विचार

नेपाली बोराका झोला अमेरिका र जर्मनीमा


स्कुल पढ्दाताका कपडाको झोला बारम्बार च्यातिन्थ्यो। पटकपटक सिउँदा पनि पार नलागेपछि आमाको धैर्य टुट्थ्यो र भन्नुहुन्थ्यो– अब तँलाई बोराको झोला सिलाइदिने हो। त्यही बोक!

बोराको झोला राम्रो हुँदैनथ्यो, हत्तपत्त फाट्दैन भन्ने आमाको विश्वास थियो।

आर्थिक अवस्था कमजोर भएका धेरैले स्कुल पढ्दा बोराको झोला बोक्नु सामान्य थियो।

पछिल्लो पुस्ताका नजरबाट भने बोराको झोला लगभग ओझेल परिसक्यो। देखेको भनेको केही वर्षयता ठमेल बजारमा पर्यटकका लागि लक्षित गरी सजाइएका एकाध झोला होलान्। हामी नेपालीहरू त झोलामा घरमा खाने चामलको नाम पढेरै हाँस्छौं।

बोराको झोला भन्नेबित्तिकै नाक खुम्च्य्याउने वा खिसिट्यिुरी गर्नेहरूलाई ३१ वर्षीया प्रकृति मैनालीको कामले ‘सरप्राइज’ दिन्छ। उनी बोराकै झोला बनाउँछिन्, आकर्षक र ‘फेन्सी डिजाइन’मा।

उनले बनाएका झोला हातमा परेपछि मान्छे अचम्म मान्दै भन्छन्– ‘बोराको झोला! यस्तो राम्रो पो हुँदो रहेछ है! क्या कुल।’

Image may contain: 4 people, people smiling, people standing
तस्बिर सौजन्यः शक्ति मिलन केन्द्र

यही प्रतिक्रिया बढ्दैबढ्दै प्रकृतिले बनाएका झोला देशविदेश पुगे। शक्ति मिलन नेपाल कम्पनीकी संस्थापक प्रकृतिको हतारो बढेको पाँच वर्ष बढी भयो।

नेपालमा पाइने बोराबाट उनले बनाएका झोला अष्ट्रेलिया, अमेरिका र जमर्नीसम्म पुग्छन्। त्यहाँका बजारमा उच्च माग भएको प्रकृति बताउँछिन्।

उनका अनुसार नेपालीको तुलनामा विदेशीहरू पुनःप्रयोगका सामान रूचाउँछन्। नेपालमा १ हजार ५ सय रूपैयाँ पर्ने झोला युरोपेली बजारमा ५० यूरोमा बिक्री हुन्छ।

‘गत वर्ष हामीले करिब ३ हजार झोला उत्पादन गर्यौं, धेरैजसो विदेश नै निर्यात भए,’ प्रकृतिले भनिन्, ‘विदेशी बजार राम्रो छ, उताका नागरिक वातावरणसँग सचेत पनि छन्।’

कम्पनीले सानो पर्स, हाते र ठूला झोला बनाउँछ। सानो पर्सलाई ३ देखि ५ सय रूपैयाँ पर्छ। यो यहाँको दाम हो। विदेशमा मूल्य दोब्बर हुन्छ। बोराबाट बनेका झोला पनि महँगो हुनुका पछाडि अलग्गै कथा छ। प्रकृतिका अनुसार कथा सुन्नेबित्तिकै बार्गेनिङ गर्न र मूल्य घटाउन चाहने कमै हुन्छन्।

‘हामीले एउटा झोला मात्र बेच्ने होइन, झोलासँगै सकारात्मक कथा, सचेतना प्रवाह गरिरहेका हुन्छौं,’ उनी भन्छिन्, ‘पर्यावरण संरक्षणमा टेवा पुर्‍याइरहेका छौं, रोजगारी सिर्जना गरेर महिला सशसक्तीकरणको प्रयास पनि गरिरहेका छौं।’

प्रकृति मैनाली। तस्बिरः निशा भण्डारी/सेतोपाटी

एकल, सीमान्तकृत, घरेलु कामदारमा बसेर निस्किएका किशोरी, घरेलु र यौनजन्य हिंसामा परेका, बेचबिखनमा परेर फर्किएका महिला नै यी आकर्षक झोलाका सर्जक हुन्। सामाजिक पुनःस्थापना खोजिरहेका २२ जना महिलालाई शक्ति मिलन नेपालले अवसर दिएको छ। उनीहरूको रोजीरोटीको माध्यम बनेको छ। उनीहरूलाई सामाजिक जीवनमा फर्काएको छ।

‘तपाईंले एउटा झोला किन्दा एक जना महिलाले रोजगार पाउँछिन्, उनको आर्थिक हैसियत बलियो बन्छ, रोग लाग्दा उपचार पाउँछन्, उनको बच्चाले राम्रो स्कुल पढ्न पाउँछ, पेटभरी खान पाउँछ भने, एउटा झोला किन नकिन्ने,’ उनी थप्छिन्।

सामान्य मानिएका, फोहोरको थुप्रोमा फालिएका बोरा कसरी बन्छ त आकर्षक झोला? यो प्रश्न सबैको मनमा उठ्न सक्छ।

बोरा बटुल्ने जिम्मा उनले कवाडी संकलकलाई दिएकी छिन्। सबै बोराको झोला बन्दैन। कलात्मक चित्र भएका, सकारात्मक सन्देशयुक्त, सफा बोरा रोजाइमा पर्छन्।

जस्तैः हिमालको चित्र भएको चामलको बोरा।

गुणस्तर जाँच गरेर बोरालाई काटकुट, चेन हाल्ने, भित्री हाल्ने, सिलाउने काम हुन्छ।

यसरी उत्पादित झोला देखेर बोरा उत्पादक नै दंग परेको घटना प्रकृतिले सुनाइन्। उनी एक उद्यमी सम्मेलन पुगेकी थिइन्– आफूले उत्पादन गरेको झोला बोकेर। समारोहमा एकजना व्यक्ति भेटिए, संयोगले उनी त्यही बोरा (चामलको) उत्पादन कम्पनीका मालिक रहेछन्।

Image may contain: 1 person, sky, outdoor and nature
तस्बिर सौजन्यः शक्ति मिलन केन्द्र

‘नाम त याद भएन तर उहाँले झोलाको खुबै तारिफ गर्नुभयो। ‘हामीले प्याकिङमा मात्र काम लाग्ने हिसाबले बनायौं भनेको यति राम्रो झोला बन्ने रहेछ’ भन्नुभयो,’ प्रकृतिले सुनाइन्।

फालिएका बोराका यति राम्रा झोला, सामग्री बन्न सक्छ कसरी आइडिया फुर्‍यो?

आमालाई सधैं घरको नाइके देखेपछि आफूमा पनि हिम्मत बढेको प्रकृति बताउँछिन्। आमाले गर्ने सानोतिनो व्यापार होस् या उनको नेतृत्व क्षमता, प्रकृतिलाई सिकाइ बने।

‘हामी तीन बहिनी मात्रै हौं, ममीले धेरै कुरा सुन्नुपर्यो। तर उहाँ आँटिलो हुनुहुन्थ्यो, केहीमा ध्यान नदिई काममा लागिरहनुभयो। आमाको गुण ममा छ कि जस्तो लाग्छ,’ उनी फुरूंग हुन्छिन्।

आमाको प्रेरणासँगै औपचारिक पढाइले थप आँट दियो। यश कलेजमा एमबिए विद्यार्थी भइरहँदा उनलाई ‘तिमी अवसर सिर्जना गर्ने मानिस हौ, जागिर खाने होइन’ भनेर बारम्बार सिकाइयो। कमसेकम आफ्ना लागि मात्र भए पनि अवसर सिर्जना गर्नुपर्छ भन्ने लागिरहन्थ्यो प्रकृतिलाई।

सन् २०१४ मा शक्ति मिलन नेपाल कम्पनी दर्ता गरेर उनले ३० हजार लगानी गरी एक जना कर्मचारीबाट बोराको झोला बनाउन सुरू गरिन्।

बोराको झोला। तस्बिरः निशा भण्डारी/सेतोपाटी
Image may contain: 1 person, sitting
शक्ति मिलन केन्द्रबाट उत्पादित बोराका झोला। तस्बिर सौजन्यः शक्ति मिलन केन्द्र

‘हाम्रा अधिकांश दिदीबहिनीले सिलाइबुनाइ जानेकै हुन्छन्। तर त्यो सीप प्रयोगमा आएको पाइएन,’ उनले भनिन्, ‘म केही नयाँ गर्न चाहन्थेँ, खोज्दै जाँदा कम्बोडियामा पनि बोराको झोला बनाइने थाहा पाएँ।’

केही नयाँ गर्ने उद्देश्य पनि पूरा हुने, महिलालाई अवसर दिने चाहना, पर्यावरण संरक्षणमा टेवा, सबै एकैसाथ हुने भएपछि फालिएका बोराले पुनः जीवन पाएका उनले बताइन्। बजारमा पठाएको झोलाको नमूना राम्रो मानियो। देख्नेहरूले भन्न थाले –वाह क्या कुल!

