२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिव प्रधानमन्त्री समेत भने ।
लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो ।
कोइरालाको निधनसँगै महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको आउने क्रम सुरु भएको कोइराला निवासमै रहेका सिंहका सहयोगी एवम् नेविसंघ प्रवक्ता युपी लामिछानेले बताए।
पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ। कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन्।
कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए। बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । विसं. २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।
कोइराला विसं.०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पदसभापतिमा निर्वाचित भएका थिए ।
०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी १६ वर्षसम्म प्रवास भारतमा बसे । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला कार्यबाहक हुँदै पार्टी सभापति भए ।