समिक्षा

दृष्टिकोणमा दस ठाउँ

-तिलकप्रसाद लुइटेल


आकर्षक आवरणमा नोबेल साकोस साहित्य प्रतिष्ठानले २०७३ फागुनमा प्रथम पटक छापेको, कलानिधि दाहालबाट भाषिक सहयोग पाएको भनी जनाइएको, मूल्य रु १५० पर्ने, आवरण बाहेक अठासी पृष्ठ उल्लेख भएको, राजन न्यौपानेबाट लिखित डिमाई साइजको कवितासङ्ग्रह ‘‘दृष्टिकोण’’ भित्र त्रिसठ्ठी कविताहरु सङ्कलित छन् ।
सुन्दर आवरणको भित्रपटि मानिसको किताब नकिन्ने मनोविज्ञानलाई कथाका रुपमा गरिएको प्रस्तुति मननीय छ । ‘‘हृदयका पानाबाट’’ शीर्षकमा कविता सङ्ग्रह तयारीका क्रममा प्राप्त भएका सबै पक्षका सहयोगप्रति आभार, धन्यवाद, साधुवाद दर्साउँदै कृतज्ञता प्रकट गरी कृतिका प्रस्तोताको आफ्नो भनाइ रहेको छ । प्रकाशकका तर्फबाट अध्यक्ष सरस्वती गौतमको प्रकाशकीय रहेको छ । यी दुवै लेखभित्र मनन गर्न योग्य कुराहरु केही छन् ।
विषयसूचीका रुपमा ‘‘कविता क्रम’’ छ र त्यसमा त्रिसठ्ठीवटा कविताको शीर्षक एवं तिनीहरुको पृष्ठसङ्ख्या जनाइएको छ । कविताहरु पढ्दा सबै राम्रो लागे । सबैमा कुनै न कुनै प्रभावकारी विचार छँदै छ । हरेक ठाउँ टिपोट गर्न साध्य भएन । अत्यन्त रोचक लागेका कुरा टिप्ता पनि सैँतीस ठाउँमा चिह्न लगाएँछु । त्यो पनि ज्यादै नै भयो र तिनबाट जम्मा दसवटालाई यहाँ टिपोट गरेँ । कविले कुन उद्देश्यले लेखेको भन्ने कुरा कविसँगै छ । कृति सार्वजनिक भएपछि पाठकले आफ्ना मनले बुझ्ने हो । पङ्क्तिकार पनि एउटा पाठक भएकाले नितान्त वैयक्तिक दृष्टिले ती उद्धरणहरु दिँदै छु—
(१) समुद्रमा राम्रा कुरा धेरै होलान् तर घैँटो जत्रो छ, बोक्ने उति नै हो । व्यक्ति, ठाउँ, भाव, कर्म जति राम्रो त्यो सबै हाम्रो बनाउन सकिँदैन । धेरै छोडेर कविका ‘‘मनको मझेरीमा–पृ. ९’’ पस्ता आजको समयलाई चित्रण गर्नमा व्यस्त पाइयो । त्यस क्रममा—
‘‘कसम म फुल्छु,
मात्र तिम्रो शिरको ताज हुने गरी
केही गरी कोपिलामै टिपे भने पनि,
अर्को जुनी तिम्रै हुने गरी
नभन है मालाई तिमी
उस्तै परे तिमीसँग पनि,
नाता तोड्न सक्छु भनी
तिमी कहिल्यै नगर शङ्का मलाई,
चिन्न सकिनछु नि भनी ।’’
भन्दै आफ्नो कुरो अघि सारिएको छ । आफ्नै मनको बलियो अठोटले मानिस टुप्पामा पुग्छ र आफ्नै अविश्वसाले कमजोर मन बनाएर पाएको शीर्षस्थान मान्छेले गुमाउँछ । आफ्नो र आफन्तको खुसीका लागि मानिस बाँचेको हुन्छ । त्यसैले ‘तिमी’ भनेर सम्बोधन गरियो । पराई पराई नै हो, दुख्ने त आफन्तबाट हो भन्ने भावमा कविलाई सचेत देख्न पाइयो । तर हे कवि ! ‘घात’ हुँदैनथ्यो भने ‘विश्वास’ को अर्थ के हुन्थ्यो र ? आफन्त होस् वा पराई पूर्ण समर्पणले आत्मीय भाव दर्साउँदै जाऊ । परिणाम जे प्राप्त हुन्छ त्यसमा रमाऊ । जीवन दुःखी कहिल्यै हुँदैन । अर्काको कुरो सुन्दा बढ्ने अविश्वास र शङ्काले सम्बन्ध पतन गराउँछ भन्ने कुरा मन प¥यो ।
(२) यस्तैमा ‘‘गुनासो –पृ. २४’’ गर्दै कवि कैयौँ पटक यत्रतत्र मानिसको अवस्था विचार गरीकन शङ्काकै विषयमा बोल्छन्—
‘‘के भनिदिँदा तिम्रो शङ्का ठीक जस्तो हुन्छ ?
म त्यही भनिदिन्छु
के गर्दा तिमीलाई म जुनी–जुनी पाउन सक्छु
म त्यसै गरिदिन्छु ।
तर प्रिय !
आफ्नो आत्मालाई एक पटक सोध त
आजकाल तिमी पहिले जस्तै छ्यौ त ?’’
शङ्का केवल मान्छेका मनमा हुन्छ । पशुको मित्रता हरेक पल बलियो हुँदै जान्छ तर मानिसको मित्रता शङ्काले भत्काउँदै र अहङ्कारले गलाउँदै समाप्त हुन्छ । तिमी झुक्तै जाऊ, शङ्कालुले आफ्नो विजयोत्सव मनाउँछ । झुक्नु तिम्रो कर्तव्य र झुकाउनु उसको अधिकार मान्छ । तिमी निरपेक्ष स्नेहको सम्बन्ध दिँदै जाऊ, उसले उपेक्षा गर्दै जान्छ भनेर कविको चित्त अल्झेको छ ।
(३) निश्छल व्यवहारमा हानि र लाभको कुरो हुँदैन भन्ने भाव व्यक्त गरेपछि ती त्याग र विश्वासका भावहरुलाई ‘‘अर्थहीन भोगाइहरु– पृ. ३०’’ को संज्ञा दिएका छन् । मानिस जे छ, त्यो देखिँदैन र जे देखिन्छ त्यो हुँदैन । उसले दुःख पाउने मुख्य कारण नै त्यही हो भन्ने पक्षमा कविलाई सचेत पाइयो । त्यसका लागि—
‘‘कसैको दुःख देख्न नसक्ने, मेरो मूर्खताले
कसैको आँसु देख्न नचाहने, मेरै आदर्शले
आज मलाई डढाइरहेछ, खरानी बनाएर
भित्र–भित्र सल्काइरहेछ तापको ज्वाला भएर ।
धन नभए पनि तनमनले साथ दिन खोज्दा
कतै अलन्तार पो पर्छु कि ? सधैँ यस्तै जीवन रोज्दा ।’’
प्रत्येक मान्छेको आआफ्नो स्वभाव हुन्छ । सानाठुला सबै कुरामा विचार आआफ्नो हुन्छ । रोपेको बिरुवा छोपेको भए पनि समयान्तरमा आफैँ प्रकट हुन्छ भन्ने एउटा प्राकृति विश्वास हो र भरोसिलो पनि यही हो । यसको प्रतिस्पर्धी चार कौडीको काम गरेर चौध करोडको विज्ञापन गर्ने पनि हुन्छ ।
(४) अरुको विचार जसो भए पनि कविलाई ‘‘सहयात्रा– पृ. ३४’’ नै मन पर्छ । मानिसले कृत्रिम जीवन अँगालेर धेरै लामो बाटो पार गरिसक्यो । अब उसले प्राकृतिक अवस्थामा फिर्ता हुन सम्भव छैन । त्यसो भएरै आँतको व्यथा लुकाएर दाँतले हाँस्न जानिसक्यो । तापनि खाने मुखैले हो, हिँड्ने गोडाले नै हो । अर्कालाई रिझाउनतिर लागेर आफ्नो खुसी बिर्सियो—
‘‘चिन तिमी भित्रको ईश्वरलाई
चिन तिम्रो शक्ति अनि पूरै सामथ्र्यलाई
म तिम्रा लागि पूरै सामथ्र्य दिन्छु
नरोक पाइला तिमी स्वीकृति मात्र होइन,
म सहयात्रा दिन्छु ।
किनकि तिमी मेरी प्रिय मात्र होइन
यो देशकी छोरी हौ, मेरो विपनाकी यात्री हौ
अनि समाजकी गहना हौ
सहयात्राको भर पर्दो खम्बा हौ ।’’