यसबाट नयाँ पुस्ताले के रूचाइरहेका छन्, बुझ्न सजिलो भयो उनलाई। नयाँ र भिन्न उत्पादन बजारलाई दिन पाएपछि उनी सन्तुष्ट देखिन्छिन्।

प्रकृति अनुभव सुनाउँदै भन्छिन्, ‘तटस्थ भएर सोच्यौं भने नयाँ विचार नजन्मिन पनि सक्छ। काम फत्ते पार्ने हिसाबले सोच्यौं भने कुनै न कुनै विचार वा समाधान पक्का निस्कन्छ। यस्तै समाधान यी झोला हुन्।’

एचआइभी संक्रमित एक जना महिला, एक कोठा र एउटा मेसिनबाट थालेको काममा अहिले लगातार १५ वटा मेसिन प्रयोग हुन्छ। २२ जना महिलाद्वारा उत्पादित सामान विदेश निर्यात हुन्छ। जर्मनीमा त कम्पनीको आफ्नै अनलाइन स्टोर सञ्चालनमा आएको प्रकृति बताउँछिन्। त्यस्तै अमेजन लगायत ठूला अनलाइन बजारमा पनि उत्पादन जान थालेको छ। अनलाइन नेटवर्किङबाट अन्य मुलुक पनि पठाउने तयारी गरिररहको उनले बताइन्।

‘पाँच वर्षअघि अवसर सिर्जना गर्ने जुन निर्णय गरेँ, त्यो जीवनकै सर्वश्रेष्ठ निर्णय रहेछ,’ कम्पनी स्थापना गर्दाको क्षण सम्झँदै उनले भनिन्, ‘अहिले  फर्केर हेर्दा महिलालाई खाँचो भनेको अवसर नै रहेछ भन्ने बुझेकी छु।’

प्रकृति मैनाली। तस्बिरः निशा भण्डारी/सेतोपाटी
वाइज स्टोर। तस्बिरः निशा भण्डारी/सेतोपाटी

काम गर्दै जाँदा नेपाली महिलाको अवस्था पनि नियालिरहेकी छिन् प्रकृति। महिला हिंसाका विभिन्न कारणमा आर्थिक विपन्नता पहिलो नम्बरमा राखेकी छिन्।

भन्छिन्, ‘अवसर र काम गर्ने वातावरण भए कुनै महिला कमजोर हुनुपर्दैन, हिंसामा पर्नुपर्दैन। हिंसा र पारिवारिक अर्थराजनीति एकअर्कामा जेलिएका छन्।’

यस्तै समस्या कम गर्ने उद्देश्यले दुर्गम र ग्रामिण भेगका महिला एकत्रित गरी उद्यमशीलतासँग जोड्ने प्रयास उनी गर्दै छन्। हालैमात्र ‘वाइज’ नामक स्टोर सञ्चालनमा ल्याएकी छिन्।

‘महिलाहरूले केही न केही उत्पादन गरिरहेका छन् तर त्यसको राम्रो बजार छैन, चुनौती छ। यहाँबाट हामी सामूहिक बजार खोजिरहेका छौं,’ वाइजबारे बताउँदै उनले भनिन्, ‘यहाँ भेला भएर घरेलु उद्यमी महिलाका कथा सुन्छौं। क्षमता विकास र गुणस्तर मापनमा सरसल्लाह गर्छौं।’

शक्ति मिलन नेपाल र वाइजमा मात्रै प्रकृतिको परिचय सिमित छैन।

उनको प्रयासमा ‘ओमाना बिएन्डबि’ होमस्टे पनि सञ्चालित छ। यहाँ पनि प्रकृतिले अवसरबाट टाढिएका महिलालाई जोड्ने कोशिस गरेकी छिन्।

‘यहाँ काम गर्ने सबै महिला नै हुन्,’ उनले भनिन्।

वाइज स्टोर। तस्बिरः निशा भण्डारी/सेतोपाटी

बुध, कार्तिक ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...

पाल्पाली संगम साहित्य विभागको आयोजनामा छलफल तथा शुभकामना कार्यक्रम

असोज, काठमाण्डौं । पाल्पाली संगम साहित्य विभाग (समिति) को आयोजनामा छलफल तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । साहित्यकार प्रा.गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यता, डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपति, प्राज्ञ बिष्णु प्रभात, कमला देवकोटा लगायतको उपस्थितिमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साहित्य विभागका संयोजक सिता...

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शन

चितवन । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन...

लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ

हाम्रो देशमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो...

एउटा नेपाली युवा अहिले भारतमा चर्चामा

काठमाडौं : एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने ‘द बेटर इण्डिया’ ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले आखिर किन उनलाई खोजिरहेको छ?...