
‘मैन, मूर्ति र म – आफैँलाई फर्केर हेर्दा’ शीर्षकको यो पुस्तक समीक्षार्थ हातमा पर्दा जब पहिलो दृष्टि पुस्तकको आवरण-पृष्ठमा पर्यो, अनि यो निश्चय पनि कलाकार सन्तकुमार शाक्यको आत्मवृत्तान्त हुनु पर्दछ भन्ने बोध भयो । झन् आवरण-पृष्ठमा कलाकारको हातमा भएको मूर्तिले परिष्करणको अन्तिम रूप पाइरहेको हुनुपर्ने बोधले पुस्तकको पाना पल्टाउन थालेँ । पुस्तक पल्टाउँदै जाँदा के पनि बुझियो भने कलाकार शाक्य आफ्नो वंशानुगत पेशालाई नै निरन्तरता दिने क्रममा मूर्तिकार बन्न पुगेका रहेछन् । उनी स्वयंले स्वीकारेका छन् – ‘पाटन वकुबहालका शाक्यहरूको पुस्तैनी पेशा सुन, चाँदी, पित्तल जस्ता धातुहरूसँग सम्बन्धित मूर्ति बनाउनु हो । मैले सुनेर थाहा पाएअनुसार हाम्रो परिवारको काम ल्हासा केरुङ्गमा गएर सुनको गरगहना बनाउने थियो । जिजुबुबा भाजुधन आजुले केरुङ्गमा लामो समयसम्म गरगहना बनाउने अर्थात् ज्यासः वा कारखाना कामदारहरू राखेर नै सञ्चालन गर्नुभएको थियो ।’ तर यो क्रम सन्तकुमार शाक्यका बुवा चिरीकाजी शाक्यको पालासम्म आइपुग्दा टुटिसकेको भएपनि उनले समय चक्रको चपेटामा परेर यसलाई नै अपनाउन उपयुक्त ठानेछन्, जसले उनलाई समाज र देश-विदेशमा ख्याति मात्र होइन, सम्मानजनक स्थान पनि दिलायो ।

१ सय ८६ पानाको यस पुस्तकमा ४६ वटा शीर्षकहरू छन् । ४ पाना तस्वीरहरूले भरिएका छन्, जसले उनको जीवनका बहुआयामको वृत्तान्त पस्केका छन् । यी पानाहरूमा उनले जीवनमा भोगेका दुखमय दिनहरू, आमा रत्नदेवी शाक्यसित वियोगपछि बाबुको अव्यवस्थित जीवनका कारण भोग्नुपरेको यायावर जीवन, त्यसलाई सन्तुलित गर्नका निमित्त गर्नुपरेको सङ्घर्ष, अनुभव गर्नुपरेको पीडा एवम् आरोह-अवरोहका विभिन्न खुडकिलाहरूको दर्दनाक चित्रको अतिरिक्त सम्मानित जीवनको झलक समेत पाइन्छ । यी सबै कुरा उनले जसरी निसङ्कोच रूपमा प्रस्तुत गरिएका छन्, त्यसले उनीभित्रको स्वच्छ हृदय र इमानदारिताको आभास गराउँदछ । साथै यी वृत्तान्तहरूले पुस्तकलाई रोचकता र वरिष्ठ कलाकारप्रति सहानुभूति उत्पन्न गराउँदछ ।
उमेरको अल्लारेपनले विभिन्न हण्डर खान लगाएपछि उनले अन्ततः शिक्षा, विशेष गरी अङ्ग्रेजी शिक्षाको महत्वलाई बुझ्दै त्यस भाषा सिक्न पाइला अगाडि सरेर जीवनलाई व्यवस्थित गर्नका निम्ति झन् अङ्ग्रेजी भाषाको ज्ञानले सुनमा सुगन्धका रूपमा काम गर्ने बुझेर त्यसका साथमा पुस्तैनी पेशा नै उपयुक्त रहेको ठानेर त्यसलाई अङ्गिकार गर्न अग्रसर भए । यस विधामा हात राखेपछि उनले पछाडि फर्केर हेर्नु परेन र एक कुशल मूर्तिकारका रूपमा स्थापित हुन थाल्दा छिमेकी मुलुकका मूतिकलाका पारखी एवम् प्रशंसकहरू उनीद्वारा निर्मित मूर्तिहरूप्रति आकर्षित हुन थाले । अनि एक कुशल व्यापारीका रूपमा उनी त्यता चर्चित पनि भए ।
तर उनले आफूलाई मूर्ति बनाउने कामसम्म मात्र सीमित राखेनन् । मूर्ति निर्माण कार्यमा संलग्न हुनाका साथ उनले नाटक मञ्चन क्षेत्रमा पनि पाइला सारेर नाटक कलाकारका रूपमा समेत आफूलाई स्थापित गरे । मैनसरी थुप्रिएका र कतै छरिएका तिता-मिठा समयका अनुभवहरूलाई वरिष्ठ धातु हस्तमूर्ति कलाकार शाक्यले आफ्नो आजको मूर्त रूप मूर्ति अर्थात् सन्त कुमार, अनि परिणामस्वरूप कलाकारले आफूलाई कलाकार हुनुको पर्यायका रूपमा परिभाषित गर्न सकेका छन् ।
यस पुस्तकले अनेक खालको सन्देश दिन्छ । जस्तै, बालक कुबाटोमा लाग्यो भन्दैमा तिरस्कृत हुनु हुँदैन । र उसभित्र पनि हिनभावना उत्पन्न हुनु हुँदैन । किनभने उसभित्रको प्रतिभाले कतिबेला कुन रूपमा प्रकट हुने अवसर पाउँदछ थाहा हुँदैन । अनि के पनि सन्देश दिन्छ भने जीवनमा प्रगति गर्नका निम्ति शिक्षा आवश्यक छ । यसले मानिसको प्रगतिको पथलाई अझै फराकिलो पार्दछ ।

