
सुनाकोठी, ललितपुर÷ मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि विद्यापति र नेपाल विषयक अनु्सन्धानात्मक पुस्तकका लेखिका डा. मञ्चला झा र प्राज्ञ धिरेन्द्र प्रेमर्षीले महाकवि विद्यापतिको व्यक्तित्व र कृतित्वबारे अनुसन्धानात्मक विचार प्रस्तुत गर्नुभयो।
आयोजक समितिका सचिव सुरेन्द्र महर्जनले नेपाल मण्डल क्षेत्रमा प्राचिनकालदेखि हुँदै आएको महाकवि विद्यापतिका भजन गायन परम्पराबारे विचार प्रस्तुत गर्नुभयो भने वरिष्ठ पत्रकार प्रकाश प्रसाद उपाध्याय र कुमार रञ्जितले टिप्पणी गर्नुभयो।

श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका अध्यक्ष गोपाल बहादु्र महर्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपालभाषाका लोककवि राजभाई जकःमिले महाकवि विद्यापतिबारे गीत वाचन गर्नुभयो भने बाजा गुरु तथा लेखक राजेन्द्र महर्जनले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
सम्मेलनमा सबै वक्ताहरुले नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो। सम्मेलनमा काठमाडौँ उपत्यकाका विभिन्न भेगबाट आएका विद्यापति भजन सम्बन्धित समूहहरुका साथै सिन्धुपाल्चोक जिल्लाको चौतारादेखिका भजनसम्बद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।




