महिलाको पाठेघरसम्बन्धी निशुल्क शिविर सम्पन्न


२०७८ माघ २३ । काठमाडौस्थित तारकेश्वर नगरपालिकाको जरंखुमा महिलाको पाठेघरसम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दीपक फाउन्डेसन नेपाल र ढुंगाना फार्मेसीको सयुक्त आयोजनामा सम्पन्न शिविरमा ६० भन्दा बढी महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे । जसमध्ये अधिकांश बिरामी कुनै न कुनै रूपमा पाठेघरको समस्याबाट पीडित रहेको पाठेघरसम्बन्धी भिआइए नर्स पुष्पा कर्माचार्यले बताउनुभयो ।

शिविरमा १८ देखि ६० वर्षका महिलाहरूले सेवा लिएको दीपक फाउन्डेसनका सदस्य सचिव दीपक भेटुवाल (दीपसागर) ले बताए । शिविरमा केही बिरामीलाई औषधीसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा विभिन्न अस्पतालहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूले बिरामीहरूको स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा स्वास्थ्य स्वयंसेवी शकुन्तला देवकोटा, निर्मला सापकोटा ढुंगाना, देवकी ढकाल, सीता जमरकट्टेल लगायतले सहयोग गरेका थिए ।

दीपक फाउन्डेसनका अध्यक्ष समाजसेवी सरस्वती काफ्लेको अध्यक्षतामा भएको शिविरमा तारकेश्वर चेम्बरका अध्यक्ष रामप्रसाद महर्जन, तारकेश्वर वडा नम्बर ८ का वडा सदस्य मोहन खत्री, समाजसेवी लक्ष्मी काफ्ले, ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगाना, भिआइए नर्स पुष्पा कर्माचार्य लगायतका वक्ताहरूले निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट लाभ लिन र आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न आग्रह गरेका थिए ।
दीपक फाउन्डेसन नेपालकी अध्यक्ष एवं कार्यक्रम संयोजक सरस्वती काफ्लेले विश्वका महिलाहरुलाई सताउने ठूलो समस्या पाठेघरको क्यान्सर भएको र पाठेघरको क्यान्सरका कारण हरेक वर्ष थुप्रै महिलाले अकालमा ज्यान गुमाउँदै आइरहेको बताउनुभयो । यस्तै ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगानाले महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यान दिएर जरंखुमा भिआइए परिक्षण प्रारम्भ गरिएको बताउनुभयो । शिविरमा परिक्षण गराउन आएका कतिपय महिलाहरू समय अभावका कारण फर्किएका थिए । निकट भविस्यमा अर्को शिविर आयोजना गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै जाने आयोजकले बताएको छ ।

यसमा तपाइको मत