अन्तर्वार्ता

जापानी राजदूतले भने- ‘नेपाली सिक्दैछु’ [अन्तरवार्ता]

- जेष्ठ २४, २०७६ कान्तिपुरको लागि घनश्याम खड्काले लिएको अन्तर्वार्ता


काठमाडौँ — मासामिची साइगो नेपालका लागि राजदूत भएर एक वर्षदेखि काठमाडौंमा छन् । नेपालका हिम चुचुरा, गाउँको हरियाली र नेपालीहरुको संस्कृति मन पराउने उनी एक राजदूतका रुपमा नेपाललाई कसरी हेर्छन् ? फुर्सदमा कहाँ घुम्न जान्छन् र नेपालबारे के सोच्छन् ? कान्तिपुर अनलाइनका लागि घनश्याम खड्काले गरेको अन्तरवार्ताको सम्पादित अंश :

 

महामहिमज्यू, फुर्सदमा के गर्नुहुन्छ?

सन् २०१८ मा मेरो पदस्थापन भएको पनि एक वर्ष भइसक्यो। बेलाबखत यहाँको प्राकृतिक सौन्दर्य नियाल्न म श्रीमती एरिकोसँगै नगरकोटतिर निस्कने गर्छु। तथापि सामान्यतया मेरो सप्ताहन्त यहाँका ऐतिहासिक स्थल तथा स्थानीयवासीसँग रमाउँदै काठमाडौं सहरमै बित्ने गर्छ।

नगरकोटमा म सूर्योदय हेर्न मन पराउँछु। दुःखको कुराचाहिँ के भने, धेरैजस्तो बिहान बादलले ढाकेर त्यो हेर्नै पाइन्न। नगरकोटमा धेरै पटक यसरी सूर्योदय हेरौंला भन्दा बादलले ढाकेको बिहान सामना गर्नु परे पनि पोखराको साराङकोटमा गएर मैले धेरै पटक हिमालको कापबाट उदाइरहेको सूर्य हेरेको छु। त्यो ठाउँ मलाई उपद्रै रमाइलो लाग्छ।

यहाँ आउनुअघि म जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयमा आवद्ध थिएँ। त्यसै सन्दर्भमा मैले भारतस्थित जापानी राजदूतावासमा कार्यरत रहँदा (१९८८-१९९१) दुई पटक नेपाल भ्रमणमा आएको सुखद् अनुभव पनि मसँग छ।

त्यतिबेला काठमाडौंमा हरियाली थियो। खाली फाँट र लहलह परेका धानबाली हेर्दा रमाइलो लाग्थ्यो। अहिले त काठमाडौं प्रदूषित भयो। सन् ७० को दशकतिर जापान पनि यस्तै फोहोर थियो। हामीले प्रदूषणलाई हटायौं। जापान पहिलेभन्दा निकै सफा छ, यद्यपि चुनौतीहरु अझै पनि छन्। मलाई लाग्छ, काठमाडौंले आफ्नो दूषित धूँवालाई हटाउन जापानी अनुभवबाट सिक्न सक्छ। वातावरण सफा राख्ने उपायहरु छन्। यो हामीले भुल्नु हुँदैन।

मलाई हरियाली मन पर्छ। मेरो कामको प्रकृतिले गर्दा नै होला, यहाँको तरकारी तथा फलफूलप्रति मेरो गहिरो अभिरुची छ। बाटोमा हिँड्दा होस् वा स्थानीय बजार डुल्दा यहाँका तरकारी र फलफूलमा मेरा नजर पुगिहाल्छन्।

यहाँले अभिवादन गर्दा जहिल्यै नेपालीमा नमस्ते भनेको सुनेको छु। त्यसबाहेक अरु पनि नेपाली जान्नु हुन्छ कि?

एकजना राम्रो जापानिज जानेको नेपालीसँग म र मेरी पत्नी एरिको हरेक आइतबार नेपाली सिक्छौं। केही प्रशंसा गर्न प्रयोग हुने शब्दहरु म भन्न सक्छु। तर, अंग्रेजीको एउटै अक्षर ‘डि’ नेपालीमा चार थरी अक्षरहरु (द, ध, ड र ढ) लाई जनाउन प्रयोग हुने रहेछ, यो सुन्दा म त चकित परेँ। अर्को कुरा, नेपालीमा आधा अक्षरहरु पनि हुने रहेछन् अनि अक्षरको खुट्टा पनि काटिँदो रहेछ ! कस्तो रमाइलो ! भाषा सिक्नुको अप्ठेरो र यसको काइदा थाहा पाउनुको मज्जाले मलाई एकै पटक गिजोल्न आउँछ।

जापानी भाषा सजिलो छ?

