अन्तर्वार्ता

सबभन्दा महत्वपूर्ण कुरा, छिमेकीहरुको सम्बन्धको आधार भनेको विश्वास हो-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली


भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे ।

मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा विदेशमन्त्री नेपाल भ्रमण गर्नु संयोगमात्र नहुन सक्छ ।

काश्मिर तनावका कारण भारतको निर्धारित भ्रमण रद्द गरेर पाकिस्तानबाट नेपाल आएका वाङले चीनबाट उच्चस्तरको भ्रमण हुने सन्देश दिएर गएका छन् । यससँगै सरकारले चीनसँग ठूला परियोजनाहरुमा साझेदारी गर्ने गृहकार्य गरेको बुझिन्छ ।

चिनियाँ विदेशमन्त्रीकै भ्रमणका भएका द्वीपक्षीय वार्ताहरुमा रेलदेखि बीआरआईसम्मका विषयले प्रवेश पाएका छन् । यसै सन्दर्भमा अनलाइनखबरले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग विशेष कुराकानी गरेको छ :

चीनका विदेशमन्त्री आएसँगै राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको मानिनु र आजै भारतीय प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्स हुनुले नेपालको कूटनीतिक गतिविधि एक्कासी बढेको भनेर बुझ्न सकिन्छ ?

यो हाम्रो सचेत प्रयत्नकै परिणाम हो । छिमेकीहरुसँग असल सम्बन्ध, सार्थक आर्थिक साझेदारी र विश्वासको बलियो आधार निर्माण गर्नमा नेपालको चासो छ । नेपालको विकासमा छिमेकीहरुको अधिकतम सहयोग परिचालन गर्ने हाम्रो चासो हो ।

संसारका दुई ठूला बजारको बीचमा हुनु हाम्रो लागि अवसर हो । संसारको दोस्रो र छैठौं ठूलो अर्थतन्त्रको बीचमा रहनु नेपालको निम्ति ठुलो अवसर हो । हामी यसबाट लाभाविन्त हुन चाहन्छौं ।

यतिबेलाको हाम्रो जोड भू–अर्थनीतिका बहावसँग लय मिलाउँदै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनेमा छ । हामी शसस्त्र द्वन्द्व र संक्रमणकालका कारण गुमेका अवसरहरुको क्षतिपूर्ति हुनेगरि अघि बढ्ने सचेत प्रयत्नमा छौं । कूटनीतिक गतिविधिमा अहिले भएको बढोत्तरीलाई त्यसकै प्रतिफल ठानौं ।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । खासमा यो कस्तोखालको भ्रमण थियो ?

यो एकदमै सुविचारित कार्यक्रमअनुसार भएको भ्रमण हो । नेपाल र चीन बीच एकदमै समस्यारहित सम्बन्ध छ र त्यसैअनुसार विभिन्न तहमा भ्रमण आदान–प्रदान भइरहेको छ । यसबीचमा हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण गर्नुभएको छ । मैले पनि भ्रमण गरेको छु । यस हिसाबले चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्रीको काठमाडौं यात्रा प्रत्युत्तर भ्रमण पनि हो ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण दुई देशको परस्पर सम्बन्धलाई कसरी अझ उन्नत बनाउने भन्नेमा केन्द्रित रह्यो । हामीबीच परम्परादेखि नै अनेकौं आर्थिक सम्बन्धहरु छन् । सन् २०१७ मा बेल्ट एण्ड रोड एनिशिएट्भ्सि (बीआरआई) मा जोडिसकेपछि हामीले त्यसअन्तर्गत थुप्रै परियोजना प्रस्ताव गरेका छौं । तिनको कार्यान्वयनका आधार सिर्जना गर्नु पनि यो भ्रमण आवश्यक थियो ।

तेस्रो कुरा, चिनियाँ उच्च नेतृत्वलाई नेपालमा स्वागत गर्न हामी प्रतिरक्षा छौं भन्ने सन्देश दिएको अवस्थामा पनि यो भ्रमण भएको छ । भ्रमणका क्रममा भएका बैठक र कुराकानी मुलतः यिनै विषयमा केन्द्रित रहे ।

कुनै निष्कर्ष पनि निकाल्नुभयो कि छलफल मात्र भए ?

