अप्ठ्यारो परिस्थितिमा बनेको यो संयुक्त सरकारलाई राष्ट्रियताको सवालमा म स्यालुट गर्न चाहन्छु । पछिल्लो अवधिमा जस्तोखालको क्षमता देखिएको छ, त्यो प्रसंशा गर्नलायक छ ।
यद्यपि, सरकार केही गम्भीर कुरामा चुकेको छ । प्रधानमन्त्रीले गरेका केही गम्भीर त्रुटिले गर्दा सरकारको आलोचना गर्ने ठाउँ छ ।
त्रुटि १. ठूलो मन्त्रिपरिषद्
जुन तरिकाले मन्त्रीको संख्या बढ्नु र मन्त्रालय थपियो यो गलत काम हो । मन्त्रीहरू जुन पोस्चरसाथ अहिलेको समस्या चिर्नेगरी जनतालाई कन्भिन्स गर्नुपर्ने थियो, त्यस्तो पनि भएको छैन ।
धेरै ठाउँमा के देखियो भने मन्त्रीहरू अवलोकन भ्रमणका नाममा समय बिताउने । गाउँगाउँमा जाने र खुला दिसामुक्त क्षेत्र घोषणा गरेर बस्ने मन्त्री धेरै भएका छन् । यस्तो जटिल परिस्थितिमा मन्त्रीले यस्तो प्रवृत्ति देखाउनुहुँदैनथ्यो ।
ट्रकमा पाँच किलोको सामान लिएर गयो भने गन्तव्यमा त पुग्छ तर त्यसले प्रतिफल दिन्छ कि दिँदैन भन्ने मुख्य कुरा हो । मलाई त के लाग्छ भने एक प्रधानमन्त्री र चार मन्त्री भयो भने पनि यो देश चल्छ ।
तर, सामान्यतयः ११ जना मन्त्रीमात्रै बनाए पनि पुग्छ । नेपालको विशिष्ट परिस्थिति भएकाले २५ जनाको निर्णण संविधानमा भएको थियो । जब ४० मन्त्री बनाइन्छन् भने यो अनावश्यक हो । त्यसैमाथि मन्त्रालय फुटाउने । यतिसम्म कि, एउटै मन्त्रालय फुलमन्त्री, राज्यमन्त्री र सहायकमन्त्री भनेर जसरी फुटाइएको छ, यो सरकारको ठूलो गल्ती हो ।
मैले केही मन्त्रीलाई सोधेको पनि थिएँ के गर्नु हुन्छ भनेर । उहाँले भन्नुभयो ‘म त सल्लाहकार ।’ एक मन्त्री कार्यकारी हो कि सल्लाहकार ? मन्त्री कहिल्यै सल्लाहकार हुँदैन । मन्त्री त सधैं कार्यकारी हुन्छ । मन्त्रीको गरिमा नबुझेकाहरू पनि मन्त्री बनेका छन् ।
त्रुटि २. आपूर्ति व्यवस्थापन
खासगरी आर्थिक व्यवस्थापन र आपूर्ति व्यवस्थापनमा सरकार चुकेको छ । ग्यास, पेट्रोललगायत दैनिक उपभोग्य वस्तुका लागि आमउपभोक्ताको लाइन लागिरहेकै छ । सरकारले आपूर्ति व्यवस्थापन राम्ररी गर्न सकिरहेको छैन । नाकाबन्दीपछि पनि आपूर्ति व्यवस्थापनको समस्या उस्तै छ । आमजनताका दैनिक कुराप्रति सरकार सजग हुनुपर्ने थियो । त्यस्तो देखिएको छैन ।
त्रुटि ३. अयोग्यलाई नियुक्ति
कुन सचिव वा कर्मचारीलाई कहाँ सरुवा र बढुवा गरियो भन्नेजस्ता व्यक्तिगत मामिलामा म जान चाहन्न । तर, नियुक्ति गर्ने सवालमा सरकारले केही गम्भीर गल्ती गरेको छ । कतिपय नियुक्ति पनि चित्तबुझ्दो देखिँदैन । योग्य मानिसलाई नियुक्ति गर्नुपर्नेमा त्यस्तो नभएर अयोग्यलाई छानिएको छ । कसलाई कहाँ, के गरियोभन्दा पनि सरकारको यो प्रवृत्ति गलत हो ।
००
म मन्त्रीबाट निस्केपछि पनि धेरै मानिसले नेता, मन्त्रीले मेरो कामको प्रसंशा गर्नुभयो । अहिलेको सामान्य प्रशासनमन्त्री त यहीँ आएर मसँग सल्लाह लिनुभयो । प्रचण्डले पनि भन्नुहुन्थ्यो रे, ‘लालबाबुजस्तै काम गर्नु नत्र मन्त्री हटाइदिन्छु ।’ धेरै मन्त्रीले सल्लाह पनि लिनुभयो ।
तर, प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीलाई अलग्गै मैले भेटेको छैन । मैले अलग्गै भेटेर सल्लाह दिन आवश्यक पनि ठानिनँ । यसअघि नै केही सिनियर नेता साथीहरूले भेटेर प्रधानमन्त्रीलाई सल्लाह दिन खोज्नुभएको थियो । तर, उहाँले मलाई सल्लाह आवश्यक छैन भन्ने उत्तर दिनुभएछ ।
मलाई लाग्यो– सिनियरसँग त सल्लाहको आवश्यकता नभएको प्रधानमन्त्रीलाई म त स्वयम् जुनियर नै हुँ । मेरो सुझाव के पर्ला र । त्यसैले मैले पनि सल्लाह दिने आवश्यकता देखिनँ । र, अहिलेसम्म भेटेको छैन । आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा सरकार बनेको बेला राम्रा निर्णय होलान्, अहिलेको समस्या चिर्नुहोला भन्ने अपेक्षा मसँग थियो तर त्यस्तो भएन ।
चीन भ्रमणबारे
दुई महिनाअघि मेरो नेतृत्वमा एक टोली चीन भ्रमण गएको थियो । चीनको सत्ताधारी पार्टीको विदेश विभागको निम्तामा म गएको थिएँ ।
त्यसअघि पनि मैले उहाँलाई भेट्ने कोसिस गरेको थिएँ । तर के काममा व्यस्त हुनुभयो र सम्भव भएन । दुई महिनाअघि ११ दिनको औपचारिक भ्रमणक्रममा मलगायतको टोलीले थुप्रै पूर्वाधार तयार गरेको थियो । अहिले प्रधानमन्त्रीको भ्रमणमा जे औपचारिक निर्णय भएको छ, यसका लागि पूर्वाधार पहिले बनेको थियो ।
अस्तिमात्रै प्रधानमन्त्री चीनको मेडिकल कलेजमा जानुभयो, त्यही हलमा मेरो भ्रमणको लेक्चर सुरु भएको थियो । समग्रमा प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक सन्देश आएको छ । दक्षिणबाट सूर्यमा ग्रहण लाग्यो भने उत्तरतिरबाट पनि सूर्य उदाउँछ भनेर मैले भन्ने गरेको छु ।
सरकार जनताका प्रत्यक्ष समस्याप्रति र खासगरी दैनिक समस्याप्रति जिम्मेवार रहनुपर्छ । त्यस्तो सरकारले गर्न सकिरहेको छैन । मन्त्रीले पनि अपेक्षाकृत रूपमा काम गर्न सकिरहेको छैन । सकेसम्म सरकारले कम खर्चमा जनातालाई सहजता दिलाउनुपर्छ ।
प्रस्तुति : रमन पौडेल



