एमाओवादीमा जान लागेका नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादल प्रचण्ड क्याम्पबाट आउदा एक्लै आएका थिए । जाने बेला भने उनले ७४ जनाको जम्बो केन्द्रीय समिति सदस्य लिएर एमाओवादी प्रवेश गर्दैछन् ।
हाल वैद्य माओवादीमा १९९ जनाको केन्द्रीय समितिमा उनीसँग अहिले ७४ जना केन्द्रीय सदस्यहरु खुलेर लागेका छन् । बादल पक्षले आफुसँग अहिले बहुमत भएको दाबी गरे पनि बहुमतले संस्थापनलाई छोड्न नसक्ने भएका छन् ।
तत्कालीन एमाओवादीमा प्रचण्डसँगको दुईलाइन संघर्षमा मध्यमार्गमा उभिएका बादल ०६८ सालको बीच भागतिर काठमाडौको मध्य वानेश्वरस्थित कृष्ण भोज पार्टी प्यालेसबाट क्रान्तिकारी विचार समुहतिर आएका थिए ।
बादल बीचमा किन बसे ? तत्कालीन क्रान्तिकारी विचार समुहमा किन आए र अहिले एमाओवादीमा किन जादैछन् भन्ने प्रश्न सिंगो माओवादी वृतमा विगतदेखि अहिलेसम्म कायम छ ।
बादलले तत्कालीन वैद्य माओवादीमा छदा कहिल्यै सत्य कुरा राखेनन् । उनको बारेमा ड्यास माओवादीको कमलादी महाधिवेशनमा निकै चर्को प्रश्न उठाइएको थियो । त्यो प्रश्न थियो, ‘बादल माओवादीभित्र दुईलाइन संघर्ष चल्दा किन बीचमा बसे ?’
०६८ को जेठतिर प्रचण्ड क्याम्पबाट क्रान्तिकारी विचार समुहमा आएका बादललाई प्रचण्ड पक्षका मान्छेहरुले भनेका थिए, ‘अहिलेसम्म एक जना केन्द्रीय सदस्य पनि आफ्नो बनाउन नसकेको बादल एक्लै क्रान्तिकारी विचार समुहतिर गयो ।’
सत्य त्यही थियो । बादलको राजनीतिक इतिहासमा त्यो समय निकै दुखद अवस्था थियो । संगठनमा कुनै पकड नभएको बादलले यता आएर भने ठूलो उपलव्धि हासिल गरे ।
एकीकृत वैद्य माओवादीलाई विभाजित गरेरै छाडे । वैद्य माओवादीबाट नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको ठूलो पंक्तिले एक वर्ष अगाडि नयाँ पार्टी बनाएपछि बादलले अहिले फेरी ठूलो समुह लिएर एमाओवादीमा प्रवेश गर्दै छन् ।
धेरै माअाेेवादी नेता र कार्यकर्ताले बादल सुनियाेजित रूपमा प्रचण्ड क्याम्पबाट तत्कालीन क्रान्तिकारी विचार समुहमा अाएकाे बताउने गरेाका छन् ।
तत्कालीन रुपमा विप्लवहरुको समुहले त क्रान्तिकारी विचार र कार्यदिशामा आएको अन्तरले पार्टी विभाजन भएको दाबी गरेको थियो । तर अहिले बादल पक्षसँग कुनै क्रान्तिकारी विचार र कार्यदिशा केही पनि नभएकाे बरू प्रचण्डसँग अात्मसमर्पण गर्न गइरहेकाे वैद्य पक्षकाे अाराेप छ ।
बादल पक्षको एकमात्र लक्ष्य एमाओवादीमा विलय हुने, एमाओवादी ठूलो दल बन्दा पछि त्यही दलको नेता बन्न पाइने, गठबन्धनमा सरकार बन्यो मन्त्री वा प्रधानमन्त्री बन्न पाइने लक्ष्यसहित बादल पक्ष एमाओवादीमा विलय हुन लागको वैद्य पक्षको गंभीर आरोप छ ।