दुवै देशका सम्बद्ध निकायहरु निरन्तर सम्पर्कमा छौं । निकट भविश्यमै चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय गर्न हामी सफल हुनेछौं ।

बैठकबाट हामीले निष्कर्षहरु पनि निकाल्यौं– नेपाल र चीन असाध्यै घनिष्ठ मित्र हुन् । दुई देशको सम्बन्ध एक प्रकारको उदाहरण पनि हो । फरक आकार र राजनीतिक प्रणाली भएका मुलुकबीच कसरी असल सम्बन्ध निर्माण हुन सक्छ भन्ने उदाहरण हो ।

दोस्रो, संक्रमणकाल टुंग्याएर आर्थिक सम्बृद्धिको चरणमा प्रवेश गरेको नेपालले चीनजस्तो घनिष्ठ मित्रबाट अझ बढी आर्थिक सहयोग–साझेदारीको अपेक्षा गर्नु स्वाभाविक हो । हामी छिमेकको आर्थिक विकाससँग जोडिन चाहन्छौं । चीनसँग जोडिन हामीले कनेक्टिभिटी बढाउनु पर्नेछ ।

गत वर्ष महामहिम वाङ यीसँगको बैठकबाट तयार भएको ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको प्रारुपलाई पछिल्ला भ्रमणहरुले औपचारिक स्वरुप दिएको छ । त्यसभित्र रहेर थुप्रै परियोजना अहिले सञ्चालनमा छन्, केहीलाई गति दिनुपर्नेछ । जस्तो– केरुङ–काठमाडौं रेल्वे, उत्तर–दक्षिण आर्थिक कोरिडोर । पछिल्लो बैठकमा हामीले ती विषयमा कुरा गरेका छौं ।

नेपाल ठूलो व्यापार घाटासँग जुधिरहेको छ । ब्यापार घाटा चीनसँग पनि छ । त्यसलाई कम गर्न नेपालमा उत्पादन बृद्धि र चिनियाँ बजारमा सहज पहुँचका लागि समेत सहयोग गर्न हामीले आग्रह गरेका छौं ।

त्यस्तै, हामीले चिनियाँ राष्ट्रपतिलाई गरेको निमन्त्रण दोहोर्‍यायौं । चिनियाँ स्टेट काउन्सिलरले नेपालको यो चासोबारे एकदमै जानकार रहेको र उपयुक्त समयमा भ्रमण हुने विश्वास दिलाउनुभएको छ ।

सन् २०१९ भित्र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ त ?

अहिले यसबारे बोल्नु हतार होला । नेपालको चासो उहाँहरुले बुझ्नुभएको छ । नेपाल जुन ढंगले नयाँ मोडमा प्रवेश गरेको छ, भ्रमणको लागि यो उपयुक्त समय हो भन्ने पनि अवगत छ भन्ने मलाई लाग्छ ।

दुवै देशका सम्बद्ध निकायहरु निरन्तर सम्पर्कमा छौं । निकट भविश्यमै चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय गर्न हामी सफल हुनेछौं ।

चिनियाँ विदेशमन्त्री नेपाल आएको बेला रेल र ठूला परियोजनाको सम्झौता होला भनेको त टेन्ट र स्वयंसेवी शिक्षक ल्याउने हस्ताक्षर पो भयो भन्ने टिप्पणीहरु पनि यदाकदा आएका छन् । यसलाई चाहिँ कसरी लिनुभएको छ ?

यो खालको टिप्पणीले हाम्रो चिन्तनको संकीर्णतालाई प्रकट गर्छ, म यतिमात्र भन्न चाहान्छु । टेन्ट सामान्य लाग्न सक्छ, तर विपत परेका बेला साथीहरुलाई यसको महत्व थाहा हुन्छ । अहिले डेंगु फैलिरहेका बेला एउटा झूल, सानो किट, सानो ब्याग, टर्चलाइट, औषधीको कति महत्व भएको छ ।

