भदौ, जनकपुर । नेपाल सरकारको लगानीमा हुलाकी मार्ग निर्माणको काम थालनी भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शुक्रबार जनकपुरमा सडकको शिलान्यास गरे ।
१८ दशमलव ७ किलोमिटरको जनकपुर-भिठ्ठामोड सडक र जनकपुरको कदमचोक-तीनकौरिया सडकखण्डको मन्त्री लेखकले शिलान्यास गरेका छन् ।
नेपाल सरकारको लगानीमा ६ वटा र भारतीय सहयोगमा बाँकी ११ वटा सडक खण्ड निर्माण गर्ने नेपाल र भारतबीच सहमति भएको छ ।
सडक शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लेखकले हुलाकी राजमार्ग निर्माणमा रकम अपुग हुन नदिने बताए । उनले सडकको गुणस्तरमा समेत कुनै सम्झौता नहुने बताए । ‘तराई मधेस र भारतीय सीमासँग जोडिएका राजमार्गहरु ब्यापारीक मार्गका रुपमा निर्माण गर्नुपर्छ,’ मन्त्री लेखकले भने, ‘यसकालागि रकम अभाव हुँदैन ।’
नेपाल र भारतबीच २०६६ सालमा पूर्व-पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो । त्यसपछि ६ वटा सडक खण्डको काम नेपाल आफैले र बाँकी ११ वटा भारतले निर्माण गर्ने नेपाल र भारतबीच नयाँ सहमति भएको छ ।
विगत लामो समयदेखि हुलाकी सडक निर्माण सुरु गरिए पनि विविध समस्याका कारण निर्माणमा ढिलाई भएको बताउँदै मन्त्री लेखकले भने, ‘अहिले पनि हुलाकी सडक निर्माणका लागि आर्थिक स्रोत कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेजस्ता समस्या देखियो । भारतले पनि ठूलै सहयोग गरेको छ ।’
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सहयोगमा भएको छलफलबाट रकम अपुग हुने सडकमा नेपाल सरकार आफै लगानी गर्ने निर्णय गरेको मन्त्री लेखिले बताए ।
हुलाकी सडक निर्माणसँगै तराई मधेसको मुहार फेरिने विश्वास व्यक्त गर्दै मन्त्री लेखकले सम्झौताअनुसारको समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारवाही गर्ने चेतावनी समेत दिए ।



