विचार

काष्ठमण्डप भत्किएको क्षण…

-कुमार रञ्जित


उज्यालो । काठमाडौं, वैशाख १४ – शनिवारको दिन । बिहान कार्यालयबाट फर्केर खान खाएर कोठामा बसेको एकछिन मात्रै भएको थियो । अब के गर्ने भनेर राम्ररी सोच्न पनि पाएको थिइनँ । घर पूरै पुरानो भन्न सकिन्न, नयाँ पनि होइन । काठ बढी प्रयोग हुने हाम्रो नेपाली वास्तु शैलीमा मध्यमस्तरको घरमा हाम्रो सानो परिवार बसेका थियो । छुट्टीको दिन परेकाले श्रीमती र तेह्र वर्षे छोरो पनि घरमै थिए ।

त्यत्तिकैमा पल्लो घरको एक छिमेकी राख्न दिएको आफ्नो साँचो माग्न आए । साँचो दिन छोरोलाई अह्राएँ । फूर्तिलो छोरो साँचो दिन कुदिहाल्यो । छिमेकीलाई साँचो दिएर छोरो माथि उक्लिन भ्याएकै थिएन । म कोठाको ढोकामै उभिएको थिएँ । एकातिर कुनामा बसेकी थिइन्, श्रीमती । भूकम्पको कम्पन शुरु भैसकेको थियो । घर पूरै हल्लिरहेको छ । श्रीमती पनि भुईचालो आयो भन्दै उठेर ढोकामै आइन् । छोराको पीर भो, ऊ त तलै छ । दुबै चिच्यायौं– माथि आऊ…माथि आऊ… वास्तवमा त्यो सही चिच्याहट् थियो वा गल्ती, हामी दुबैले छोरालाई एकैसाथ चिच्याएर हल्लिरहेको पुरानो घरको पहिलो तल्लामा उक्लिन भनिरहेका थियौं ।

भर्खरै सात कक्षा उत्तीर्ण गरेको छोरोले जीवनमा पहिलो पटक सम्भावित मृत्युसँग संघर्ष गर्दै कुदेर हामी बसेको घरको पहिलो तलामा आउन खोज्यो । त्यतिबेलासम्म भुइँचालोले यति हल्लाइसकेको थियो कि छोरो हामीतिर आउन उफ्रिन्छ, तर उसको पाइला पछाडितिर सर्छ । हामी दुबै कराउँदै निसहाय भएर छोरोको संघर्ष हेरिरहेका थियौं । तेस्रो पटकको प्रयासपछि छोरोले सही ठाउँ समाएरै छोड्यो । भर्‍याङ्ग समाउँदै ऊ उक्लिएर आफ्नी जननीलाई अँगाल्न पुग्यो ।

यो थियो विक्रम सम्बत् २०७२ साल बैशाख १२ गते, १२ बज्न ४ मिनेट मात्रै बाँकी छँदाको क्षण ! ललितपुरको रातो मत्स्येन्द्रनाथको १२ वर्षे मेला अन्तर्गत नख्खु खोलामा रथ तान्ने दृश्य हेर्न जाने हो कि भनेर सोच्दै थियौं । चारैतिर छिमेकीका अग्ला घरहरुबाट इँटा, गमला, दलिन, पर्खाल आदि झरेर धूलो उड्न थाल्यो । चिच्याहट सुनिन थालिएको थियो । हाम्रो घर त पूरै पिङ जस्तो हल्लिरहेको थियो । हामी ढोकाको चौकोसमुनि टाउको बचाउने प्रयत्न मात्रै गर्दै थियौं । केही मिनेट, मात्र केही मिनेट ! तर त्यही केही मिनेट हाम्रो लागि यति विध्वंशकारी हुन सक्छ भन्ने हामीले त्यतिबेलासम्म पनि अनुमान गरेका थिएनौं ।

केही मिनेटपछि कम्पन मत्थर भए जस्तो भयो । हामी तीनैजना बिस्तारै तल झर्‍यौं । चारैतिर रुवावासी सुनिन्थ्यो । धूलो उडिरहेको थियो । हामी सर्वप्रथम रुवावासी चलिरहेको छिमेकीको दैलोमा पुग्यौं । उनीहरु रुँदै हामीलाई पनि बाहिर नजान भन्दै थिए । मैले भनें, यस्तो बेला झन् घरमा बस्न हुँदैन, जाउँ बाहिरै । उनीहरु नआउने छाँट देखेपछि हामी तीनजना घरमा ताला ठोकेर निस्कियौं बाहिर चोकतिर । हाम्रा साथमा उही अघि साँचो लिन आएको एकजना मात्रै आए । गल्लीबाट बाहिर चोक निस्किनै पाएको थिएन, बाहिर ठूलो खैलाबैला मच्चिएको सुनियो । मानिसहरुको दौडादौड र धूलोको मुस्लोबीच एकजना अर्का बाहिरबाट छिर्दै गरेका छिमेकीले भने– काष्ठमण्डप भत्किइसक्यो, जाउँ त्यहीँ हेर्न ।

