आशा र विनयको प्रेम विवाह भएको थियो । उनीहरूको दाम्पत्य जीवनको रथ राम्ररी चलिरहेको थियो । आशा नारी शुलभ गुणले सुसम्पन्न थिई तर विहे भएको १० वर्षसम्म पनि सन्तान भएनन् । विनय आमाबुबाको एक्लो सन्तान थियो । उसका आमाबाबु वंश नै विनाश हुने भयो भनेर भित्रभित्रै खुब चिढिएका थिए । तर छोराबुहारीको मिल्ती र आशाका शीलस्वभावले गर्दा मुख फोरेर केही भन्न सकेका थिएनन् ।
सासुससुराका मन सजिलै पढ्न सक्ने आशा खुब चिन्तित भई । उनीहरूले सन्तानका लागि गर्नु जति सबै उपाय गरिसकेका थिए । आशाबाटै सन्तान हुन नसकेको रिपोर्ट पनि सासुससुरालाई थाहा थियो । आफ्नो स्वार्थको लागि अरुलाई दु: ख दिनुहुन्न भन्ने सोचेर आशाले श्रीमानको अर्को बिहे गरिदिने विचार गरी । उसले शनिबारको दिन पारेर माइती पक्षलाई पनि बोलाई । लामो छलफलपछि विनयको विवाह गर्ने कुरामा निचोड निस्कियो ।
भोलिपल्ट बिहानै विनय घरबाट निस्कियो । श्रीमतीको मोबाइलमा म दुई चार दिन घुमेर आउँछु ,खोजी नगर्नु भनेर सन्देश पठाएछ । तर ऊ एक हप्तासम्म पनि फर्किएन ।मोबाइल स्वीच अफ थियो ।
आशाले सोची, ” सायद आफूलाई सुहाउने केटी आफैँ खोज्न गए होलान् । ”
बाबुआमाले सोचे , ” सबैले बिहे गर्न कर गरेकोले घुर्काएर हिँड्यो होला । रिस मरेपछि आउँछ । ”
एकदिन साँझमा विनयले फोन गर्यो । ” आशा ढोकामा घडा थाप । तिमीहरूका इच्छा पूरा हुने भयो । ”
विनयको कुरा सुनेपछि आशाले सोची , ” मेरो अनुमान सही निस्कियो । आखिर भन्न पो सकेका रहेछन् त । बिहे गर्ने कुरामा सबैको विचार बुझेपछि बाटो खुलेछ । आफ्नो लागि आफैँ केटी खोजेर ल्याउन लागेछन् । के थाहा न पहिला नै चक्कर थियो कि ? ”
एकैछिनमा बाहिर गाडीको हर्न बज्यो । ऊ मुटुमा ढुङ्गा राखेर सौताको स्वागत गर्न गई । विनय नवजात शिशु लिएर गाडीबाट ओर्लियो । ” ओहो ! बूढालाई मैले मात्रै एकोहोरो माया गरेकी रहेछु । उनले त पहिला नै बिहे गरेका रहेछन् कि क्या हो ? नत्र बिहेको कुरा गर्नासाथ यो बच्चा कहाँबाट आयो त ? बाहिरै श्रीमती लुकाएर राखेका रहेछन् क्यारे ! ”
” के टोहोलाएर बसेकी ? थाप हात , आफ्नो सन्तान सम्हाल । सबैलाई सन्तान चाहिएको हैन ? अब यो बच्चाले नि अभिभावक पायो , हामीले सन्तान । कि अझै सौताको रहर छ ? ”
बूढानीलकण्ठ १, काठमाडौँ
२०७८-५-५



