संस्कृति/धर्म

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ


 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा नालाका हरेक घरमा रोपेको तुलसीको पुजा गरि ब्रत बसी हरिबोधनी एकादशी पर्व घरघरमा मनाइन्छ / बिहानै उठीस्नान गरी तुलसीको मठवा गमलालाई लितपोत गरि सिँगारिन्छ। तुलसीको पूजा गरी व्रतालुले सक्खरखण्ड,पिंडालु , तरुल आदि कन्दमूल र फलफूल भगवान् विष्णुलाई चढाई प्रसादका रूपमा फलाहार गर्ने गर्छन्। हिन्दु धार्मिक मान्यताअनुसार तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकको रूपमा पूजा गरिन्छ।

वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासना गर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। त्यस्तै महाभारतमा पनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन्। यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको छ /          यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ।खासगरी एकादशी तिथिमा भगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ।

स्कन्द पुराणका अनुसार विष्णु भगवान्ले ‘वामन’ अवतार धारण गरी बलिसँग तीन पाइला जमिन मागेका थिए। उनको पहिलो पाइलाले स्वर्ग ढाक्यो भने दोस्रो पाइलाले मत्र्य। त्यसपछि वामनरूपी भगवान्ले तेस्रो पाइला माग्दा बलिले आफ्नै शिर थापिदिएपछि उनको सर्वस्व हरण भई उनी सुतललोक जान बाध्य भएका थिए। त्यही समयमा वर माग भन्दा बलिले सर्त राखी वर मागेकाले विष्णुलाई आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना सुतललोकमा गएर बस्नुपरेको बताइएको छ। तसर्थ यी चार महिना भगवान् विष्णु बलिको दरबार सुतललोकमा बस्ने भएकाले चतुर्मास भनिएको हो। यस समयमा कुनै शुभ कर्म गर्नुहुँदैन भन्ने मान्यता छ र चतुर्मासभर विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत कार्य गरिँदैन।

कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ। पाण्डव–कौरवबीच भएको महाभारतको युद्धमा घाइते भई बाणशड्ढयामा सुतेका पितामह भीष्मले भगवान् कृष्णलगायत पाँच पाण्डवलाई राजधर्म, मोक्षधर्म र दानधर्मको ज्ञानोपदेश दिएका थिए। उपदेश सुनी खुसी भएका भगवान् कृष्णले हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन भीष्मलाई अघ्र्य दिई भीष्मपञ्चक व्रत गरेमा आफू सन्तुष्ट हुने बताएकाले त्यसै दिनदेखि भीष्मपञ्चक मनाउने चलन चलेको उल्लेख छ। त्यस्तै मृत्यु शड्ढयामा सुतेका भीष्मको अनुरोधमा अर्जुनले यसै दिन आफ्नो बाणको वेगले पातालगंगाबाट पानी निकाली उनको तिर्खा मेटाएका थिए। पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसीविवाह सम्पन्न गराएको स्कन्दपुराण, वैष्णवखण्डअन्तर्गत कात्तिक माहात्म्यमा उल्लेख छ।

तुलसीको महत्व

तुलसी एक बहुउपयोगी वनस्पति हो। आयुर्वेदिक औषधि तयार पार्दा तुलसीको पत्र, पुष्प, बीज, हाँगा र मूल सबै उपयोगमा आउने अष्टांग आयुर्वेद हस्पिटलका डा. राजकुमार बन्जरा बताउँछन्। उनका अनुसार तुलसीमा विभिन्न रोगसँग लड्ने क्षमता वृद्धि गर्ने शक्ति रहेको हुन्छ। साथै यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन प्रक्रिया बढाउनुका साथै झाडावान्ता रोक्ने काम पनि गर्छ। तुलसी रोपेको चार सय मिटरवरपरको वातावरणलाई तुलसीले बनाउने वातावरणविद् बताउँछन्।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भनी व्याख्या गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाई सुते जगत् सुत्छ, तपाई उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने गरिन्छ /

“यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ”, उहाँले भन्नुभयो । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

तसर्थ यस अवधिमा भगवान् विष्णुको आराधना गर्नाले इच्छाएको फल पाइने विश्वासले काठमाडौं उपत्यकाका चाँगु नारायण, विशंखु नारायण, इचंगु नारायण, शेषनारायण, बुढानीलकण्ठ, सुनसरीको वराहक्षेत्रलगायत मन्दिरको दर्शन गर्ने चलन रहेको छ। साथै यस अवधिमा यी धार्मिक क्षेत्रमा मेलासमेत लाग्ने गरेको छ।

 

 

 

शुक्र, कार्तिक २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...