पुस्तक समिक्षा : प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको संघर्ष र त्यागपूर्ण जीवन गाथा

- प्रकाश प्रसाद उपाध्याय


अचेल इन्टरनेटको मेसेन्जरमार्फत् निम्तो पठाउने चलन छ । त्यसै अनुसार मैले पनि गत जेठ १५ गते बिहान मोबाइल खोलेर हेर्दा पत्रकार मित्र कुमार रञ्जितले मेसेन्जरमार्फत् पठाएको एउटा निम्तो पाएँ । उक्त निम्तोद्वारा जेठ १६ गते हुने भएको प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको जीवन गाथा शीर्षकको पुस्तक लोकार्पण एवम् प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको थियो । कार्यक्रमका मुख्य अतिथि रहेछन्– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा० शेखर कोइराला र विशेष अतिथि थिए- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ।
म स्वयम् पनि प्रजातन्त्रवादी परिवारसित सम्बद्ध रहेको हुँदा पुगेँ उक्त कार्यक्रममा । मुख्य अतिथि डा० शेखर कोइरालाको आगमनपछि लोकार्पण कार्यक्रम विधिवत् सम्पन्न भयो । चियापान र उपहारमा विमोचित पुस्तक पनि पाएँ । निस्कने बेलामा कुमारले भने – सर, पुस्तक पढेर आफ्नो विचार पनि लेखेर दिनुहोला ।
घर फर्किएपछि पुस्तकका पाना पल्टाउँदै जाँदा मलाई बाल्यकालका दिनहरूको सम्झना हुन थाल्यो । बिक्रम सम्बत् २००७ सालमा नेपालमा प्रजातन्त्रको हावा बग्न थाल्दा घन्काइने गरिएका ‘इन्कलाब जिन्दावाद, नेपाली काङ्ग्रेस जिन्दावाद, वीर विश्वेश्वर जिन्दावाद’ जस्ता नारा सुन्दै हुर्केको र आफैँ पनि सोही नारा लगाउँदै साँझमा हिँड्ने गरेको सम्झना भयो । हाम्रा ठूलाबा दामोदर प्रसाद शर्मा नेपाली काङ्ग्रेस सप्तरी जिल्ला कार्यालयका पदाधिकारी रहनुभएकाले हाम्रो घरमा प्रायः काङ्ग्रेसी नेताहरू आउने गर्दथे । हामी केटाकेटीले राजनीतिक कुरा नबुझे पनि उनीहरूका कुराकानी चाख मानेर सुन्दथ्यौँ । यसरी वि. पी. कोइराला, मातृका प्रसाद कोइराला, गणेशमान सिंह, के. आई. सिंह, टंक प्रसाद आचार्य, चुडा प्रसाद, गोविन्द प्रसाद जस्ता वीर, साहसी र क्रान्तिकारी नेताहरूको नाउँ बाल्यकालदेखि नै स्मृतिपटलमा रह्यो । पुस्तकमा ती केही पात्रहरूको पनि नाम आएको हुँदा रमाइलो लाग्यो । पुस्तक पढिरहेको हुँदा समिक्षा गर्ने जाँगर पनि लाग्यो, जुन पाठकवर्गसामु छ ।

प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको जीवन गाथा पुस्तकका लेखकद्वय साहित्यकार बालकृष्ण दाहाल ‘बिकेडी’ एवम् पत्रकार कुमार रञ्जित रहेछन् । ६ खण्डमा प्रकाशित पुस्तकको प्रथम तीन खण्डका ९८ पाना तुलसी नारायण खमु श्रेष्ठको जीवनका विभिन्न पक्षहरूसित सम्बन्धित छन् भने बाँकी तीन खण्डका २२ पाना भने तुलसी नाराणजीको वंशावली, उनीसँग सम्बद्ध चित्रहरू, उनले पाएका प्रमाणपत्र, सम्मानपत्र एवम् चिठ्ठीहरू तथा उनको परिवारका सदस्यहरू तथा विभिन्न महानुभावहरूद्वारा उनका सम्बन्धमा व्यक्त गरिएका विचारले भरिएका छन् । पुस्तकमा समाविष्ट तुलसी नारायणजीका पारिवारिक पृष्ठभूमि, व्यक्तित्व, स्वभाव, बानी व्यहार, सामाजिक एवम् धार्मिक पक्ष आदिको वृत्तान्त संकलन र समावेश गर्न लेखकद्वयले निकै मेहनत गरेको अनुभव हुन्छ ।


पारिवारिक पृष्ठभूमिको सन्दर्भमा पुस्तकबाट के थाहा पाइन्छ भने राजधानी काठमाडौँबाट लगभग ८ माइल टाढा रहेको हाल मध्यपुर थिमि नगरपालिकाअन्तर्गतको शहर बोडे तुलसी नारायणजीको पुर्ख्यौली स्थल थियो । तर विसं १९९० सालको भूकम्पले गर्दा उनको परिवार काठमाडौं सर्‍यो र धोबी खोला किनारमा सिफल भन्ने बस्तीको बासिन्दा हुन पुग्यो । यसै वंशका तुलसीदास खमु श्रेष्ठ तथा श्रीमती तुइलमाया छुँ खमु श्रेष्ठको कोखबाट १९९६ साल जेठ १० गते एकजना छोराको जन्म भयो । नाम राखियो, तुलसी नारायण । काठमाडौंको सानो गोचरन क्षेत्रमा जन्मेको बालकको लागि पशुपतिनाथ र जयबागेश्वरी क्षेत्र घुमफिरको लागि आकर्षणको स्थल बन्नाको साथै उनीभित्र धार्मिक भावना जगाउने तीर्थ पनि भयो ।
बाबु धेरैजसो घरबाहिर बस्ने र राजधानीमा हुँदा पनि प्रायः जूवा–तास खेल्नमा रमाउने हुँदा छोराले बाबुबाट पाउनुपर्ने संस्कार पाउन सकेनन् । बाल्यकालको दुःखपूर्ण र संघर्षमय जीवन, त्यसमाथि चञ्चले स्वभाव । एकदिन बागमती नदीमा पौडी खेल्न पुग्दा पानीको तेज लहरले बगाउन थाल्यो तर दैवसंयोगले डुब्नबाट बाँचे । पारिवारिक परिवेशले गर्दा उच्च शिक्षा पनि पाउन सकेनन् र एघार वर्षकै उमेरमा भक्तपुर जिल्लाअन्तर्गत थिमि, दिगु टोल निवासी रत्नदास एवम् धनमायाकी ९ वर्षीय छोरी मैयाँ देवी साहु श्रेष्ठसँग लगनगाँठोमा बाँधिन पुगे ।

उनी १८ वर्षको उमेरमा छँदा दाज्यू भाउज्यू छुट्टिएर बसे र मिठाईको पसल चलाउन थाले । त्यो देखेर तुलसीनारायणले पनि परिवार चलाउनका निमित्त केही त गर्नुपर्‍यो भन्दै मिठाई पसल नै खोल्ने सोच बनाए । किनभने सगोलमै बस्दा मिठाई पसल चलाउनको निम्ति मिठाई बनाउने काममा दाज्यू भाउज्यूसँग बसेर तुलसी नारायण पनि बेला–बेलामा सघाउने गर्दथे । त्यसो हुँदा आफूले जाने जति ज्ञानका आधारमा उनले पनि मिठाई बनाउने र बेच्ने काम गर्न थाले । मिठाई आदि बनाउने काममा आमा पनि सिकाउने र सघाउने गर्दथिन् । मिठाई पनि शुद्ध घ्यूले बनाउने गर्ने हुनाले उनको पसल वरिपरिका मानिसहरूमाझ लोकप्रिय हुन थाल्यो र पसलको बिक्री पनि बढ्न थाल्यो ।
देशमा ती दिनहरूमा राणा शासन थियो । राजधानीमा भित्रभित्रै हुने गरेको राजनीतिक गतिविधिको चर्चा सुन्दा उनी पनि राजनीतिप्रति चासो राख्न थाले । आफूले दुःख देखेको र संघर्षपूर्ण दिन बिताउनु परेको हुँदा उनी कसैको दुःख देख्न सक्दैनथे । दिनदुःखीप्रति माया जाग्ने गर्दथ्यो । अनि समाजसेवातर्फ पनि लागे । व्यापारिक काममा प्रगति भइरहेको हुँदा केही समय राजनीति र समाजसेवापट्टि पनि पुग्न थाल्यो । राणा शासनकालको अन्धकारपूर्ण दिनहरूको अनुभव गरेका तुलसी नारायण खमु श्रेष्ठ २००७ सालको राणा विरोधी आन्दोलनमा आफ्‌नै आमा तुइल मायाको प्रोत्साहनमा सहभागी हुन पुगे । ०८ सालमा नेपाली काङ्ग्रेसका तत्कालिन अध्यक्ष मातृका प्रसाद कोइरालाबाट त्यस पार्टीको सदस्यता लिएपछि उनी निकै उत्साहका साथ पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन थाले । राजनीतिमा पनि सक्रिय हुन थालेपछि जेलयात्रा गर्न पनि हच्केनन् र ०४२ र ०४६ सालमा उनी जेल परे । ६ महिनाको जेल जीवनले उनीमा राजनीतिप्रति समर्पणको भाव जगायो र प्रजातन्त्रको लागि संघर्ष गर्ने र आफूलाई समर्पित गर्नेहरूको स्मृति र सम्मान गर्न गठन गरिएको प्रजातन्त्र सेनानी संघको संस्थापक सदस्य भई ०४९ देखि संघलाई सहयोग र मार्गदर्शन गर्दै आएका छन् । यसको अतिरिक्त सेनानी संघको केन्द्रीय सल्लाहकार समितिमा हालसम्म क्रियाशील छन् ।

प्रजातन्त्र सेनानी तुलसी नारायण खमु श्रेष्ठको जीवन गाथाका पाना पल्टाउँदै गर्दा उनले जीवनमा विभिन्न किसिमको दुःख–कष्ट र वेदनाको सामना गरे पनि आफ्ना सामाजिक रीति एवम् धार्मिक परम्पराप्रतिको आस्थामा कमी हुन नदिएको पाइन्छ । नेवाः समाजमा विद्यमान ज्या–जङ्को (भीमरथारोहण) सम्पन्न गर्ने परम्पराको पालन गर्न पनि चुकेनन् । यस सिलसिलामा उनी ०७३ साल पौष २६ गतेका दिन ७७ वर्षको हुँदा आफ्नो सामाजिक परम्पराअनुसार ७ महिना, ७ दिन, ७ घडी र ७ पलाको अवसर पारेर आफ्नी पत्नी मैयाँ देवीसँग पहिलोपल्ट र २०७८ साल असोज महिना दोस्रोपल्ट ज्या–जङ्को सम्पन्न गरे । तर केही वर्षपछि नै उनको यो खुशीमा बज्रपात गर्ने सबैभन्दा हृदयविदारक घटना घट्यो । उनको जीवनमा रिक्तता उत्पन्न गर्दै उनकी जीवनसंगिनी मैयाँदेवीले ०७९ साल मङसिर १२ गतको दिन सबैसित बिदा लिई परलोकको यात्रा गरिन् ।
नौ वर्षको उमेरदेखि नै बिहान ४ बजे उठेर नित्यकर्म सकेर देवी–देवताको पूजा साथै गुह्येश्वरी, पशुपति, बौद्धको पैदल यात्रा गर्दै दर्शन गर्न जाने तुलसी नारायणले यस दिनचर्यालाई निरन्तरता दिइराखे । यसले पनि उनलाई आफ्नो व्यथा मेटाउन मलमको काम गर्‍यो होला । तर अब उनले यस दिनचर्यामा परिवर्तन गरेका बुझिन्छ । अचेल उनी बिहान ९ बजे उठ्ने र राति ११ बजे सुत्ने गर्दछन् । तर देवी–देवताप्रतिको आस्था, निष्ठा र भक्तिभावमा भने कमी आउन दिएका छैनन् ।

नेपाली काँग्रेससितको संलग्नताका साथै तुलसी नारायण खमुको विभिन्न राजनीतिक व्यक्तित्वहरूसँगको सम्पर्कका वृत्तान्तले उनको उदार एवम् स्पष्टवादी स्वभावको परिचय दिनाको साथै पुस्तकलाई अत्यन्त रोचकता पनि प्रदान गरेको पाइन्छ । विभिन्न संघ–संस्थाबाट सम्मानित तलसीनारायण खमु श्रेष्ठको बौद्धस्थित घरमा वि. पी., गणेशमान सिंह किसुनजीलगायत विभिन्न राजनीतिक नेताहरूको निरन्तर भइरहने आवागमनले उनलाई राजनीतिक क्षेत्रमा प्राप्त सम्मानको पनि उदाहरण पाइन्छ ।
०५१ सालको प्रतिनिधि सभाको निर्वाचनताकाको कुरा हो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विद्या भण्डारी उम्मेदवार थिइन् भने नेपाली काँग्रेसपट्टिबाट कृष्णप्रसाद भट्टराई उम्मेदवार थिए । विद्या भण्डारीले तुलसी नारायणसँग भोट माग्नुभयो । ‘तपाईँ मकहाँ आउनुभयो, तर म भोट नेपाली काँग्रेसलाई दिन्छु’ तुसीनारायणजीले भन्नुभएछ ।
अर्को यस्तै रोचक घटना ०५५ सालताका देशमा माओवादीको जनयुद्ध चर्किएको बेलामा भएछ । एकदिन जनार्दन शर्मा तुलसी नारायणजीको बौद्धस्थित घरमा चन्दा माग्न पुगेछन् । तुलसी नारायणले ‘म सँग अहिले पैसा छैन । बैंकबाट २५ लाख ऋण लिएको अहिले साँवा २५ लाख र १८ लाख ब्याजसमेत गरेर ४३ लाख तिर्नुस् भनेर बैंकले ताकेता गरिरहेको’ कुरा बताउँदा जनार्दन शर्माले भनेछन् –‘त्यसो भए म तपाइँलाई कमरेड प्रचण्डसँग भेटाउँछु ।’ यति भन्दै उनी हिँडे र भोलिपल्ट तुलसी नारायण जनार्दन शर्मासँग प्रचण्ड निवास पुगेछन् र तुलसी नारायणले सबै कुरा प्रचण्डलाई बेलिबिस्तारले बताउँदै भनेछन्‌–‘मेरो ब्याज मिनाहा गराउनुभएको खण्डमा म पाँच लाख रूपैयाँ चन्दा माओवादी पार्टीलाई दिन्छु ।’ तर बैंकले ब्याज मिनाहा गर्न नसक्ने कुरा गरेपछि तुलसी नारायणले पनि माओवादीलाई चन्दा दिएनन् ।

यस्ता प्रसंगबाट पुस्तकमा अनेक रोचक पठनीय सामग्री पाइन्छ भने यी प्रसंगहरूले उनको स्पष्टवादी र निर्भिक स्वभावको पनि परिचय दिन्छन् । आफ्नो व्यवसाय र पारिवारिक दायित्वप्रति सचेत रहेका तुलसी नारायणमा उदारता र त्यागको भावना पनि प्रशस्त पाइन्छ । बोडेमा बस्ने आफ्ना ४ जना भतिजालाई ब्रतबन्ध गराए । अनि एकजना भतिजाका विवाह सम्पन्न गराएर पारिवारिक सम्बन्धलाई मधुरता प्रदान गर्दै आफ्नो उदार प्रकृति र धार्मिक स्वभावको अतुलनीय उदाहरण पनि प्रस्तुत गरे । आफूले दुःख र संघर्षको वेदना अनुभव गरेकाले उनले आफ्ना भतिजाहरूलाई बौद्धको दुई कित्ता जग्गा पनि प्रदान गरे ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भदाणि पश्यन्तु, माकश्चिद दुःखभाग्वेत’ लाई चरितार्थ गर्दै । त्यसैगरी खास्ती नेवाः पुचः, बौद्धलाई भवन निर्माणका लागि एक करोड बराबरको जग्गा दान दिए ।
अचेल बृद्ध मातापितालाई वृद्धाश्रम पुर्‍याइने चलन बढेको छ । यस सन्दर्भमा एक समाजसेवी, व्यवसायी तथा राजनीतिककर्मीको हैसियतले तुलसीनारायण भन्दछन्‌– ‘अहिलेका परिवेशमा कोही–कोही छोरा–छोरीले बाबु–आमालाई वृद्धाश्रममा राख्दछन् । उनीहरूको हकको सम्पत्तिलाई वृद्धाश्रमलाई हस्तान्तरण गर्नु उत्तम हुन्छ ।’
देश र विश्वभरिका नेताहरूका लागि पनि उनी भन्दछन्–‘राजनीति गर्ने हो भने देश र जनताको सेवा गर्नु पर्दछ । घुसखोरी र स्वार्थी बन्नु हुँदैन । धन कमाउनको लागि उद्योग र व्यापार गर्नु पर्दछ । जनताले पनि पैसामा बिक्नु हुँदैन ।’
त्यागी पुरुषका रूपमा उनको त्याग र दानशील स्वभावको चर्चा माथि भइसकेको भए पनि यो प्रसंग पनि उत्तिकै उल्लेखनीय छ । ०५६ सालमा कृष्णप्रसाद भट्टराई दोस्रोपल्ट नेपालको प्रधानमन्त्री भए । नेपाली काँग्रेसलाई विभिन्न रूपमा गरेका सहयोगले होला भट्टराईजी तुलसी नारायणलाई उपप्रधानमन्त्री बनाउने विचार राख्दै तत्कालिन राष्ट्रियसभाका अध्यक्ष बेनीबहादुर कार्की मार्फत् तुलसी नारायणजीको घरमा पुगेछन् र ‘तिमी उपप्रधानमन्त्री बस्छौ त’ भनी सोध्दा तुलसी नारायणले ‘कुनै पदका लागि होइन, देश र जनताका लागि समर्पित हुने’ विचार व्यक्त गरेछन् । हुन पनि उनले ०५६ सालदेखि ०८१ सालसम्म त्यस्तो कुनै पद ग्रहण गरेनन् । यस प्रसंगले के पनि बुझाउँछ भने उनले कुनै स्वार्थवश पार्टीलाई सहयोग गरेका रहेनछन् । आफूलाई सामाजिक काम र स्वतन्त्र व्यवसाय मार्फत नै समाजमा स्थापित गर्न रुचाएका तुलसी नारायण श्रेष्ठको समाजसेवामा रहेको निस्वार्थ भावलाई सम्झेर समाज र देशका विभिन्न संघसंस्थाले उनलाई विभिन्न रूपमा सम्मान गरे । पार्टीमा पदविहीनताको स्थितिमा हुँदा पनि जनताको सेवामा रमाउँदै पार्टीको काममा सलग्न हुने तुलसी नारायण पदविहीन भई बस्न नचाहने राजनीतिकर्मीका लागि एउटा गतिलो उदाहरण हुन् । उनको जीवनबाट राजनीतिक नेताहरूले पद लोलुप हुनु हुँदैन भन्ने सन्देश ग्रहण गर्न सकेको खण्डमा राजनीतिमा यति विघ्न विकृति उत्पन्न हुने थिएन र देशको राजनीतिक परिवेशमा स्थिरताको वातावरण पनि व्याप्त हुने थियो ।

खण्ड २ मा तुलसीनाराणजीको सम्बन्धमा विभिन्न व्यक्तिद्वारा व्यक्त गरिएका विचारहरू प्रकाशित छन् । जसबाट तुलसी नारायणजीको प्रजातन्त्रवादी स्वभाव, बानी-व्यवहार, दयालु प्रकृति र त्याग, दानशील एवम् सहयोगी भावना आदिको सम्बन्धमा विभिन्न कुराहरू थाहा पाइन्छ । वरिष्ठ पत्रकार किशोर नेपाल लेख्दछन्– ‘तुलसी दाइसँग मेरो परिचय र घनिष्ठ सम्बन्ध २०३६ साल जेठ १० गते राजा वीरेन्द्रबाट जनमत संङ्ग्रहको घोषणासँगै भएको हो । जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई जिताउने उद्देश्य पूरा गर्न कांग्रेसको सङ्गठन सक्रिय थियो । तत्कालिन समयमा नेपाली काँग्रेसका युवा नेता दमननाथ ढुंगानाले काठमाडौंको काँठ क्षेत्रमा बहुदल पक्षीय अभियानको सञ्चालनको जिम्मा लिनुभयो र कार्यकर्ताहरूको समूह खडा गर्नुभयो । त्यो समूहमा बौद्धका साङ्गे लामा, तुलसी नारायण र अन्य अनुभवी व्यक्तिहरू थिए । हाम्रो समूह त बन्यो । तर त्यसलाई परिचालन गर्ने स्रोत हामीसँग थिएन । त्यतिबेला तुलसी दाइले आफ्नो क्षमताले भ्याएसम्म अभियानमा लागेका साथीहरूलाई खाना–खाजा खुआउने जिम्मा लिनुभएको थियो । बौद्धमा उहाँको हलवाई पसल थियो । हामी धेरैजसो साथीहरू उहाँको पसलमा खाजा खाएर अभियानमा निस्किन्थ्यौं ।’ त्यस अवस्थामा दमननाथ ढुंगानाले तुलसी नारायणजीलाई उपत्यकाको पूर्वोत्तर भेगको अगुवा बनाउनुभएको थियो ।
यसै किसिमका मन्तव्य प्रकट गर्नेहरूमा गोविन्द दाहाल, शिव घिमिरे, दिवाकर न्यौपाने, माधव खनाल, डा. शेखर अर्ज्याल, रमेश रेग्मी, गोपाल गेलाल, सुरेश जोशी एवम् नरोत्तम वैद्य जस्ता नेता, राजनीतिकर्मी एवम् विभिन्न संघसंस्थाका पदाधिकारीहरू छन्, जसले तुलसीनारायण खमु श्रेष्ठको परोपकारी भावना, दानवीरता एवम् समाजसेवी प्रवृत्तिको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
पुस्तकको तेस्रो खण्डमा तुलसी नारायणजी एवम् उहाँकी धर्मपत्नी मैयाँ देवीको सम्बन्धमा आफ्नो परिवारका सदस्यहरूका विचारहरू पढ्न पाइन्छ । यसको अतिरिक्त काठमाडौंमा बस्ने आफन्तहरू एवम् लण्डन, भर्जिनिया (अमेरिका) र बोस्टनमा बस्ने कुटुम्बजनहरूका मन्तव्यहरूबाट पनि तुलसी नारायणमा दया, करुणा र सहयोगको भावना विद्यमान हुनाको साथै समाज र राष्ट्रप्रति समर्पणको भाव रहेको कुरा भेटिन्छ ।