न फूलले आफ्नो परिचय कसैसामु प्रस्तुत गरेको हो, न रुखले कसैको झटारो पाउँदा प्रतिकार गरेको छ । अर्काको परिचय लिन खोज्ने र आफूलाई अर्कासामु परिचित गराउन खोज्ने मान्छे आफूलाई चिन्न नपाउँदै आफैँ पलपल जलेर खरानी भयो । आफ्नो बाटो छोडेर अर्कालाई उसको शक्ति, सामथ्र्य र योग्यता चिनाउने प्रयासमा आफ्नो ऊर्जा ह्रास गराउने मानिसले अर्कालाई मौखिक भरोसा र आशा देखाउन त सक्छ तर आफू स्वयंसँग विश्वस्त कति होला ? अर्कालाई सहयात्रामा साथ दिने रहर उत्तम हो तर आफ्नो गन्तव्य कता हो र यात्राको अवसर समयले कहिले दिन्छ भनेर किटान गर्न सम्भव हुँदैन ।
(५) जीवनको अति निकटतम पतिपत्नीमा समेत प्रतिज्ञा गर्न मानिस स्वतन्त्र छ तर त्यसको निर्वाह समयका हातमा छ । बाँच्न र बचाउन सङ्गठित जीवन आवश्यक हुन्छ अनि जीवनको अवसानमा उसका लागि कुनै अर्थ रहँदैन । त्यसैले कविलाई ‘‘प्यारो यो संसारको– पृ. ४५’’ नियमितता र आकस्मिकता दुवैमा सचेत देखिन्छ र पङ्क्तिकार आफ्नो विचारमा कविताबाट केही हरफहरु—
‘‘तर, तिमी फुल्यौ अर्कै बगैँचामा
म माली हुनै सकिन
म फर्के अन्तै
तिम्रो मेरो नियतिले भेटै गराएन
जुन मालीले तिमीलाई पायो
तिम्रो सुवासलाई चिन्नै सकेन
जुन फूल मैले गोडेँ र फुलाएँ
त्यसले मेरो संसारमा सुवासिनै जानेन ।’’
जन्मँदा आफू रोयो तर मृत्युमा अरु रोए । जीवनभरि पछार्ने खेलको हानाथाप रचियो तर मृत्युमा काँध हाल्ने होड भयो । हरेक राम्रोलाई हाम्रो भन्न त मन लाग्यो तर आफूले अर्काका लागि राम्रो वा नराम्रो के गरियो भनेर सोच्ने फुर्सद भएन । अर्काले नराम्रो भन्दा पक्कै दुःख मानियो तर अनायास पाइने हावा र महँगो पैसा तिरेर किन्नुपर्ने हीराबीच ज्यान धान्न कसको महत्त्व कति भनेर सोच्न भुलियो । सधैँ साथमा राख्ने आमाबाबुको सट्टा पर बसेर मुस्काएको मुस्कानमा लठ्ठ हुँदै गइयो र जान्नेबुझ्ने भएपछि आमाबाबु त्यागियो । न वनको काँडो कसैले तिखा¥यो, न सिंहशावकलाई कसैले कवाज खेलायो ।
(६) अर्काका काँधमा हात राखेर पाइला सार्ने प्रयास गर्दा स्वाभिमानको सुन्दर बगैँचा नपाउनु स्वाभाविक हो । तापनि मान्छे दाउरो मात्रै आगोमा बलेको देख्छ, खरानी अवशेष रहेको हेक्का गर्दैन । कृत्रिम जीवनशैलीको व्यवहारमा आफ्नो टाउको जोगिएपछि मितको टाउको बेलै सरि भनेझैँ दोहोरो सहयोगको कुरालाई स्वीकार गर्न मञ्जुर देखिँदैन । त्यसैले कविका ‘‘मनका तरङ्गहरु– पृ. ५१’’ उर्लिन्छन् । घटना जे होस् कविलाई नै थाहा छ, पङ्क्तिकारले त केवल कलमले खिचेका रेखा देखेको छ—
‘‘बिर्सेर कार्यालयबाट चाँडै आएछु
एकछिन प्यारीसँग अन्तरङ्ग गरौँला भनी
चाहनामा बाधक बन्यो, अनुपस्थिति पनि
हामी सबैका कति ? तर सबै हाम्रा जति
केही लागेन बाध्यताका पछाडि
म लेखिरहेछु उनी मेरो कलमभरि
प्रोत्साहन पाइरहेछु जीवनभरि
कार्यभारले कति थाकिन् होली . . .’’
जिन्दगी यन्त्रका लागि हो कि यन्त्रहरु जिन्दगी सजिलो बनाउनका लागि होला भन्ने प्रश्नको उत्तर खोज्नकै लागि अल्झेको छ आजको समाज सिङ्गो संसारभरि । सुख त उसले पायो होला तर त्यसको मूल्य चुकाउन खुसीलाई बेचिदियो । कसैलाई खुसी छ, उसले सुखलाई गनेन । कसैले सुख रोज्यो, त्यसको सँगसँगै खुसी उसबाट सधैँका लागि नेटो काटेर गयो । पैसा, पद र प्रतिष्ठासँग कर्मको तौल गर्ने प्रयास भयो । कर्म दुःखद तत्कालका लागि दुःखद नै हो । सपनाबाट ब्युँझेर हेर्दा उही ओछ्यान ।
(७) बाँच्न त परिहाल्यो, त्यसका साथै पद प्रतिष्ठा र पैसाको न्यानोपन पाउन हाँसेर गरे पनि काम नै गर्नुपर्ने र रोएर गरे पनि काम नै गर्नुपर्ने । हाँसेर गर्दा कर्तव्य पालनको कर्म भयो । रोएर गर्दा मानिस जिउँदो लास भयो । त्यसैलाई मनन गर्दै कवि ‘‘म लास हुँदा तिमी …– पृ. ६२’ भन्दै फेरि संसारका प्रपञ्चमय व्यवहार हेर्दछन् । यहाँ के नमिल्ने कुरा छ भनेर हेर्ने स्वभाव धेरैको छ र त्यसले दुःख बाहेक केही दिँदैन । मिल्ने कुरा के छ भनी खोज्ने छुट पनि उत्तिकै छ तर त्यसमा अभ्यास कति भयो होला—
‘‘म बाँचेसम्म
तिम्रै भइरहन्छु
समयले जे सुकै गरोस
हृदयले मलाई टाढा नबनाई दिनु ।
फूलबारी अलग भए पनि
सुवास एउटै छ हाम्रो
तिमीसँग नमिल्ने कति स्वभाव भए पनि
माफ गरिदिने चलन छ हाम्रो ।’’
को कसको ? आगलागी, बाढी, भूकम्प, झैझगडा, कुटामारी अवस्थामा बिस्तारै बिस्तारै खाँचो र बाध्यताको मात्रा हेरौँ । आपद् थपिँदै जाँदा खाँचो टार्ने वस्तु घट्तै जान्छन् । आपद्बाट मुक्त उक्सँदै जाँदा आवश्यक वस्तुहरुको खाँचो थपिँदै जान्छ । वस्तु र मान्छेसँगको यो सम्बन्ध केही मिल्दो र केही नमिल्दो हुन्छ । तपाईंको सुविधा थपिँदा आफन्त थपिन्छन् र घट्तै जाँदा ती स्वतः घट्छन् ।
(८) मानवता भन्ने शब्द विश्वभरि छ तापनि विश्वभरि नै अमानवीय भाव पनि मौजुद छ । त्यसैले त विश्वमा शान्तिको खोजी सबैको हो । बुद्धको देश युद्धमा अल्मलियो । हिजो इन्डियामा ब्रिटिस शासन रहँदा पनि नेपाली स्वाभिमान विश्वमा स्मरणीय नै थियो । आज कृषिप्रधान शान्तिप्रेमी ‘‘म नेपाली– पृ. ६४’’ अर्काको देशमा हेपिएर हातमुख जोर्ने जोहो गर्न बाध्य भयो भन्दै—
‘‘म मेघसरी गर्जन गर्छु
वातावरण विनाश भएपछि
म आँधीसरी फैलिने गर्छु
मानिसहरु प्रकृतिका बैरी भएपछि ।
मन पर्छ मलाई हिमाल, पहाड, तराई
अनि मन पर्छ मलाई लेक बेँसी र भन्ज्याङ . . .’’
नेपालीको आर्थिक अवस्था र शैक्षिक गुणस्तर अनुसार गुरुता वा लघुताको भारी बोकेर आफू सुहाउँदो देशमा आश्रित भएको अवस्था यथार्थ हो । सोही अनुसारले आआफू सुहाउँदो पदबाट आआफूले अर्काको भजन गाएर प्रियता कमाउने अभ्यासमा छ । आउँदो युगका लागि विगतको नेपाली गौरवशाली होला वा आजको होला भन्ने कुराको चासो कविताले नलिएको होइन । यस पक्षमा सोच्ने र निर्णय गर्ने जिम्मेदारी पनि नेपालीकै हातमा रहेको छ । आफ्नो भूगोल, प्रकृति र यसको विशिष्ट राजनीति निर्धारण गर्ने सोच नेपालीकै हो ।
