कामको खोजिमा लघु कथा

- लक्ष्मीप्रसाद पाैडेल, पुनर्वास, कञ्चनपुर



––“समयले पर्खदैन , हिड् ठूले शहर पसौँ ! गाउँमा डल्ला पल्टाएर हुदैन । खेतमा जति उब्जनी हुन्छ त्यसले बीउ, मलखाद र कर्मीको ज्याला भर्न नि पुग्दैन । वर्षभरि खान बेसाउनै पर्छ भने वित्थामा दुख किन गर्नु ? ” गम्भिरमानले भतिजो पर्ने मुन्द्रेलाई भन्यो ।
–“यतै अरू केही गरे हुन्न र काका ?” मुन्द्रेले गाउँ नै रोज्यो ।
–“हुन त हुन्छ नि ! तर खोई अरू इलम, के गर्छस् ! मेलोमेसो केही देख्दिन म त ? ”
– “ती भारतबाट मान्छेहरू किन आएका यहाँ ? हिजो लस्कर थ्यो बोर्डरमा !” मुन्द्रेले कुरा घुमायो ।
–“के नानाथरीका कुरा बर्टाछस् । शहरमा गएर पाखुरा चलाउने हुति छैन भन् न !” गम्भिरमानले अलि टाठो स्वरमा भन्यो ।
–“सरकारले चुनाव घोषणा गरेको छ । अब गाउँमा पनि केही रोजगारी खुल्छ कि ?” मुन्द्रेको भित्री मन बाहिर आयो ।
– “खुलेको छ त रोजगारी, देख्दैनस् दैनिकजसो नाराजुलुस ! तँ जस्तै बेरोजगार कति छन् भन्ने आँकडा संकलन हो त्यो । दिनभरी चिच्यायो, रित्तो थाल ठटायो । ”
–“ती बाहिरबाट आएकाले चाहिँ के काम गर्दा रहेछन् हाम्रो यहाँ ? ”
–“के गर्नु, कताकतै बाटो बन्दैछ । इटाभट्टाको सिजन छ । त्यतै होलान् ।”
–“त्यो काम हामीले गरे हुदैन काका ? शहर गएर पनि यही गर्ने हो क्यारे ! हाम्रो अरू प्राविधिक खुबी छैन ।”
गम्भिरमान जिवनमा पहिलो चोटी गम्भीर देखियो । ‘मुन्द्रेले सही कुरा भन्यो’ उसको मनले ठान्यो । उनीहरु इट्टाभट्टा मालिकलाई भेट्न गए ।
“साहुजी –– ! ” भन्दै नम्भीरमानले आफ्नो कुरा राख्यो ।
साहुजिले भने, “हेर्नुस् ! देशमा सालैपिच्छे चुनाव हुन्छ । नेता र पार्टीहरूलाई उचाल्ने र पछार्ने भीड, चाहिन्छ । श्रमिक र मजदुर उनीहरूको पहिलो निशानामा पर्छन् । अधिकारको नाममा नारा लाग्छ । आन्दोलन हुन्छ । त्यो आन्दोलनले नेतृत्व उत्पादन गर्छ । तपाईंहरूमध्येका कोही मजदुर नेता बन्नुहुन्छ ।
“ अनि ––– ? ” यसपटक उत्साहित हुँदै बोल्ने पालो मुन्द्रेको थियो ।
–“म, मेरो इटाभट्टामा नेता होइन, इट्टा उत्पादन होस् भन्ने चाहन्छु ! ” साहुजिले भने ।

यसमा तपाइको मत