेको कमी छैन । सपना देख्नेले मात्रै नपुगेर सपना देखाउने पनि छन् । कविले स्वप्नमा त्यसरी दौडनुलाई अर्थहीन भनेका छन् । शब्द र हरफ थोरै भईकन मानिसले मनन गर्ने पक्ष यस कवितामा सशक्त छ ।
शीर्षक प्रश्न सुनील पुरीलाई भन्ने कविता पृष्ठ ६७ मा छ । सूचीपत्रमा दिइएको यो नै अन्तिम कविता हो । अजरामरवत् प्राज्ञः विद्यामर्थञ्च सञ्चयेत् । गृहीत इव केशेषु मृत्युना धर्ममाचरेत् ।। भन्ने नीति वाक्यको भाव यस कवितामा पाइएको छ । कविले सुनील पुरीलाई कालले ढुकेर बसेको छ भन्ने कुरा गरेको देखिन्छ । प्राणी कालभन्दा मुनि नै छ र समयलाई रित्तो हात फिर्ता गर्नु हुँदैन भन्ने भाव प्रकट हुन्छ । यसपछिका पृष्ठहरुमा क्रमशः डा. बेन्जु शर्मा, डा. बलदेव शर्मा अधिकारी र व्याकुल माइलाका समीक्षात्मक सङ्क्षिप्त लेखहरु छन् । त्यसपछि पृष्ठ ७१ मा आभार प्रकट गरिएका व्यक्तित्वहरुको र धन्यवाद ज्ञापन गरिएका व्यक्तित्वहरुको नामावली छ । पृष्ठ ७२ मा कवि सुनील पुरीको परिचय छ भने पछिल्लो गातामा कविको फोटो छ । यस अन्तिम अनुच्छेदमा बताइएको पक्ष अन्य पुस्तकहरुमा भन्दा यस पुस्तकमा भिन्न देखिएको छ । कविलाई अझ सशक्त बन्दै जाने शुभकामना सहित पुस्तक उपलब्ध गराउनुभएकोमा धन्यवाद छ ।

शुक्र, भदौ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’चर्चा परिचर्चा

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र विदुर चालिसेले उक्त कविता सङ्ग्रहको चर्चा परिचर्चा गरेका थिए | सङ्ग्रहमा ‘चियाङमाईको...

साहित्यकार द्वारिका कुईकेल

साहित्यका विभिन्न बिधा, कथा कविता, उपन्यासमा कलम चलाएर नेपाली साहित्य जगतमा क्रियाशिल रहदै अाउनु भएकि साहित्यकार हुनुहुन्छ द्वारिका कुइकेल। द्वारिका जी भन्ने बितिकै हामी समाजका घट्ने बिकृति र बिसंगतिप्रति ब्यङ्ग हान्न सिपालु कविकाे रूपमा चिन्छाै।उहाँका प्रकाशित कृतिहरूमा:- १) विवशताका अाँशुहरू – कविता संङ्ग्रह – २०५८ २) अल्छी...

अनामणिको “खस्राे हातहरू” कबिता संग्रह पढेपछि

साहित्यकाे विविध विधामा कलम चलाएर नेपाली साहित्य फाँटमा आफुलाई स्थापित गर्न सफल एउटा परिचित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। सायद धेरै बर्ष पहिले नै हाे । ठायक्कै मिति सम्झिन सकिन । जनमतकाे कार्यक्रम हुँदै गर्दा बनेपामा हल बाहिर बिक्रीमा राखेका कितावहरू नियाल्दै गर्दा दाउहरू फरक...

थोरै बेरमा धेरैवटा राम्रा कुरा

गोसाइँकुण्ड महिमा कोषकाव्य डा. सत्यराज थपलिया अगाडिको आवरणमा लेखिएका यी अक्षरले क्रमशः कृतिको नाम, विधा र स्रष्टालाई सूचित गर्दछन् । अक्षरमा यति नै लेखिएपछि गाताभरि गोसाइँकुण्डको चित्र छ । राम्रो कागज र रङ राम्ररी संयोजन गरिएको हुनाले आकर्षक देखिन्छ । पछिल्लोतिर गातामा रचनाकारको फोटो, परिचय...

सिताबिष्ट कार्कीको कलेज जीवनको सस्मरण नै “कलेज डायरी” हो

सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु समाबेश गरिएका छन् /  ती कविताहरु मध्य त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट...

अनामणिको “खस्रो हात” भित्र पस्दा

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो। बहुआयामिक प्रतिभाका धनी साहित्यकार अनामणिलाई खालि हात कुनै पनि...