पक्कै ! यो सिक्न नेपालीजस्तो गाह्रो व्याकरण जानिराख्नु पर्दैन। त्यसैले अलिकति मिहेनत गरे जापानी भाषा बोल्न सकिन्छ। तर, समस्या के छ भने, यसका ३ हजार जति वर्णहरु छन् जसलाई खान्जी भनिन्छ। कुनै समय मलाई सबै यो लेख्न आउँथ्यो, अब त पढ्न मात्रै सक्छु। तर, मिहेनतै गर्ने हो भने लेख्न यो पनि सकिन्छ। जस्तो कि, मेरा एक जना सहकर्मी नेपाली हरेक दिन पाँच वटा नयाँ खान्जी सिक्ने गर्थे। केही वर्षमै उनी यसमा पोख्त भइहाले। अर्को कुरा, जापानी भाषा चित्रमय भएकाले हेर्दैमा के भन्न खोजेको हो भन्ने अर्थ लगाउन सकिन्छ। जस्तो कि, माछा लेख्नु पर्‍यो भने जापानीमा माछाकै जस्तो चित्र भएको अक्षर छ। त्यसले गर्दा पढ्न सजिलो हुन्छ।

नेपाली गीतहरु पनि सुन्नु हुन्छ कि?

किन नसुन्नु र ! म युटुवमा बेलाबेला नेपाली गीत बजाइरहन्छु। शब्द नबुझे पनि गज्जबका बाजा र मज्जाको नाच हेरेर दङ्ग पर्छु।

माउन्टेट फ्लाइटमा जानु भएको छ?

अस्ती अप्रिलको अन्ततिर जापानबाट केही पाहुना आएका थिए। तिनका साथ म र एरिको माउन्टेट फ्लाइटमा उडेका थियौं। जहाजका क्याप्टेन साह्रै मिजासिला रहेछन्, हामीलाई हिमालका टुप्पा टुप्पासम्म लगेर सबै घुमाए।

यसअघि एरिकोले चार पटकसम्म यसरी हिमालहरु वरपर उड्ने प्रयास गरेकी थिइन्। तर, हरेक पटक मौसम गडबड भएर हेर्ने समय जुर्दैनथ्यो। यसपटक भने अचम्मैसँग हामीलाई मौसमले साथ थियो। पाहुनाहरुमध्ये जापानकी प्रसिद्ध उपन्यासकार मारिको ह्यासी पनि आउनु भएको थियो। नेपालको सौन्दर्यले उहाँलाई विछट्टै लट्ठ्याएछ। फर्केपछि जापानको एक पत्रिकामा यात्र संस्मरण लेख्नु भएको थियो जसलाई थुप्रै जापानीले मन पराएका छन्।

राजदूतको रुपमा रहँदा यहाँको स्मरणयोग्य कुनै अनुभव छन् कि?

अवश्य। केही स्मरणहरू तपाईसँग बाँड्न चाहन्छु। जापानका परराष्ट्रमन्त्री कोनोजीले यही जनवरीमा नेपाल भ्रमण गर्नुभयो, त्यस्तै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीजी पनि गत नोभेम्बरमा जापान भ्रमणमा जानुभयो र म पनि उहाँसँगै यात्रामा सामेल थिएँ। मलाई विश्वास छ कि यस्ता द्विपक्षीय भ्रमणले हाम्रा संबन्धहरूलाई अझै मजबुत बनाउँदछन्।

यही मे महिनादेखि जापानमा नयाँ युग ‘रेइवा’ सुरु भएको छ, जसको अर्थ ‘अनुपम सद्भाव’ भन्ने हुन्छ, यो पनि अर्को सुखद अनुभव नै हो। पूर्वसम्राटले गद्दीत्यागपश्चात् वर्तमान सम्राट नारुहितोको गद्दीआरोहणसँगै उक्त नयाँ युगको थालनी भएको हो। काठमाडौंमा रहनुहुने थुप्रै नेपाली मित्रहरू तथा कूटनीतिक समुदायहरूले यस विशेष कार्यक्रमलाई हार्दिकतापूर्वक स्वागत गरिदिएकामा हामी आभारी छौं।

यसबाहेक आगामी सेप्टेम्बर-नोभेम्बरमा जापानमा हुने विश्व रग्वी च्याम्पियनसिप १०१९को प्रवर्द्धन गर्ने उद्देश्यले यस खेलको ट्रफी गत डिसेम्बरमा नेपाल ल्याइएको थियो, जुन कुरा मैले सोचेकै थिइनँ। रग्वी खेलप्रेमीका नाताले मेरा लागि यो अर्को अविस्मरणीय क्षण रहन गयो। विश्वकप रग्वीपछि २०२० को ओलम्पिक तथा पारालम्पिक खेल पनि जापानको टोकियो सहरले आयोजाना गर्दैछ।

विश्वको सर्वोच्च शिखर रहेको मुलुकमा हुनुहुन्छ, कहिलेकाहिँ सगरमाथा चढौं झैं लाग्दैन?

