असोज २१ – ‘नेपालीमा एउटा भनाई छ, कानुन भनेको माकुराको जालो हो, जहाँ साना किराफट्याङ्ग्रा पर्छन र मर्छन, ठूला किराफट्याङ्ग्रा जालो तोडेर बाहिर निस्कन्छन् । तर यो भनाई बिल्कुलै नमिलेको र सबै कानुन भन्दा तल रहेकाले सबैले कानुनलाई मान्नुपर्छ । मैले त्यही कानुनको पालना कडाइका साथ गराएकी हुँ’ प्रहरी निरीक्षक पूर्णिमा चन्दले आफ्नो कामबारे भन्नुभयो ।
कानुन उल्लंघन गर्दै हिँड्नेलाई कानुनी दायरमा ल्याएर अपराधरहित समाज बनाउनु कम चुनौतीको काम होइन । तर उहाँले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्नुभयो । राजधानीको गोंगबु बसपार्क वरपर चोरी, लुटपाट तथा यौनजन्य क्रियाकलाप बढेको थियो । चार महिनाअघि यो ठाउँको जिम्मेवारी लिने बित्तिकै उहाँले सुधारको काम थाल्नुभयो । अहिले उहाँले आफ्नो नाम जस्तै काम गरेर देखाउनुभएको छ ।
उहाँ भन्दा अघि धेरै प्रहरीले त्यस ठाउँको जिम्मेवारी सम्हाले । बेथितीले बढेको यो ठाउँ सफा गर्न धेरै प्रहरीले मिति तोकेपनि पूर्णिमा चन्दलाई थिती बसाल्न मिति तोक्नु नपरेको गोंगबु बसपार्क नमस्ते काउन्टरका स्टाफ प्रकाश मल्लले बताउनुभयो । गोंगबु बसपार्क सुरक्षाको हिसाबले संवेदनशील क्षेत्र मानिन्छ । बसपार्कमा चोरी, डकैती, ठगी, पाकेटमार, आत्महत्या, लुटपाटका साथै यौन क्रियाकलापले व्याप्त थियो । प्रहरी निरीक्षक चन्दले अठोट गर्नुभयो ‘म यो ठाउँमा फोहर सफा गर्न आएको हुँ ।’
गोंगबुका स्थानीयले वरपरका दोहोरी साँझ तथा डिस्कोमा बजेका म्युजिकले आफूहरुलाई डिस्टर्व भएको उजुरी प्रहरी निरीक्षक चन्द समक्ष गरका थिए । तत्कालै चन्दले गोंगबु क्षेत्रका दोहोरी साँझ तथा डिस्कोमा घन्किने म्युजिक बन्द गर्न लगाउनुभयो । अहिले यस क्षेत्रमा दोहोरी साँझ तथा डिस्कोको म्युजिकले डिस्टर्व नगरेको गोंगबुका स्थानीय प्रदिप घतानले बताउनुभयो ।
बसपार्कका होटलका क्याविनदेखि मोलमोलाईमा हुने यौन व्यवसाय हटाएको प्रहरी निरीक्षक चन्दले उज्यालो अनलाइनलाई बताउनुभयो । ‘सडकमा यौनको मोलमोलाइ गर्नेलाई ल्याएर थुनेर साध्य थिएन, जहाँ भेटिन्छ त्यही दुई चार लौरा हान्दै अर्को पटक भेटेँ भने तलाई जेल हाल्छु भन्दै तह लगाएँ’ प्रहरी निरक्षिक चन्दले भन्नुभयो ।
प्रहरी निरीक्षक चन्द आउनुभन्दा अघि बसपार्क क्षेत्रमा व्याप्त भएको यौन व्यावसाय धेरै कम भएको नमस्ते काउन्टरका स्टाफ प्रकाश मल्लले बताउनुभयो । समाजमा भएको फोहर सफा गर्ननै आफूले जागिर खाएकाले यस्ता अपराध निर्मुल पार्नु आफ्नो कतव्र्य भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । चन्दले प्रभागको जिम्मेवारी सम्हालेपछि चोरी, डकैती, यौन धन्दालगायत अन्य अपराध धेरै कम भएको छ ।
बसपार्कमा चौबीसै घण्टा सुरक्षा
दसैँ लक्षित भन्दै गोंगबु प्रहरी प्रभागले चौबीसै घण्टा सुरक्षा दिएको छ । गोंगबु प्रहरी प्रभागले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्तीदेखि भ्यानमार्फत पनि गस्ती गर्दै नागरिकलाई चौबिसै घण्टा सुरक्षा दिएको छ । यात्रुका गुनासा, टिकट नपाएका समस्यालगायत सबै समस्याहरुको समाधान गर्न प्रहरी निरीक्षक चन्दको टोली चौबीसै घण्टा उपस्थित हुने गरको छ ।
‘गाडीमा एसी तथा डिलक्स छ भन्दै बढी भाडा लिने गरेका रहेछन्, गाडीमा एसी भएपनि यातायात व्यवस्था विभागबाट छाप नलगाएपछि बढी भाडा लिन पाईंदैन, मैले एसी भनेर बढी भाडा असुल्न एक सय वटा भन्दा बढी गाडीलाई कारबाही गर्दै यात्रुको पैसा फिर्ता गराएँ’ प्रहरी निरीक्षक चन्दले भन्नुभयो ।
त्यस्तै सिट क्षमता भन्दा बढी यात्रु राख्ने गाडीलाई पनि उहाँले बाँकी राख्नु भएन । सिट क्षमता भन्दा बढी यात्रु राखेकाले धरै गाडीलाई कारबाही गरेको पनि उहाँले बताउनुभो । तर गाडी कम मान्छे धेरै भएकाले यात्रुहरुलाई घर जान समस्या भएकाले यसमा विचार गर्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
यस्तो छ पूर्णिमा प्रहरी सेवा
विस २०६७ सालमा प्रहरी सेवामा प्रवेश गर्नु भएकी चन्दले पहिलो पटक ईन्चार्जका रुपमा महानगरीय प्रहरी प्रभाव गोंगबुको नेतृत्व सम्हाल्नुभएको हो । जागिर खाएको ६ बर्षमा तालिमपछि ६ स्थानको विभिन्न शाखामा रहेर काम गरेको अनुभव उहासँग छ । तालिम सकेपछि दिपायल क्षेत्रीय प्रहरी कार्यालयबाट कामको सुरुवात गर्नुभएकी पूर्णिमाले दोस्रोपटक जिल्ला प्रहरी कार्यालय डोटीमा काम गर्नुभएको थियो ।
चार महिना मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, महिला बालबालिका सेवा निर्देशनालय नक्साल, महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी हुँदै चार महिना पहिले उहाँले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मेवारी सम्हाल्नुभएको हो ।



