
सुर्य नउदाउँदै जून अस्ताएको भए
भोको बस्नु पर्दैन थियो
गरिब भएर न्याउरो मुख लगाउँदै
भरिया झै असी केजीको
बोरा त बोक्नु पर्दैन थियो
पेट भर्न
दु:ख र वेदनामा खुशी साट्न
शरीरका अङ्ग बेच्नु पर्दैन थियो
हेरन, हिजोआज कालाबजारी बढेर
मेरो खल्ती खाली छ
त्यसैले सबैले किन बढेछ भनेर
मात्र सोध्छन्
तर
न म दलाली न व्यापारी न भ्रष्टाचारी
न करोडौंको मालिक न वेश्यावृद्धि
गर्ने उमेर
मत
दश नङ्ग्रा ख्याएर पेट पाल्ने मान्छे
पत्याउदैनन् कसैले
हिजोआज त म बस्ने झुपडी
चुहिन थालेको छ
न त पराल
न टिन किन्ने पैसा नै छ
जस्ले जे दिन्छ खाइदिन्छु
अनि लगाईदिन्छु
सधैं सधैं
गरिबीले घेरेको छ बेरोजगारी
व्यापारीलाई सोधेँ
मौन आँखाले प्रश्न गर्छन्
के छ तेरो अस्तित्व र हैसियत
हराएका सपनामा ढुलमुलीन्छु
अनि जीवनको अस्तित्वको अर्थ
खोज्न मन लाग्छ
तिम्रो परिचय दिनु पर्दैन होला ??
प्रश्न माथि प्रश्न मात्र हुन्छ
अनि मेरा आँखाहरु भौतारिरहन्छन्
तिमी धर्तीको हरियाली
म खडेरीग्रस्त बस्तीमा
स्वभिमानको मृत्यु पर्खेर
भारी बोक्न बसेको बेरोजगारी
ठग लुटेरा इशारामा चलाउँछौ
म त गन्तव्यमा पुग्न असमर्थ भएको
अनिश्चित यात्री
तरपनि म भन्छु सधैं बेरोजगारी
तिमीलाई थाह छ
जबसम्म इमान्दारीता रहन्छ
उसले बैमानी गर्ने मौका
पाएको हुदैन
त्यही बीचमा अल्झेको छु
चिन्तन र चेतनाको फरक
समृद्धिको उपज
कानुन र विधेयक त पहिला नै
बनेको थियो
हामी बीच चिनजान रहेनछ
मैले तिमीलाई रोजगारीको उपज
ठानेर अगाडि बढ्न खोजे
कस्तै खडेरीमा पनि
एउटा बोझ बोकेर हिडेको छु
बेरोजगारीको
साच्चै बुझ्न गाह्रो
निशब्द मुटुको ढुकढुकी
भित्र हराउन खोज्दै छु
कस्तो हो यो सधैं अशान्ति
खान नपाएर असन्तुष्टि मन
पाएर पनि नअघाएको
अतृप्त कर्तव्यमा पक्षपात हुनेगरी
मान्छेको भीडमा पागल झै
आधा पेट बोकेर
हिडेकालाई सोधे
भोकै अनिदै मर्नुपर्ने किन?
शरीरमा सिँचाइ गर्नु
जन्मभूमिलाई पराई नसम्झनु
आफ्ना पू्र्खाको आँसु सम्झनु
गट्टि खेल्ने सखिहरुको याद गर्नु
मुटुको घाउ कोट्याउदै
पढेको छु भनेर अनेकौं
अफिसको ढोका ढक्ढक्याउनु
चटानमा एक बोरा दु:ख
बिसाउनु
लड्न लागेको मान्छेलाई
पहरा दिनु भनेर
सम्झाउँनु पनि !!
आकाशमा जुन चम्केको देख्छु
अनि मेरो हृदयको कुनामा अलिकती
रोजगारको आशा पलाउन थाल्छ
परदेश जाने चिठी
अनि स्तब्ध रातसँगै मीठो सपनामा
हराएको बेला तिमीसँग मेरो भेट भयो
रात शान्त
शरीरमा थकान त हुन्छ नै
विस्तारै बत्ती मधुरो
हुँदै जान्छ, अनि आँखा
बन्द बिस्तारामा बर्बराउदै
बेरोजगारीलाई सलाम
कुरा बुझेर पनि
बुझ्न नचाहनेहरुलाई सलाम !!
धन्यवाद
अम्विका अधिकारी
झापा विर्तामोड



