मेलम्ची खानेपानी आयोजनाको १६ किलोमिटर सुरुङ निर्माण सम्पन्न


melamchi2राधिका ढकाल, वैशाख मेलम्ची खानेपानी आयोजनाको १६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमध्ये अझै ११ किलोमिटर खन्न बाँकी छ । भूकम्प र नाकाबन्दीका कारण झन्डै १ वर्षसम्म रोकिएकोे काम दुई महिनाअघि सुरु भएको थियो । फागुनको अन्तिम साताबाट सुरुङ खन्ने काम सुरु भएपछि हालसम्म २ किलोमिटर भन्दा बढी सकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार मार्च र अप्रिलमा प्रतिमहिना झन्डै १ किलोमिटरका दरले सुरुङ खनिएको छ । “एक साता अघिसम्म दैनिक ४० मिटरसम्म सुरुङ निर्माण भइरहेको थियो,” उनले भने, “तर अहिले भूर्गभको अवस्था खराब भेटिएपछि काम घटेर दैनिक २२ देखि २५ मिटरमा सीमित भएको छ ।” मार्च र अप्रिलमा दैनिक ३० देखि ३३ मिटर सुरुङ खनिएको समितिले जनाएको छ । दैनिक ४० मिटर सुरुङ खनेपनि सम्पन्न गर्न अझै एक वर्ष लाग्नेछ । मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी वैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य थियो । मेलम्ची आयोजनाको सन् २००२ देखि निर्माण कार्य सुरु भएको थियो । निर्धारित तालिकाभित्र काम पूरा नहुँदा यसअघि आयोजनाको तालिका तीनपटक संशोधन भइसकेको छ । सन् २००९ देखि आयोजनाको सुरुङ निर्माण कार्य सुरु गरेको चाइना रेल्वेले सन् २०१३ सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर उसले साढे तीन वर्षमा बल्लतल्ल ६ किमि मात्र सुरुङ खनेर सन् २०१२ मा एकतर्फी ठेक्का सम्झौता तोडेको थियो । यसपछि मेलम्चीको बाँकी २१ किलोमिटर लामो सुरुङ ३० महिनाभित्र सक्ने प्रतिबद्धतासहित ०७० साउनमा ७ अर्ब ७० करोड रुपैयाँमा सरकारसँग सुरुङ निर्माण इटालियन को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतीय कम्पनी दि—राभेनाको संयुक्त उपक्रमले ठेक्का लिई काम गरिरहेको छ । तर सीएमसीले पनि आफैंले दिएको कार्यतालिका अनुसार काम गर्न सकेको छैन । – See more at: http://np.karobardaily.com/2016/05/84601/#sthash.j3ClbeiH.dpuf

यसमा तपाइको मत