विनासकारी भूकम्पको अनुभवपछि महाआश्चर्यको कुरो सुन्न परिरहेको थियो । काष्ठमण्डप…भत्किएको । मैले श्रीमती र छोरोलाई सुरक्षित भएर बस्न भन्दै आफू उही छिमेकीको साथमा उत्तरतर्फ हान्निएँ– काष्ठमण्डप भएको स्थानतिर । तीन मिनेट मात्र लाग्यो होला हामीलाई त्यहाँ पुग्न । साँच्चिकै आश्चर्यको दृश्य देख्नु पर्‍यो । काष्ठमण्डप पूरै भत्किएको थियो । केही मानिसहरु चिच्याउँदै गुहार मागिरहेका थिए । धूलो उडेर दृश्य राम्ररी देख्न सकिने स्थिति थिएन । केही पुरिएका मानिसहरुलाई तान्दै निकाल्दै थिए । प्रहरी, एम्बुलेन्स पुगेकै थिएन । मानिसहरु आ–आफैं घाइतेलाई बोकेर लाँदै थिए । केही परिचित अनुहारहरु पनि उद्धारमा लागेका थिए । धूलोले गर्दा उनीहरु चिन्नै नसकिने भैसकेका थिए ।

साँच्चै यस्तो बेला मलाई सधैँ एउटा प्रश्नले पिरोल्ने गर्छ । ‘दूर्घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारहरु सिकिस्त मानिसको ज्यान जोगाउनपट्टि होइन कि उसको फोटो खिँच्न पो अघि सर्ने गर्छन्, के यो सही कर्तव्य पालना हो ?’ कुनैबेला एक मित्रले यो प्रश्न तेस्र्याएका थिए मसित । मैले सकभर सन्तुलित हुने कोशिस गर्दै जवाफ दिएको थिएँ– ‘दूर्घटनामा उद्धार र समाचार दुबै उत्तिकै आवश्यक छन् । तर एक पत्रकारका लागि त समाचार नै पहिलो प्राथमिकतामा पर्छ । उद्धार त अरुले पनि गर्न सक्छन्’ । मेरो जवाफबाट सन्तुष्ट नभएका मित्रले अझै बल गर्दै भने– दूर्घटनाका बेला उद्धारकर्मीलाई नै अवरोध पुर्‍याउने गरी पत्रकारहरु अघिल्तिर आएर नानाभाँती सोधिरहन्छन्, फोटो खिचिरहन्छन् ।

त्यसो गर्नुको साटो उद्धारमा उनीहरुले सहयोग गरेका भए केही अन्तिम अवस्थामा पुगिसकेका घाइतेहरु बाँच्न पनि सक्थे ।’ मित्रको यो तर्क उसको ठाउँबाट ठीकै होला भन्ठान्छु म । यो तर्कना मात्रै भयो । वास्तविकतामा मेरा अघिल्तिर साँच्चिकै काष्ठमण्डप भत्किरहेको थियो । त्यो अकल्पिनीय क्षण थियो । जुन सम्पदाले हामीलाई ‘काष्ठमण्डप’ बाट ‘काठमाडौं’ का रुपमा नाम दिएको थियो । काष्ठमण्डप झण्डै चार सय वर्षदेखि अविचलित र विवादरहित रुपमा काठमाडौंको पहिलो पहिचान भैरहेको थियो । काष्ठमण्डप विगतमा काठमाडौंका शासकहरुको शान थियो । विदेशी मित्रराष्ट्रका प्रमुख अतिथि राष्ट्र प्रमुखहरुका लागि पहिलो गन्तव्य थियो । त्यहीँ पुगेर पहिलो पटक काठमाडौंका तात्कालिन नगर प्रमुखका हातबाट काठमाडौं नगरको साँचो हस्तान्तरण गरेर लिएपछि मात्रै विशिष्ट अतिथिको काठमाडौं यात्राले औपचारिकता पाउँदथ्यो ।

त्यस्तो काष्ठमण्डप टुक्रा–टुक्रा भएर लडिरहेको थियो । धूलो–धूलो भएर उडिरहेको थियो । काष्ठमण्डप त्यो रुपमा ढल्ने कल्पना नै गर्न सकिन्नथ्यो । त्यसभित्रका दलिन र खम्बाहरुका आकार देख्ने जोसुकैले सोध्न सक्छन्– ‘कसरी बनाए होलान् उहिलेका मानिसले यस्तो विशाल संरचना ?’ जुन बेला कुनै मेशिनको कल्पना पनि थिएन । सम्पूर्ण काम मानव बलबाहुको परिश्रमबाट मात्रै हुन्थ्यो । यत्रा खम्बाहरु… यत्रो संरचना… काष्ठमण्डपका बारेमा धेरैले सुनेका होलान् यो एउटै रुखको काठबाट बनेको हो । अझ यो बनाएर बढी भएको काठले अर्को सत्तल (सिँल्यं सतः) पनि बनाइएको थियो ।