(९) यसै कुरामा ध्यानकेन्द्रित हुँदै कवि आफ्नो जनशक्ति युवालाई ‘‘युवा तिमी– पृ. ७७’’ जीवनको सम्पन्नता प्राकृतिक तर विपन्नता सामाजिक हो भन्ने दृष्टिले मनन गर भनेर आह्वान गर्दछन्—
‘‘जब जब अन्याय यो तिम्रो देशमा बढ्छ
युवा ! तिमी अन्याय जलाउने ज्वाला भएर निस्क
घुसखोरी र नातावाद फस्टाउँदा
तिमी प्रस्फुटन भएर अन्त्यष्टिमा निस्क
तिमी यो देश बोक्ने युवा !
पछाडि हटेर होइन जोस जुर्मुराएर अगाडि बढ ।’’
मानिस युवा अवस्थामा एक पटक कवि र एक पटक न्यायप्रेमी बन्छ भन्ने झल्को आउने भावलाई समेट्तै युवासँग समाजले गर्ने अपेक्षा अघि सारियो अथवा उसलाई न्याय र सिर्जनशीलताको दिशामा प्रेरित गर्न खोजियो । उपदेश दिनु सबैभन्दा सजिलो काम हो र त्यसलाई अस्वीकार गर्नु पनि उस्तै सजिलो नै हुन्छ । युवाको जोस र वृद्धको अनुभवलाई सहकार्यमा लगाउँदा नै देश बन्छ तर वर्तमानमा युवाको न्याय निष्ठा र सिर्जनात्मक भावनाको अवसान सँगै देशको भविष्य अन्योलमा परेको यथार्थ छ ।
(१०) व्यवस्था, न्याय र समाज त जहाँ गए पनि मानिसलाई चाहिन्छ नै । विदेश लागेका युवाको शक्ति देशले कुनै दिन सम्झेला र पुनर्निर्माणका निमित्त प्रयत्नशील होला भन्ने कुरो कविका सोचमा नआएको होइन । कवि यसतर्फ ज्यादै संवेदनशील भएर ‘‘पर्खाइमा– पृ. ८७’’ बसेको पङ्क्तिकारको अनुमान छ । त्यसमा कविका शब्द—
‘‘रातरुपी जीवनबाट मुक्ति चाहिएको छ र मलाई
जीवन फोहोर बनेर बग्ने वागमतीले पनि जिस्काइरहेछ मलाई ।
प्रत्येक रात जुनकिरीहरुले बाटो देखाउँछन् मलाई
मेरा भावनामाथि रमाउनलाई ।
जे होस्,
कालो रातपछिको सुनौलो दिनको पर्खाइमा छु म,
जीवनलाई साक्षात्कार गराउनलाई ।’’
निराश किन हुन्छ मान्छे ? रहर, निष्ठा, आवश्यकता, कर्तव्यबोध, बाध्यता, महत्त्वाकाङ्क्षा आदि यी सबै कुनै अहिले र कुनै भरे आएर मानिसका गिदीमा भारी बन्छन् । यिनैले आआफ्नो मौका विचारेर प्रेरित र हतोत्साहित गराउँछन् । मानिसलाई जति प्राप्ति उति असन्तोष, जति असन्तोष उति प्रगति, जति प्रगति उति आत्मदाह, छट्पटी, पर्खाइ, निराशा क्रमशः उर्लिन्छ । मानिस आफूलाई त्यसै अवस्थामा गतिशील पाउँछ । न कोही सफल, न केही असफलता तर आफूलाई ग्लानि र आदर्शको भरिया बनाएर आफ्नै विचारमा थिचिँदै दिनहुँ कैयौँ पटक ऊ मर्छ । बाँच्ने र रमाउने प्रशस्त मार्गमा ऊ वेगवान् भएर हिँडेको छ तर बाटामा ओछिएको फूल छलिन्छ र उसको खुट्टो काँडा वा ढुङ्गामा ठोक्किन पुग्छ ।
यस्तै यस्ता यथार्थले कविता सङ्ग्रह खचाखच देखिन्छ । भित्री सेतो कागजको अन्तिम पृष्ठमा प्रतिक्रिया तथा सुझावको ठाउँ राखिएको छ । पछिल्लो आवरणको भित्री भागमा कविका मातापिताको रङीन फोटो एवं आवरणको अन्तिम पृष्ठमा कविको परिचय दिएर पुस्तकको समाप्ति भएको छ ।

