आर्थिक असुरक्षा नै विदेसिनुको मुख्य कारण हो

- जयराम गौतम


निन्छ, प्रतिभा र पानीले आफ्नो बाटो आफैं खोज्छ। बालचन्द्र श्रेष्ठको हकमा पनि त्यस्तै भयो। नेपालमा वरिष्ठ पशु विकास अधिकृतका रुपमा कार्यरत भएकै बेलामा २००६ अक्टोवरमा उनी क्यानाडा आए। त्यो घटना उनको जीवनको महत्वपूर्ण त थियो नै, एउटा प्रशिक्षित र योग्य मानिसले योग्यता र दक्षता उपयोग गर्ने ठाउँको खोजी पनि थियो।

नयाँ राजनीतिक नक्सामा बनेपा नगरपालिकामा पर्ने तत्कालिन काभ्रे जिल्लाको नालामा उनी जन्मिए। त्यहीँ हुर्किए। हाल अन्टारियोको क्यालेडनमा परिवारसहित उनको बसोबास छ।

क्यानाडाको सवैभन्दा पुरानो नेपाली संस्था ‘एनसिएनसी’ का पूर्वअध्यक्ष उनी हाल ‘नेपाली क्यानेडीयन कम्युनिटी एण्ड कल्चरल सेन्टर’ का वोर्ड अफ डाइरेक्टर र जनरल सेक्रेटरी छन्। उनी एनआरएनए क्यानाडाका सल्लाहकार पनि हुन्।

अन्टारियो प्रान्तको कृषि मन्त्रालय अन्तर्गत मासु निरीक्षकका रुपमा १२ वर्षदेखि कार्यरत श्रेष्ठसँग ‘नेपाल टच’ ले गरेको अन्तरङ्ग कुराकानी प्रस्तुत गरेका छौंं।

तपाईंले गर्ने कामबारे केही बताइदिनोस् न।

म क्यानाडाको अन्टारियो प्रान्तीय सरकारको कृषि मन्त्रालय अन्तर्गतको फुड सेफ्टी इन्स्पेक्सन एण्ड डेलिभरी ब्रान्चमा खाध्य सुरक्षा निरीक्षकका रुपमा २००९ को जनवरीदेखि कार्यरत छु। १३ क्षेत्रमा विभाजित यो प्रान्तमा म जस्तै १३० जना भन्दा बढि निरीक्षकहरु कार्यरत छौं।

हामी मुख्यगरी २ वटा क्षेत्रमा काम गर्छौं, खाध्य सुरक्षा र एनिमल वेलफेयर। मेरो काम अन्टारियो प्रोभिन्सियल सरकारबाट इजाजत पत्र प्राप्त बधशालामा मासुका लागि प्रयोग गरिने पशु वा पंक्षीको बध गर्नु अघि र पछि (एन्टिमोर्टेमदेखि पोष्टमोर्टम) त्यो मानव उपभोग गर्न योग्य छ कि छैन भनेर विस्तृत रुपमा यकिन गर्नु हो। यसअन्तर्गत पशु वा पंक्षी मासु खानका लागि स्वस्थ्य छ भने बध गर्न अनुमति दिने र छैन भने नदिने मेरो काम हो। यस क्रममा बध गरिएका पंक्षी वा पशुको शीरदेखि पाउसम्म जाँच गरिन्छ।

तिनीहरुलाई स्वास्थ्य जाँच, बध प्रक्रिया, सरसफाइ, भित्री बाहिरी अंगहरुको जाँच, सरसफाईमा प्रयोग हुने पानीको उपयुक्तता, बधशालाको सरसफाई, भण्डारन गर्ने ठाउँ र काम गर्ने मानिसहरुको पनि सरसफाइबारे निरीक्षण गर्नु हाम्रो नियमित कामभित्र पर्छ।

अन्टारियोमा सातामा एक पटक पशुपंक्षी बध गर्नेदेखि हप्तामा ६ दिन बध गर्ने बधशालाहरु छन्। यहाँ एक एकजना निरीक्षकले काम गर्नेदेखि एकैपटक ६ जना निरीक्षक सेवा दिने बधशालाहरु छन्।

उसो भए क्यानाडामा खाद्य निरीक्षण निकै कडाईका साथ हुने रहेछ होइन?