आफ्नो अल्लारे जीवनलाई तिलाञ्जली दिँदै व्यवस्थित गर्न सफलता पाएका कलाकार सन्तकुमार शाक्य आजका दिनमा नेपाल हस्तकला महासंघ, लोटस रिसर्च सेन्टर, हस्तकला र पर्यटन डिजाइन तथा प्रबन्ध केन्द्र, वडा नम्बर ६ ललितपुरका सल्लाहकार लगायतका अनेक संस्थामा विभिन्न हैसियतमा समेत भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
सङ्क्षेपमा यो पुस्तक एक बालक, किशोर र युवाको जीवनको एक दुःखमय सङ्घर्ष गाथा हो, जसले जीवनमा अनेक खालको हण्डर पाउँदछ र अन्ततः उसभित्र जागेको आवाजले उसलाई एक सफल मूर्तिकारका रूपमा समाज र देशमा स्थापित गराउँदछ । जसको मूर्तिकलाका प्रशंसकहरू देशका पूर्व प्रधानमन्त्रीहरू एवम् गण्यमाण्य नेताहरू समेत हुने गर्दछन् ।

पुस्तक सबै वर्गका पाठकहरूका लागि पठनीय छ र समाजका यस्ता युवाहरूका लागि त विशेष रूपमा पठनीय लाग्दछ, जो आफूलाई अपहेलित ठानेर लागू पदार्थको सहारा लिन पुग्दछन् वा निन्दनीय एवम् अनैतिक मार्गतिर लम्किँदै अन्ततः जीवनलाई अन्धकारमय बनाउँदछन् ।
पुस्तकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति, ललितपुरका अध्यक्ष काजीरत्न शाक्य साथै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि शुभ-कामना मन्तव्य समावेश गरिएको छ ।
निश्चय पनि कुनै पनि पुस्तक कृति तयार पारेर पाठकसामु ल्याउनु सामान्य काम होइन । त्यसका लागि धेरै व्यक्तिहरु देखिने र नदेखिने गरेर काममा समर्पित भएका हुन्छन् । सर्वप्रथम यस पुस्तकका प्रकाशिका बिनादेवी शाक्यलाई धन्यवाद दिनुपर्ने हुन्छ । यसैगरी वरिष्ठ हस्त धातु मूर्तिकार सन्त कुमारको जीवनको अनुभव, घटना र भावनालाई शब्दाकार दिनका निमित्त लेखन र सम्पादनमा आफ्ना परिस्कृत कलम चलाउने पुरु लम्साल र नानी हेरा शाक्य दुबैलाई पनि धन्यवाद दिनै पर्ने हुन्छ । पुस्तकको छपाइ राम्रो छ । कभरको डिजाइन र तस्वीर अति सुन्दर लाग्दछ । पुस्तकको मूल्य ४ सय ४० रुपियाँ उचित छ ।
बुद्धवाणीबाट शुरु भएको पुस्तक विशाल सहस्र भुजासहितको अवलोकितेश्वरको धातुमूर्तिमा पुगेर अन्त्य हुन्छ ।