बुध, भदौ १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डाडुपुन्युँ हातमा हुनेको परिवर्तन उचाइतिर आयो

अघिल्लो आवरण आकर्षक अमूर्त चित्र भएको, यति बेला मैले हातमा लिएको पुस्तक देख्ता आकारमा सानै छ । आकार सानो भए पनि अन्तर्वस्तु दह्रो छ भने त्यसको महत्त्व कम हुने कुरै भएन । पुस्तकको विवरण यस प्रकार छ— कृति ः शहरको समाचार रचनाकार ः सुनील पुरी प्रकाशक ः डा....

दुर्गाका कवितामा फूल, पात र काँडाको त्रिवेणी छ

मेरा हातमा अहिले दुर्गा रिमाल (अधिकारी) बाट रचित ७४ वटा कविताह? समेटिएको ‘‘त्रिवेणी’’ कविता सङ्ग्रह छ । ‘‘दुर्गाको धुनमा लय मिलाउँदै’’ शीर्षकमा भुवनहरि सिग्देलको शुभकामना लेख छ । त्यस लेखमा पुस्तकभित्र समेटिएका रचनाह?को विशेषता बताउँदै— ‘‘मेरा भाव र आशमाथि हस्तक्षेप नगर्नु होला ।’’ ‘‘यसमा सङ्ग्रहीत...

शुभ जन्मदिन प्रिया

शुभ जन्मदिन प्रिया समय बामे सर्दैन दुधेबालखाको गतिमा न त घर्सिन्छ कछुवाको चालमा नै यो त बायुपंखि घोडाको बेगमा दौडिने गर्छ। बिभिन्नखतरासङ जुध्दै भीषण मोर्चा जित्न हिडेका बिर योद्धाहरु झै अधिरगतिमा। यदि समयसङको स्पर्सलाइ नै जिवनको ठुलो लक्ष्य ठानेरपरिवर्तनको दिशामा बदल्ने सास गर्न सकिएन भने समयको बदलाबसङै...

रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङका तीन कृति बिमोचन

सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि रचित “लँय् लुगु किपा”नेपाल भाषा हाइकु सङ्ग्रह तथा “भो तस्बिर नखिच”मुक्तक...

पुस्तक समीक्षा ‘लाज हराएका मन्छेहरु भित्र’

पुस्तक परिचय ः लाज हराएका मन्छेहरु – (कविता संग्रह) लेखकः रत्नप्रसाद अनामणि श्रेष्ठ । प्रकाशक ः गौरि पब्लिक रिलेसन एन पबिलकेशन, काठमाडौं नेपाल । प्रकाशन बर्ष ः २०७३ मंसिर । मूल्य ः रु १०१ । यस पुस्तमा जम्मा १९कविताहरु छन् । पुस्तकको मुख पृष्टमा एउटा अमूर्त चित्र छ भने पछिल्लो...

बजारमा छिट्टै आउंदैछ

कृति : अनामणिका भूमिकाहरू भाग १ लेखक : रत्नप्रसाद अनामणि श्रेष्ठ प्रकाशक : गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँ, नेपाल संस्करण :२०७४ ,अशोज मुल्य : रु.  १००/- आवरण : महेश कोइराला प्रति : ५०१ ...