तपाईं हामीले खाने मासुका हरेक चोक्टा स्वस्थ्य र सफा हुनुपर्छ भन्ने यहाँको सरकारको नीति छ।

क्यानाडामा मासुको मात्र नभई हरेक खानेकुराहरुको निरीक्षण गरिन्छ। फलफूल, अन्न, दूध र दूधजन्य पदार्थ साथै तयारी गरिएका खानेकुराहरुको पनि निरीक्षण प्रक्रियाबाट मुक्त छैनन्। तर, त्यस्तो निरीक्षण गर्ने जनशक्ति भने काम अलगअलग हुने गर्छ।

मैले पशुपंक्षीको निरीक्षण गर्ने भएकाले म यसै क्षेत्रको मात्र कुरा गर्न चाहन्छु। रोगी पशुपंक्षीको मासु बजारसम्म पुग्नु नदिन बध गरिसकेपछि तिनको सरसफाई गर्ने तरिका, उपयुक्त तापक्रममा भण्डारण, काट्ने र भण्डार गर्ने ठाउँको सरसफाई जस्ता अत्यन्त महत्वपूर्ण कुराहरुका लागि निरीक्षण गरिन्छ।

अनि निरीक्षण गर्ने प्रक्रिया निरन्तर हुने काम हो। यहाँको सरकार जनस्वास्थ्यप्रति अत्यन्त संवेदनशील छ। पसलमा मासु किनेर ल्याउँदा निरीक्षण गरिएको र स्वस्थ्य छ भन्ने कुरामा यहाँका उपभोक्ता निश्चिन्त हुन्छन्।

 

कोरोना भाइरस महामारीका बेला पनि तपाईहरु नियमित काममा हुनुहुन्छ। काम गर्न कत्तिको अफ्ठ्यारो छ?

सबैतिर अफ्ठ्यारो भएकाले हामीलाई पनि अफ्ठ्यारो नै छ। कयौं बधशालाहरुमा कोरोना भाइरस फैलिएका समाचारहरु आइरहेका छन्। त्यसले गर्दा पनि हामीले निकै सावधानी अपनाउँदै काम गरिरहेका छौं।

खाद्य अत्यावश्यक क्षेत्र भएकाले लकडाउन हुँदा पनि यस क्षेत्रमा नियमित काम भइरहेको छ। तर, हामी जनस्वास्थ्य विज्ञहरुको सल्लाह र प्रोटोकल पालना गरेर काम गरिरहेकका छौंं। सुरक्षाका उपयुक्त उपायहरु अपनाएका छौं।

नेपालमा रहँदा चाहिँ के गर्नुहुन्थ्यो?

मैले आइएसी पास गर्ने बित्तिकैदेखि सन् १९८२ देखि सरकारी जागिर सुरु गरें। त्यतिबेला १६ महिना जुनियर टेक्निसियन (जेटी) का रुपमा काम गर्दा गर्दै बिएस्सी तहको अध्ययन गर्न भारत गएँ। पढाई सकेर नेपाल फर्किएपछि १९८६ देखि पशु विकास अधिकृतका रुपमा काम गर्न थालें। त्यो क्रम निरन्तर २००६ मा क्यानाडा आएपछि मात्र समाप्त भयो। क्यानाडा आएपछि वरिष्ठ पशु विकास अधिकृतको पदबाट राजिनामा गरें।

मैले म्याग्दी, कास्की, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटमा पशु विकास अधिकृतका रुपमा काम गरें। पशु सेवा विभाग र पशु सेवा निर्देशनालयमा  बरिष्ठ पशु विकास अधिकृतका रुपमा काम गरें। त्यहाँ रहँदा पशु आहार, पशु प्रजनन्, पशु स्वास्थ्य प्रतिरक्षाका क्षेत्रमा काम गर्ने अवसर पाएको थिएँ।

क्यानाडा र नेपालका सरकारी कार्यालयमा काम गर्ने अवसर पाउनु भयो। त्यहाँ र यहाँको काम गर्ने तरिकामा रहेका समानता वा भिन्नताका कस्तो हुने रहेछ?