आहा ! त्यहाँ पुग्न पाए साँच्चै बहुमूल्य अनुभव हुँदो हो। मैले सुनेअनुसार सगरमाथामा निकै लामो लाइन लागेको थियो रे। हुनसक्छ, त्यो लाइन सकिएपछि आधार शिविरको फोहोर बटुल्न एकचोटि जाऊँ कि !

तपाईंको मनपर्ने नेपाली खाना के हो र त्यो कत्तिको खाने गर्नुहुन्छ?

मलाई दाल-भात एकदमै मनपर्छ। जुन आम नेपालीको आधारभूत खाना हो। यो हामी जापानीहरूको आधारभूत खानासँग पनि मिल्दोजुल्दो छ- भात, तोफुको सुप, अलिकति मासु, माछा वा तरकारी, भलै नेपाली खाना अलि मसलेदार हुन्छ। नेपाली ढिँडो र तरकारी पनि मीठो लाग्छ। जापानमा पनि फापरको ढिँडो लोकप्रिय छ, अझ फापरको थुक्पा (सोवा) त जापानको परम्परा नै बनिसकेको छ, जसलाई माछाको धूलो र सोया-ससमा भिजाएर खाइन्छ।

नेपाल भ्रमण गर्ने थुप्रै जापानी पर्यटकहरू झैं तपाईले पनि नेपाली टोपी लगाएर आफूलाई ऐनामा हेर्नुभएको छ? छ भने त्यसबेला कस्तो महसुस गर्नुभयो?

मेरो भतिजाको बिहेमा मैले नेपाली टोपी लगाएर काठमाडौंबाट स्काइपमार्फत टोष्टको प्रस्ताव गरें। त्यसबेला कुनै औपचारिक नेपाली पहिरन लगाउने मेरो चाहनामा टोपी एउटा राम्रो छनोट हुन गयो, जुन नेपाली साथीहरूसँग घुलमिल हुने राम्रो अवसर पनि भयो। विवाह समारोहमा उपस्थित सबैले मेरो टोपीको प्रशंसा गरेका थिए।

नेपाल र नेपालीका बारेमा तपाईंलाई सबभन्दा धेरै मनपर्ने के कुरा हो?

मलाई नेपाली खाना, यहाँका जनता, उनीहरूको मित्रता र आत्मियता असाध्यै मनपर्छ। नेपालीसँग मित्रता गाँस्नु ठूलो कुरा भएकाले धेरैभन्दा धेरै मित्र बनाउन चाहन्छु। यहाँ कसै न कसैले तपाईंको बारेमा मनन गरिरहेकै हुन्छ, जुन मित्रता र पारिवारिकताको महान् नेपालीपन हो।

तपाईलाई सबभन्दा मनपपर्ने ठाउँ?

म एरिकोसँगै लुक्ला र सराङ्कोट गएको छु, जहाँ सूर्यको किरणसँगै सुन्दर हिमाली पर्वतहरूले आफ्नो रंग घरिघरि बदलिरहेका हुन्छन्। उक्त क्षणहरू हाम्रा लागि अविस्मरणीय हुन्छन्।

हालसम्म नेपालका कतिवटा सहर घुम्नुभएको छ?

काठमाडौं बाहिरका त्यस्तै ७-८ वटा सहरहरू घुमें होला। र, अझै पनि अरू थुप्रै सहर घुम्ने इच्छा छ।

काठमाडौंमा तपाईलाई सबभन्दा मनपर्ने जमघटस्थल कुन हो?

हाम्रो दूतावास नजिकै, लाजिम्पाटको एम्बेसेडर होटेलमा रहेको कोतेचु जापानी रेस्टुरेन्ट मेरो छनोटमा पर्ने ठाउँ हो। परम्परागत जापानी खाना ‘वासोकु’ लाई युनेस्कोले २०१३मा विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गरेको छ। यसलाई हामी विश्वभरि नै प्रवर्द्धन गर्न सहयोग गर्दछौं।

तपाईको मुलुकमा नेपाललाई कसरी चिनिन्छ?

