
वास्तु शिल्पका अनुपम दृश्य प्रस्तुत गर्ने अनेक मठ–मन्दिरहरूबाट सुशोभित काठमाडौंका प्रमुख देवगणमा श्रीगणेश विशेष रूपमा वन्दनीय र पूजनीय छन् । विभिन्न दुःख–कष्ट, विघ्न–वाधा आदि हरण गरी सुख–शान्ति प्रदान गर्ने क्षमता राख्ने पौराणिक मान्यता भएको हुँदा भगवान् गणेश हिन्दू, बौद्ध, वैष्णव, शाक्त सबै सम्प्रदायमा एकसमान श्रद्धा र निष्ठाका साथ स्मरणीय र पूजनीय छन् । कतिपय घरमा प्रातःकालिन दैनिक पूजाको प्रारम्भ नै श्रीगणेशको वन्दनाबाट हुन्छ भने विभिन्न अनुष्ठान र शुभ कार्यहरूको प्रारम्भ पनि श्रीगणेशको अभ्यर्थनाबाटै हुन्छ । श्रीगणेशप्रतिको यसै श्रद्धा र भक्तिभावका कारण राजधानीका हरेक टोल र गल्लीमा यिनको मन्दिर देखा पर्ने गर्दछ । यी मन्दिरहरूमा पनि राजधानीको चारै दिशामा अवस्थित केही मन्दिरहरूले प्रमुखता र पौराणिक महत्व बोकेका छन् । यी चार मन्दिरहरू हुन्– सूर्य विनायक, जल विनायक, कार्य विनायक एवम् अशोक विनायक ।
काठमाडौंको मध्यमा वा भनौं काठमाडौं महानगरपालिकाका वडा नम्बर १९ र २० को सिमानामा उत्तरपूर्वी दिशामा अशोक विनायक मन्दिर अवस्थित छ, जो स्थानीय जनतामाझ मरु गणेश वा काठमाडौं गणेशको नाउँबाट पनि सुविदित छ, जहाँ प्रत्येक दिन बिहान भक्तजनको अपार भीड हुने गर्दछ । यसै पावन धामको महिमा प्रकाशमा ल्याउँदै पाटनढोका, ललितपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसमा इतिहास एवम् बौद्ध अध्ययन विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत डा. जुनुमैया बासुकला रञ्जितकार (पि.एचडी) ले एउटा पुस्तिका निकालेकी छन्, जसको शीर्षक छ– अशोक विनायक (मरु गणेश) । लेखिकाको यो पाँचौँ कृति हो ।

अशोक विनायक (मरु गणेश) को दैनिक पूजाका अतिरिक्त गणेश चतुर्दशी एवम् अन्य चाडपर्वहरूमा आयोजना गरिने धार्मिक अनुष्ठानका लागि एउटा गुथिको स्थापना गरिएको, यसको सञ्चालनको निम्ति समिति गठन गरिएको वृत्तान्तलगायत अनेक विवरण लेखिकाले प्रस्तुत गरेकी छन्, जसले अशोक गणेशप्रति जनतामा विद्यमान रहेको आस्थालाई प्रकट गर्दछ । गुथि सञ्चालनका निमित्त गठित कार्यसमितिको विवरण पनि रोचक छ । समान रूपमा प्रातः पूजनीय अशोक गणेशको विशेषताको उल्लेख एवम् पादटिप्पणीले पुस्तकलाई अत्यन्त रोचक र संग्रहणीय बनाएको छ । श्रीअशोक विनायक गुठीले कंग अजिमा (देवी चामुण्डा), लाई अशोक विनायककी छोरी मान्दै उनको पूजादिको पनि व्यवस्था गर्ने गरेको वृत्तान्तले पुस्तिकालाई रोचकता र पाठकवर्गलाई नयाँ जानकारी उपलब्ध गराएको छ ।

लेखिकाले आफ्नो अनुसन्धान र लेखन क्षेत्रको विस्तार गर्दै राजधानीका अन्य तीन विनायक–सूर्य विनायक, जल विनायक एवम् कार्य विनायकको सम्बन्धमा पनि केही पाना थपेको भए पाठक वर्गले एउटै पुस्तकबाट उपत्यकाका चारोटै विनायकका सम्बन्धमा सम्पूर्ण जानकारी पाउने थिए । आशा गरौं भविष्यमा लेखिकाले ती विनायकहरूलाई समेत सामेल गर्दै यस पुस्तिकालाई वृहत् पुस्तकको आकार दिन सफल हुने छिन् । वर्तमानमा अशोक विनायक (मरु गणेश) मात्रको सम्बन्धमा पुस्तक लेख्ने लेखिकाको सोच र श्रमकोे सराहना गर्नै पर्दछ किनभने यस पुस्तिकाबाट पनि उनले नयाँ पाठक वर्गलाई प्रशस्त जानकारी प्रदान गरेकी छन्, जसका लागि उनलाई धन्यवाद दिनैपर्ने हुन्छ ।