सवैभन्दा ठूलो भिन्नता भनेको क्यानाडामा विधि र प्रक्रियालाई पछ्याइन्छ। जसलाई जुन कामको जिम्मेवारी दिइएको छ, उसले त्यो काम इमान्दारीसाथ पूरा गर्ने अपेक्षा गरिन्छ र जिम्मेवारी पुरा गर्नु पनि पर्छ। नेपालमा त्यस्तो थिति बस्न सकेको छैन। सवैले आ–आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरेमा समाजले आफ्नो लय र गति समाउँछ जस्तो मलाई लाग्छ।

हामी देख्छौं, नेपालमा खाद्य निरीक्षणको काम गर्न हाकिमहरु, निर्वाचित प्रतिनिधिहरु समेत जाने गरेको देखिन्छ। नागरिकहरुले स्वस्थ्य र सफा खानेकुरा खान पाउन भन्ने चाहना राख्नु त राम्रै हो, तर के उनीहरु त्यो काम गर्न योग्य छन्? के उनीहरुसँग निरीक्षण गर्ने ज्ञान, सीप र योग्यता छ? त्यो पनि हेर्नुपर्छ।

मेरो बुझाईमा उनीहरु त्यो कामका लागि तालिम प्राप्त व्यक्ति होइनन्। त्यो अधिकारको उचित सदुपयोग होइन। त्यस्तो काम गर्न त्यही कामका लागि तालिम प्राप्त जनशक्ति चाहिन्छ। नेपालमा मैले देखेको सवैभन्दा कमजोर पक्ष नै यही हो।

क्यानाडामा खाद्य निरीक्षणको काम निरन्तर र तालिम प्राप्त निरीक्षकहरुबाट हुने गर्दछ। मैले क्यानाडामा निरीक्षणकका रुपमा काम गर्न थालेको १२ वर्ष भयो। यदि म कुनै कारणले ३-४ महिना मात्र बिदामा बसें भने त्यस अवधिमा कतिपय कुरा बिर्सिएको हुन सक्छ भन्ने ठानेर काममा फर्कनु अघि छोटो अवधीको पुनर्ताजगी तालिमहरु लिनु पर्छ। अर्को अनुभवी निरीक्षकसँग गएर पुनः केही समय काम हेरे-सिके मात्र स्वतन्त्र जिम्मेवारी दिइन्छ। तसर्थ, खाद्य सुरक्षा गर्न यहाँको सरकारले निकै संवेदनशीलता अपनाएको छ।

पदसँग जिम्मेवारीहरु पनि जोडिएर आउँछन्। तसर्थ, काम गर्दा हरहमेसा नियमभित्र रहेर गर्नुपर्छ। जगिर खानका लागि नभई परिणामका लागि काम गर्नुपर्छ।

नेपालमा खाद्य र फलफूल निरीक्षणलाई उति महत्व दिइएको जस्तो लाग्दैन? यो क्षेत्रको महत्व कत्तिको हुन्छ?

नेपालमा अस्वस्थ्य मासु खाएर बिरामी-मृत्यु भएको, विषाक्त खाना खाएर बिरामी भएको, अवैध मदिराका कारण मृत्यु जस्ता खबरहरु आइरहन्छन्। किनकि नेपालमा यो क्षेत्रले खासै महत्व पाएको छैन। गाउँघरतिरको कुरा छाडौंं, शहरी क्षेत्रमा पनि खुलमखुला(असुरक्षितण) मासु बेचेको देखिन्छ। ओसारपसार गर्दा पनि खासै ध्यान दिइँदैन। अन्य खानेकुरा पनि धुलो उड्ने र फोहरी ठाउँमा खुलै बेचेको देखिन्छ।

नेपालमा खानेकुरा स्वस्थ्य र सुरक्षित छ कि छैन भन्ने कुरामा खासै महत्व दिएको देखिंदैन। नियमित निरीक्षणको थिति बस्न सकेको छैन। यसको महत्वका विषयमा मैले केही कुरा अघि पनि भनें। खानेकुरा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले यो असाध्यै महत्वपूर्ण क्षेत्र हो।

अझ मासुजन्य कुराहरु झनै संवेदनशील भएकाले यस क्षेत्रमा गरिएको कुनै पनि त्रुटिले ठूलो मुल्य चुकाउनु पर्छ। अस्वस्थ्य मासुका कारण मानिसहरु बिरामी पर्छन्। मृत्यु पनि हुन सक्छ।