विपत व्यवस्थापनसँग जोडेर चीनले गरेको सहयोगमा नकारात्मक टिप्पणी गर्नु उपयुक्त छैन । विगतमा नेपालको प्राथमिकतामा नभएको दाताहरुको इच्छाअनुसार परिचालित हुने परियोजनाको स्वागत गरेका साथीहरुले नकारात्मक टिप्पणी गर्नुलाई म अझ उपयुक्त ठान्दिनँ ।

जहाँसम्म केरुङ–काठमाडौं रेलमार्गको कुरा छ, यो अब नेपालको मात्रै विषय रहेन । यो बीआरआई अन्तर्गत सूचीकृत महत्वपूर्ण परियोजना मध्येमा परेको छ । अर्थात यो अब चीनको समेत एजेण्डा बनेको अवस्था छ ।

हाम्रो ध्यान आर्थिक रुपान्तरण गर्ने ठूला परियोजनाहरुमा छ । जस्तो– भारतसँग भएको पेट्रोलियम पाइपलाइन उद्घाटनले आर्थिक रुपमान्तरणमा सहयोग पुर्‍याउने छ । जनकपुर–जयनगर–कुर्था रेल्वे आयो भने त्यसले पनि एउटा खण्डमा ठूलो परिवर्तन ल्याउँछ । हामी यस्तै परिवर्तनकारी योजनाहरुको कार्यान्वयनको चरणमा छौं । प्राथमिकताका आधारमा सबै तयारी गरिरहेका छौं । उपयुक्त समयमा अघि बढ्छन् । परियोजनाको अन्तिम सम्झौता हुनुभन्दा अगाडि धेरै चरणबाट गुज्रिनुपर्ने कुरा टिप्पणी गर्नेहरुले बुझ्न जरुरी छ ।

भारतीय नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ चीनबाट ल्याउने सम्झौता भयो, तर पाइपलाइन भारतसँग जोडियो । चीनबाट तेल ल्याउने कुरा कहाँ पुग्यो भनेर प्रश्न त उठ्छ नि ?

पेट्रोलियमको सन्दर्भमा चीनसँग हाम्रा तीनवटा आयाम छन् । एउटा त चीनले नेपालभित्रै पेट्रोलियम र ग्यासको सम्भाव्यता अध्ययन र उत्खननका क्षेत्रमा काम गरिरहेको छ । दैलेख लगायतका कतिपय ठाउँमा अध्ययन पनि भइसकेको छ र त्यसले नेपालमा पेट्रोलियम भण्डार छ भन्ने निष्कर्ष निकालेको छ ।

दोस्रो, हामीले आपतकालीन अवस्थाका निम्ति भण्डारण सुविधाको प्रस्ताव गरेका छौं । त्यसमा पनि चीन सकारात्मक छ । क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको प्रस्तावमा चाहिँ चीनले सीमासम्म पाइपलाइन विस्तार गरिनसकेकाले तत्काल परियोजना नबन्ला ।

अनि केरुङ–काठमाडौं रेलमार्गबारे चाहिँ राष्ट्रपति शीको नेपाल भ्रमणको बेला सम्झौता हुन्छ ?

मैले अघि नै भनिसकेँ कि राष्ट्रपति सीको भ्रमणबारे हामी आशावादी छौं, तर टुंगो भइसकेको छैन ।

जहाँसम्म केरुङ–काठमाडौं रेलमार्गको कुरा छ, यो अब नेपालको मात्रै विषय रहेन । यो बीआरआई अन्तर्गत सूचीकृत महत्वपूर्ण परियोजना मध्येमा परेको छ । अर्थात यो अब चीनको समेत एजेण्डा बनेको अवस्था छ ।

चीनले सिगात्से आएको रेललाई अगाडि बढाइरहेको थिएन । यसको कारण त्यो क्षेत्रको भौगोलिक जटिलता थियो । अहिले त्यहाँ निर्माण कार्य शुरु भएको छ । सिगात्सेबाट रेल निर्माणको काम शुरु हुनु भनेकै नेपालसँग जोडिनका निम्ति हो भन्ने जो कसैले बुझ्न सक्छ । तर, प्राविधिक हिसाबले धेरै चुनौतिपूर्ण परियोजनामध्ये एक हो यो । यसले समय र स्रोत दुवै लिन्छ ।

कसैकसैले सोचेजस्तो रातारात भइहाल्ने होइन । नेपाल र चीन दुवैको उच्च प्राथमिकताको परियोजना हो भन्नेमा चाहिँ दुबिधा छैन । र, यसमा चिनियाँ प्रतिवद्धता झन् दृढ भएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर, लगानी र मोडालिटीबारे चाँहि के छलफल भयो ?

