रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ५ बनुवा निवासी खुवा प्रसाद आचार्यको पहिचान दुइ कुरामा स्थापित छ । लामो अबधिदेखि बामराजनीतिमा सक्रिय खुवा एक प्रगतिशील व्यबसायी हुन । वर्गीय रुपान्तरणसहितको समाज स्थापना गर्नका निम्ति विद्यार्थी जीवनबाट नै राजनीति थालेका खुवाले काठमाडौंमा आएर इन्जिनियरिङ्ग शिक्षा हासिल गरे इन्जिनियरिङ्गकै सिलसिलामा जागीर पनि गरे , बामपंथी बिचारलाई गाउँ घरमा फैलाउन सहयोग गरे । गाउँलेकै भाषामा कम्युनिस्ट बिचारधारालाइ सहज रूपमा बुझाउन सकेको कारण ग्रामीण वस्तीहरूकै उनको सु – परिचय बन्यो । खुवाप्रसादले संगठन गर्न सक्छन् भन्ने विश्वासको वातावरण पनि बन्यो । नेताहरूले उनलाई पत्याए , कार्यकर्ता माझ पनि सरल रूपमा प्रस्तुत भइरहे खुवा ।
पेशाले इन्जिनियर भएपनि रगतमै राजनीति तत्व मिसिएपछी मान्छे अराजनीतिक कसरी हुन सक्छ ? खुवा पनि राजनीति जीव हुन । समाजलाई बुझ्ने र समाजलाई रुपान्तरण गर्ने सन्दर्भमा उनी माक्र्सवादी तरिका अपनाउँछन । समाजमा देखिएको आर्थिक असमानताले बिभेदको बिज रोप्छ भन्ने धारणासँग खुवाको सहमति रहेको छ ।
लामो समय निर्माणको अभियानमा जोडिदा उनले नेपाली समाजलाई नजिकबाट नियाल्ने अबसर पाए । खरले छाएको झुपडीमा जन्मेका खुवाले महलहरूको निर्माण कसरी हुन्छ ? अर्थ राजनीति कोणबाट बुझ्न सफल भए । मानिस कसरी उपलब्धिको शिखरमा पुग्छ ? उनले फिल्डमै बुझे । हुँदा खानेहरूको कथाले उनलाई चसक्क छोयो । हुनेखाने कथाले सोचमग्न बनायो । एउटै गाउँमा जन्मेको , एउटै स्कुल पढेको र उस्तै क्षमता भएको दुई बालकहरू बर्ग बिभाजन पनि खुवाप्रसादले देखेका छ्न । आफ्नै गाउँमा उनले यो उदाहरण पाएका छ्न। उनी गाउँलाई माक्र्सवादको खुल्ला विद्यालयको रूपमा ब्याख्या गर्छन् ।

कुनै चिसो बिहान एक सैलुनको टेवलमा बसेर खुवा नेपाली समाजलाई बुझाउँन खोज्छ्न । उनी आधार र उपरिसंरचनाको कुरा गर्छन् । जब आधार कमजोर भएको एउटा पात्र उपरिसंरचनामै ठगिन्छ त्यतिबेला हाम्रो समाजको तस्वीर आउने उनी बताउछ्न । समाजवादी विमर्शको यहीँबाट काम आउने उनको ठहर छ।
खुवा हिमाली जिल्ला रसुवामा जन्मे । यहाँको भौगोलिक परिस्थितिलाई बुझे । यहाँ भौगोलिक दुर्गमतालाइ कसरी पैसा भएको वर्गले आफू अनुकुल प्रयोग गर्छ ? उनले नजिकबाट देखेका छ्न । संसदीय व्यवस्थाको अन्धकार तस्वीर उनी रसुवा जिल्लामा पाउँछन् । रसुवा जिल्लाको यो अध्यारो तस्वीर फेर्न उनले केही प्रयत्न पनि गरेका पनि छ्न । तर यी प्रयत्न कमजोर भएका छ्न । यहाँ पनि आधार र उपरिसंरचनाको राजनीति प्रष्ट देखिएको छ । उनी विकासबाट ठगिएका गाउँहरूको कथा सुनाइरहेका हुन्छन् ।
नेपाली समाज पुँजीवादी भइसकेको लामा बहस गरेर थाक्दैनन बौद्धिकहरू । तर खुवा नेपाली समाजको पिँधको दर्द पनि बुझ्नुपर्नमा जोड दिन्छन् । नेपाली समाजको आतमा अहिले पनि सामन्तवाद सल्वालाइरहेको उनको राय छ । यसलाई फेर्न नसक्ने राजनीति गफानन्द स्वामी प्रवचन जस्तो हुन्छ भन्छन ।
जब नव उदारीकरणले बिश्व अर्थ व्यवस्थामा हालीमुहाली जमायो । नेपाल जस्तो अल्प विकसित राष्ट्रले नव उदारीकरणको चोट सहन पर्यो । यसलाई खुवा नेपालको `चिन्तनगत दु:ख´ रूपमा ब्याख्या गर्छ्न । किनकि नेपाल जस्ता देशले आफ्ना खास उत्पादन प्रणाली अपनाउन नसक्नु यथार्थ हो । फलतः बहुराष्ट्रिय क्रेताको रूपमा अल्प विकासित राष्ट्रहरू उभिन बाध्य भएका छ्न। किनकि हाम्रो राजनीति र बौद्धिक प्रणाली यहाँको आधारमा टेकेर उभिन सकेन ।
उनी हरेक दिन भनिरहेका छ्न – सबैको सहभागिता अर्थतन्त्रमा हुनुपर्छ । अर्थतन्त्रको हिस्सामा समानता हुनु भनेको सहि अर्थमा समाजवादतिर उन्मुख हुनु हो।
खुवा नेपाली समाजको वास्तविकतालाइ छामेर बहस गरिरहेका एक बौद्धिक रूपमा परिचित छ्न । रसुवा जस्तो जिल्लामा उनी जस्ता सक्षम युवाहरूले बिमर्श गर्नुपर्ने बेला आएको छ । अध्यारो यतिकै कहाँ हटछ र ?