मासु निरीक्षणमा यति कडाइ गर्दा गर्दा पनि क्यानाडामा यदाकदा पशुपंक्षीबाट मानिसमा सर्ने विभिन्न किसिमका रोगहरुले सताएको हामीले थाहा पाएका छौं। विक्रीका लागि बजारमा पुगिसकेको खानेकुरा पनि फिर्ता लिइन्छ।

नेपालमा यो क्षेत्रमा काम गर्न ढिलाई भइसकेको छ। काम नै सुरु भएको छैन भन्दा पनि हुन्छ। जस्तो, २०५५ सालमा पशु वधशाला तथा मासु जाँच ऐन पारित भएको थियो। त्यो कानुन पारित भएको २२ वर्ष भइसक्यो। मैले थाहा पाएसम्म नेपालका कुनै पनि जिल्ला-नगरपालिकामा मासु निरीक्षणको कार्यान्वयन भएको छैन। यो विडम्वना हो।

बीसौं वर्ष सरकारी सेवामा हुनु हुन्थ्यो। विदेशतिर आउने मेलो कसरी बन्यो?

यो प्रश्नको उत्तर दिन त्यति सजिलो छैन। तर, उत्तर दिनै पर्दा नेपालको समग्र अवस्थालाई हेर्नुपर्छ भन्ने मलाई लाग्छ। मैले नेपाल सरकारको अधिकृत भएर करिव २० औं वर्ष सेवा गरें। यो मेरो मात्र कुरा हैन, म जस्ता कर्मचारीहरुको पनि समस्या हो। आर्थिक चुनौतिका कारण छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने कुरामा आर्थिक दवाव झेल्नु पर्यो। उच्च शिक्षा दिलाउने विषयको कुरा नगरौं।

आफू बस्नलाई एउटा घर बनाउन जमिन किन्नका लागि आफन्तसँग सरसापट र ऋणपान, पुर्ख्यौली सम्पति नहुँदा असम्भव नै छ। घर बनाउने कुरा त टाढाको कुरा भयो। त्यस्तो परिस्थितिले विदेशिन बाध्यता बनायो। तसर्थ, विदेशिनुको सवैभन्दा मुख्य कारण छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु र आर्थिक रुपमा स्वाभलम्वी जीवनको खोजी हो।

कहिलेकाहिँ सबै कुरा छाडेर नेपाल नै फर्किउँ जस्तो लाग्दैन?

त्यस्तो अनुभूति खासै आउँदैन। किनकि ४४ वर्षको उमेरसम्म त देशमा नै बसेर सक्दो काम गरेर यहाँ आएको हो। तर, देशका लागि आफ्नो सीप र क्षमताले भ्याएको केही गरौं भन्ने हुटहुटी चाहिँ ममा अझ पनि छ। देशको अवस्था सुध्रिने आशा गरेका हामीहरु आशावादी हुने अवस्था अझै बन्न सकेको छैन। संविधान बनेर नयाँ सरकार गठन भएपछि अब नेपालमा राजनीतिक स्थिरता आउँछ कि भन्ने लागेर फर्किने दिन नजिक आइरहेको महसुस भएको थियो। तर, फेरि पछिल्ला राजनीतिक घटनाक्रमले निरास बनाएको छ।

तर, देशको अवस्था जे जस्तो भए पनि मातृभूमिका लागि योगदान गर्ने मन अझै मरिसकेको छैन। नेपालमा हुँदा मैले खरायो फार्म पनि सञ्चालन गरेको थिएँ। त्यो अनुभव पनि मसँग छ। नेपालमा गएर आधुनिक र व्यवस्थित पशुपालन फार्म, मासु प्रोसेसिङ प्लान्टको सुरुवात गर्ने इच्छा छ। अझ नेपालमा मासु निरीक्षण प्रणालीको थालनी गर्ने काममा पनि योगदान गर्न इच्छा छ।

सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्छ। यहाँका संस्थाहरुले गरिरहेका काम के कस्ता छन्?