त्यो चरणमा हामी पुगेका छैनौं । डीपीआर बन्न बाँकी नै भएकाले यसको खर्च अनुमान भएको छैन ।

तर नेपाल सरकारको एउटा जिम्मेवार सदस्यको हैसियतले म निवेदन गर्न चाहन्छु, यो नेपालको उच्च प्राथमिकताको विषय हो । नेपालले यसमा लगानी गर्नुपर्छ र गर्छ ।

नेपालको मात्र स्रोतले नभ्याउने हुनाले चीनजस्तो घनिष्ठ मित्रसँग केही अनुदानको अपेक्षा गर्छ । यसमा हामी सहुलियतपूर्ण ऋण लिन पनि तयार हुनुपर्छ । केही नेपालकै लगानी र केही सहुलियतपूर्ण ऋणको मोडलबाट यो रेलमार्ग बन्छ भन्ने मलाई विश्वास छ ।

डीपीआर चाहिँ चीनले बनाइदिने हो ?

चीनजस्तो मुलुकका लागि यो रेलमार्गको डीपीआर ठूलो कुरा हो भन्ने लाग्दैन ।

बीआरआईमा नेपालको तयारीमा भइरहेको ढिलाई कतैबाट प्रभावित पो हो कि भन्ने कतिपय आशंकालाई कसरी निवारण गर्नुहुन्छ ?

पहिलो कुरा त नेपाल स्वतन्त्र, सार्वभौम राष्ट्र हो । यसले स्वतन्त्र विदेश नीति अबलम्बन गर्छ । विकासको कुन बाटो हिँड्ने, कुन ढाँचा अबलम्बन गर्ने भन्ने कुरामा आफ्नो हितलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्न नेपाल सक्षम छ ।

बीआरआईमा हामीलाई न कतैबाट दबाब छ, न त कसैको प्रभावले धारणा परिवर्तन गर्छ । त्यसमा हामीले हस्ताक्षर गरेको दुई वर्षभन्दा केही बढी भएको छ । पहिलो एक वर्ष वा त्यो भन्दा केही बढी समय हामी संविधान कार्यान्वयन, निर्वाचन, नयाँ सरकार गठन जस्ता आन्तरिक काममा थियौं । त्यसैले त्यति धेरै तयारी गर्न नसकेकै हो । गत वर्षको जुनमा प्रधानमन्त्रीको चीन भ्रमणसँगै हामीले योजनाहरु सूचीकरण गर्‍यौं । सूचीहरु आदान प्रदान गर्‍यौं । दुवै देशको बुझाइमा एकरुपता आइसकेपछि हामीले सूची छोट्यायौं पनि ।

अहिले हामीसँग नौवटा परियोजना छन् । तीमध्ये केहीको डीपीआर तयार भएको छ । केही निर्माणमै गइसकेका छन् । अलि ठूला परियोजनाहरुको तयारी गरिरहेका छौं । यो भन्दा तीब्र गतिका साथ लाग्नुपर्छ भन्नेमा कुनै दुबिधा छैन । यस सम्बन्धमा सकारात्मक टिप्पणी गर्नुहुने साथीहरुको धारणाको म सम्मान गर्छु । यसलाई लिएर नकारात्मक टिप्पणी गर्नुपर्ने कारण छैन ।

चिनियाँ विदेशमन्त्रीले नेपाल नछाड्दै नेपाल र भारतका प्रधानमन्त्रीले क्रस वोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभयो । त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने इच्छा जनाउनुभयो । भारतबाट पनि उच्चस्तरीय भ्रमणको तयारी हुँदैछ ?

