परको कुरा


बानेश्वरकी अनिता थापा सप्ताहन्तमा प्रायः छोरी लिएर घुम्न जाने ठाउँ हो, रानीबारी सामुदायिक वन।

काठमाडौं कंक्रिट जंगलमा परिणत भइरहेका बेला पाँचवर्षे छोरीलाई प्रकृतिसँग घुलमिल गराउन मध्यसहरको यो वन उपयोगी भएको उनी बताउँछिन्।

‘म नजिकै बस्ने भए सधैंजसो जान्थेँ होला,’ उनी भन्छिन्, ‘यहाँ धेरै प्रकारका पुतली, कीराकिरी, चराचुरुङ्गी र बोटबिरूवा छन्। मेरी छोरीजस्ता साना नानीबाबुहरू खुब रमाउँछन्। उनीहरूलाई प्रकृति देखाउन र बुझाउन यो वनले सघाएको छ।’

काठमाडौंका खुला सार्वजनिक स्थल मासिँदै गएका बेला सहरको भित्री भागमै यस्तो वन छ भन्ने धेरैलाई थाहै नहुन सक्छ।

लाजिम्पाट र सामाखुसी छेउको यो वन करिब १८ एकड क्षेत्रफलमा फैलिएको छ। काठमाडौं, वडा नम्बर ३ मा पर्छ। वनभित्र रानीदेवी मन्दिर छ। यसलाई ‘पोर्पा अजिमाँ’ पनि भनिन्छ। यो प्राचीन मन्दिरमा पहिले राजाहरूको ‘देवाली’ हुन्थ्यो। २००७ सालअघि सर्वसाधारणले प्रवेश पनि पाउँथेनन्।

पछि अतिक्रमणमा परेर बचेको भाग २०५७ सालमा सामुदायिक वनमा रूपान्तरण भयो। त्यसयता उपभोक्ता समितिद्वारा व्यवस्थापन र संरक्षण हुँदै आएको छ।

सहरको कोलाहल र प्रदूषण छलेर यहाँ अलिकति भए पनि राहतको सास फेर्न सकिने अनिता बताउँछिन्।

पछिल्लो समय पार्कका रूपमा विकास भइरहेको यो सामुदायिक वन बिहान-दिउँसो मात्र खुल्छ। कामधाम सकेर साँझपख जान चाहने पनि धेरै छन्। यसैलाई ध्यानमा राख्दै राति अबेरसम्म घुम्न मिल्ने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष दीपक केसीले जानकारी दिए।

सामान्यतया वनको गेट बिहानै खुल्छ। मन्दिर दर्शन गर्न आउनेदेखि दिउँसो घुम्न आउनेहरूको दिनैभरि चहलपहल हुन्छ। छुट्टीका दिन झनै बढी। सुरक्षा हिसाबले साँझ पाँच बजे बन्द गरिने वनमा सुविधा थपेर सुरक्षित अनुभूति गराउने वडाध्यक्ष केसीको भनाइ छ।

‘यहाँ बिहानदेखि मन्दिर दर्शन गर्न, मर्निङ वाक र व्यायामका लागि निकै मान्छे आउँछन्। दिउँसो पनि विद्यार्थी र केटाकेटी हुन्छन्,’ उनले भने, ‘साँझ परेपछि भने बस्ने वातावरण छैन। राम्ररी व्यवस्थापन गर्ने हो भने स्थानीयहरू राति ८-९ बजेतिर पनि हिँडडुल गर्न आउन सक्छन्।’

विशेषगरी पाको उमेरका आमाबा र केटाकेटीलाई घुमफिर निम्ति व्यवस्थित र सुरक्षित सहरी वन विकास गर्ने उद्देश्य रहेको उनले बताए।

उनका अनुसार सबभन्दा पहिले बत्ती हालिनेछ। राति अँध्यारोमा हिँड्न सजिलो हुने गरी पदमार्ग उज्यालो बनाइनेछ। एक किलोमिटर हाराहारी पदमार्ग अहिले एक-डेढ मिटर मात्रै चौडा छ। यसलाई तीन जनासम्म सजिलै हिँड्न मिल्ने गरी झन्डै दोब्बर चौडा बनाउने योजना छ। यस निम्ति नक्सा तयार भइसकेको अध्यक्ष केसीले जानकारी दिए।

पदमार्गमा हिँड्न सजिलो होस् भनेर समतल ढुंगा छाप्ने गरी डिजाइन गरिएको छ। वनभित्र खुड्किला पनि छन्। कहीँकहीँ ढुंगाहरूले ठाउँ छाडेका छन्। यी खुड्किला ढुंगा र इँटा छापेर मर्मत गरिनेछ। वनभित्र सुस्ताउन पाटी बनाइएको छ। यसको पनि मर्मत गरिने वडा कार्यालयले जनाएको छ।

‘यहाँ हिँड्ने ट्रयाक र पाटी मर्मत गर्दा केटाकेटीदेखि बूढापाकासम्मलाई सहज हुन्छ,’ उनले भने, ‘काठमाडौंमा खुला क्षेत्र नभएर स्थानीयलाई सास फेर्न गाह्रो छ। हामीले पनि जनतालाई दिनुपर्ने सेवासुविधा दिन सकेका छैनौं। भएको वन व्यवस्थित बनाउन सक्यौं भने धेरैले फाइदा लिन सक्नेछन्।’

यहाँभित्रको मन्दिरमा पूजाआजाका साथै भजनकीर्तन हुन्छ। बिजुलीबत्ती र अन्य थप पूर्वाधारले वन क्षेत्र घुमफिरका साथै मन्दिरका गतिविधिमा सरिक हुन सर्वसाधारणलाई सुरक्षित र सहज महशुस हुने केसीले बताए।