हो, नेपाली संघसंस्थाको संख्या धेरै नै छ। धेरै संस्था खुल्नुको कारण पनि छ। जस्तो, नेवार संस्कृति जगेर्नाका लागि नेवा गुठी, गुरुङ, मगर, शेर्पा संस्कृति जोगाउनका लागि तत्-तत् संस्थाहरु खोलेका हुन्।

धेरै संस्थाहरु खुलेका भए पनि तिनका बीचमा सहकार्य छ। कार्यक्रमहरु गर्दा एकअर्कासँग नजुधाई सरसल्लाहका साथ र संयुक्त रुपमा गर्छौं। मैले एनसिएनसीको अध्यक्ष हुँदा बिभिन्न संस्थाहरुसंग सहकार्य गरि कार्यक्रम गरेको थिएँ। त्यसरी सहकार्य गर्ने कामले निरन्तरता पाइरहेको छ। यसको राम्रो कार्यान्वयन भएकाले नेपाली समुदायबीचमा राम्रो सन्देश त गएको छ नै नेपाली कला, संस्कृति र भाषा जगेर्नामा पनि मद्दत पुगेको मैले महसुस गरेको छु।

म हाल नेपाली क्यानेडीयन कम्युनिटी एण्ड कल्चर सेन्टरका बोर्ड अफ डाइरेक्टर र जनरल सेक्रेटरी पनि छु। यो संस्था नेपाली सामुदायिक भवन स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको विशुद्ध गैर-राजनीतिक संस्था हो। यहाँ राजनीति बर्जित छ। संस्थाको उद्देश्य प्राप्तिका लागि हामी एकतावद्ध भएर लागेका छौं।

नेपाल कुन बेला बढी सम्झना आउँछ?

नेपालका बारेमा नसोचेको कुनै दिनै हुँदैन होला। चाडपर्वको समयमा धेरै सम्झना आउँछ। परिवारका सदस्यहरु, टोल-छिमेक, साथीभाई र नातेदारहरुलाई हर हमेसा सम्झिराखेको हुन्छु।

 

उनीहरुसँग कत्तिको सम्पर्क हुन्छ?

फोन, फेसबुक, मेसेन्जर आदिको माध्यमबाट सम्पर्क भइरहेको हुन्छ। नेपाल र क्यानाडाको समयको अन्तर र यहाँको व्यस्त जीवनशैलीका कारण चाहेर पनि मनग्य सम्पर्कमा रहन सकेको छैन।

नेपाल राम्रो लाग्छ कि क्यानाडा?

प्यारो नेपाल लाग्छ, राम्रो क्यानाडा लाग्छ। नेपालको विकास र नेपालीले सुख शान्ति कहिले पाउलान् भन्ने चिन्ताले पिरोलिरहन्छ।

भान्सामा कस्तो खानेकुरा पाक्छ? नेपाली परिकारहरुको कत्तिको याद आउँछ? कसरी तिर्सना मेट्नु हुन्छ?

नियमित रुपमा नेपाली खाना नै पाक्छ। नेपाली परिकारहरु बनाउन हाम्रो घरमा खासै समस्या छैन। धेरैजसो परिकार मेरी पत्नी, बुहारी वा छोरीले बनाउन सक्छन्। गुन्द्रुक प्रायः नेपालबाट आउनेहरुसँग मगाउने गरेका छौं। फारो गरेर खाने भएकाले त्यसरी नै चलिरहेको छ। सुकुटी मिस हुन्थ्यो, अहिले त सुकुटी पनि घरमै बनाउन थालेका छौं।

चाडपर्वमा सामुहिक सहभागिता कत्तिको हुन्छ?

म सामाजिक संस्थाहरुमा संलग्न भइआएको हुँदा नेपाली संस्थाहरुले आयोजना गरेको चाडपर्वहरु र अन्य सामाजिक कार्यक्रमहरुमा सकेसम्म भाग लिने र सहयोग पुर्याउने गरेको छु।

घरमा धेरै कुन भाषामा कुरा गर्नु हुन्छ?

सामान्यतया, नेपाली भाषामा नै कुरा गर्छौं। छोराछोरी र बुहारीले यदाकदा अंग्रेजीमा कुरा गरेको सुनेको छु।

कुनै अपर्झट अवस्था आइपरेको छ नेपाल जानु पर्ने? त्यस्तो बेला जान पाउनु भएको छ, कि छैन?

