बाबालाई क्यान्सरले सताइरहयो , म एकान्तमा रोइरहे !

- कमला पौडेल बरेङ-१ उर्लेनी बाग्लुङ ।


बाबा भन्ने शब्द सुन्नेबित्तिकै आँसु झर्छ , आजभोली । खै किन यो मनले खोजिरहन्छ अझै पनि उहाँलाई । हुन त मलाई मात्रै होइन सबैलाई यस्तै हुँदो हो ,ज-जसको घरमा बाबा हुनुहुन्न ।

भर्ना भएर क,ख,ग,घ १,२,३ , ४ पढ्नका लागी स्कुल जान थालेको थिए । त्यतिबेलादेखि नै बाबाको माया महत्त्व बुझ्न थालेको थिए । अपनत्व आभास त भैसकेको थियो ।त्योभन्दा पहिले भने सानै भएर पनि होला धेरै कुरा बुझ्दैनथिए ।
समय बित्दै गर्दा म तीन कक्षामा पढ्ने भए । त्यतिबेला बल्ल बाबालाई क्यान्सर भन्ने रोग लागेको छ भन्ने कुरा थाहा पाए । बाबाको हालबारे थाहा पाउँदा असाध्यै पिडा भयो । पिडाले गर्दा एकान्तमा रोए । कलिलो मन छियाछिया भयो। मन न हो बुझाउन गाह्रो परिरहयो । मनको एउटा कुनामा पीडा र दर्दको सुल उठिरहयो , म कयौंपटक रोइरहे ।
परिवारको स्थायी आयस्रोत केही थिएन । बाबालाई यति ठुलो रोग लागेको थियो । हामी सबैको सातो गएको थियोे । राम्रो अस्पतालमा उपचार गर्ने सम्भावना न्युन हुँदै गएको थियोे । बाबालाइ क्यान्सरले च्याप्दै लगेको थियोे । बाबामा पनि आश भरोसा हराउँदै गएझै हामीलाई लाग्न थालेको थियोे ।उहाँ को अनुहार रगत सुकेको थियोे , शरीरमा तागत हराएको थियोे ।
यत्रो रोग लागेपनि बाबाले आफ्नो चिन्ता कम लिनुहुन्थ्यो । परिवारको चिन्ताले उहाँलाई सताइरहेको हुन्थ्यो । यदी आफूलाई केही भइहाले परिवारले कसरी जिविका गर्लान भनेर सधै उनलाई चिन्ता भइरहे झै लाग्थ्यो । बाबालाई आँफ्नो भन्दा धेरै चिन्ता मेरो थियो। भन्नुहुन्थ्यो – `मलाई अब निको नहुने रोग लागेको छ । बाच्ने आशा पनि कम भएको छ , अरु त हुर्किसकेका छन । यसलाई १० सम्म पढाउन सके हुन्थ्यो , म मरेपनी ढुक्क हुने थियो , आत्मालाइ शान्ति हुन्थ्यो ।´
बाबाको त्यो बोली याद छ मलाई । आँफु त्यस्तो अवस्थामा हुँदा पनि सन्तानकै लागि चिन्ता गरिरहने मेरो बाबाको आदर्श सधैं महान लाग्छ , मलाई । आँफूले औसधि खाने पैसाले मलाई कापीकलम किनिदिनु भएको याद आउँछ , स्कुल ड्रेस किनिदिनु भएको धमिलो सम्झना छ अभावमा पनि खुशी दिएर हुर्काउनु भएको कुरा सम्झदा नयनबाट आँसु खस्छ्न । योग्य नागरिक वनाउन मेरो बाले छोरीलाई पनि पढाउनु भयो । यो उहाँको महानता हो ।
सानी थिए । बुझ्दैन धेरै कुरा । र त बाबाको सुखदुःखमा साथ दिन सकिन। अहिले सम्झिदा साह्रै पछुतो लाग्छ । बाबालाइ सम्झेर एकान्त रुन्छु बेलाबेला ।
अहिले धेरै कुरा बुझ्ने भएको छु । केही गर्छु भन्ने जोश पनि आएको छ् । बाबाको आत्मा शान्तिको लागी केही गर्छु भनेर अठोट लिएको छु । बाबा नै साथमा हुनुहुन्न तर बाबाका सम्झनाहरू मानसपटलमा घुमेका छ्न । सम्झना त सधै अजम्बरी हुदोरहेछ । मलाई बाबाको सपना साकार बनाएर देखाउनु छ ।
मान्छे जन्मेपछी मर्नुपर्छ । यो प्रकृतिको अनिवार्य रित हो।यो रितलाइ कसैले पनि टार्न सक्दैनन । मलाई यो कुरामा गुनासो छैन तर एउटा कुरामा भने म सधैं भगवानसँग रिसाइरहनेछु किन अकालमै मेरो बाबालाई खोसेर किन लगिदिनु भयो ? के दोष थियोे मेरो बाबाको ?म प्रश्न पटकपटक गर्नेछु ।
भनिन्छ आमाबिनाको सन्तान टुहुरो हुन्छन तर यो गलत हो ।एउटा घर बलियो हुनको लागि जगको आवश्यकता पर्दछ अनि त्यो जग हाम्रो लागि बाबा हुनुहुन्थ्यो। तर भगवानले बाबालाई यत्ती छिटो खोसेर लैजानु भयो । हुन त राम्रो मान्छे सबैको प्यारो हुन्छ भन्छन त्यसैले पनि होला।
जब बाबा हामी माझ हुनुभएन त्यहीदिनदेखी सबैले बोलेको बाबा भन्ने शब्दले मन नै भक्कानिएर आरहेकोे छ । जब जब कसैले बाबा भनेको सुन्छु तब मन समाल्नै सक्दिन ।खै किन यति प्यारो लाग्छ बाबा शब्द मलाई। जुन शब्द नै मेरो भाग्यमा लेखिएको थिएन।
तर खै मैले बुझ्न नसकेको होकि के हो किन सबै आँफ्नो आमाबाबु भन्दा भौतिक सुख सुबिधाको पछि लागेका हुन्छन।भौतिक सुख सुबिधा त क्षणिक मात्रै हो। तर बाबा आमाको माया अजम्बरी छ ।
बाबाआमाले कराउने गाली गर्ने भनेकै छोराछोरीको भविस्यको चिन्ताले हो । त्यसैले बाबाआमाको गालीलाई सधै आशीर्वाद सरह मानेर अगाडि बढ्नुपर्छ ।आज त साथमा हुनुहुन्छ कसैलाई वास्तै नहोला कराइरहनु हुन्छ भन्नुहोला।तर याद गर्नुहोस हजुरलाई कुनैदिन त्यही कराउने सम्झाउने मान्छे पनि कोहि हुँदैन।त्यसैले आँफुसँग सङ्गै हुनुभएको बेला महत्त्व चिन्नुहोस ,कदर गर्नुहोस।ताकी पछि गुमाइसकेपछी पनि पछुतो मानेर बस्ने दिन नआओस।सबैले आँफ्नो बाबा आमा अनि घर परिवारलाई माया र सम्मान दिनुहोस । जति उहाँहरुले चाहनु भएको हुन्छ ।
जिन्दगीमा सबथोक किन्न पाइन्छ तर आमाबाबुलाई न किन्न नै पाइन्छ न मागेर नै पाइन्छ।

यसमा तपाइको मत