अवश्य पनि यहाँको अद्भूत प्रकृति, पहाड, इतिहास, संस्कृति र विशेषत: विश्व सम्पदा क्षेत्रहरू तथा बुद्धको जन्मस्थल लुम्बिनीको मुलुक भनेर चिनिन्छ।

परम्परागतरुपमा हामीबीच राम्रो सम्बन्ध छ। नेपाली संस्कृति, हिमाल र लुम्बिनी जापानीले मन पराउँछन्।

भविष्यमा नेपाल र जापानबीच हुनसक्ने आपसी सहयोगका क्षेत्रहरू के के हुन सक्लान्?

सन् १९५६ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएसँगै विगत ६ दशकदेखि जापान र नेपाल असल साझेदारका रुपमा रहँदै आएका छन्। दुई मुलुकका विदेशमन्त्री बीचका भ्रमण आदान-प्रदान तथा ‘निर्दिष्ट दक्ष कामदार’ अवधारणापत्र जारी भएपश्चात् द्विपक्षीय सम्बन्ध थप मजबुत भएको छ। यही जुलाइदेखि सुरु हुन लागेको नेपाल वायुसेवाको काठमाडौं ओसाका सिधा उडानको सफलताको कामना गर्न चाहन्छु।

नेपालको एक अशल तथा सच्चा मित्रका नाताले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नेपाली नारालाई कार्यान्वयनमा ल्याउन जापान हातमा हात मिलाएर आर्थिक, गुणस्तरीय र प्राविधिक सहायता तथा लगानी वृद्धि आदिबाट सहकार्य गर्न चाहन्छ।

दुई देशबीच जनस्तरीय सम्बन्ध अभिवृद्धिमा कूटनीतिको के भूमिका हुन्छ?

मेरो विचारमा कुटनीति भनेकै दुई मुलुकबीचको मित्रता हो। यदि हामी हाम्रा विचार र बुझाइहरू एक-आपसमा बाँडीचुँडी गर्छौं भने यो संसार नै समुन्नत हुनेछ। त्यसमा पनि युवाहरू मुलुकका भविष्य भएकाले उनीहरूबीचको आपसी आदान-प्रदान झनै महत्वपूर्ण हुन जान्छ। काठमाडौं र ओसाकाबीच जुलाइदेखि सिधा हवाइसम्पर्क स्थापना हुँदैछ। हप्ताको तीन दिन नेपाल वायुसेवा निगमको जाहाज ओसाका-काठमाडौं गर्दैछ। यसले अब दुई देशबीचको जनसम्पर्कलाई बाक्लो पार्ने आसा मलाई छ।

जापानमा ८५ हजार नेपाली छन् जो त्यहाँ उपस्थित पाँचौं ठूलो आप्रवासी संख्या हो। दुई देशबीच श्रम सम्झौता भएको छ र अब जापानमा धेरै युवाहरु रोजगारीका लागि पनि जाँदैछन्। त्यसले गर्दा यो संख्यामा अझै वृद्धि हुनेछ। तर, नेपालमा चाहिँ जम्मा १ हजार ७ सय जापानी बसोबास गर्छन् जसमा म पनि पर्छु। मलाई लाग्छ, सिधा हवाइ सम्पर्कले जापानी पर्यटक र यहाँ कामका सिलसिलामा बस्न आउने मानिसहरुमा वृद्धि हुनेछ।

लगानी सम्मेलनले केही सकारात्मक संकेत जापानमा पठाएको छ। भौतिक पूर्वाधारलाई अलिक सुधार गर्ने हो भने नेपालमा जापानका उद्योगपतीहरु लगानी गर्न इच्छुक छन्।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सबभन्दा महत्वपूर्ण कुरा, छिमेकीहरुको सम्बन्धको आधार भनेको विश्वास हो-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति...

रवि लामिछाने पाँच लाख धरौटीमा यसरी छुटेका

भदौ, काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख र नर्स...

देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति —-जगदीशनरसिंह केसी

नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला...

बंगलादेशका अधिकांश कलेज पैसाको पछाडि दौडिरहेका छन् : उपकुलपति डा अली

प्रा डा ल्याकत अली बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेसका उपकुलपति हुन्। मेडिकल डाक्टर समेत रहेका अली अनुसन्धानमा विशेष रुची राख्छन्। मेडिकल शिक्षाका विषयमा स्थलगत अध्ययनका लागि बंगलादेश पुगेका स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाल र सीताराम कोइरालाले उपकुलपति डा अलिसँग गरेको कुराकानी : बंगलादेश युनिभर्सिटि अफ हेल्थ साइन्सका बारेमा बताइदिनुस् न? अुसन्धान र...

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्,...