सन् २००७ फेब्रुअरीमा मेरो ससुरा बित्नु भएको दुखद खवर आयो। २००६ को अक्टोबरमा मात्र हामीलाई एयरपोर्टमा बिदाई गर्न आउनु भएको उहाँ केही महिनापछि दिवंगत हुनु भएको खवरले हामी सपरिवार अत्यन्त्र मर्माहत भयौं। मेरी पत्नीलाई त बुवाको देहवसानको पीडाबाट सामान्य दैनिकीमा आउन पनि निकै दिन लाग्यो। तीन चार महिना अघि मात्र क्यानाडा आएकाले तत्काल हामी नेपाल जान सकेनौं।

२०१४ एप्रिलमा मेरो माइलो भाइ विजयचन्द्र अकस्मात बितेको खबर आयो। ४९ वर्षको अल्पायुमै भाइको जीवन अन्त्य भएको खवर आउँदा क्यानाडामा नै हुनु भएका मेरा आमालगायत सपरिवार अत्यन्त दुखित भयौं। आमा क्यानाडा आउनु भएको केही हप्ता मात्र भएको कारणले पनि हामी तत्काल नेपाल जान पाएनौं। त्यसरी आफन्त गुम्दा र तत्काल नेपाल जान नसक्दा अत्यन्त ठूलो पीडा भयो।

क्यानाडा आएको धेरै वर्ष भयो। नेपालका कुन-कुन ठाउँ घुम्न मन छ?

घुम्न मन हुँदाहुँदै घुम्ने मौका नमिलेका ठाउँहरुमध्ये लुम्बिनी, गोर्खा, बन्दीपुर, इलाम प्रमुख छन्। करिब २० वर्ष सरकारी सेवामा रहँदा नेपालका विभिन्न जिल्लामा पुग्ने मौका मिल्यो। तसर्थ, त्यस क्रममा पर्यटकीय स्थानहरु समेत घुम्ने हेर्ने अवसर मिलेकाले गर्दा धेरैजसो रहर भने पूरा भएको छ।

फुर्सदमा कस्ता सामग्री अध्ययन गर्नु हुन्छ?

अध्ययन भन्दा पनि टिभी, इन्टरनेट, र युट्युबको माध्यमबाट समाचार, नेपालको हालखबर, नेपाली विश्लेषकहरुका अन्तर्वार्ता आदिमा रुचि राख्छु। सामाजिक एवं पारिवारिक फिल्म र टेलिसिरियलहरु पनि हेर्ने गरेको छु।

ड्राइभ गर्दा कारमा कस्ता गीतहरु बजाउनु हुन्छ?

अंग्रेजी वा हिन्दी गीतहरु रेडियोबाट सुन्छु। नेपाली गीत स्पोर्टिफाईमा सुन्छु। सहजताका हिसाबले अंग्रेजी गीत नै बढी सुन्ने गरेको छु।

तपाईंलाईं मनपर्ने नेपाली गीत कुन कुन हुन्?

गीतहरुको नाम उल्लेख गरेर साध्य नहोला। लोकगीत लोकदोहोरी र आधुनिक गीतहरु वढी मन पराउँछु। पुरानो पुस्ताको हिसाबले प्रेमध्वज प्रधान, नारायण गोपाल, अरुणा लामा, तारादेवीका गीतहरु विशेष मन पर्छ।

अरुण थापा, रामकृष्ण ढकाल, दीप श्रेष्ठ, उदीतनारायण पनि मनपर्छ। अन्जु पन्त, राजु लामा, प्रमोद खरेलका गीतहरु पनि धेरै मनपर्छ। अहिलेका लोकगीतका जल्दा-बल्दा गायकगायिकाहरु पनि मनपर्छ।

पछिल्लो पटक कुन नेपाली फिल्म हेर्नु भयो र मन परेको नेपाली फिल्म कुन हो?

पछिल्लो पटक ‘भैरे’ हेरेको थिएँ। मन परेकामा ‘पशुपति प्रसाद’, ‘कवड्डी’, ‘कोहिनुर’, ‘पुरानो डुंगा’ आदि छन्।

मनपर्ने अभिनेता वा अभिनेत्री?

दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, रेखा थापा, विपिन कार्की, पल शाह, आर्यन सिग्देल, नाजिर हुसेन र अनमोल केसीहरुको अभिनय मनपर्छ।

साभार नेपाल टच

यसमा तपाइको मत