बजारमा २० रुपैयाँको नोटको हाहाकार


dashain_new_noteअसोज, काठमाडौं । बैंकमा गएर तपाईले २० रुपैयाँको नयाँ नोट माग्नुभयो भने पाउनुहुन्न । बैंकका कर्मचारीहरुले २० को नयाँ नोट छैन भन्ने जवाफ दिन्छन् ।

बैंकका कर्मचारीहरुको जवाफ सुनेपछि पक्कैपनि तपाईँलाई रिस उठ्न सक्छ । तर, नेपाल राष्ट्र बैंकले नै २० रुपैयाँको नयाँ नोट निकै कम बजारमा पठाएको छ । जसकारण बजारमा २० रुपैयाँको नोटको हाहाकार भएको हो ।

माथिल्लो व्यवस्थापनको सोर्स फोर्स लगाउनु भयो भने मात्रै बैंकबाट २० रुपैयाँको नोट साट्न पाउनुहुने छ । राष्ट्र बैंकले नै बैंक तथा सर्वसाधारणलाई २० रुपैयाँको नोट मागेजति नदिएको बैंकर र सर्वसाधारणहरुको गुनासो छ ।

‘राष्ट्र बैंकमा १ करोड रुपैयाँ साट्न जाँदा ८० लाख १०० को बाँकी अरु र २० को चाहीँ अत्यन्तै कममात्रै दिन्छ,’ एक बैंकरले अनलाइनखबरसँग भने, ‘जसकारण हामीले सर्वसाधारणलाई २० को नोट उपलब्ध गराउन सकेका छैनौं ।’

यो वर्ष राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तैपनि बजारमा चाहेजति पठाएको भने छैन ।
तर, राष्ट्र बैंकका प्रवक्ता भने आवश्यकताअनुसार बजारमा नोट पठाइएको दाबी गर्छन् ।
‘बजारमा चाहिएजति नोट पठाएका छौं,’ पंगेनीले भने, ‘त्यसरी २० को नोटको हाहाकार त नहुनुपर्ने हो ।’
सुरुमा साट्नेहरुले २० रुपैयाँको नोट बढी साटेका कारण पछि साट्नेहरुले नपाएको हुनसक्ने पंगेनी बताउँछन् ।

‘काउन्टरमा पहिला २० को बाँडेर सकिएकाले पछि आउनेलाई २० को नोट नदिइएको हुनसक्छ,’ उनले भने ।
त्यसो त प्रत्येक वर्ष चाडबाडमा कुनै न कुनै दरको नोटको हाहाकार हुँदै आएको छ । गत वर्ष पनि बैंक तथा सर्वसाधारणले ५० रुपैयाँका दरका नोट मागेजति साट्न पाएका थिएनन् ।

राष्ट्र बैंकले गत असोज ९ देखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिएको थियो भने असोज १६ गतेदेखि २१ गतेसम्म सीधै सर्वसाधारणलाई प्रतिव्यक्ति ३७ हजार रुपैयाँ सम्म नयाँ नोट सटहीको सेवा उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत