
बदलिँदो गजल साहित्यमा बहु आयाममा गजल सिर्जना गर्न सक्ने गजलगो हुन , श्री पुरुषोत्तम “रसुवा” । संरचनाका हिसाबले बहर र गैरबहर ( स्वतन्त्र गजल ) दुबै संरचनामा पोखिन सक्ने श्री पुरुषोत्तम “रसुवा” युवा पुस्ताका होनहार गजलगो हुन । भजन र गीतका समेत सर्जक रसुवा गजलमा लय हुनुपर्छ भन्ने मान्यतालाई स्विकार्दै गर्दै गजल लेखिरहेका छन । सरल शब्दमा पेचिलो भाव सम्प्रेषण गर्न सक्नु गजलगो “रसुवा”को लेखकीय सामर्थ्य हो । सरलतामा सापेक्षता खोज्छन् उनका गजलहरूले ।
रसुवाले गजल साहित्यलाई चिन्न थालेको एक दसक हुन लाग्यो । यस अबधिमा रसुवाका दुई गजल संग्रह प्रकाशनमा आएका छ्न । पहिलो गजल संग्रह महल सिसाको प्रकाशन गरेका उनले दोस्रो गजल संग्रह सुनको अक्षर प्रकाशनमा ल्याएका छन् । यस अवधिमा उनका केहि गजल संगीतबद्ध पनि भएका छन । चर्चामा भन्दा साधनामा रुचि राख्ने रसुवा बेलाबखत सामाजिक संजालका रिलहरूमा स्वआवाजमा गजल वाचन गरिरहेका हुन्छन् । उनी वाचनमा पनि गजललाई न्याय गर्न सक्ने सर्जक हुन ।
एकैछिन मारौ कि वात हजुरसँग
कि काटौ म यतै रात हजुरसँग
प्रेममा नचल्ने धोका मात्र हो
के बार्नु यो जाबो जात हजुरसँग
पिउने रहर छ मलाई सधै
मागेर मायाको मात हजुरसँग
( सुनको अक्षर पेज १३)

गजलको सैद्धान्तिक मान्यता छ – गजलमा प्रेमिल वार्तालाप अनिवार्य छ । गजलगो पुरुषोत्तम रसुवाको यस गजल अंशको उल्लेखित शेरले त्यहीँ मान्यताको अडानलाई स्वीकार्छ । गजलगो रसुवा आफ्नो मन खाने प्रेमिकासँग वा भनौं प्रेयसीसँग वात मार्न चाहन्छन । उनको प्रेमिल मन भन्छ मिठा मिठा गफ गर्दै रात पनि काटौ । जातलाई पर राखेर मायाको मात पनि पिउ ।
हजुरसँग भन्ने शब्दको प्रयोग बडो सुहाउँदो गरि भएको छ यस गजलमा । यति सरल शब्दमा गहिरो र चोटिलो भावलाई विस्तार गर्न सक्नुलाई खुवी मान्नुपर्छ । यस खालको खुवीमा गजलगो सफल पनि छ्न ।
यस संग्रहमा शुभेच्छा प्रकट गर्दै प्रसिद्ध गीतकार प्रकाश पुञ्ज लेख्छन् – बिम्ब र प्रतीकले परितृप्त गजलरत्न ` रसुवा´ का प्रत्येक शेरहरू `लोहारको एक चोट ´ झैँ बन्न पुगेका छन् । ´ साच्चै उनका गजलका शब्द झन्कार बन्दै भावले मन प्रफुल्ल पार्छन् ।
ए ! मुर्दाहरू हो चिहानबाट उठ
उज्यालो भइसक्यो ओछ्यानबाट उठ
बुद्धत्व प्राप्ति नै हाम्रो उदेश्य हो
छोडी त्यो शास्त्रीय रटानबाट उठ
फ़ेरि आउँदैन मौका जागृतिको
उठनै नदिने यो बथानबाट उठ
( सुनको अक्षर पेज ३३)
सुरुमै भनियो गजलगो रसुवाले गजल आयतनलाई खुम्च्याएका छैनन् , बरु स्वतन्त्र ढंगले चौतर्फी बनाएका छन् । माथिको गजलमा आध्यात्मिक भावको प्रचुरता रहेपनि यस गजलको केन्द्रियता जागृतिको रहेको छ । उज्यालो दिनमा सबै बाधाहरूलाई पन्छाउँदै बुद्धत्वको निम्ति अगाडि बढन उनको अनुरोध रहेको छ् ।
हिमाली जिल्ला रसुवामा जन्मेका पुरुषोत्तम रसुवा नैतिक दृष्टान्त ,दार्शनिकता र लोक जीवनको सौन्दर्यलाई आफ्नो गजलमा पोख्न रुचाउँछन् । गजल यात्रामा यति वरसम्म आउँदा गजलगो रसुवाले शैली र शिल्पमा बेग्लै परिवेश निर्माण गरेका छन् । लय सचेतता र भावको गाम्भीर्यतामा रसुवाका गजललाई खोट लगाउने ठाउँ छैन । जे लेखेका छ्न सानदार लेखेका छ्न रसुवाले ।
लेख्नु मात्र होइन , विशेष लेख्नु उनको पहिचान बनेको छ । गजल बजारभरी हल्लाको खेती फैलिरहदा उनी एकान्तमा साधना गरिरहेका छ्न । दही मथ्दा घ्यू निस्के जस्तै साधनाले उनको सिर्जनात्मक सामर्थ्यमा वृद्धि भएको छ । उत्कृष्ट गजल हस्ती बन्ने दिशामा छन श्री पुरुषोत्तम रसुवा ।