खण्ड ४ मा तुलसी नारायण खमु श्रेष्ठको वंशावलीको खाका कोरिएको छ भने खण्ड ५ मा सामेल गरिएका उनीसित सम्बन्धित चित्र र खण्ड ५ मा समावेश उनले पाएका प्रमाणपत्रहरू, सम्मानपत्रहरू र चिट्ठीहरूको विवरणले पुस्तकलाई आकर्षक मात्र बनाएका छैनन्, समाजमा उनले बनाएका स्थानको सचित्र प्रमाण पनि प्रस्तुत गरेका छन् ।
सङ्क्षेपमा भन्नुपर्दा तुलसीनारायण खमु श्रेष्ठको जीवन गाथाले उनको जीवन वृत्तान्त मात्र प्रस्तुत नगरी उनको पारिवारिक, राजनीतिक एवम् सामाजिक जीवनमाथि पनि प्रकाश पारेको छ र के सन्देश दिएको छ भने संघर्षमय जीवनलाई पनि उदार एवम् परोपकारी भावनाद्वारा वेदनामुक्त बनाउन सकिन्छ र आफूले कमाएको धनको केही अंश जनकल्याणमा लगाउँदा खेर नगई उपयुक्त समयमा सम्मानको विषय हुँदो रहेछ ।
पुस्तकको छपाईमा राम्रो कागजको प्रयोग भएको हुँदा पुस्तक हातमा परे पछि पढुँ–पढुँ लाग्दछ भने सम्पादन पनि राम्ररी भएको हुँदा पाठकहरूको मुखको स्वाद बिगार्ने मुद्राराक्षसहरू पनि प्रकट हुँदैनन् । अन्त्यमा भन्नु पर्दा पुस्तकले पाठकर्गसामु तुलसी नारायण खमु श्रेष्ठको जीवन वृत्तान्त मात्र नपस्की ०७ सालपछिका वर्षहरूमा देशमा भएका राजनीतिक गतिविधि र क्रियाकलापका सम्बन्धमा समेत जसरी प्रकाश पारेको छ, त्यसले यस पुस्तकलाई पठनीय स्वरूप पनि दिएको छ भन्दा अत्युक्ति नहोला ।
अन्तमा, पुस्तक बिक्रीबाट प्राप्त रकमको तुलसी नारायणजीले एउटा कोष निर्माण गरेर असहायहरूका लागि सहयोग गर्ने सदिच्छा राख्नुभएको छ । त्यसबाट उहाँलाई पुण्य प्राप्त होस् भनेर भगवानसित कामना गर्दछु ।

 

यसमा तपाइको मत