स्रष्टा परिचय / सरस्वती श्रेष्ठ

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार सरस्वती श्रेष्ठ सरूकाे जन्म बि. सं २०२५ माघ १६ गते सुर्यपाल – १ लमजुङमा पिता राम बहादुर श्रेष्ठ र माता नानीमैया श्रेष्ठकाे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उहाँले स्नातकोत्तर सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ। उहाँका प्रकाशित कृतिहरूमा ” थुँगा थुँगा जीन्दगी” कविता सङ्ग्रह, “एक झुल्काे घाम अाेर्लेर सडकमा” सडकमा कविता सङ्ग्रह, ” फूलहरूकाे अाँधी” कविता सङ्ग्रह -२०७४, ” किट्टी” बालकथा सङ्ग्रह- २०७६, रहेका छन्।गीत,गजल,बालगीत, बालकथा, मुक्तक उहाँका प्रकाशाेन्मुख रहेकाछन्।उहाँले लामाे समयदेखि नेपाली भाषा साहित्यमा गर्दै अाउनु भएकाे याेगदानकाे कदर गर्दै उहाँले प्राप्त गर्नुभएका पुरस्कार र सम्मानहरू:- नवकविता प्रतिभा पुरस्कार-२०५३,बाबा साहित्य चाैतारी पुरस्कार -२०६८ स्रष्टा साहित्य चाैतारी पुरस्कार -२०७६, ममता सम्मान इलाम-२०५४, गजल प्रतिभा सम्मान – २०६३ , धादिङ साहित्य समाज सम्मान -२०६४, नवनीत साहित्य सम्मान-२०६५,जनकल्याण स्रष्टा सम्मान -२०६६, विश्व नारी नेपाली साहित्य सम्मान २०७१, हाम्राे मझेरी साहित्य प्रतिभा सम्मान -२०७१, जननी अवार्ड -२०७२, समता काव्य सन्ध्या सम्मान २०७७,हेम्जा साहित्य प्रतिष्ठान सम्मान -२०७७ रहेका छन्। उहाँ पाेखरेली युवा संस्कृतिक परिवार र नारी प्रतिभा वाङ्मय प्रतिष्ठान साहित्यिक संस्थाहरूमा संलग्न रहनु भएकाे छ। अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएका कथाहरूलाई खाेज अनलाइन डट कममा स्रष्टा परिचय सहित प्रकाशित गर्ने क्रममा अाज लघुकथाकार सरस्वती श्रेष्ठ सरूकाे स्रष्टा परिचय सहित उहाँकाे लघुकथालाई प्रकाशित गरेकाे छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा
********
सरस्वती श्रेष्ठ सरू

ढोँगी

आज मितिनी आमा धेरै दिनपछि हाम्रो घरतिर आइन् । कोरोनाको महामारीको समयमा कोही घरबाट बाहिर निस्किएका छैनन् । उनले गेट बाहिरबाटै सन्चो बिसन्चो सोधिन् । मैले भित्रै आउनु भनेँ। तर उनी भित्र आउन मानिनन् । यसो खुट्टा तन्काउन बाटोतिर हिँडेकी नानी टाढा जान्न अब घरै फर्किन्छु । दिदी ,दाइभाउजूको बारेमा सोधेँ राम्रै छ भनिन् । तर मितिनी आमाको अनुहार पहिलेजस्तो उज्यालो देखिन र सोधेँ । ” हजुर अलि बिसन्चोजस्तो देख्छु नि आमा ?”
” म सधैँको रोगी हूँ नि छोरी । अहिले त झन् यस्तो रोगको महामारी फैलिएको छ भन्छन् । मलाई केही दिनदेखि रुघा लागेको छ । न त्यही कोरोना पो लाग्यो । ” आमाले आशंका व्यक्त गरिन् । मलाई पनि डरडर पो लाग्यो । तै पनि भनेँ । नडराउनुस् , घरै बस्नुस् , अरुलाई पनि रुघा सर्ने सम्भावना रहन्छ । तातो पानी पिइ रहनुस् , तातो पानीले बाफ लिइ रहनुस् । बारम्बार साबुन पानीले हात धोइ रहनुस् । आत्तिनु पर्दैन । दाइभाउजू ले हेर्नुहुन्छ । “आफै त नि नानी । अहिले जान्छु भन्दै उनी गइन् ।
घरनजिकैका छिमेकी भए पनि म मेरै कामको व्यस्तताले भेटघाट हुँदैनथ्यो मितिनी आमासँग ,न दाइभाउजूसँग नै । केहीछिन पछि मितिनी आमा रोएको सुनेँ । दाइभाउजूको स्वर चर्कोचर्को थियो । ” अलिकति केही हुन हुँदैन छोरीलाई कुरा लाउन पर्छ ? यसरी घरघरै कुरा काट्दै हिँडेर के पाइन्छ ? देलान् नि तिनैले खान लाउन । छोराबुहारीको हुँदो नहुँदो कुरा काट्दै हिन्ने ? के दिए इनाम ?”
आम्मै नि ! म त छ्क्क परेँ । मीत दाइलाई त बुद्धिजीवी नै ठान्थेँ । अरुको घरमा त निकै अर्ति उपदेश दिँदै हिँड्थे । तर आफ्नै आमालाई तथानाम भन्दा रहेछन् । मसँग मितिनी आमाले तिनको बारेमा केही बोलेकै होइनन् । धत् ! कस्ता ढोँगी रहेछन् ?

यसमा तपाइको मत