गुमानेको सजाय (लघुकथा)

- इन्दिरा गौतम असम, भारत ।



चमेली र हर्कबहादुरको गहिरो प्रेम प्रिती थियो। दुवैले मायाको पवित्र बन्धनलाई कहिले न चुँडिने गरि कसेका थिए। यो कुरा चमेलीकी आमाबाबुलाई थाहा भएर हर्केको घरसँगको पुरानो दुस्मनीले छोरी दिन असमर्थ भए ।
यता हर्के भने बिहे गर्न नपाए भगाएर लान्छु भन्दै पैसा कमाउन सहर गएको बेला चमेलीको बिहे जबर्जस्ती गुमानेसँग गरि दिए। गुमाने गाउँको सोझो सिधा र इमानदार केटो थियो । उसले चमेली जस्ती राम्री र धनी घरकी केटीसँग बिहे गर्ने कुरा सपनामा पनि सोचेको थिएन। दाइजोमा धेरै सम्पत्ति पाउने कुरा उसका कानमा नपरेको पनि हैन। तर उसलाई दाइजोको कुनै लालच थिएन।
बिहेको दिन सम्म चमेलीले हर्केको बाटो हेरिरही। न ऊ आयो नत उसको चिठी पत्र । चमेली दुखि मनले गुमानेकी बेहुली बन्न बाध्य भइ। बाबुआमाले धुमधामसँग बिहे गरिदिए।
बिहे भएको एक महिना नहुँदै चमेली बारीको पाटामा पासो लागिछ । गाउँका सबैले उसको श्रीमान् गुमाने र सासूलाई दोषी ठाने। भए नभएका कुरा फिँजिए। ‘चमेलीको हत्या कि आत्महत्या ? दाइजो कै कारण चमेलीको हत्या – – सासू र लोग्ने माथि आशङ्का ‘ । नानाथरीका शंका उपशंका। भने जति दाइजो नपाएर बुहारी माथि अत्याचार गरेको भन्ने रिपोर्ट दाखिल भयो। गुमानेका आमा छोराका फोटा सहितको समाचार देशब्यापी भाइरल बन्यो। मझेरीमा बसेर भक्कानि रहेको गुमानेका मनमा ठुलो ठेस लाग्यो । पुलिस र रिपोर्टरका प्रतिप्रश्नमा माघे जाडोमा पनि गुमानेको शरीर पसिनाले निथ्रुक्क भिज्यो ।
चमेली हर्केलाई मनपराउँछे भन्ने कुरा गुमानेलाई राम्ररी थाहा थियो। तर एउटी विवाहित नारीको परपुरुषसँग बदनाम हुनु, उनीहरूको अस्मिता माथि खेलबाड गर्नु भन्दा आफूले नै सजाय भोग्नु उचित ठान्यो।
*****

यसमा तपाइको मत