चीनलाई एउटा ठूलो आर्थिक आम्दानी दिने प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्ग रेशम मार्ग हो। यसलाई अङ्ग्रेजीमा Silk Route अथवा सिल्क रोड भनिन्छ। यो मार्गले चीन, इजिप्ट, मेसोपोटामिया, पर्सिया, भारत र रोमको प्राचीन संस्कृतिको विकासको एउटा ठूलो योगदान गरेको थियो। रेशम मार्गको विस्तार पूर्वी एसियादेखि मध्य एसिया हुँदै भू-मध्य सागर सम्म फैलिएको थियो। युरोप र एसियालाई जोड्ने रेशम मार्ग अर्थात् सिल्क रोडको चालु समयावधि इसापूर्व ४०० देखि इसाको १४५० सम्म पूर्णरुपले संचालन भएको मानिन्छ । चीनको हान वंशमा उत्कर्षमा रहेको यस मार्गको विशेषता मुख्य गरी दुई प्रकारको व्यापारिक कृयाकलापमा केन्द्रित थियो । पहिलो चिनियाँ रेशम धागो र कपडाका बिक्रि वितरण र दोस्रो घोडाको प्रजनन र त्यसको व्यापार । यही मार्गबाट युरोपसम्म संचालन भएको थियो । रेशम कपडा र घोडाको व्यापारको वृद्धिले चीनलाई विश्वबजार अर्थतन्त्रमा अगाडि बढ्न निकै सघाएको थियो । यो मार्गमा रेशमका अतिरिक्त सुती कपडा तथा अन्य वस्तुहरूको पनि व्यापार हुने गरेको थियो।यसका अतिरिक्त तीर्थयात्री, घुमन्ते पदयात्रीहरू तथा विद्वानहरूको यात्रा गर्ने विशेष मार्ग पनि यहि थियो। रेशम मार्ग हुँदै विभिन्न ठाँउहरूबाट व्यापारीहरू तथा अन्य मानिसहरू यात्रा गर्ने भएको हुँदा चीनलाई बाहिरि विश्वको विभिन्न प्रकारका विचारहरू आउने र चीनको आफ्नो विचार अन्य ठाँउमा लैजाने अवसर यो मार्गले दिएको थियो। रेशम मार्गले चीनलाई एउटा ठूलो आर्थिक फड्को मार्न सजिलो भएको थियो। यो मार्गबाट चीनियाँहरूले माटोका सामानहरू, चामल र मसलाहरूको व्यापार मध्यपूर्व तथा यूरोपसम्म ब्यापार गर्ने गदर्थे।
प्राचीन रेशम मार्गले साँच्चिकै भन्नु पर्दा चीनलाई केन्द्रीय एसियाली देशहरु हुँदै युरोपसम्म जोडेको थियो । यसका शाखा प्रशाखा बैकल्पिक मार्गहरु पनि प्रशस्त थिए जसले चीनलाई अन्य एसियाली देशहरुसँग जोड्नुका साथै यस मार्गसंग नजिक पर्ने धार्मिक तथा प्राचिन बासीहरुसंग जोड्थ्यो । रेशम मार्गको एक शाखा मार्गले चीनको सिआनलाई बर्मा हुँदै दक्षिणी चीनलाई जोडेकोथियो भने अर्को मार्गले भारतको पाटलीपुत्र र हालको पटनासम्म जोडेको थियो यसका साथै काभ्रे हुदै टोखा-काठमाडौ उपत्यकालाई पनि जोडेको थियो। यस मार्गले आर्थिक व्यापारका अतिरिक्त सांस्कृतिक आदानप्रदानको माध्यमका रूपमा पनि स्थान पाएको हुनाले यस मार्गको सहायक मार्गको रुपमा गोसाई कुण्ड , मानसरोबरसम्म पनि जोडिएको थियो। ऐतिहासिक प्रमाण ,सांस्कृतिक अवशेष , सामाजिक अभ्यासका आधारमा काभ्रेको बनेपा- नालाको क्षेत्रलाई जोडिएको कुरा त्यतिखेर आएको चिनियाँ यात्रीहरु मंजु श्री , हुयाङ्ग साङ्ग ,मेलारेपा आदिका पदयात्राको रुट भएकोबाट प्रष्ट हुन्छ ।
हाल चीनले प्राचीन रेशम मार्गलाई आधार मानी अन्तरराष्ट्रिय व्यापारिक राजमार्ग निर्माण गर्ने महत्वाकान्छी योजना बनाएको छ जसमा एसियाका विभिन्न ४२ देशहरू संलग्न हुने छन् । रेसम मार्ग परियोजनामा भूटान, श्रीलङ्का, नेपाल जस्ता देशहरूलाई समेत समावेश गरी १२ हजार ८ सय किलोमीटर लामो मार्ग बनाउने योजना चीनले अघि सारेको छ। चिनियाँ रेशम मार्ग झन्डै दुईहजार वर्षसम्म ऐतिहासिक पुरातात्विक खोज र अन्वेषणको विषय मात्र नबनी यस मार्गले विश्व जोड्ने सपना बुनिरहेको छ। यस मार्गमा नेपालको भाग्य रेखा पनि हामीले कोर्न सक्नु पर्छ। सन् २०१४ जुनमा युनेस्कोले ‘चाङ आन तियानशान करिडोर अफ द सिल्करोड’ लाई विश्वसम्पदा सूचीमा समाविष्ट गरि सकेको छ। सी चिन फिङको चिनियाँ नेतृत्वले पुरानो सिल्करोडलाई पुनर्जीवन दिने घोषणा गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध र विकास निर्माणका योजनाहरूलाई दृढ रूपमा अघि बढाउदै लागिरहेको हामि पाउँछौ। त्यसैले नेपालले पनि यस सुबर्ण अवसरको फाइदा उठाउन सक्नु पर्दछ। नेपालको हिमाली क्षेत्रको बिकाशका लागि भने पनि गोसाई कुण्ड हुँदै काठमाडौँ ल्याउनु अति आवश्यक छ। रेशम मार्गलाई वान बेल्ट वान रोडको रुपमा बिकसित गरिएको छ। सम्भवतः हिन्दुहरूको तीर्थस्थल पशुपति, बौद्धहरूको तीर्थस्थल लुम्बिनी र पर्यटकीय स्थल पोखरासम्मलाई जोडेर ओबीआरको शाखा मार्गका रूपमा यसलाई रेलमार्ग बनाउने अभिप्राय रहेको बुझ्न सकिन्छ । यसले नेपालको विकास–निर्माणका ढोका अरू खुल्ने सम्भावना छ ।



