
फुल लाई पनि के थाहा ? सोच्दैछ
“म भोलि बिहान कहाँ चढ्दै छु ?”
मन्दिरमा या लाशमा ?
बडो दोधरमा रात गुजार्दै निभ्दैछ
“म भोलि सबेरै कहाँ लगिने हु ?”
रोदनमा या आशमा ?
म आफ्नै आमाको सुरिलो हाङ्गामा
फकृदै फुल्न आटेकि कोमल मन
कुनै दिन उत्साह उमङ्ग का साथ
मलाई लिन आउने चिसा शुद्ध हात
कुनै दिन मलिन अनुहारका साथ
आउछन कठोर निर्दयी काला हात।।
तर यसमा मेरो के दोष ?
म किन गल्नु पर्ने मुर्तिको सामुन्ने
या जल्नु पर्ने लास सङ्गै ?
म किन फुलि रहन नपाउने नसुकुन्जेल ?
म किन जिउन नपाउने नसकुन्जेल ?
फुलको पनि त अस्तित्व छ
आफ्नै एउटा जीवन चक्र छ
उसलाइ पनि त बैँस आउँछ
कताकता काउकुती लाउछ
तर कस्ले बुझ्ने यहाँ फुलको मर्म
एका बिहानै आउछन निमोठ्न ।
बरु काँडा हुन ठिक
फुल फुल्नु भन्दा
न कसैले लाउछ आँखा
न कैसैले लामो हात
बरु दिदैनन तेइ ठिक
दिनु भन्दा खोक्रो साथ ।।
बगैचाको फुल हेर
माली आउछ्न जान्छन
गाेडमेल नि गर्न भ्याउछन कतिले
पुतली नचाउछन सुगन्ध फैलाउछन
अनि उसकै स्वतन्त्रताको कठालाे समाइ
उस्कै अघि नङ्गो नचाउछन।।
म फुलमा जीवन देख्ने
उ फुलमा वासना मात्र देख्ने
म फुलमै जीवन जिउन खोज्ने
उ फुललाई फुल्फुल्याइ फकाइ फकाइ
रसपान गरि फ्याक्न खोज्ने ।।
सहर हेर्न भनी फुर्किदै डोको चढि
फुल्नै लागेकी सानी कोपिली म
नफुल्दै नफकृदै नबन्दै मेरो ज्यान
शृगारिदै बाटो छेउमा बेचिन पुग्छु
न भन्न पाए लाग्यो भोक भित्र तिर
न भन्न पाए लाग्यो थकाइ र पिर ।।
भमराको बिचमा खै के मा म भुले
कठोर यो शहरमा खै कहाँ म फुले ?
मलाई पनि त के थाहा ? सोच्दैछु
“म भोलि बिहान कहाँ चढ्दै छु ?”
मन्दिरमा या लाशमा ?
बडो दोधरमा रात गुजार्दै निभ्दैछु
“म भोलि सबेरै कहाँ लगिने हु ?”
रोदनमा या आशमा ?
✍️बेद भट्टराई २०२४.०१.०८



