साउन, काठमाडौं । भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो गर्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राजदूत रन्जित रायले आइतबार भेट गरेका छन् ।
ओलीलाई भेट्न भारतीय राजदूत एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । ओली र राजदूतबीचको वार्तामा दुई देशबीचका पछिल्लो सम्बन्ध र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको एमाले प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिए ।
भेटमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरुसँग हार्दिक र मित्रतापूर्ण सम्वन्धको पक्षमा रहेको बताए । तर, नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वभाविक चलखेल स्वीकार्य नहुने ओलीले बताएका छन् ।
त्यस्ता चलखेलहरुले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कता अपनाउनु पर्नेमा ओलीले जोड दिएको एमाले प्रचार विभागका सचिव विष्ण रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओलीले केही दिनअघिमात्रै छिमेकीले ‘छौंडा’ खेलाएर आफूलाई काम गर्न नदिएको बताएका थिए । ओलीले पछिल्लो समय बनेको कांग्रेस माओवादी गठबन्धनलाई भारतको डिजाइनमा बनेको संकेत गर्दै आएका छन् ।
ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय राजदूतले भेटेको यो पहिलो पटक हो । यसअघि ओली प्रधानमन्त्री रहेका बेला भारतीय राजदूतले भेट गर्ने समय कमै मात्र पाउने गरेका थिए ।
ओली प्रधानमन्त्रीबाट बाहिरिएको भोलिपल्टै चीनका राजदूत उ चुन्ताइ भने उनलाई भेट्न बालकोट निवासमै पुगेका थिए । चीनका राजदूत र ओलीबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतहरु बताउँछन् ।