प्रधानमन्त्रीले नरेन्द्र मोदीजी दोस्रोपटक प्रधानमन्त्री हुनेबित्तिकै बधाइ दिने क्रममा नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उहाँको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा पनि त्यो निमन्त्रण दोहोर्‍याउनुभएको थियो ।

हाम्रा प्रधानमन्त्रीले जोड दिएर भन्नुभएको छ, महामहिमले लुम्बिनी भ्रमण गर्ने चाहनालाई मूर्त रुप दिने बेला भएको छ ।’ मोदीजीले हार्दिकतापूर्वक स्वीकार पनि गर्नुभएको छ । त्यसैले निकट भविष्यमै भारतबाट प्रधानमन्त्री तहको भ्रमण हुनेछ भन्नेमा म आशावादी छु ।

सँगसँगै हाम्रा राष्ट्रपतिबाट भारतका राष्ट्रपतिलाई पनि भ्रमणको निम्ता गएको छ । निकट भविश्यमै भारतबाट उच्चस्तरका भ्रमणहरु हुनेमा हामी एकदमै आशावादी छौं ।

मोदीले दुई देशबीच राजनीतिक नेतृत्व तहमा निरन्तर सम्वाद भइरहेको र आपसी विश्वास पक्का भएको भन्नुभयो । दुई देशबीच त्यो स्तरको विश्वास कायम भएकै हो ?

सबभन्दा महत्वपूर्ण कुरा, छिमेकीहरुको सम्बन्धको आधार भनेको विश्वास हो । दुई प्रधानमन्त्रीको सक्रिय पहलबाट गएको डेढ वर्षमा असाध्यै राम्रो विश्वासको आधार निर्माण भएको छ । यसो भन्नुको तात्पर्य दुई देश बीचमा कतिपय विषयमा फरक धारणा हुँदैनन् भन्नेचाहिँ होइन ।

व्यक्तिगत रुपमा पनि दुई प्रधानमन्त्रीबीच असाध्यै राम्रो सम्पर्क–सम्बन्ध छ । यसैका आधारमा हाम्रा परियोजनाहरु अवरोध रहित ढंगले अघि बढिरहेका छन् ।

दुवै छिमेकबाट हाम्रा प्रधानमन्त्रीको स्वास्थ्यमा चासो व्यक्त हुनुले उच्च राजनीतिक तहमा भावनात्मक सम्बन्ध पनि प्रगाढ भएको भनेर बुझ्न सकिन्छ ?

हाम्रा प्रधानमन्त्री (सिंगापुरमा) दुई साता लामो उपचारपछि भर्खरै फर्किनुभएकाले असल मित्रहरुले स्वास्थ्यप्रति चासो राख्नु र शुभकामना दिनु स्वाभाविक नै हो । यस्तोमा व्यक्तिगत भावनात्मक लगावको पनि भूमिका हुन्छ नै ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रवि लामिछाने पाँच लाख धरौटीमा यसरी छुटेका

भदौ, काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख र नर्स...

जापानी राजदूतले भने- ‘नेपाली सिक्दैछु’ [अन्तरवार्ता]

काठमाडौँ — मासामिची साइगो नेपालका लागि राजदूत भएर एक वर्षदेखि काठमाडौंमा छन् । नेपालका हिम चुचुरा, गाउँको हरियाली र नेपालीहरुको संस्कृति मन पराउने उनी एक राजदूतका रुपमा नेपाललाई कसरी हेर्छन् ? फुर्सदमा कहाँ घुम्न जान्छन् र नेपालबारे के सोच्छन् ? कान्तिपुर अनलाइनका लागि घनश्याम खड्काले गरेको अन्तरवार्ताको सम्पादित...

देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति —-जगदीशनरसिंह केसी

नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला...

बंगलादेशका अधिकांश कलेज पैसाको पछाडि दौडिरहेका छन् : उपकुलपति डा अली

प्रा डा ल्याकत अली बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेसका उपकुलपति हुन्। मेडिकल डाक्टर समेत रहेका अली अनुसन्धानमा विशेष रुची राख्छन्। मेडिकल शिक्षाका विषयमा स्थलगत अध्ययनका लागि बंगलादेश पुगेका स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाल र सीताराम कोइरालाले उपकुलपति डा अलिसँग गरेको कुराकानी : बंगलादेश युनिभर्सिटि अफ हेल्थ साइन्सका बारेमा बताइदिनुस् न? अुसन्धान र...

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्,...