काठमाडौं – साग फुटबलमा २३ वर्ष पछि उपाधी जितेको नेपाली फुटबल टोलीलाइ धुर्मुस सुन्तली फाउण्डेसनले दुई लाख र कदर पत्र प्रदान गरेर सम्मान गरेका छन्। बिहीबार फाउण्डेसनको कार्यालय हाँस्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले उपाधी जितेको नेपाली फुटबल टोलीलाई सम्मान प्रदान गरेका हुन्।

सम्मानमा फिनल्याण्डस्थित नेपाली इन ताम्पेरेले साथ दिएको छ। ‘राष्ट्रको गौरबको रुपमा रहेका नेपाली खेलाडीहरुलाई सम्मान गरेर हौसला प्रदान गरेका छौं। खेलकुदले देशको गरिमा बढाउने गर्छ । भारतलाई पराजित गरेकोले पनि आम नेपालीहरुमा खुसी छाएको छ,’ धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेलले भने।
त्यस्तै धुर्मुस सुन्तली फाउण्डेसनका कुञ्जना घिमिरेले सबैप्रति आभार प्रकट गरिन्। ‘समावेसी खेलकुदको दायरालाइ यसपालि नेपाली फुटबल टोलीले अझ फराकिलो बनाएर सारा नेपालीमाझ जात धर्म क्षेत्र भन्दा माथि राष्ट्रियता हुन्छ भन्ने प्रमाणित गरिदिएको छ। यसले सबैलाई एकतामा बाँध्न सहयोग गरेको छ,’उनले भनिन्। कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलीको प्रतिनिधित्व गरेका थिए।