काठमाडौंको घना बस्तीबीच रानीबारी सामुदायिक वनको गुगल नक्सा।

रानीबारी वनमा व्यायाम गर्न निश्चित ठाउँ तोकिएको छ। घरपालुवा जनावर, साइकल र खेलकुद सामग्री भने लग्न पाइँदैन। ठूलो आवाजमा रेडियो बजाउन वा होहल्ला गर्न पनि पाइँदैन। धूमपान र मदिरा निषेध छ।

मन्दिरमा बिहे, व्रतबन्धदेखि फिल्म र भिडिओहरू सुटिङ हुने गरेको छ। यसका लागि वन समितिले तोकेको छुट्टै शुल्क तिर्नुपर्छ। मन्दिर दर्शन गर्न आउनेलाई बिहान आठ बजेसम्म प्रवेश निःशुल्क छ। त्यसपछि जानेले भने १० रूपैयाँको टिकट काट्नुपर्छ। केटाकेटीहरूको पैसा पर्दैन।

उपभोक्ता समिति र नेपाल पन्छी संरक्षण संघको सहकार्यमा वनभित्रै ‘जैविक विविधता संरक्षण सिकाइ केन्द्र’ स्थापना गरिएको छ। यहाँ ६० भन्दा बढी किसिमका चरा पाइने तथ्यांक छ।

काठमाडौं जिल्लामा १ सय ४० भन्दा बढी सामुदायिक वन छन्। चक्रपथभित्रको एक मात्र सामुदायिक वन यही रानीबारी हो। पहिले म्हैपी सामुदायिक वन पनि थियो, जुन धार्मिक वनमा रूपान्तरण भयो।

रानीबारी वन बेलाबेला अतिक्रमणको शिकार भएको छ। वरिपरिको पर्खाल बाटो चौडा गर्ने क्रममा भत्काइएको थियो। अब फेरि संरक्षण गर्ने गरी पर्खालले घेर्ने योजना रहेको वडाध्यक्ष केसीले जानकारी दिए।

मध्यसहरको बीचमा फैलिएको रानीबारी व्यवस्थित हुँदै गए पनि अझै सुधार गर्नुपर्ने अनिता बताउँछिन्।

‘सहरको भिडभाड र घरहरूबीच यस्ता हरिया जंगल आवश्यक हुन्छन्। बिहान-बेलुकी चराको चिरबिर सुन्दै प्रकृतिको आनन्द लिन पाउनुपर्छ। यहाँ त भएका पनि मासिँदै गएका बेला रानीबारीको पहल सराहनीय छ,’ ग्रामीण केटीहरूको शिक्षामा काम गर्ने गैरसरकारी संस्था ‘हर टर्न’ मा आबद्ध उनले भनिन्, ‘सुरक्षाबारे भने अझै ध्यान दिनुपर्नेछ।’

वनमा जो कोही आउन सक्छन्, जे पनि गर्न सक्छन्। शान्त, एकान्त ठाउँहरू भएकाले केटाकेटी र महिलालाई डर हुन सक्छ। यस्तो अवस्थामा सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने उनी बताउँछिन्।

‘केही दुर्घटना भएको त मलाई थाहा छैन, तर फराकिलो वन क्षेत्र हो, नगएका वा पहिलोपटक जानेलाई सुरक्षा जोखिम महशुस हुन सक्छ। नानीबाबु लिएर जाने आमाहरू र एक्लै आउने केटीहरूलाई ढुक्कसँग घुम्ने वातावरण बनाए अझ राम्रो हुन्थ्यो,’ उनले भनिन्।

सोम, अशोज २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालाका अशोक चैत्य लगायत तिन चैत्यहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया अनुसार  बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौँ मा रहेको स्वयम्भु  र बौध्दनाथ स्तुपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। श्री लंकामा चैत्यलाई ‘दागबा’भनिन्छ भने...

नालामा माघे सक्रन्ती

माघे सक्रन्ती आउनु अगाडी नै नालाका मानिसहरु आफ्नो खेत बारीमा रहेको तरुल खनेर घरमा ल्याउन्छ्न / माघ महिनाको प्रथम दिन माघे सक्रन्ती मनाउछन / माघे सक्रन्ती दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र उक्त दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या...

भिजिट नेपाल २०२०

आउनुहोस विश्वका पर्यटकहरु हो मेरो नेपाल हेर्नुहोस यो विश्वको एउटा यस्तो देश हो जसलाई मन्दिरै मन्दिरको देशले चिनिन्छ मेरा पुर्खाले कुनै मुलुकको एक पैसा सहयोग नलिकन थुप्रै कलात्मक मन्दिर र पाटी पौवाहरु बनाए तर आज मर्मत गर्न नसकेर पुन निर्माण गर्न नसकेर हात थापिरहेछ मेरो सरकार राम्ररी हेर्नुहोस ++++++++++++++++ आउनुहोस विश्वका पर्यटकहरु हो प्राकृतिकले दिएको अनुपम हिमालहरु तपाइको महँगो क्यामेराले कैद...

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन सपना बिस्ट

मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल एक्टर बन्ने सपनाको लक्ष्य  छ । हाल उनी विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि भाग लिदैछिन ।भन्छिन एउटा कलाकार बन्ने मेरो चाहना हो ।पढाइसगै म...

ऋतु अनुसारको आफ्नो उब्जनी ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन नेवार समुदायको आफ्नै पहिचान हो / यो समुदायमा मौसम अनुसारको खानेकुराले शरिरलाई मौसम अनुकुल बनाउने र स्वस्थ हुने जनविश्वास रहेको छ ।यसैको एउटा उदाहरण हो सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) । यस अवसरमा नेवार समुदायले...