
पुराना निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पीआर’को दोस्रो चरणको छायांकन कास्की जिल्लाको धम्पुसबाट सुरु भएको छ । गत फागुनमा यस चलचित्रको अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको थियो ।
सिनेमाको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको छ । बुधबार छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की र विनिता कार्कीलाई दुलाहा-दुलहीको भेषमा देख्न सकिन्छ ।
यो सिनेमाको धम्पुसपछि पोखरा, चितवन र काठमाडौंमा छायांकन हुनेछ । सिनेमामा दिक्पाल र विनितासहित नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी लगायतको अभिनय छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको सिनेमामा एवान ग्रुप सर्भिस (अष्ट्रेलिया)का प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्मातामा रहेका छन् । सिनेमामा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, निर्देशक बस्नेतकै कथा तथा गणेश बुढाथोकीको पटकथा र संवाद लेखन छ ।
पछिल्लो समय अस्ट्रेलियामा पीआर लिने नेपालीको संख्या निकै बढिरहेको सन्दर्भमा चलचित्रले त्यही बिषय उठाउन खोजेको देखिन्छ । यस चलचित्र अस्ट्रेलियामा सौरभ मानन्धरले खिचेका थिए भने नेपालमा सौरभ लामाले खिचिरहेका छन् । चलचित्रको सम्पादन बन्दे प्रसादले गर्नेछन् ।