मेरो दिमागका अर्को एउटा प्रश्नले प्रहार गरिहाल्यो । लौ, अब काठमाडौंका एउटा परम्परागत संस्कृति अँगालिरहेको समुदायलाई माघे संक्रान्ति आएको जनाउ कसले देला ? किनभने यही काष्ठमण्डपको टुप्पोमा पुगेर गजूरमा झण्डा फहराएपछि बल्ल एकथरी संस्कृतिकर्मीहरुको माघे संक्रान्ति शुरु हुन्थ्यो । यो परम्परा कुनैबेला क्यालेण्डर वा पात्रो नभएको बेलाको हुन सक्दथ्यो । कसले पुज्ला त्यहाँ भित्र रहेका गुरु गोरखनाथलाई अब ? काठमाडौंभरीमा गुरु गोरखनाथको एउटै त मूर्ति थियो काष्ठमण्डपको मध्य भागमा । जहाँ गुरु गोरखनाथका अनुयायीहरु नपुगेको दिनै हुँदैनथ्यो । त्यसैगरी चार विनायकहरु क्रमशः अशोक विनायक, कार्य विनायक, सूर्य विनायक, जल विनायकहरुका नमूना मूर्तिहरु त्यसका चार कुनामा हुन्थ्यो । हामी सानो छँदा बा–आमाले टाढाका विनायक (गणेश) हरु घुमाउन नसकेको अवस्थामा त्यहीँ लगेर देखाउनु हुन्थ्यो ।

लौ, यो हे फलानो विनायक…आदि आदि । वर्तमानमा जुन एकैसाथ ढलिसकेको थियो । यति सोच्दा सोच्दै पुरिएका मानिसरुको लर्को बोकेर साथीहरु हल्लाखल्ला गर्दै मेरै अघिल्तिरबाट पूर्वतर्फ लगे । म निहत्था र लाचार थिएँ । अर्थात् मेरो साथमा न क्यामेरा थियो, न मैले घाइतेलाई नै बोक्न सकेँ । जहाँ म खेलेँ, जहाँ मैले पूजा गरेँ र जहाँ मैले ढोगेँ,  त्यो धरोहरको विनाश भैरहेको थियो । वास्तवमा त्यो देश र आम नेपालीकै लागि महाविनाश लिएर आएको क्षण थियो । बुझ्दै जाँदा टोलकै एक मित्रबाट थाहा पाइयो– त्यतिबेला काष्ठमण्डपभित्र त्यहीँ नजिकैको निम्बस ऋण तथा बचत सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै थियो ।

कतिपय रक्तदान गरेर फर्किसकेका थिए भने कोही रक्तदान गर्दै थिए । त्यसमध्ये कसैले नाताले भाई पर्ने लक्ष्मणको नाउँ लिएको सुनेँ । उनकी दुलही पनि त्यही संस्थामा काम गर्थिन् । उनी पनि पुरिए भन्ने सुनियो । कति घुम्न आएका पर्यटकहरु भित्रै छन् भन्दै थिए । कति केटाकेटीहरु पनि पुरिए, बिचरा भन्दै थिए । तर विपत्तिको यो क्षण र विनासलीला एक्लो काष्ठमण्डपलाई मात्रै आएको थिएन । वरपर आँखा दौडाउँदा देखियो, विनासको यो लीला काष्ठमण्डपसँगसँगै पुरै देशलाई आएको थियो ।

बिहि, बैशाख १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पाली संगम साहित्य विभागको आयोजनामा छलफल तथा शुभकामना कार्यक्रम

असोज, काठमाण्डौं । पाल्पाली संगम साहित्य विभाग (समिति) को आयोजनामा छलफल तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । साहित्यकार प्रा.गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यता, डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपति, प्राज्ञ बिष्णु प्रभात, कमला देवकोटा लगायतको उपस्थितिमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साहित्य विभागका संयोजक सिता...

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शन

चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन...

लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ

हाम्रो देशमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो...

एउटा नेपाली युवा अहिले भारतमा चर्चामा

काठमाडौं : एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने ‘द बेटर इण्डिया’ ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले आखिर किन उनलाई खोजिरहेको छ?...

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरण ल्याउन यात्रा

काठमाडौँ । चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सकिएको छ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरणल्याउन सो यात्रा गरिएको हो । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ...

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो) विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले...